काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली मोडेलको समाजवाद स्थापनाको बाटोमा लामबद्ध हुनु आजको आवश्यकता भएको बताउनु भएको छ ।
विश्व सर्वहारा वर्गका महान् गुरु कार्ल मार्क्सको २०३औँ जन्म जयन्तीको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो ।
अध्यक्ष प्रचण्डद्वारा हस्ताक्षरित शुभकामना सन्देशमा, “विश्व सर्वहारा-श्रमजीवी वर्गका महान गुरु कार्ल मार्क्सको २०३औँ जन्मदिनका अवसरमा संसारभरका सम्पूर्ण वामपन्थी सर्वहारावादी कम्युनिस्ट क्रान्तिकारीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु,” भनिएको छ ।
शुभकामना सन्देशमा अध्यक्ष प्रचण्डले कार्ल मार्क्स आविष्कार गर्नुभएको वैज्ञानिक समाजवादको या द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको अनुसन्धान विश्व मानव समुदायका लागि गतिलो वैचारिक हतियार बनेको कुरा सिद्ध भइसकेको भन्दै मार्क्सले प्रतिपादन गर्नुभएको मार्क्सवादभन्दा अगाडि शासक वर्गलाई श्रमजीवीमाथि शासन गर्ने अधिकार प्राप्त भएको र श्रमजीवी वर्ग शासित हुन बाध्य हुन्छ भन्ने मान्यता स्थापित रहेको उल्लेख गर्नुभएको छ ।
उहाँले मार्क्सवादको आविष्कारपछि इतिहासमा पहिलोपटक वैचारिक रूपले विद्रोह गर्नु श्रमजीवी जनताको अधिकार हो भन्ने मान्यता स्थापित भएको बताउनु भएको छ ।
उहाँले मानव समाजले सृष्टि गरेका कुनै पनि सकारात्मक उपलब्धिको प्रमुख हकदार भनेको श्रमजीवी वर्गको हो भन्ने मान्यता कार्ल मार्क्सले अगाडि सार्नु भएको दाबी गर्नुभएको छ ।
नेपाली क्रान्तिका महानायक क. प्रचण्डले भन्नुभयो, “नेपाली भूमिमा मार्क्सवादलाई लागु गर्ने र त्यसलाई विकास गर्ने सन्दर्भमा धेरै संघर्षहरू भएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान सोही संघर्षको एक उपलब्धिका रूपमा लिन सकिन्छ ।”
वर्तमान संविधानले निर्देश गरेको नेपाली मोडेलको समाजवाद स्थापनाको बाटोमा लामबद्ध हुनु अहिलेको आवश्यकता भएको बताउँदै उहाँले “त्यसका लागि भइरहेका सबै प्रकारका प्रतिगामी प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्दै समाजवादको बाटोमा अग्रसर हुन प्रतिगमन विरोधी सम्पूर्ण शक्तिहरूलाई ऐक्यबद्धताका लागि आह्वान गर्दछु ।”
उहाँले यसरी कार्ल मार्क्सको वैज्ञानिक शिक्षाप्रति इमान्दार र निष्ठावान बन्न सकिने विचार व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देशको पूर्ण पाठः
विश्व सर्वहारा–श्रमजीवी वर्गका महान गुरु कार्ल मार्क्सको २०३औँ जन्मदिनका अवसरमा संसारभरका सम्पूर्ण वामपन्थी सर्वहारावादी कम्युनिस्ट क्रान्तिकारीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । कार्ल मार्क्सले आविष्कार गर्नुभएको वैज्ञानिक समाजवादको या द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको अनुसन्धान विश्व मानव समुदायका लागि गतिलो वैचारिक हतियार बनेको कुरा सिद्ध भइसकेको छ ।
मार्क्सले प्रतिपादन गर्नुभएको मार्क्सवादभन्दा अगाडि शासक वर्गलाई श्रमजीवीमाथि शासन गर्ने अधिकार प्राप्त छ र श्रमजीवी वर्ग शासित हुन बाध्य हुन्छ भन्ने मान्यता स्थापित थियो । मार्क्सवादको आविष्कारपछि इतिहासमा पहिलोपटक वैचारिक रूपले विद्रोह गर्नु श्रमजीवी जनताको अधिकार हो भन्ने मान्यता स्थापित भयो ।
मानव समाजले सृष्टि गरेका कुनै पनि सकारात्मक उपलब्धिको प्रमुख हकदार भनेको श्रमजीवी वर्गको हो भन्ने मान्यता कार्ल मार्क्सले अगाडि सार्नु भएको थियो ।
नेपाली भूमिमा मार्क्सवादलाई लागु गर्ने र त्यसलाई विकास गर्ने सन्दर्भमा धेरै संघर्षहरु भएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान सोही संघर्षको एक उपलब्धिका रुपमा लिन सकिन्छ । वर्तमान संविधानले निर्देश गरेको नेपाली मोडेलको समाजवाद स्थापनाको बाटोमा लामबद्ध हुनु अहिलेको आवश्यकता हो । त्यसका लागि भइरहेका सबै प्रकारका प्रतिगामी प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्दै समाजवादको बाटोमा अग्रसर हुन प्रतिगमन विरोधी सम्पूर्ण शक्तिहरूलाई ऐक्यबद्धताका लागि आह्वान गर्दछु । यसरी नै हामीले कार्ल मार्क्सको वैज्ञानिक शिक्षाप्रति इमान्दार र निष्ठावान बन्न सकिन्छ ।
कार्ल मार्क्स र मार्क्सवाद अमर रहोस् !
२२ बैशाख, २०७८ (०५ मई)
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष