काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनलाई रक्षा गर्दै जनताको हक अधिकार स्थापित गर्नका लागि माओवादीलाई बलियो बनाउनुको विकल्प नरहेको बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सबै जनताको समान अधिकारका लागि आफूले दुई पटक संविधान संशोधन प्रस्ताव अघि बढाए पनि एमालेको केपी ओली गुटका कारण सफल हुन नसकेको बताउनु भएको हो ।
अहिले पनि एमालेको केपी गुट मधेस, महिला, दलित, जनजाति लगायत मुलुकको परिवर्तनको विरोधी भएको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले परिवर्तनलाई रक्षा गर्दै जनताको हक अधिकार स्थापित गर्नका लागि माओवादीलाई बलियो बनाउनुको विकल्प नरहेको बताउनुभयो । यसअघि पनि आफूहरूले प्रतिगमनलाई असफल बनाएको र परिवर्तनलाई उल्ट्याउन खोज्ने तत्त्वलाई बालुवाटारबाट निकालेर बालकोट पुराएको भन्दै प्रचण्डले जस्तोसुकै मूल्य चुकाएर भए पनि संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले भन्नुभयो, ‘जस्तोसुकै मूल्य चुकाएर भएपनि प्रतिगामीलाई परास्त गरी संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नेछौँ ।’
अध्यक्ष प्रचण्डले अब पार्टीलाई केन्द्रदेखि स्थानीय तहसम्म बलियो बनाउँदै लैजाने बताउँदै अहिले पार्टीको झण्डै ८ लाख संगठित सदस्य पुगेको र छिटै १० लाख पुग्ने उद्घोष समेत गर्नुभयो ।