माओवादी निकट ४ जनसंगठन, चित्रबहादुर श्रेष्ठ, जगत सिम्खडा, दलजित श्रीपाली, अमर परियार
 

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट ४ जनसंगठनले सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बन्न ध्यानाकर्षण गराएका छन् । यही २०८१ असोज ९ देखि १२ गतेसम्म भएको अविरल वर्षाको कारण देशका विभिन्न ठाउँमा गएको बाढी पहिरो र त्यसबाट भएको जिउधनको क्षतिको सन्दर्भमा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघले एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै देशभर अतिवृष्टि र जोखिमको पूर्वसूचना पाउनुको बाबजुद पनि कुनै पूर्वतयारी नगरेको र बाढी आइसकेपछि समेत उद्धारमा कुनै तदारुकता नदेखाएकोमा आक्रोश व्यक्त गरेका छन् ।

चार जनसंगठनका अध्यक्षहरूद्वारा हस्ताक्षरित विज्ञप्तिमा मिति २०८१ असोज ९ देखि १२ गतेसम्म भएको अविरल वर्षाको कारण देशका विभिन्न ठाउँमा २४२ जनाले जीवन गुमाएका छन्, कैयौँ नागरिक घाइते र बेपत्ता भएको उल्लेख गर्दै भौतिक पूर्वाधारहरूसहित २५ अरब रूपैयाँभन्दा धेरैको आर्थिक क्षति भएको, सयौँ नागरिकले आफ्ना परिवारका सदस्यहरू, घर, लत्ताकपडा, भाँडाकुँडा, गोठखोर, खेतबारी, चौपाया, पशुपन्छी, खेतीबाली र रोजगारी गुमाएको, घर डुबानमा पर्दा जनसमुदायका नागरिकता, लालपुर्जा, पासपोर्ट, शैक्षिक प्रमाण-पत्र लगायतका सरकारी र अन्य महत्त्वपूर्ण कागज-पत्रहरूका साथै विद्यार्थीहरूका पाठ्यपुस्तक र अध्ययन सामग्रीहरू नष्ट भएको जनाएका छन् ।

विज्ञप्तिमा बाढी प्रभावित क्षेत्रहरूमा फोहोरमैला छरपष्ट भएको, स्वच्छ पिउने पानीको अभाव रहेको, स्वास्थ्य समस्याहरू उत्पन्न हुँदै गएको र महामारी फैलन सक्ने खतरा रहेको उल्लेख गर्दै प्राकृतिक विपद्‌को यो घडीमा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघको तर्फबाट गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ता नागरिकहरूको शीघ्राति शीघ्र उद्धारको कामना गरेका छन् । ४ जनसंगठनहरूले सरकारसमक्ष विभिन्न मागहरू समेत राखेका छन् ।

नेकपा (माओवादी केन्द्र) निकट ४ जनसंगठनद्वारा जारी प्रेस विज्ञप्तिको पूर्णपाठः

यही मिति २०८१ असोज ९ देखि १२ गतेसम्म भएको अविरल वर्षाको कारण देशका विभिन्न ठाउँमा २४२ जनाले जीवन गुमाएका छन्, कैयौँ नागरिक घाइते र बेपत्ता भएका छन् । भौतिक पूर्वाधारहरूसहित २५ अरब रूपैयाँभन्दा धेरैको आर्थिक क्षति भएको छ । सयौँ नागरिकले आफ्ना परिवारका सदस्यहरू, घर, लत्ताकपडा, भाँडाकुँडा, गोठखोर, खेतबारी, चौपाया, पशुपन्छी, खेतीबाली र रोजगारी गुमाएका छन् । घर डुबानमा पर्दा जनसमुदायका नागरिकता, लालपुर्जा, पासपोर्ट, शैक्षिक प्रमाण-पत्र लगायतका सरकारी र अन्य महत्त्वपूर्ण कागज-पत्रहरूका साथै विद्यार्थीहरूका पाठ्यपुस्तक र अध्ययन सामग्रीहरू नष्ट भएका छन् । बाढी प्रभावित क्षेत्रहरूमा फोहोरमैला छरपष्ट छ, स्वच्छ पिउने पानीको अभाव छ, स्वास्थ्य समस्याहरू उत्पन्न हुँदै गएका छन्, महामारी फैलन सक्ने खतरा छ । प्राकृतिक विपद्‌को यो घडीमा हामी अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघको तर्फबाट गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ता नागरिकहरूको शीघ्राति शीघ्र उद्धारको कामना गर्दछौँ ।

देशभर अतिवृष्टि र जोखिमको पूर्वसूचनाको बाबजुद नेपाल सरकारले कुनै पूर्वतयारी नगर्ने, बाढी आई सकेपछि समेत ठोस योजनासहित उद्धारका लागि कुनै तदारुकता नदेखाउने र मुकदर्शक बन्ने गैरजिम्मेवारीपनले यो सरकार नेपाली जनताको सेवामा नरहेको, बरु आफ्ना निहित स्वार्थ पूरा गर्न र आफू निकट दलाल पुँजीपतिहरू तथा विचौलियाहरूको हितरक्षाका लागि मात्र बनेको कुरा स्वतः पुष्टि भएको छ । तसर्थ हामी नेकपा (माओवादी केन्द्र) निकट ४ जनवर्गीय संगठनहरू नेपाल सरकारलाई जिम्मेवार एवम् नागरिकहरूप्रति उत्तरदायी बन्न गम्भीर ध्यानाकर्षण गराउँदै निम्न मागहरू प्रस्तुत गर्दछौँ र तिनलाई अबिलम्ब पूरा गर्न जोडदार माग गर्दछौः

१. बाढी प्रभावित क्षेत्रमा पोषिलो खाना, स्वच्छ खानेपानी, लत्ताकपडा, अस्थायी आवास, अस्थायी शौचालय लगायतका आधारभूत आवश्यकता पूर्ति गर्ने राहतका सामग्रीहरू निष्पक्षरूपमा तत्काल उपलब्ध गराइयोस्।

२. प्रभावित क्षेत्रहरूमा संक्रामक रोगहरू फैलन नदिन तत्काल स्वास्थ्य शिविरहरू संचालन गरियोस् ।

३. भविष्यका दिनमा यस्ता प्रकोपहरू आउन नदिन आवश्यक पूर्वतयारी गर्न र विकासको मोडलबारे व्यापक छलफल चलाई पर्यावरणमैत्री विकासको कार्यक्रम र कार्ययोजना अघि सारियोस् ।

४. घर, गोठखोर, खेतबारी, पशुपन्छी, बालीनाली, बिउबिजन, कुलो, बाँध, सीतभण्डार, दुध चिस्यान केन्द्र, तरकारी संकलन केन्द्र आदि पूर्वाधारको क्षति भोगेका किसानहरू र आम जनसमुदायलाई तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गरियोस् र पूर्वाधारहरू पूनर्निमाण गरियोस् ।

५. मृतकलाई दिने भनिएको क्षतिपूर्ति तत्काल उपलब्ध गराइयोस् । घाइतेहरूको निःशुल्क स्वास्थ्योपचार गराइयोस्।

६. दशैँ, तिहार, म्हपूजा, छठ, नेपाल सम्बत, ईद जस्ता प्रमुख चाडबाडको मुखमा खाद्यान्नलगायतका उपभोग्य सामग्रीहरू, यातायात तथा हबाई टिकटको अस्वभाविक रूपमा मूल्यबृद्धि गरिएको छ । बजार अनुगमन कडा पारियोस् । तत्काल महंगी नियन्त्रण गरियोस् । कालाबजारी गर्ने र अस्वभाविक मूल्यबृद्धि गराउने दलाल तथा नाफाखोर व्यापारीहरूलाई कारबाही गरियोस् ।

७. झ्याप्ले खोलामा सुरुमा सानो पहिरो गएको र त्यसलाई हटाएको भए त्यहाँ ठुलो दूर्घटना हुनबाट जोगिनसक्ने अवस्था थियो । भीषण वर्षा हुने, बाढी पहिरो, मानिसहरू उद्धारको आशामा घण्टौँ छानामाथि बसेको र पहिरो गएको जस्ता सूचना पाउँदा पनि कुनै पहल नगर्ने गैरजिम्मेवार अधिकारी तथा कर्मचारीहरूमाथि अबिलम्ब छानबिन गरी कारबाही गरियोस् ।

८. घर डुबानमा पर्दा नष्ट भएका वा हराएका जनसमुदायका नागरिकता, लालपुर्जा, पासपोर्ट, शैक्षिक प्रमाण-पत्र लगायतका सरकारी र अन्य महत्त्वपूर्ण कागजपत्रहरू वा तिनका प्रतिलिपिहरू सहज र सरल रूपले अबिलम्ब उपलब्ध गराइयोस् ।

९. विद्यार्थीहरूलाई निःशुल्क पाठ्यपुस्तक र अध्ययन सामग्री तत्काल उपलब्ध गराइयोस् ।

हार्दिक क्रान्तिकारी अभिवादनसहित ।
मितिः२०८१ असोज २१ गते

चित्रबहादुर श्रेष्ठ
अध्यक्ष
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

जगतबहादुर सिम्खडा
अध्यक्ष
अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)

दलजित श्रीपाली
अध्यक्ष
नेपाल दलित मुक्ति मोर्चा

अमर परियार
अध्यक्ष
अखिल नेपाल सुकुम्बासी संघ