काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिस्ट तथा समाजवादीहरुलाई अमेरिका छाड्न चेतावनी दिएका छन् ।
राष्ट्रपति ट्रम्पले आफ्नो निजी एकाउन्टबाट एकपछि अर्को ट्विट गर्दै साम्यवादी तथा समाजवादीहरुलाई अमेरिका छाड्न चुनौति दिएका हुन् । जनाताको राजनीतिक अधिकारमाथि निर्लज्ज प्रहार गर्दै कम्युनिस्टहरू, समाजवादीहरूका साथै खुला सिमानाको पक्षमा बोल्ने विपक्षी डेमोक्रेटिक पार्टीमाथि समेत एकैसाथ प्रहार गरेका हुन् । सत्ता आएदेखिनै सँधैभरी चरम विवादमा रहँदै आएका राष्ट्रपति ट्रम्प सो भनाईपछि फेरि विवादमा तानिएका छन् ।
आफूलाई विश्वको सबैभन्दा विकसित लोकतन्त्र भएको दावी गर्ने, संसारका सबै देशका सरकार, पार्टी र नेताहरूलाई लोकतन्त्रको पाठ पढाउँदै हिँड्ने, अन्य देशहरूमा लोकतन्त्र भए-नभएको फैसला गर्दै विभिन्न देशमा सैन्य कारबाही गर्ने र सरकार परिवर्तनसम्मको ठेक्का लिने अमेरिकी साम्राज्यवाद यस घटनाबाट लाजलाई पनि लज्जा हुनेगरी पूर्ण रूपले नांगिएको छ ।
ट्विटमा ट्रम्पले अमेरिका कहिल्यै पनि समाजवादी र कम्युनिस्ट हुन नसक्ने धम्की दिँदै यसमा खुशी हुन नसक्नेहरुले अमेरिका छाड्न सक्ने विकल्प रहेको र त्यो उनीहरुको एक्लो छनौट हुने प्रष्ट गरेका हुन् ।
गैरराजनीतिक पृष्ठभूमिको बाबजुद पनि जातिवादी र रंगभेदी राजनीतिद्वारा सत्तामा पुगेका र विलाशी जीवनका लागि विश्वभर बद्नाम रहेका राष्ट्रपति ट्रम्पले, ‘केही व्यक्तिले अमेरिकालाई घृणा गरिरहेको भन्दै ट्रम्पले त्यस्ता व्यक्ति इजरायल विरोधी र अलकायदा समर्थक रहेको’ आरोप लगाएका छन् । उनले वामपन्थी डेमोक्र्याटहरुले खुला सिमाना चाहेको र त्यसबाट लागू पदार्थ, अपराध र मानव बेचबिखन जस्ता कार्यलाई प्रोत्साहन दिन खोजिएको आरोप लगाएका छन् ।
सत्तामा पुग्नु अगाडि जनतासामु गरेका कुनै पनि प्रतिबद्धता पूरा गर्न नसकेका र अमेरिकी जनताको बिचमा अति नै अलोकप्रिय रहेका राष्ट्रपति ट्रम्पले आफ्नो नालायकी छोप्नका लागि पटक पटक झुठा दाबी गर्ने गरेका छन् । यसपटक पनि उनले, ‘अमेरिका अहिले जस्तो बलियो कहिल्यै नभएको दावी गर्दै ट्रम्पले सैनिक शक्तिको पुनर्गठन, अहिलेसम्मकै उच्च स्टक मार्केट, सबैभन्दा कम बेरोजगारी कायम गरिएको’ जिकिर गरेका छन् ।
आफूले काम गर्न नसकेपछि पूर्व राष्ट्रपति ओबामालाई गालि गरेर दिन कटाउने गरेका राष्ट्रपति ट्रम्पले ‘अमेरिकालाई फेरि महान् बनाऔं’ भन्दै आप्रवासी नीतिप्रति ओबामा प्रशासनको आलोचना गरेका छन् । अमेरिकीको जीवनकालकै सबैभन्दा राम्रो अर्थव्यवस्था अहिले रहेको दावी पनि उनले गरेका छन् ।