काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनसमुदायलाई तेह्रौँ गणतन्त्र दिवसको हार्दिक शुभकामना प्रदान गर्नु भएको छ ।
नेपाली धर्तीबाट २४० वर्षे शाही राजतन्त्रसहित ४००० वर्षको सामन्ती व्यवस्थालाई जरैदेखि उखेलेर फ्याँक्ने महान दश वर्षे जनयुद्धका सुप्रिम कमाण्डर तथा १९ दिने संयुक्त जनआन्दोलका सर्वोच्च नेता अध्यक्ष प्रचण्डले आज तेह्रौँ गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै गणतन्त्र प्राप्तिका लागि जनयुद्ध र विभिन्न जनआन्दोलनहरुमा आफ्नो प्राणको उत्सर्ग गर्नुहुने महान् सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ भने बेपत्ता योद्धा र घाइते योद्धाहरुको त्याग र समर्पणप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ ।
गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रले नेपालमा सयौँ वर्षदेखि चल्दै आएको राजतन्त्रात्मक प्रणालीमा सामान्य मात्रात्मक सुधार होइन, अपितु गुणात्मक परिर्वतनको प्रतिनिधित्व गरेको र यो नयाँ राजनीतिक प्रणालीले देशका सम्पूर्ण उत्पीडित समुदायको अधिकारसहित राज्यसत्तामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको बताउनु भएको छ ।
उहाँले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्तिहरू एकताबद्ध भई जन–अपेक्षा अनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता भएको उल्लेख गर्दै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड –१९) को रोकथाम र उपचारका लागि अग्रमोर्चामा खटिनु हुने सम्पूर्णको उच्च प्रशंसासहित सबैको सुस्वास्थ्य र प्रगतिको कामना पनि गर्नुभएको छ ।
शुभकामना सन्देशको पूर्ण पाठः
तेह्रौँ गणतन्त्र दिवसको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
गणतन्त्र प्राप्तिका लागि जनयुद्ध र विभिन्न जनआन्दोलनहरुमा आफ्नो प्राणको उत्सर्ग गर्नुहुने महान् सहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, बेपत्ता योद्धा र घाइते योद्धाहरुको त्याग र समर्पण प्रति उच्च सम्मान प्रकट गर्दछु ।
संघीय लोकतान्त्रिक गणतन्त्रले नेपालमा सयौँ वर्षदेखि चल्दै आएको राजतन्त्रात्मक प्रणालीमा सामान्य मात्रात्मक सुधार होइन अपितु गुणात्मक परिर्वतनको प्रतिनिधित्व गरेको छ । यो नयाँ राजनीतिक प्रणालीले देशका सम्पूर्ण उत्पीडित समुदायको अधिकार सहित राज्य सत्तामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको छ ।
गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्तिहरू एकतावद्ध भई जन–अपेक्षा अनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता हो ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड –१९) को रोकथाम र उपचारका लागि अग्रमोर्चामा खटिनु हुने सम्पूर्णको उच्च प्रशंसा गर्दै यस ऐतिहासिक दिवसका अवसरमा सबैको सुस्वास्थ्य र प्रगतिको कामना गर्दछु ।
१५ जेठ, २०७७
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष