काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले २०८१ असोज ९ देखि १२ गतेसम्म भएको अविरल वर्षाको कारण देशका विभिन्न ठाउँमा जनधनको ठुलो क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ताहरूको जीवितै उद्दारको कामना गर्दै नेपाल सरकारलाई सरकारमा बसेर जनताको घाउमा मलम लगाउनुको सट्टा नूनचुक छर्केर जनताको दुःखको भद्दा मजाक नगर्न चेतावनी दिएको छ ।
महासंघका अध्यक्ष क. चित्रबहादुर श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छः “यही मिति २०८१ असोज ९ देखि १२ गतेसम्म भएको अविरल वर्षाको कारण देशका विभिन्न ठाउँमा जनधनको ठुलो क्षति भएको छ । हालसम्म १९२ जनाभन्दा धेरैले जीवन गुमाएका छन्, कैयौँ घाइते र बेपत्ता छन् । कैयौँ जनताले आफ्नो घर र परिवारका सदस्यहरू गुमाएका छन् । हजारौँ किसानहरूले आफ्नो घरगोठ, खेतबारी, चौपाया, पशुपन्छी र खेतीबाली गुमाएका छन् भने अन्य भौतिक पूर्वाधारहरू नष्ट भएका छन् । घर डुबानमा पर्दा नागरिकता, पासपोर्ट, शैक्षिक प्रमाण-पत्र लगायतका जनताका महत्त्वपूर्ण कागजातहरू नष्ट भएका छन्, विद्यार्थीहरूले पाठ्यपुस्तक र अध्ययन सामग्री गुमाएका छन् । धेरैको बिचल्ली भएको छ । दुःखको यो घडीमा हामी अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को तर्फबाट गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ताहरूको जीवितै उद्दार होस् भनी कामना गर्दछौँ ।”
विज्ञप्तिमा भीषण वर्षा र जोखिमको पूर्वसूचनाको बाबजुद पनि नेपाल सरकारले कुनै पूर्वतयारी नगरेको उल्लेख गर्दै राष्ट्रको ढुकुटी खर्चेर जम्बो टोलीसहित अमेरिका पुगेका प्रधानमन्त्रीले सिंगो देश बाढी-पहिरोको चपेटामा परेर जनता दुःखमा पर्दासमेत कुनै पहल गर्नुको सट्टा ‘हिमालमा गैँडा, हात्ती र मयुर पाइने’ भद्दा मजाकसहितको प्रहसनमा समय कटाएको, कार्यबाहक प्रधानमन्त्री र रक्षामन्त्री कुनै पत्तो नभएको र विपद्को घडीमा सुरक्षा निकाय परिचालन गर्नुपर्ने मुख्य जिम्मेवारी बोकेका गृहमन्त्रीले कहिले जिउँदै मानिसहरूलाई मरिसकेको घोषणा गरेको त कहिले जनधनको क्षति कम भएको भन्दै नागरिक र जनधनको क्षतिप्रति निर्दयी टिप्पणी गरेको उल्लेख गरेको छ ।
महासंघले नेपाल सरकार र प्रदेश सरकारहरूको प्राकृतिक प्रकोपको पूर्वसूचनाप्रति मुकदर्शक बन्ने र जनताको जिउधनको क्षति रोक्न कुनै पहल नगर्ने उदासीन गैरजिम्मेवारीपना तथा सरकारमा बसेर उद्धार र राहतमार्फत जनताको घाउमा मलम लगाउनुको सट्टा नूनचुक छर्केर मजाक गर्ने कार्यको घोर निन्दा तथा भर्त्सना पनि गरेको छ ।
महासंघले आफ्नो विज्ञप्तिमा नेपाल सरकारसमक्ष भविष्यमा यस्तो अवस्था आउन नदिन आवश्यक पूर्वतयारी गर्न, विकासको मोडेलबारे पर्याप्त छलफल गरी पर्यावरणमैत्री विकासको कार्यक्रम र कार्ययोजना अघि सार्न र बाढीबाट पीडित जनतालाई तत्काल उद्दार गर्न, प्रभावित जनतालाई शुद्ध खानेपानी, पौष्टिक खाना, अस्थायी आवास र आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन र घर, खेतबारी, पशुपन्छी, बालीनाली तथा पूर्वाधार क्षति भोगेका किसानहरू र आम जनसमुदायलाई तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गर्न जोडदार माग गरेको छ ।
विज्ञप्तिमार्फत महासंघले दुःखमा परेका जनताको उद्दारमा खटिएका आम नागरिक र जनसंगठनका नेता-कार्यकर्तालाई हार्दिक आभार प्रकट गर्दै महासंघ र त्यसमा आबद्ध २४ वटै विषयगत किसान संघहरूका सबै तहका नेता-कार्यकर्ताहरूलाई उद्दार तथा राहतको कार्यमा जुट्न हार्दिक अपिलसमेत गरेको छ ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)द्वारा जारी प्रेस विज्ञप्तिः
यही मिति २०८१ असोज ९ देखि १२ गतेसम्म भएको अविरल वर्षाको कारण देशका विभिन्न ठाउँमा जनधनको ठुलो क्षति भएको छ । हालसम्म १९२ जनाभन्दा धेरैले जीवन गुमाएका छन्, कैयौँ घाइते र बेपत्ता छन् । कैयौँ जनताले आफ्नो घर र परिवारका सदस्यहरू गुमाएका छन् । हजारौँ किसानहरूले आफ्नो घरगोठ, खेतबारी, चौपाया, पशुपन्छी र खेतीबाली गुमाएका छन् भने अन्य भौतिक पूर्वाधारहरू नष्ट भएका छन् । घर डुबानमा पर्दा नागरिकता, पासपोर्ट, शैक्षिक प्रमाण-पत्र लगायतका जनताका महत्त्वपूर्ण कागजातहरू नष्ट भएका छन्, विद्यार्थीहरूले पाठ्यपुस्तक र अध्ययन सामग्री गुमाएका छन् । धेरैको बिचल्ली भएको छ । दुःखको यो घडीमा हामी अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को तर्फबाट गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ताहरूको जीवितै उद्दार होस् भनी कामना गर्दछौँ ।
भीषण वर्षा र जोखिमको पूर्वसूचनाको बाबजुद पनि नेपाल सरकारले कुनै पूर्वतयारी गरेन । राष्ट्रको ढुकुटी खर्चेर जम्बो टोलीसहित अमेरिका पुगेका प्रधानमन्त्रीले सिंगो देश बाढी-पहिरोको चपेटामा परेर जनता दुःखमा पर्दासमेत कुनै पहल गर्नुको सट्टा ‘हिमालमा गैँडा, हात्ती र मयुर पाइने’ भद्दा मजाकसहितको प्रहसनमा समय कटाइरहे । कार्यबाहक प्रधानमन्त्री र रक्षामन्त्री कुनै पत्तो भएन । विपद्को घडीमा सुरक्षा निकाय परिचालन गर्नुपर्ने मुख्य जिम्मेवारी बोकेका गृहमन्त्रीले कहिले जिउँदै मानिसहरूलाई मरिसकेको घोषणा गर्छन् त कहिले जनधनको क्षति कम भएको भन्दै नागरिक र जनधनको क्षतिप्रति निर्दयी टिप्पणी गर्छन् । हामी नेपाल सरकार र प्रदेश सरकारहरूको प्राकृतिक प्रकोपको पूर्वसूचनाप्रति मुकदर्शक बन्ने र जनताको जिउधनको क्षति रोक्न कुनै पहल नगर्ने उदासीन गैरजिम्मेवारीपना तथा सरकारमा बसेर उद्धार र राहतमार्फत जनताको घाउमा मलम लगाउनुको सट्टा नूनचुक छर्केर मजाक गर्ने कार्यको घोर निन्दा तथा भर्त्सना गर्दछौँ ।
हामी नेपाल सरकारसमक्ष भविष्यमा यस्तो अवस्था आउन नदिन आवश्यक पूर्वतयारी गर्न, विकासको मोडेलबारे पर्याप्त छलफल गरी पर्यावरणमैत्री विकासको कार्यक्रम र कार्ययोजना अघि सार्न र बाढीबाट पीडित जनतालाई तत्काल उद्दार गर्न, प्रभावित जनतालाई शुद्ध खानेपानी, पौष्टिक खाना, अस्थायी आवास र आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन र घर, खेतबारी, पशुपन्छी, बालीनाली तथा पूर्वाधार क्षति भोगेका किसानहरू र आम जनसमुदायलाई तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गर्न जोडदार माग गर्दछौँ । साथै, दुःखमा परेका जनताको उद्दारमा खटिएका आम नागरिक र जनसंगठनका नेता-कार्यकर्तालाई हार्दिक आभार प्रकट गर्दै अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) र यसमा आबद्ध २४ वटै विषयगत किसान संघहरूका सबै तहका नेता-कार्यकर्ताहरूलाई उद्दार तथा राहतको कार्यमा जुट्न हार्दिक अपिल गर्दछौँ ।
हार्दिक क्रान्तिकारी अभिवादनसहित ।
चित्रबहादुर श्रेष्ठ
अध्यक्ष
मितिः२०८१ असोज १४ गते