प्रधानमन्त्री चाउ एन लाई को मृत्युको चौथो वार्षिकीमा “पिपुल्स डेली” ले मार्च १८, १९४३ मा उहाँद्वारा लिखित “आत्मप्रशिक्षणका लागि निर्देशनहरु” छापेको छ ।
निर्देशनहरु यस प्रकारका छन्ः
१. कडा अध्ययन गर, मुख्य–मुख्य कुराहरु बुझ, धेरै विषयमा ध्यान दिनुभन्दा सुहाउँदो विषय छान र त्यसमा विशेषज्ञ बन ।
२. कडा मेहनत गर, राम्रो योजना बनाऊ, मुख्य कुराहरुमा ध्यान केन्द्रित पार र व्यवस्थित होऊ ।
३. अध्ययनलाई कामसित गाँस, दुईटालाई उचित सन्तुलनमा राख, आफूले गरेको कामको सिंहावलोकन गर र त्यसलाई व्यवस्थित पार, नयाँ नयाँ कुरो पत्ता लगाऊ र सिर्जना गर ।
४. आफ्नै र अरुहरुको गलत विचारहरुको विरुद्ध संघर्ष गर्नमा सिद्धान्तनिष्ठ बन ।
५. काममा आफ्ना असल कुराहरुलाई उचित ढङ्गले प्रयोग गर र आफ्ना त्रुटिहरुलाई सच्याऊ ।
६. जनताबाट कहिल्यै अलग नहोऊ, उनीहरुबाट सिक र उनीहरुलाई मद्दत गर । सामूहिक जीवन बिताऊ, अनुसन्धान र अधययनमा ध्यान देऊ र अनुशासनको पालन गर ।
७. तन्दुरुस्त बन, उचित रुपले नियमित जीवन बिताऊ । यो आत्मप्रशिक्षणका लागि भौतिक आधार हो ।
उक्त अखबारमा संलग्न सम्पादकीय टिप्पणीमा भनिएको छः
“यसो हेर्दा ती निर्देशनहरु त्यति असाधारण लाग्दैनन्, तर इमान्दारीका साथ त्यसको पालन गर्नु सजिलो छैन । आफ्नो जीवनकालमा प्रधानमन्त्री चाउले उक्त निर्देशनहरुको पालन गर्नु भएको थियो । व्यवहारमा उहाँले ती निर्देशनहरुभन्दा बढी गर्नु भई चिनियाँ कम्युनिस्टहरु र सारा जनताका लागि एउटा दृष्टान्त प्रस्तुत गर्नुभयो ।
उक्त निर्देशनहरुलाई कसीको रुपमा यदि हामीले प्रयोग गर्ने हो भने तिनले हामीलाई सोच्न लगाउनेछन् र अघि बढ्न र प्रगति गर्नका लागि हामीलाई हौसला दिनेछन् ।
प्रधानमन्त्री चाउले सातवटा निर्देशनहरुमा एउटाको राम्ररी पालन गर्नु भएन । धेरै वर्षसम्म उहाँले दिनरात असाध्य मेहनत गर्नुभयो । र, उहाँले “उचित रुपले नियमित जीवन बिताउन” सक्नु भएन । यसले गर्दा उहाँको स्वास्थ्य गम्भीर रुपले बिग्रियो । उहाँले आफ्नो सारा चीज पार्टी, जनता र राष्ट्रको निम्ति अर्पण गर्नुभयो । हामीले उहाँको दृष्टान्तबाट सिक्नुपर्छ ।”
(पेकिङ रिभ्यु, जनवरी २१, १९८० अंक ३ बाट साभार गरी नेपाल मार्क्सवादी लेनिनवादी पार्टीको प्रचार विभागद्वारा २०४७ सालको आश्विनमा प्रकाशित पुस्तिकाबाट ।)