अखिल नेपाल किसान महासंघ, anpfa, logo,
 

काठमाडौँ । अखिल नेपाल किसान महासंघले ओली सरकारले प्राप्त उपलब्धिहरूलाई सिध्याउने, नेपाली किसानहरूको उपेक्षा गर्ने र किसान आन्दोलनलाई विभाजित गर्ने विविध खालका गतिविधिहरू गरेको बताएको छ । आज राष्ट्रिय धान दिवसको उपलक्ष्यमा एक विज्ञप्ति प्रकाशित गर्दै अखिल नेपाल किसान महासंघ ले सो कुरा बताएको हो ।

अखिल नेपाल किसान महासंघका महासचिव तथा नेकपा (एमाले – माधव पक्ष) का नेता क. बलराम बाँस्कोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा अहिलेको सरकारले प्राप्त उपलब्धिहरूलाई सिध्याउन निरन्तर लागिरहेको दाबी गर्दै भनिएको छ, “नेपाली किसानको उपेक्षा गर्ने र किसान आन्दोलनलाई विभाजित गर्ने विविध खालका गतिविधिहरु भइरहेका छन् । लगातार किसान विरोधी निर्णयहरु गर्दै आएको यस सरकारले किसानको चाहना विपरीत कृषिका प्राथमिक उत्पादनका क्षेत्रहरूमा विदेशी लगानी भित्राउने, जनताको खाद्य सम्प्रभुताको हकलाई बनेको कानुनअनुसार लागु गर्नुपर्नेमा उल्टो साम्राज्यवादीहरूसँगको साँठगाठमा नवउदारवादी निगमीय खेतीको वकालत गर्ने, नेपालमा कृषि भूमिको कित्ताकाट खुल्ला गर्ने, भूमि बै‌क, करार खेती, कृषिमा प्रत्यक्ष वैदेशिक लगानी खुल्ला गर्ने, प्रतिबन्धित गरेका अनुवंश परिवर्तित बिउ र खाद्यान्नलाई खुला गर्ने उद्देश्यका साथ विभिन्न नीति-कार्यक्रमहरू अघि सारेको छ ।”

किसान महासंघले प्रतिगामी सरकारबाट जनताको खाद्य सम्प्रभुताको हक, नेपाली साना किसान र कृषि अर्थतन्त्रको विरुद्ध भएको यस प्रकारका षडयन्त्रपूर्ण कदमलाई तत्काल सच्याउन तथा जनताको खाद्य सम्प्रभुताको हक सुरनिश्चित गर्न जोडदार माग गरेको छ ।

अखिल नेपाल किसान महासंघद्वारा जारी प्रेस विज्ञप्तिको पूर्णपाठः

मिति: २०७८/०३/१५ गते

प्रेस विज्ञप्ति

नेपाली किसानहरूको महान् पर्व असार १५ तथा राष्ट्रिय धान दिवसको उपलक्ष्यमा अखिल नेपाल किसान महासंघ सम्पूर्ण नेपाली किसान वर्गमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ । यस अवसरमा हामी किसानलाई आवश्यक बिउ, मल तथा अन्य सामग्रीको सहज उपलब्धता सुनिश्चित गर्न राज्य र सम्बन्धित निकायसँग जोड्दार माग गर्दछौव । साथै देशभर बाढी, पहिरो तथा कोभिडको महामारीबाट प्रताडित किसानका लागि विशेष राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन समेत जोडदार माग गर्दछौँ ।

असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली किसानहरूको महत्त्वपूर्ण पर्व हो । नेपालका प्रमुख किसान संघसंगठनहरूले यसलाई किसान दिवसको रूपमा लामो समयदेखि मनाउँदै आएका थिए । हामीले प्रत्येक वर्ष धुमधामका साथ किसानहरूमाझ खेतमा रोपाइँ गर्दै, हिलो खेल्दै, दहीचिउरा खाँदै, रोपाइँ गीत गाउँदै यो पर्व मनाउँदै आएका थियौँ । तर विशेष परिस्थितिका कारण यस वर्ष हामी फरक रूपमा यो पर्व मनाउँदै छौँ । अझ १७ वर्ष अघि नेपाल सरकारले यस दिनलाई औपचारिक रूपमा धान दिवसको रूपमा घोषणा गरी विभिन्न कार्यक्रमका साथ मनाउन थालेपछि त यस दिनको महत्त्वले थप चर्चा पाएको छ र लामो समयदेखिको किसानको चाहना पूरा भएको छ ।

नेपालको मुख्य खाद्यबाली धान नेपालको इतिहास, यहाँको सभ्यता र संस्कृतिसँग गाँसिनुका साथै जीवनयापनको अभिन्न अंग रहेको छ । धान दिवस मनाउनुले धानसँग सम्बन्धित विविध विषयलाई उजागर गर्नुका साथै यसको महत्त्वलाई दर्शाएको छ । धान खेतीको उत्पत्ति एसियाको हिन्दकुश हिमालयमा भएको र एसियामा खेती प्रणालीसँगै धान खेती भित्रेकोले एसियाली सभ्यता धान खेतीको सभ्यता पनि भनिन्छ । हाम्रा लागि धान केवल खाना वा उपभोग्य वस्तु मात्र नभएर यो संस्कृति, पहिचान र इतिहाससँग गाँसिएको विषय हो । त्यसैले आजको दिन किसानहरूको विशेष दिन हो । अखिल नेपाल किसान महासंघले लामो समयदेखि नेपालमा श्री (SRI) प्रविधिमार्फत उत्पादकत्व बृद्धि, धानका बिउमा सुधारका लागि किसानलाई तालिम (Farmers Scientist Program) सञ्चालन गर्नुका साथै एसियाकै निधिको रूपमा रहेको धान संस्कृति र रैथाने धानको बिउको संरक्षणका लागि धान बचाऔँ अभियान लगायतका विविध खालका कार्यक्रमहरु सञ्चालन समेत गर्दै आएको कुरा जानकारी गराउन चाहन्छौँ ।

अखिल नेपाल किसान महासंघ नेपाली किसानहरूको हक, हित र समृद्धिका लागि लगभग विगत ७ दशकदेखि नेपालको किसान आन्दोलनको नेतृत्व गर्दै जनतामाझ लोकप्रिय संगठनको रूपमा स्थापित भएको कुरा अवगत नै छ । यसै सन्दर्भमा हामीले किसानलाई संगठित गर्ने, परिचालन गर्ने, प्रशिक्षित गर्ने, किसानमैत्री नीति कार्यक्रमका लागि हस्तक्षेप गर्ने तथा कृषि पेशालाई रोजगारीमूलक, आयमूलक र सम्मानित पेशाको रूपमा विकास गर्दै आम किसानको जीवनमा समृद्धि ल्याउने दिशामा अत्यन्त महत्त्वका साथ निरन्तर क्रियाशील रहेको र विभिन्न संवैधानिक, नीतिगत र कार्यक्रमिक उपलब्धिहरू समेत हासिल गरेको कुरा पुन: यहाँहरूलाई स्मरण गराउन चाहन्छौँ । तर दुर्भाग्य अहिलेको सरकार ती उपलब्धिलाई सिध्याउन निरन्तर लागिरहेको छ । नेपाली किसानको उपेक्षा गर्ने र किसान आन्दोलनलाई विभाजित गर्ने विविध खालका गतिविधिहरू भइरहेका छन् । लगातार किसानविरोधी निर्णयहरू गर्दै आएको यस सरकारले किसानको चाहना विपरीत कृषिका प्राथमिक उत्पादनका क्षेत्रहरूमा विदेशी लगानी भित्राउने, जनताको खाद्य सम्प्रभुताको हकलाई बनेको कानुनअनुसार लागु गर्नुपर्नेमा उल्टो साम्राज्यवादीहरूसँगको साँठगाठमा नवउदारवादी निगमीय खेतीको वकालत गर्ने, नेपालमा कृषि भूमिको कित्ताकाट खुल्ला गर्ने, भूमि बैंक, करार खेती, कृषिमा प्रत्यक्ष वैदेशिक लगानी खुल्ला गर्ने, प्रतिवन्धित गरेका अनुवंश परिबर्तित बिउ र खाद्यान्नलाई खुला गर्ने उद्देश्यका साथ विभिन्न नीति-कार्यक्रमहरू अघिसारेको छ । हामी प्रतिगामी सरकारबाट जनताको खाद्यसम्प्रभुताको हक, नेपाली साना किसान र कृषि अर्थतन्त्रको विरुद्ध भएको यस प्रकारका षडयन्त्रपूर्ण कदमलाई तत्काल सच्याउन तथा जनताको खाद्य सम्प्रभुताको हक सुनिश्चित गर्न जोडदार माग गर्दछौँ ।

अन्त्यमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आमाबुवाहरूको सुख, समृद्धि र सुस्वाथ्यको कामना गर्न चाहन्छौँ ।

बलराम बास्कोटा
महासचिव
अखिल नेपाल किसान महासंघ