काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणका कारण अत्यावश्यक बाहेकका नियमित भेटघाट स्थगन गर्नु भएको छ ।
आजदेखि अत्यावश्यकबाहेकका सबै भेटघाट बन्द गरिएको कुरा अध्यक्ष प्रचण्डको निजी सचिवालयबाट छोरी गंगा दाहालले फेसबुक मार्फत जानकारी गराउनुभएको छ ।
लामो समयदेखि नेपालको राष्ट्रिय राजनीतिको मियोको रूपमा रहनुभएका नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न दैनिक ठूलो संख्यामा नेकपाका नेता, कार्यकर्ता र सर्वसाधारणका साथै कुटनीतिक नियोगका अधिकारीहरू उहाँको खुमलटारस्थित निवास पुग्ने गरेका छन् ।
विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई कोरोना संक्रमणको उच्च जोखिममा राखेको र कोरोना संक्रमणको महामारी रोक्न सरकारले सामूहिक भेटघाटलाई रोक्न अनुरोध गरेको सन्दर्भमा सो निर्णय भएको जनाइएको छ ।