काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको क्रममा भएका उपलब्धिहरूलाई स्वागत गर्दै नेपाल सरकारलाई भारत सरकारका तर्फबाट प्राप्त हुन लागेका १५ वटा मुर्रा राँगोको विषय संसदमा उछाल्दै केही राजनीतिक दलहरूले नेपाली किसानहरू र कृषि क्षेत्रलाई अपमान गर्ने गरी संसदमा प्रहसन गरेकोमा निन्दा तथा भर्त्सना गरेको छ ।
महासंघले आज एक विज्ञप्ति जारी गर्दै “नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को यही मिति २०८० जेठ १७–२० गतेसम्म भएको भारतको ४ दिने औपचारिक भ्रमणको क्रममा नेपालको विद्युत उत्पादन तथा विक्रि, संयुक्त चेकपोष्ट, पारवाहन, पेट्रोलियम पदार्थको पाइपलाइन लगायतका दीर्घकालीन हितका विषयमा सम्झौता गर्न सफल भएको, भारतीय शासक वर्गको आँखामा आँखा जुधाएर दुई पक्षीय हितको विषयमा कुराकानी गरेको, बरु आफ्नो भ्रमणलाई सद्भावना भ्रमणको रूपमा टुंगाउन तयार भएको तर देशको हित विरुद्ध कुनै पनि गलत सन्धि सम्झौता नगर्ने अडान लिएको, भारतीय संसदमा नेपालका लुम्बिनी र कपिलवस्तु जस्ता ऐतिहासिक स्थलहरू समेटेको भित्ते चित्र (मुरल) टाँगेको विषयलाई दृढताकासाथ उठाएको र विगतमा नेपाली भूमि अन्तर्गत रहेका तर अंग्रेजी शासकहरूले भारत छोड्दा नेपालका राजा र राणाहरूले आफ्नो सत्ता जोगाउन भारतलाई सुम्पेका विभिन्न भूभागहरू समेटिएको विशाल नेपाल (ग्रेटर नेपाल) को भित्ते चित्र राख्ने बहस चलेको उल्लेख गर्दै तीव्र विरोध गरेको र राष्ट्रहित विपरीतका कुनै पनि सन्धि–सम्झौता नगरी देशको शिर उँचो राखेकोमा हामी देशभरका किसानहरूको तर्फबाट हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछौँ । यसै सन्दर्भमा नेपाल सरकारलाई भारत सरकारका तर्फबाट प्राप्त हुन लागेका १५ वटा मुर्रा राँगोको विषय संसदमा उछाल्दै केही राजनीतिक दलहरूले देशको दुईतिहाइ जनसंख्या ओगट्ने नेपाली किसानहरू र राष्ट्रिय अर्थतन्त्रमा एकतिहाई योगदान गर्ने कृषि क्षेत्रलाई अपमान गर्ने र युवाहरूलाई कृषिबाट विकर्षित गर्ने गरी अपमानजनक भाषामा संसदमा प्रहसन गरिएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामी सो कार्यको तीव्र निन्दा तथा भर्त्सना गर्दछौँ”, भनेको छ ।
महासंघका अध्यक्ष क. चित्रबहादुर श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा, “नेपाली किसानको हितलाई ध्यानमा राखी पशुपालक किसानहरूलाई उच्च उत्पादनयुक्त पशु नश्ल उपलब्ध गराउन सम्माननीय प्रधानमन्त्रीज्यूले भारत भ्रमणको अवसरमा गरेको पहलका लागि हामी नेपालका करोडौँ किसानहरूको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौँ, भन्दै “नेपाल सरकारले धेरै पहिले नै प्रक्रिया अघि बढाइसकेको, सरकारको शीर्ष नेतृत्वले यसलाई तुच्छ विषय सम्झेर पहल नगरेको र तल्लो तहबाट पटकपटक पहल हुँदा पनि भारतले दिन अस्विकार गरेको उच्च गुणस्तरका मुर्रा जातका राँगोहरू यसपटक प्राप्त हुने सुनिश्चितता गरेकोमा सम्माननीय प्रधानमन्त्री प्रचण्डलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौँ ।”
महासंघले विज्ञप्ति मार्फत स्वदेशी विउबिजन र पशु नश्लको संरक्षण र विकास गर्दै खाद्यान्न, तरकारी, उखु, चिया लगायतका विभिन्न बाली र पशु नश्लको अझ उच्चस्तरको आनुवांशिक स्रोतका लागि विभिन्न राष्ट्रहरूसँग पहल गर्न हामी नेपाल सरकारसँग जोडदार माग गरेको छ ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)द्वारा जारी प्रेस विज्ञप्तिको पूर्ण पाठः
नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को यही मिति २०८० जेठ १७–२० गतेसम्म भएको भारतको ४ दिने औपचारिक भ्रमणको क्रममा नेपालको विद्युत उत्पादन तथा विक्रि, संयुक्त चेकपोष्ट, पारवाहन, पेट्रोलियम पदार्थको पाइपलाइन लगायतका दीर्घकालीन हितका विषयमा सम्झौता गर्न सफल भएको, भारतीय शासक वर्गको आँखामा आँखा जुधाएर दुई पक्षीय हितको विषयमा कुराकानी गरेको, बरु आफ्नो भ्रमणलाई सद्भावना भ्रमणको रूपमा टुंगाउन तयार भएको तर देशको हित विरुद्ध कुनै पनि गलत सन्धि सम्झौता नगर्ने अडान लिएको, भारतीय संसदमा नेपालका लुम्बिनी र कपिलवस्तु जस्ता ऐतिहासिक स्थलहरू समेटेको भित्ते चित्र (मुरल) टाँगेको विषयलाई दृढताकासाथ उठाएको र विगतमा नेपाली भूमि अन्तर्गत रहेका तर अंग्रेजी शासकहरूले भारत छोड्दा नेपालका राजा र राणाहरूले आफ्नो सत्ता जोगाउन भारतलाई सुम्पेका विभिन्न भूभागहरू समेटिएको विशाल नेपाल (ग्रेटर नेपाल) को भित्ते चित्र राख्ने बहस चलेको उल्लेख गर्दै तीव्र विरोध गरेको र राष्ट्रहित विपरीतका कुनै पनि सन्धि–सम्झौता नगरी देशको शिर उँचो राखेकोमा हामी देशभरका किसानहरूको तर्फबाट हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछौँ । यसै सन्दर्भमा नेपाल सरकारलाई भारत सरकारका तर्फबाट प्राप्त हुन लागेका १५ वटा मुर्रा राँगोको विषय संसदमा उछाल्दै केही राजनीतिक दलहरूले देशको दुईतिहाइ जनसंख्या ओगट्ने नेपाली किसानहरू र राष्ट्रिय अर्थतन्त्रमा एकतिहाई योगदान गर्ने कृषि क्षेत्रलाई अपमान गर्ने र युवाहरूलाई कृषिबाट विकर्षित गर्ने गरी अपमानजनक भाषामा संसदमा प्रहसन गरिएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामी सो कार्यको तीव्र निन्दा तथा भर्त्सना गर्दछौँ ।
नेपालको अर्थतन्त्रमा कृषिको योगदान, कृषि क्षेत्रमा पशुपालन, पशुपालनमा भैँसीको योगदान र भैँसीको उत्पादन र उत्पादकत्व बृद्धिमा उन्नत नश्ल सुधार, कृतिम गर्भाधान र त्यसका लागि मुर्रा जातको भैँसीको उपयोगिता र प्रभावकारिता बारे कुनै ज्ञान नभएका तर आफैले आफैलाई ब्रम्हज्ञानी ठान्ने महाकाली बेचुवा राजनीतिक दलहरू, ‘जान्नेलाई छान्ने’ भन्दै आफू बाहेकका आम नागरिक, किसान र मजदुरहरूलाई ‘नजान्ने’,अनपढ, गँवार बनाउँदै फेसबुक–ट्विटरमा नौटंकी गरेको भरमा राजनीतिमा अस्थायी ठाउँ बनाएका चटके राजनीतिक दलका किसानविरोधी, कृषिविरोधी र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र विरोधी बज्रस्वाँठहरूले संसदमा हंगामा खडा गर्नुले उनीहरूको कृषि र किसान विरोधी चरित्र र चिन्तन खुलस्त भएको छ । हामी देशका सबै कृषि र किसान विरोधी राजनीतिक दल र नेताहरूलाई मूर्दावाद भन्न चाहन्छौँ ।
नेपाली किसानको हितलाई ध्यानमा राखी पशुपालक किसानहरूलाई उच्च उत्पादनयुक्त पशु नश्ल उपलब्ध गराउन सम्माननीय प्रधानमन्त्रीज्यूले भारत भ्रमणको अवसरमा गरेको पहलका लागि हामी नेपालका करोडौँ किसानहरूको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौँ । नेपाल सरकारले धेरै पहिले नै प्रक्रिया अघि बढाइसकेको, सरकारको शीर्ष नेतृत्वले यसलाई तुच्छ विषय सम्झेर पहल नगरेको र तल्लो तहबाट पटकपटक पहल हुँदा पनि भारतले दिन अस्विकार गरेको उच्च गुणस्तरका मुर्रा जातका राँगोहरू यसपटक प्राप्त हुने सुनिश्चितता गरेकोमा सम्माननीय प्रधानमन्त्री प्रचण्डलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौँ । साथै स्वदेशी विउबिजन र पशु नश्लको संरक्षण र विकास गर्दै खाद्यान्न, तरकारी, उखु, चिया लगायतका विभिन्न बाली र पशु नश्लको अझ उच्चस्तरको आनुवांशिक स्रोतका लागि विभिन्न राष्ट्रहरूसँग पहल गर्न हामी नेपाल सरकारसँग जोडदार माग गर्दछौँ ।
नेपालजस्तो किसान बाहुल्य देशमा देशको जनसंख्याको दुईतिहाइ हिस्सा ओगट्ने किसानहरू नेपालका प्रमुख उत्पादक शक्ति हुन्, देशको राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनका मुख्य चालक शक्ति हुन् । यो देशमा भएका जुनसुकै राजनीतिक दलहरूले किसानहरूको भोटले मात्रै संसदमा छिर्ने ल्याकत राख्दछन् र किसानहरूले नरुचाएको दिन तिनलाई नेपाली किसानहरूले ‘दुधमा परेको झिँगो टिपेर मिल्काए’ जस्तै नेपालको राजनीतिक इतिहासबाट तिनको नामो निशान मेटाइदिने तागत राख्दछन् । त्यसैले सबै राजनीतिक दलहरूलाई जिम्मेवार बन्न, कृषि पेसा र किसानहरूलाई अपमान गर्ने गतिविधि संसद वा संसद बाहिर नदेखाउन अन्यथा किसानहरूको आक्रोशको तारो बन्ने कुराको चेतावनी दिन चाहन्छौँ ।
हार्दिक क्रान्तिकारी अभिवादनसहित ।
चित्रबहादुर श्रेष्ठ
अध्यक्ष
मितिः २०८०/०२/२६ गते