Mohan Bikram singh, Gobinda Singh Thapa Haank weekly
 

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (मसाल) का वरिष्ठ नेता तथा हाँक साप्ताहिकका प्रकाशक एवम् प्रधान सम्पादक गोविन्दसिंह थापा सो पार्टीबाट निष्कासन गरिएको छ ।

२०७६ भदौ १० गते नेकपा (मसाल) द्वारा एक वक्तव्य जारी गरी करिब पाँच दशकदेखि नेकपा (मसाल) मा काम गर्दै आएका हाँक साप्ताहिकका प्रधान सम्पादक गोविन्दसिंह थापालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी बर्खास्त गरिएको छ ।

नेकपा (मसाल) का महामन्त्री क. मोहनविक्रम सिंहका मामा भएकोले ‘मामा’ उपनामले मसालभित्र र बाहिर समेत चर्चित ७२ वर्षीय वरिष्ठ वाम नेता थापालाई पार्टीबाट निष्कासन गर्नुका साथै नेकपा (मसाल) को मुखपत्र हाँक साप्ताहिकलाई बन्द गर्ने निर्णय गरिएको छ ।

पार्टीका महामन्त्री क. मोहनविक्रम सिंहद्वारा हस्ताक्षरित वक्तव्यमा करिब साढे तीन दसकदेखि गोविन्दसिंह थापाको नाममा रहेको हाँक साप्ताहिक पार्टीले चलाउँदै आएको र अहिले उक्त हाँक साप्ताहिकलाई प्राइभेट लिमिटेड बनाएर चलाउन पार्टीले दिएको निर्देशन पालना नगरेकोले उहाँलाई पार्टीबाट निष्कासन गरेको कुरा उल्लेख गरिएको छ ।

पचास वर्षभन्दा धेरै पार्टीमा योगदान गरेका वरिष्ठ नेता थापालाई यसरी बर्खास्त गर्नु मसालजस्तो कमजोर संगठन भएको पार्टीका लागि दुर्भाग्यपूर्ण मानिएकाे छ ।  हाँक साप्ताहिकको सट्टा आगामी बुधवारदेखि नेकपा (मसाल) को मुखपत्रको रुपमा ‘युगदर्शन’ साप्ताहिक प्रकाशित हुने भएको छ।

नेकपा (मसाल)का महामन्त्रीद्वारा जारी वक्तव्यको पूर्ण पाठ-

२०७६ भाद्र ५ गते बसेको नेकपा (मसाल) को पी.बी.को बैठकले गोविन्दसिंह थापालाई अनिश्चित कालका लागि पार्टीको साधारण सदस्यताबाट समेत निष्कासित गर्ने निर्णय गरेको छ । उहाँले पुग नपुग ५ दशकदेखि हाम्रो पार्टीमा काम गर्दै आउनुभएको थियो । भारतमा अखिल भारत नेपाली एकता समाजको बिस्तारमा उहाँको महत्त्वपूर्ण योगदान रहेको थियो । उहाँ लामो समय नेकपा (मसाल) को केन्द्रीय समिति र केही समयसम्म वैधानिक मोर्चाको केन्द्रीय उपाध्यक्ष भएर काम गर्नु भएको थियो । उहाँले करिब साढे तीन दशकदेखि हाम्रो वैधानिक साप्ताहिक पत्रिका ‘हाँक’ को प्रकाशक तथा प्रधान सम्पादकको रूपमा काम गर्दै आउनु भएको थियो । उहाँ जस्तो व्यक्तिलाई पार्टीको सामान्य सदस्यताबाट समेत निष्कासित गर्नुपर्दा हामीलाई धेरै दुःख लागेको छ । तैपनि उहाँले सहिद शोभाखर धनञ्जय र उहाँको परिवार शान्ता भुसालसित जुन ठूलो विश्वासघात गर्नुभयो र पार्टीले उहाँमाथि गरेको विश्वासमा जति निम्न स्तरमा उत्रिएर धोका दिने काम गर्नुभयो, त्यसले गर्दा हामी उहाँमाथि त्यस प्रकारको कडा कारवाही गर्न बाध्य भएका छौँ ।

हाँक साप्ताहिकलाई कामरेड शोभाखर धनञ्जयले स्थापना गर्नु भएको थियो । उहाँको निधनपछि उहाँकी पत्नी शान्ता भुसालले नेकपा (मसाल) लाई हस्तान्तरण गर्नु भएको थियो । पञ्चायती कालमा हाम्रो पार्टीमाथि प्रतिबन्ध थियो । हाम्रो पार्टीका त्यो बेलाका केन्द्रीय सदस्य गोविन्दसिंह थापालाई प्रकाशक र प्रधान सम्पादक बनाएर त्यसलाई सञ्चालन गर्दै आएका थियौँ र त्यसको करिब साढे तीन दशकको गौरवमय इतिहास पूरा भएको छ । यो अवधिमा देशका कैयौँ पत्रपत्रिका वा महत्त्वपूर्ण साप्ताहिकहरू बन्द भए । तर हाँक निरन्तर प्रकाशित भइरह्यो । त्यस प्रकारको निरन्तरतामा देशभरका प्रवासका वा विदेशका पनि पार्टीका सदस्य, समर्थक विभिन्न मोर्चा वा जनवर्गीय सङ्गठन वा शुभेच्छुकको ठूलो योगदान रहेको छ । त्यस प्रकारको योगदानको कारणले नै हाँक कैयौँ ठूलो सङ्कट पार गर्दै निरन्तर रूपले प्रकाशित हुँदै आएको थियो । अहिलेसम्म त्यसको प्रकाशनको निरन्तरता दिन देश वा देशबाहिरका विभिन्न साथीहरूको जुन महत्त्वपूर्ण योगदान रह्यो, ती सबैलाई हाम्रो पार्टीले धन्यवाद दिन्छ र उहाँहरूप्रति आभार प्रकट गर्दछ । त्यसरी अहिलेसम्म हाँकको प्रकाशनलाई जुन साथीहरूले ठूलो योगदान दिनु भयो, उहाँहरू सबैलाई पनि गोविन्दसिंह थापाले धोका दिनुभएको छ । त्यो पत्रिकाको प्रकाशनमा अहिलेसम्म उहाँको एक रूपैयाँ पनि लगानी भएको छैन तर सम्पूर्ण रूपले सामूहिक रूपले चलेको साप्ताहिकलाई उहाँले आफ्नो व्यक्तिगत सम्पत्ति बनाउन पुग्नु भएको छ ।

महाधिवेशन पहिले अर्थात् करिब एक वर्ष पहिले बसेको केन्द्रीय समितिको बैठकले सर्वसम्मतिले हाँकलाई गोविन्दसिंह थापाको स्वामित्वबाट हटाएर सहकारी वा प्रा.लि.का रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यो बेला उहाँ पनि केन्द्रीय समितिको सदस्य हुनुहुन्थ्यो र उहाँले पनि त्यो निर्णयमा सहमत हुनुहुन्थ्यो । हाँकलाई त्यसरी सहकारी वा प्रा.लि. जेमा लगे पनि त्यसको अध्यक्ष उहाँलाई नै बनाउने समझदारी पनि भएको थियो । पहिलेको केन्द्रीय समितिको उपर्युक्त निर्णयलाई कार्यान्वयन गर्नलाई हाँकको सञ्चालक समितिका सदस्य र स्टाफ समेतको बैठक बसेको थियो । त्यो बैठकमा गोविन्दसिंह थापाले पहिलेकै जस्तै गरेर हाँकलाई प्रकाशित गर्न तयार भएको तर प्रा.लि.मा लैजान सहमत नभएको विचार उहाँले प्रकट गर्नुभयो । पछि उहाँसित पार्टीले लिखित स्पष्टीकरण नै मागेर पठायो । पार्टीले पठाएको पत्रको जवाफमा उहाँले लेखेर पठाएको स्पष्टीकरण पत्र यस प्रकार छ–
का. महामन्त्री, नेकपा (मसाल) केन्द्रीय कार्यालय
विषयः स्पष्टीकरणबारे ।
महोदय,
उपरोक्त विषयमा श्रावण १७ गतेको पत्र श्रावण २४ गते प्राप्त भयो । वैधानिक साप्ताहिक प्रकाशनको सम्बन्धमा मैले प्रालिमा नलगेर अहिले कै प्रकाशन व्यवस्थालाई निरन्तरता दिने भनेर प्रकट गर्ने विचार अनुशासनविहीन र अनैतिक हुँदैन ।
भवदीय
क. नरेश

त्यसरी उहाँले हाँकलाई प्रा.लि.मा लैजाने निर्णयलाई मान्न अस्वीकार गर्नुभयो र त्यसलाई पहिलेजस्तै गरेर अर्थात् उहाँको स्वामित्वमा उहाँ प्रकाशक र प्रधान सम्पादक भएर त्यसको प्रकाशनलाई निरन्तरता दिने कुरामा मात्र उहाँले आफ्नो सहमति प्रकट गर्नुभयो । त्यसरी कामरेड धनञ्जय र उहाँकी पत्नीले पार्टीलाई सुम्पिएको, पार्टीले उहाँमाथि विश्वास गरेको, देश र देशबाहिरका पार्टी सदस्य, समर्थक वा शुभेच्छुकहरूको सहयोगमा चल्दै आएको र उहाँको एक रूपैयाँ पनि लगानी नभएको सामूहिक सम्पत्तिलाई व्यक्तिगत सम्पत्ति गराउन खोज्ने कार्यले उहाँको अत्यन्त निम्नस्तरको चरित्रलाई नै बताउँछ ।

हामीले पहिलेदेखि नै यो कुरा प्रष्ट गर्दै आएका छौँ, पार्टी सदस्यहरूको नाम दुई अवस्थामा सार्वजनिक गरिन्छः प्रथम– कुनै पार्टी सदस्यको निधन भएमा, द्वितीय– कुनै पार्टी सदस्यलाई कारवाही गरेर अनिश्चित कालका लागि पार्टी सदस्यताबाट निष्कासित गरिएमा । अहिले उहाँलाई अनिश्चित कालको लागि पार्टी सदस्यताबाट निष्कासित गरिएको हुनाले उहाँको नाम सार्वजनिक गरिएको छ । उहाँमाथि गरिएको कारवाहीबाट यो कुरा प्रष्ट हुन्छः हाम्रो पार्टीका नियम र अनुशासन अत्यन्त कडा हुन्छ र गल्ती गर्नेहरूमाथि बिना पक्षपात वा कुनै पूर्वाग्रह बिना कारवाही गर्ने गरिन्छ । यहाँ यो उल्लेखनीय छ कि उहाँ (गोविन्दसिंह थापा) महामन्त्रीका साख्खै मामा हुनुहुन्छ । तर त्यो नाताका कारणले पनि उहाँलाई कुनै छुट दिइएन । त्यसबाट पार्टीभित्र कुनै निर्णय गर्दा कुनै पनि प्रकारको पक्षपात वा भेदभाव गरिन्न भन्ने कुरा प्रष्ट हुन्छ ।

गोविन्दसिंह थापाको सन्दर्भमा माओको एउटा भनाइको उल्लेख गर्नु शायद अप्रासङ्गिक हुने छैन । त्यो भनाइअनुसार कुनै व्यक्ति कम्युनिस्ट पार्टीको सदस्य बने पनि सबै जना पूरै कम्युनिस्ट हुँदैनन् र उनीहरू बेग्लाबेग्लै कमबेसी मात्रामा नै कम्युनिस्ट बनेका हुन्छन् । कोही ५ प्रतिशत मात्र कम्युनिस्ट बनेका हुन्छन् भने कोही १०, २०, ३०, ४०, ५०, ६०, ७०…. प्रतिशत पनि बनेका हुन्छन् । ८०, ९० जस्ता उच्च प्रतिशतमा कम्युनिस्ट बन्ने त कोही कोही मात्र हुन्छन् । १०० प्रतिशतको कुरा त धेरै टाढाको कुरा हो । कुनै व्यक्ति थोरै समयमा मात्र काम गरेर पनि उनीहरूमा उच्च प्रतिशतमा कम्युनिस्ट चरित्रको विकास हुन सक्दछ भने कतिपय व्यक्तिहरू ३०/४० वा ५०/६० वर्ष काम गरे पनि उनीहरू अत्यन्त कम प्रतिशत मात्र कम्युनिस्ट बनेका हुन्छन् । कैयौँ देशमा र नेपालमा पनि पार्टीको उच्च पदमा पुगेका सिसिएम, पिबिएम वा महामन्त्री समेत भएका कैयौँ कम्युनिस्टहरूको पतन भएका थुप्रै उदाहरण पाइन्छन् ।

त्यही प्रकारको एउटा उदाहरण गोविन्दसिंह थापाले प्रस्तुत गर्नु भएको थियो । त्यस्ता सबै नकारात्मक उदाहरणबाट हामीले शिक्षा लिने प्रयत्न गर्नु पर्दछ । गोविन्दसिंह थापाको उदाहरण हाम्रो नजिकैको र ताजा उदाहरण हो । त्यस प्रकारको गोविन्दसिंह थापाको नकारात्मक उदाहरणबाट हामीले शिक्षा लिनु पर्दछ । हामीले कोशिस गर्नु पर्दछ कि त्यस्ता व्यक्ति पार्टीमा नआउन् र पार्टीलाई बारम्बार धोका नदिउन् । कोही त्यस्तो व्यक्ति पार्टीमा आइहाले पनि त्यस्ता व्यक्तिलाई समयमा नै चिन्न हामीमा उच्च प्रकारको सतर्कता हुनुपर्दछ ।

अन्तमा, हामीले क. धनञ्जय र क. शान्ता भुसालप्रति श्रद्धाञ्जली तथा आभार प्रकट गर्दछौँ, जसले आफ्नो सम्पत्ति पार्टीलाई सुम्पिनु भएको थियो । यसका लागि हामीले दुःख प्रकट गर्दछौँ, उहाँको नासोलाई हामीले बचाउन सकेनौँ । तैपनि हामीले यो विश्वास प्रकट गर्दछौँ कि ‘युगदर्शन साप्ताहिक’ले हाँकको गौरवर्पूण इतिहासलाई अगाडि बढाउने छ ।

मिति: २०७६ भाद्र १० गते

मोहनविक्रम सिंह
महामन्त्री

CPN Masal Statement by Mohan Bikram Singh