काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को ऐतिहासिक २३औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा भव्यरूपमा सुरु भएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का श्रद्धेय अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालय, स्मृति सभा भवनमा भव्य समारोहका बिच समुद्घाटन गर्नुभएको राष्ट्रिय सम्मेलनमा दुई हजार ३२३ प्रतिनिधि सहभागी रहेको अखिल (क्रान्तिकारी) ले जनाएको छ ।
अखिल (क्रान्तिकारी) देशको भविष्यका कर्णाधार देशभक्त तथा क्रान्तिकारी नेपाली विद्यार्थीहरू, गरिब किसान, मजदुर, सुकुम्बासी, मधेसी, दलित, आदिवासी-जनजाति, सिमान्तीकृत समुदाय र आम मेहनतकश जनताका छोराछोरीहरूको एक मात्र आशा र भरोसाको केन्द्रको रूपमा रहेको छ ।नेपाली क्रान्तिकारी विद्यार्थी आन्दोलनको मुख्य नेतृत्वकर्ताको रूपमा रहेको संगठनको नयाँ नेतृत्व चयनसहित शैक्षिक मुद्दा, संगठन र संघर्षका भावी योजनामा केन्द्रित रहेर चार दिनसम्म काठमाडौँको कीर्तिपुरमा चल्ने राष्ट्रिय सम्मेलनले संगठनका ३३ पदाधिकारीसहित २४३ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।
देशकै सबैभन्दा लोकप्रिय विद्यार्थी संगठन हुनुका साथै झण्डै आठ दशक लामो शैक्षिक तथा लोकतान्त्रिक आन्दोलनको इतिहास र दश वर्षे महान् जनयुद्धको विरासत बोकेको, सयौँ नेता, कार्यकर्तताको बलिदानको जगमा उभिएको, लखन थापापछिका देशका प्रथम सहिद गंगालाल, २००७ सालको राणा-काँग्रेस दिल्ली सम्झौताको विरोध गर्ने क्रममा मारिएका सहिद चिनियाँकाजी श्रेष्ठ र महान् जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल जन्माउने गौरवशाली इतिहास रचेको नेपालको समाजवादी क्रान्तिको उत्तराधिकारी संगठन हुनुको नाताले अखिल (क्रान्तिकारी) को नेतृत्वका लागि आकांक्षा राख्नेहरूको संख्या धेरै हुनु स्वभाविक मात्र होइन, अति आवश्यक कुरा हो ।
कम्युनिष्ट आन्दोलनको नयाँ भर्ती केन्द्र मानिने विद्यार्थी संगठन कुनै कम्युनिष्ट पार्टीको वर्तमान र भविष्य मापन गर्ने एउटा आधार पनि हो । तसर्थ संभव भएसम्म समाजवादी विधिका आधारमा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गरिने र त्यस्तो हुन नसकेमा उच्च जनवादको प्रयोग गर्दै स्वस्थ प्रतिस्पर्धा गर्ने वातावरण तयार गरिने अखिल (क्रान्तिकारी) ले जनाएको छ ।
यसअघि संगठनमा देखिएका विवादहरूलाई पूर्णरूपमा समाधान र संगठनभित्रको अस्वस्थ प्रतिस्पर्धा तथा गुटबन्दीको पूर्णरूपमा अन्त्य गर्दै संगठनलाई एक ढिक्का बनाएर माओवादी विद्यार्थी आन्दोलनलाई एकीकृत बनाउँदै देशकै विद्यार्थी आन्दोलनको बृहत् नेतृत्व गर्ने र समाजवादी क्रान्तिको दिशामा योगदान गर्नसक्ने भर्भराउँदो संगठन निर्माण गर्ने गरी अखिल (क्रान्तिकारी) को नेतृत्व चयन हुनुपर्नेमा सबैको एकमत छ । नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचन कार्यक्रमलाई सौहार्द र मर्यादित बनाउन सबै प्रयास गरिएको अखिल (क्रान्तिकारी) ले जनाएको छ ।
अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलनको कार्यतालिकाः
♦ आज असोज १० गते राष्ट्रिय सम्मेलनको पार्टी अध्यक्ष प्रचण्डबाट समुद्घाटन भएको छ ।
♦ सम्मेलनको बन्द सत्र असोज ११ गते बिहान ८ बजेबाट सुरु हुनेछ । सोही दिन संगठनको राजनीतिक प्रतिवेदन तथा विधानको मस्यौदा पेस गर्ने र त्यसमाथि छलफल गर्न समूह विभाजन गर्ने तालिका तय भएको छ ।
♦ असोज १२ गते बिहानदेखि समूहगत छलफलमा आएका निचोडहरू समूहका नेताले प्रस्तुत गर्ने र निर्वाचन समितिले सम्मेलनका प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गर्ने ।
♦ असोज १३ गते बिहानैदेखि निर्वाचनको कार्यक्रम व्यवस्थित रूपमा सुरु हुनेछ । नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियाको आवश्यक तयारी हुने छ ।
♦ असोज १४ गते बिहान ८ बजेदेखि मतदानको कार्यक्रम सुरु हुनेछ । मतदान सकिएपछि तत्काल मत गणना थल्ने र मत परिणाम घोषणा गर्ने अखिल (क्रान्तिकारी) को तयारी छ ।