काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई दिवस) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी जनसमुदायमा सुस्वास्थ र प्रगतिको अपेक्षा सहित हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।
आज १३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई दिवस) का अवसरमा एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टे कार्यदिनको लागि गरिएको आन्दोलनको स्मरण गराउने गौरवशाली दिनको रूपमा हरेक वर्ष आजकै दिन अर्थात मई १ मा विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइने कुरा बताउनु भएको छ ।
उहाँले नेपालमा वि.स. २००३ सालमा विराटनगर जुट मिलबाट सुरु भएको श्रमिक आन्दोलन, विभिन्न कालखण्डका सशस्त्र र शान्तिपूर्ण जन–आन्दोलनहरुमा श्रमजीवी जनताको बलिदानीपूर्ण संघर्षलाई गर्वका साथ स्मरण गरिने कुरा उल्लेख गर्नु भएको छ ।
उहाँले दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका विभिन्न सहरमा रहेका निम्न वर्गीय श्रमजीवी जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न सरकारको विशेष ध्यानाकर्षण गराउनु भएको छ ।
मई दिवसको अवसरमा अध्यक्ष प्रचण्डद्वारा जारी शुभकामना सन्देशः
१३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी जनसमुदायमा सु–स्वास्थ र प्रगतिको अपेक्षा सहित हार्दिक शुभकामना व्यक्त गर्दछु । सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टे कार्यदिनको लागि गरिएको आन्दोलनको स्मरण गराउने गौरवशाली दिनको रूपमा हरेक वर्ष आजकै दिन अर्थात मई १ मा विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइन्छ ।
त्यसैगरी नेपालमा वि. सं. २००३ सालमा विराटनगर जुट मिलबाट सुरु भएको श्रमिक आन्दोलन, विभिन्न कालखण्डका सशस्त्र र शान्तिपूर्ण जन-आन्दोलनहरुमा श्रमजीवी जनताको बलिदानीपूर्ण संघर्षलाई हामी गर्वका साथ स्मरण गर्दछौं ।
आज विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भाइरसको सामना गर्न सिङ्गो विश्व नै संघर्षरत छ । यतिबेला संसारभरका श्रमजीवी मजदुरहरुको रोजगारी गुमिरहेको छ ।
दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका विभिन्न सहरमा रहेका निम्न वर्गीय श्रमजीवी जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न म सरकारको विशेष ध्यानाकर्षण गराउँदछु ।
देशका विभिन्न भागहरुबाट आ–आफ्नो घर फर्किने क्रममा अलपत्र परेका मजदूर र अन्य जन–समुदायलाई सुरक्षितरुपमा गन्तव्यमा पुर्याउनु पर्ने कर्तव्य हामी सबैको हो ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न श्रमजीवि जनसमुदायमा अपिल गर्दै पुनः एकपटक सुख, शान्ति र समृद्धिको कामना गर्दछु ।
१९ बैशाख, २०७७ (सन् २०२०, मई १)
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष