काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको सिद्धान्त आफूले नभुलेको बताउनुभएकाे छ । बिहीबार काठमाडौँमा सहिद भरत ढुंगाना स्मृतिग्रन्थ सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रममा अध्यक्ष प्रचण्डले देशी विदेशी प्रतिक्रियावादीको जोड माओवादी उपलव्धि ध्वस्त पार्नेमा रहेको बताउनुभयाे ।
पहिले भएका उपलब्धिलाई नबिर्सिन आग्रह गर्दै उहाँले वैज्ञानिक समाजवाद, साम्यवादका निम्ति अझै लड्न तयार रहेको धारणा राख्नुभयाे । उहाँले उपलब्धि थोरै भए स्वीकार्नु पर्ने बताउँदै केही होइन भनेर एक्लै बस्न नहुने बताउनुभयाे । पहिलोपटक आफू प्रधानमन्त्री हुँदा जनयुद्धकालका सबै सहिदहरुलाई राष्ट्रिय सहिद बनाउने निर्एणय गरेको स्मरण गर्दै कार्यान्वयन नभएको गुनासो गर्नुभयो ।
उहाँले भर्खरै भूमिगतबाट खुला राजनीतिमा आएका नेत्रविक्रम चन्द विप्लवलाई पनि सहकार्यको सन्देश दिँदै भन्नुभयाे, “हामी सहकार्यको बाटोमै छौँ ।” आफूले राजनीतिबाट अझै हार नखाएको र समृद्धि र परिवर्तनका लागि अझै लड्ने उहाँकाे प्रतिबद्धता थियाे ।
पूर्व प्रधानमन्त्री क. प्रचण्डले आफूले लिएको शान्तिपूर्ण बाटो र नेत्रविक्रम चन्द विप्लवले भनेको वैज्ञानिक समाजवादको विषयमा शास्त्रार्थ गर्न तयार रहेको बताउनु भयो ।
सोही कार्यक्रममा विप्लव समूहका नेता अनिल शर्मा विरहीले शास्त्रार्थ गर्ने प्रस्ताव राखेपछि प्रचण्डले त्यसलाई स्वीकार गर्दै शास्त्रार्थमा आफू हारे पछि लाग्न तयार रहेको बताए । “शास्त्रार्थ गरौँ, जसले जित्छ त्यसलाई सबैले मानौँ, म शास्त्रार्थका लागि तयार छु” उहाँले भन्नुभयो, ‘कति दिन बस्नुपर्ने हो, बसौँ, इमान्दारिताका साथ बसौँ, तपाईँहरुले जित्नुभयो भने म तपाईँका पछि लाग्छु ।”
आफू शान्ति प्रक्रियामा आएपछि जनयुद्धका कतिपय मुद्धा सम्बोधन भएको भन्दै त्यसलाई उपलब्धी नै भएन भन्नु ठीक नहुने प्रचण्डले बताए । “भएको उपलब्धिलाई केही होइन भनेर एक्लै बसेर मात्र हुन्छ ?’ प्रचण्डले प्रश्न गर्नुभयो, ‘हुन्छ भने शास्त्रार्थ गरौँ, १०/१५ दिन कति लाग्छ शास्त्रार्थ गरेर बसौँ, निष्कर्ष निकालौँ । वैज्ञानिक समाजवाद र साम्यवादका लागि लड्न म तयार छु ।”
अध्यक्ष प्रचण्डले अघि भन्नुभयो, “मेरो विचारमा म लडिरहेको छु, तपाईँको विचारमा तपाईँ लडिरहनुभएको छ । साँच्चै को लडेको हो? शास्त्रार्थबाट निष्कर्ष निकालौँ । मलाई लाग्छ हामी एकै ठाउँमा आउछौँ ।”
अहिले जनयुद्धका उपलब्धि ध्वस्त पार्ने प्रयास भएको भन्दै अध्यक्ष प्रचण्डले त्यसविरुद्ध फेरि शान्तिपूर्ण युद्ध लड्नुपर्ने अवस्था आएको बताउनुभयो । ‘शान्तिपूर्ण ढंगले जनविद्रोह नेपालमा मात्र सम्भव छ’ उहाँले थप्नुभयो ।