काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जनवादी गणतन्त्र चीनका विदेशमन्त्री तथा राज्य परिषद्का सदस्य वाङ यीको सम्मानमा आज साँझ राजधानीमा रात्रिभोजको आयोजना गर्नुभयो ।
रात्रिभोजलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले सरकारीस्तरमा मात्र नभई जनस्तरमा समेत संघीय गणतन्त्र नेपाल र जनवादी गणतन्त्र चीन बिच अत्यन्त सुमधुर सम्बन्ध रहेको बताउनुभयो । चिनियाँ विदेशमन्त्री वाङ यीलाई काठमाडौँमा स्वागत गर्न पाउँदा नेपाल सरकार र नेपाली जनता अत्यन्त खुशी छन् भन्दै उहाँले द्विदेशीय सम्बन्धले नयाँ उचाइ चुम्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रत्युत्तरमा मन्त्री वाङले नेपालसँग चीनको विशिष्ट सम्बन्ध रहेको तथा बाल्यकालदेखि नै नेपालप्रति आफ्नो अनुराग रहेको बताउनुभयो । रात्रीभोजमा मन्त्रिपरिषद्का सदस्य, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, चीनका लागि पूर्व नेपाली राजदूतलगायतको सहभागिता थियो ।