pushpa kamal dahal, prachanda,
 

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा नेपाल सरकारका प्रधानमन्त्री क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिनियाँ क्रान्तिका नायक एवं विश्व सर्वहारा वर्गका नेता क. माओत्सेतुङलाई मार्क्सवाद–लेनिनवादका सच्चा अनुयायी एवं नयाँ विचार र कार्यदिशाको विकास गर्ने एक सच्चा मालेमावादी नेता भएको उल्लेख गर्दै आजको सन्दर्भमा माओको स्मरण र सम्मान गर्नु आफ्नो देशको मौलिकता र विशिष्टता र मौलिकतासहित क्रान्तिको कार्यदिशा तय गर्नु र निरन्तर क्रान्तिको सिद्धान्तलाई आत्मसातीकरण भएको बताउनु भएको छ । आज १३०औँ माओ जयन्तीको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै विश्व सर्वहारा एवं श्रमजीवी वर्गका नेता कमरेड माओत्सेतुङप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो ।

अध्यक्ष प्रचण्डले, “दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा माओले गर्नुभएको योगदानको संश्लेषण गर्दै हाम्रो पार्टीले मार्क्सवाद–लेनिनवाद–माओवादलाई मार्गनिर्देशक सिद्धान्तका रूपमा आत्मसात गर्दै आएको” बताउँदै “यस सन्दर्भमा मालेमावादको वैचारिक आलोकलाई आत्मसात गर्दै हाम्रो पार्टीको ऐतिहासिक आठौँ राष्ट्रिय सम्मेलनले २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो संश्लेषण गर्दै समाजवादको आधार तयार पार्ने दृढ सङकल्प गरेको”, विचार व्यक्त गर्नुभएको छ ।

दश वर्षे महान् जनयुद्धका सर्वोच्च नेता क. प्रचण्डले आफ्नो शुभकामना सन्देशमा क्रान्तिको मोडेल र कार्यदिशा आयात–निर्यात गर्ने विषय नभएर सम्बन्धित देशको विशिष्टता र मौलिकतामा निर्भर रहने बताउँदै आजको सन्दर्भ क्रान्तिनायक माओत्सेतुङ र माओवादी दर्शनबाट लिनुपर्ने विशेष शिक्षा पनि यही भएको उल्लेख गर्नुभएको छ ।

माओ जयन्तीको अवसरमा आज जारी शुभकामना सन्देशमा उहाँले समाजवादी क्रान्तिको सपना बोकेर उच्च बलिदानी गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै सम्पूर्ण बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दै घाइते योद्धाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । उहाँले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित समाजवादको आधार तयार पार्ने राष्ट्रिय कार्यभारमा ऐक्यवद्धता र सहकार्यका लागि न्यायप्रेमी जनसमुदायमा हार्दिक अपील पनि  गर्नुभएको छ ।

आजै १३०औँ माओ जयन्तीको अवसरमा अध्यक्ष क. प्रचण्डको प्रमुख आतिथ्यमा नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रम आयोजना गरिएको थियो ।

Comrade Mao Zedong, Maotsetung, Chairman of the Communist Party of China (CPR)
क. माओत्सेतुङ

क. माओत्सेतुङको जन्मजयन्तीको अवसरमा अध्यक्ष क. प्रचण्डको शुभकामना सन्देशको पूर्ण पाठः

१३० औँ जन्मजयन्तीको अवसरमा विश्व सर्वहारा एवं श्रमजीवी वर्गका नेता कमरेड माओत्सेतुङप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु।

२६ डिसेम्बर १८९३ मा जन्मिनुभएका चिनियाँ क्रान्तिका नायक एवं विश्व सर्वहारा वर्गका नेता माओ मार्क्सवाद–लेनिनवादका सच्चा अनुयायी एवं नयाँ विचार र कार्यदिशाको विकास गर्ने एक सच्चा मालेमावादी नेता हुनुहुन्थ्यो। तसर्थ, आजको सन्दर्भमा माओको स्मरण र सम्मान गर्नु आफ्नो देशको मौलिकता र विशिष्टता र मौलिकतासहित क्रान्तिको कार्यदिशा तय गर्नु र निरन्तर क्रान्तिको सिद्धान्तलाई आत्मसातीकरण गर्नु हुन जान्छ।

दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा माओले गर्नुभएको योगदानको संश्लेषण गर्दै हाम्रो पार्टीले मार्क्सवाद–लेनिनवाद–माओवादलाई मार्गनिर्देशक सिद्धान्तका रूपमा आत्मसात गर्दै आएको छ। यस सन्दर्भमा मालेमावादको वैचारिक आलोकलाई आत्मसात गर्दै हाम्रो पार्टीको ऐतिहासिक आठौँ राष्ट्रिय सम्मेलनले २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो संश्लेषण गर्दै समाजवादको आधार तयार पार्ने दृढ सङकल्प गरेको छ।

हामी विशेष रूपमा स्पष्ट हुनुपर्दछ कि क्रान्तिको मोडेल र कार्यदिशा आयात–निर्यात गर्ने विषय नभएर सम्बन्धित देशको विशिष्टता र मौलिकतामा निर्भर रहन्छ । आजको सन्दर्भ क्रान्तिनायक माओत्सेतुङ र माओवादी दर्शनबाट लिनुपर्ने विशेष शिक्षा पनि यही हो।

अन्त्यमा, यस ऐतिहासिक अवसरमा समाजवादी क्रान्तिको सपना बोकेर उच्च बलिदानी गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । सम्पूर्ण बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दै घाइते योद्धाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित समाजवादको आधार तयार पार्ने राष्ट्रिय कार्यभारमा ऐक्यवद्धता र सहकार्यका लागि न्यायप्रेमी जनसमुदायमा हार्दिक अपील गर्दछु । धन्यवाद ।

१० पुस, २०७८ (२६ डिसेम्बर, २०२३)

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

Chairman Prachanda, Chairman Mao Zedong, Mao Day, माओ जयन्ती