१. युवा दिवसः विषय प्रवेश:
औपचारिक रुपमा विश्वव्यापी रुपमा मनाइने गरेको अन्तर्राष्ट्रिय युवा दिवस १२ अगस्तमा नेपालमा पनि मनाउने प्रचलन छ । संयुक्त राष्ट्र संघले सन् २००० देखि मनाउँदै नेपालमा २००४ देखि मनाइएको यसको इतिहास छ । यद्यपि, युवा शक्तिको सवाललाई ओझेलमा पारेर उनीहरुको व्यापक संलग्नता बिना मनाइने परम्परामा सुधार आएता पनि क्रान्तिकारी रुपान्तरणको दिशामा जान सकेको छैन ।
उमेरको हिसाबले नेपाली युवा भनेर परिभाषा गरिएको १६ देखि ४० वर्ष उमेर समूहका युवा ४०.३४ प्रतिशत रहेको तथ्याङ्क छ। आर्थिक विकासको उर्जाशील जनशक्ति रहेको युवाशक्तिलाई सही किसिमले परिचालन नगरी नेपालको आर्थिक समृद्धिको परिकल्पना गर्न सकिदैन। नेपाली युवा मूलत: आर्थिक, शैक्षिक, स्वास्थ्य, रोजगारी, मनोवैज्ञानिक समस्या भोगिरहेका छन् । युवा शक्ति श्रमको खाँतिर प्रवास जानेक्रम बढ्दो छ । प्रवासिएका परिवार – पारिवारिक मत एकताको समस्या सानादेखि ठूला शहर पस्ने संस्कृतिकै रुपमा निर्माण हुने चुनौति हाम्रासामु खडा भएको छ। यस अवस्थालाई सम्बोधन गर्दै गरेमा मात्र: ‘स्थानीय गाउँमा सिंहदरबार’ को परिकल्पना साकार पार्न सकिन्छ। युवा संस्कृतिको पहिचान गरी जवाफदेही संस्कृतिको निर्माण गर्न आलेख सान्दर्भिक हुनेछ ।
२. युवाको पहिचान:
उमेरले युवा हुने होइन । युवा त जोश, जाँगर, सिर्जना, श्रम- क्षमताले हुने हो । युवा पहिचान सोचमा, दर्शनमा, विज्ञानमा आधारित मनोवैज्ञानिक रुपमा युवापन चाहिन्छ। । युवा समयसापेक्ष परिस्थिति आफूलाई बदल्ने, कला र कदम देश र समाजको योगदान र बदलिँदो तातो र उन्नत सूचना प्रवाह र प्रविधि ग्रहण गर्ने युवा हुन सक्दछ ।
सोच, चिन्तन, आचरण र संस्कृतिमा अब्बल हुँदै जाने शक्ति युवा हो । ”धनको गरिबीले मान्छे गरिब बन्दछ, सोचको गरिबीले मान्छे गरिब बन्दै” भने जस्तै युवापन उमेर ढलेर नहुने र तन्नेरी नै भएर मात्र पनि युवा हुने नै होइन । कम उमेर वा बैँस भरिएका राता र तातो मानिस जब अल्छी बन्दछ, श्रममा विश्वास राख्दैन, अर्थ उपार्जनमा संलग्न हुँदैन, त्यो युवा हुँदैन। दिउसै ‘लाटोकोसेरो’ झै सुत्ने र धनी देश, सुखी परिवारको कल्पना गर्ने सपना देख्ने युवा हुनै सक्दैन ।
जब मानिस चिन्तन नगरी चिन्तित हुँदै रोगी बन्दछ, तब ती सबै बैँशालु मनहरु युवा हुनै सक्दैन । जब यौवानावस्थामा आधुनिक प्रविधिको खोजी भन्दा कोठामा सुतेर बाह्य आयातित प्रविधिसहितको ‘मोबाइल ब्वाए’ बन्दछ, तब त्यो बैँश युवा हुनै सक्दैन । क्याम्पस जाने नाउमा शहर पसेर “टाइम पास” गर्छ, सूर्तिजन्य पदार्थ हुँदै लागुऔषधको कुलतमा फस्छ, यौनकर्मी र यौन रोगी बन्दछ, तब युवा हुन सक्तैन । ‘विदेशी एड’ जस्तै एड्स रोगी बन्दछ, तब ती बैँशालु यौवनहरु सुन्दर- सुन्दरी प्रतियोगीहरु युवा हैन, जिउँदा लासमा परिणत हुन पुग्दछन् । त्यसैले युवा हुनका लागि चाहिने शारिरीक स्वास्थ्य, चिन्तन गर्न सक्ने स्मरण, सृजनशीलता, साहित्य र सूचनादाता, भाग्यविधाता सबै बहिस्कृत हुन्छन् । युवाका बहिस्कृत हात र अन्याय विरुद्ध नबोल्ने ती बोलि राता-रंगीन ओठहरुलाई चिसा मुढा भनिदिए केही फरक पर्दैन । तसर्थ युवा पहिचानको खोजि आजकल युवा शक्तिका लागि स्कुलिङ अपरिहार्य छ।
३. जवानीमै टाक्सिएको युवा संस्कृतिः
आजका कतिपय मानिसहरू पचास-साठी काटियो, बुढो भइयो, दिन गए, भन्दै सुतिरहेछन् । ‘उमेर त बन्धन हुन्न जिन्दगानीमा’ भनिएजस्तो विश्व बुझेका प्रौढ उमेरहरु अनुसन्धानदाता राजदुत, आयुक्त, नीति निर्माता, अभिनेता भएर कर्म र सृजनशील यत्न गरिरहेका छन् । यति मात्र नभएर ठूलादेखि साना दल – बामपन्थीदेखि क्रान्तिकारीको आलोकमा ८० पुग्दा समेत सृजनशील श्रममा जोतिन्छन् । भलै यसमा पदीय लोभ-लालच र धनको आडम्बर अर्को पक्ष हो । भौतिक रुपमा देखिरहँदा हामी युवा किन भनिरहेछौ –’ढल्यो उमेर चारा खोज्दै जिन्दगानीमा’ । यसैले पनि युवा महान सन्त बुद्वले भने जस्तै “अप्प दीपो भव’’ अर्थात् आफै बलेर अरुलाई प्रकाश दिन सक्नुपर्छ । प्रौढ युवाहरु बैंशमै टाक्सियर कुरुप हुनबाट जोगिन र जोगाउनु पर्दछ ।
४. विश्लेषणात्मक दृष्टि:
नेपाली युवापनको मनोदशाको चिन्तन प्रणाली र संस्कृति नभत्किएसम्म ‘अन्तराष्ट्रिय युवा दिवस’को कामना गरेर हुँदैन । युवा दिवसमा स्वदेशदेखि विदेससम्म वर्षेनी सभा-सम्मेलन र दिवस मनाएर फेरबदल आउँदैन ।
श्रम र श्रमिकलाई माया नगर्ने, मायाको संस्कृतिलाई निमिट्यान्न पार्ने, बरु कथित छाडा अश्लील पुँजीवादी विकृत संस्कृति बढवा दिने चिन्तन प्रणाली रोकिनु पर्दछ। ‘अतिवाद’को रुपमा भनिरहेको पुँजीवादी विकासक्रमको एकलकाटे विरोधलाई पनि सापेक्ष चिन्न र पर्गेल्न युवाशक्तिलाई शिक्षित-दिक्षित गर्नु पर्दछ। कुनै पनि अतिवाद भन्दा वैज्ञानिक दृष्टि पुस्तान्तरण ग्याप रहेको छ। युवाहरुलाई घर-परिवार, समाज र अविभावक (विद्यालय समेत) शिक्षा, संस्कृति र राजनीतिक दलले श्रम गर्ने र श्रमलाई सम्मान गर्ने शिक्षा र संस्कृति निर्माण गर्नु अपरिहार्य भैसकेको छ । लाहुरे संस्कृतिमा अविभावकहरु ‘फर्कियर नआउँदा अझै मेरो परदेशी हो, भिज्यो संधै दुई परेली’ जस्ता गीत यो पंक्तिकारले प्रस्तुत गर्दा रुने अझै छन् । आज लाहुरे श्रीमान-श्रीमती शहरको संस्कृतिले सामाजिक सम्बन्ध मात्र नभएर राजनीति, अर्थतन्त्र पनि प्रभावित भएका छन् । यही विकृत संस्कृति राजनीतिक दलदेखि एनजिओकर्मी र नागरिक आन्दोलनसम्म प्रवाहित छ । यही दुष्प्रभावलाई न्यून गर्न ‘थिंक ट्याङक’ले सूक्ष्म अध्ययन आधारित निर्माण गर्ने नै छ ।
५. सबैको सामूहिक जवाफदेहिता:
युवाहरुले मानसिक स्वास्थ्यमा किन कमजोरी आयो ? यो प्रश्नको उत्तर के हुन्छ भने उनीहरु विभेदमा परे-पारिएका छन् बेराजगार छन्, कुलत र दुर्वेशनमा लाग्न बाध्य भएकाले यसको निराकरण प्रयास भइरहेको छ। समस्या सामूहिक दायित्त्व निर्वाह गर्न अहिलेदेखि नै अग्रसर हुन सकेमा हामी सबैको जिम्मेवारी पूरा हुनेछ । तिनले युवा समाजमा सुनिश्चित र सुन्दर भविष्यकोआशा र विश्वासको रक्तसञ्चार गर्ने, दिशाबोध गर्नुपर्छ ।
युवाहरुको जोश र जाँगरलाई सही किसिमले राष्ट्र निर्माणमा लगाउने बातावरण बनाउन सरकारी मुख ताकेर मात्र हुँदैन । कसरी हामीजस्ता भुक्तभोगीहरुले सरोकारवाला पक्षलाई सही मार्गनिर्देशन दिएर सम्बन्धित निकायलाई सहयोगीको भूमिका निर्वाह गर्न सामाजिक, नागरिक अभियन्ता र सरकार बिच संवाद गरी थिंक ट्याङ्क बनाउनु पर्दछ। यो गम्भीर सवालमा जवाफदेहिता कस्को ? यो अलमलबाट उन्मुक्ति हुनु पर्दछ ।
जवाफदेहिताको संस्कृति निर्माण गर्न गराउन सरकारको मात्र पहलकद्मीले पुग्दैन। सबै राजनीतिक दल सरोकारवाला निकाय र सामाजिक अभियन्ताहरु ऐक्यबद्ध भई सेवाशील भूमिका निर्वाह गर्नु पर्दछ । तीन तहको सरकार र राज्य संरचना आफै कामकाजी मात्र नभएर सबै अभियन्तालाई समाज रुपान्तरणको संवाहक बनाउने वातावरण र सहयोगीको भूमिका निर्वाह गर्नु आवश्यक छ। राज्य र सरकारले यो दिशाबोध गरेमा युवा संस्कृतिको पहिचानसहित जवाफदेही संस्कृतिको निर्माणमा टेवा पुग्ने छ ।