प्रचण्ड, Pushpa Kamal Dahal Prachanda, पुष्पकमल दाहाल,
 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमजीवी वर्ग राज्यको बहुआयामिक विकासका मुख्य आधार भएकोले श्रमिक वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा आर्थिक विकास र समृद्धि सम्भव हुन नसक्ने बताउनु भएको छ । पूर्व प्रधानमन्त्री क. प्रचण्डले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै सो कुरा बताउनु भएको हो ।

शुभकामना सन्देशमा अध्यक्ष प्रचण्डले भन्नुभएको छ, “अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुक्तिकामी श्रमजीवि जनसमुदायमा सु–स्वास्थ्य र प्रगतिको अपेक्षा सहित शुभकामना व्यक्त गर्दछु ।”

उहाँले सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टे कार्यदिनका लागि गरिएको आन्दोलनको स्मरण गराउने गौरवशाली दिनको रूपमा हरेक वर्ष आजकै दिन अर्थात मई १ मा विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइने उल्लेख गर्नु भएको छ ।

अध्यक्ष प्रचण्डले नेपाली मजदुर आन्दोलनको स्मरण गर्दै , “नेपालमा वि.स. २००३ सालमा विराटनगर जुट मिलबाट सुरु भएको श्रमिक आन्दोलन, विभिन्न कालखण्डका सशस्त्र र शान्तिपूर्ण जन–आन्दोलनहरुमा श्रमजीवि मजदूर किसान जनसमुदायको बलिदानीपूर्ण संघर्षका कारण नै हामी समाजवादी लक्ष्य तर्फ लामबद्ध हुन आइपुगेका हौँ”, भन्नु भएको छ ।

महान्‌ जनयुद्धका सर्वोच्च नेता तथा नेपाली क्रान्तिका महानायक क. प्रचण्डले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा जारी शुभकामना सन्देशमा श्रमजीवी वर्ग, राज्यको बहुआयामिक विकासका मुख्य आधार भएको उल्लेख गर्दै श्रमिक वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा आर्थिक विकास र समृद्धि सम्भव नहुने बताउँदै सोही कारण संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा श्रमिक वर्गको हित र अधिकारलाई प्रत्याभूति गरिएको दाबी गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डले, “श्रमजीवी वर्गको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिमाथि अहिले सरकारबाट नै निरन्तर प्रहार भइरहेको” भन्दै, “पश्चगामी र परिवर्तन विरोधी तत्त्वहरु श्रमजीवी जनताका अधिकार खोस्न उद्यत देखिएकाले प्राप्त उपलब्धिको रक्षाका लागि एकताबद्ध भएर प्रतिवाद गर्नु अहिलेको आवश्यकता” भएको दाबी गर्नु भएको छ ।

शुभकामना सन्देशको पूर्णपाठः

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुक्तिकामी श्रमजीवी जनसमुदायमा सु–स्वास्थ्य र प्रगतिको अपेक्षासहित शुभकामना व्यक्त गर्दछु । सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टे कार्यदिनका लागि गरिएको आन्दोलनको स्मरण गराउने गौरवशाली दिनको रूपमा हरेक वर्ष आजकै दिन अर्थात मई १ मा विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइन्छ । नेपालमा वि.सं. २००३ सालमा विराटनगर जुट मिलबाट सुरु भएको श्रमिक आन्दोलन, विभिन्न कालखण्डका सशस्त्र र शान्तिपूर्ण जन–आन्दोलनहरुमा श्रमजीवी मजदुर किसान जनसमुदायको बलिदानीपूर्ण संघर्षका कारण नै हामी समाजवादी लक्ष्यतर्फ लामबद्ध हुन आइपुगेका हौँ ।

श्रमजीवी वर्ग, राज्यको बहुआयामिक विकासका मुख्य आधार हुन् । श्रमिक वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा आर्थिक विकास र समृद्धि सम्भव हुँदैन । यसैकारण संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा श्रमिक वर्गको हित र अधिकारलाई प्रत्याभूति गरिएको हो । तर, श्रमजीवी वर्गको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिमाथि अहिले सरकारबाट नै निरन्तर प्रहार भइरहेको छ । पश्चगामी र परिवर्तन विरोधी तत्वहरु श्रमजीवि जनताका अधिकार खोस्न उद्यत देखिएकाले प्राप्त उपलब्धिको रक्षाका लागि एकताबद्ध भएर प्रतिवाद गर्नु अहिलेको आवश्यकता हो ।

कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरको महामारीका कारण भएको निषेधाज्ञाले रोजगार गुमेका र दैनिक श्रम गरी जीविकोपार्जन गर्ने श्रमजीवी वर्ग गम्भीर समस्यामा परेको छ । उनीहरुका लागि उचित राहतसहित खाद्यान्न लगायत वैकल्पिक व्यवस्थापन गर्न म सरकारसँग जोडदार माग गर्दछु । साथै सबै राजनीतिक कायकर्ता र समाजसेवीहरुमा पनि खुला हृदयले समस्यामा परेका रोजगार विहीन ती श्रमिकहरुका लागि सहयोगी हात बढाउन अपिल गर्दछु । श्रमिक दिवसको अवसरमा यस महामारीको संक्रमणबाट आफ्नो जीवन रक्षाका लागि सावधानी र चेतना अभिवृद्धि गर्न सम्पूर्ण श्रमिक वर्गमा अपिल गर्दै सुस्वास्थ्य र दीर्घायूको कामना गर्दछु ।

१८ वैशाख, २०७८ (०१ मई)

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष