गाउँ छ
गाउँसँगै सुनार्नी भाउजू छिन्
भाउजूका उच्चाट आँखाहरू छन्
जो सधैँ भालेको डाँकसँगै
झिसमिसेमै उठ्छिन्
जाँतो पिँध्छिन्
आँगन बढार्छिन्
घर लिप्छिन्
पँधेरो जान्छिन्
पानी भर्छिन्
चुलो जोर्छिन्
जाउलो बसाल्छिन्
र, जाउलोले आधा भरिएको पेटमा
नानीहरूलाई स्कुल पठाउँछिन् ।
यिनै कविताका हरफहरूसँग गुञ्जिँदै थिए, अनिल श्रेष्ठ । राजधानीको नयाँ बसपार्कमा अवस्थित दिपज्योति आवासीय माध्यामिक विद्यालयको प्राङ्णमा शब्द-रहर साहित्य अभियानद्वारा आयोजित नियमित मासिक रचना वाचन कार्यक्रममा मोफसलका अतिथि कविका रूपमा निम्त्याएका थिए उनी ।
आँबुखैरेनी, तनहुँमा रहेर प्रगतिवादी लेखनलाई अमूल्य योगदान दिइरहेका उनले ‘गाउँ : एउटा नियमित क्रम’ शीर्षकीय कविता वाचन सुरू गरी करिब एक दर्जन अनेक विषय वस्तुबारे कविता सुनाए । त्यतिमात्र नभएर कविता लेखेरै आमूल परिवर्तनकारी आन्दोलनको आँधीबेहरी सिर्जना गर्न सकिन्छ भन्ने दृढ विश्वास भएको अभिमत पनि प्रस्तुत गरे ।
कवि अनिल श्रेष्ठले ‘राष्ट्रले शोकधुन बजाएको छ’, ‘मृत्युपर्व होइन मेरो देश’, ‘आरू फुलेको साँझ’, ‘मफलर युद्ध र प्रतिनिधि कविता’ गरी पाँचवटा कविता सङ्ग्रह तथा निबन्ध, संस्मरण, कथा सङ्ग्रह लगायत अन्य कृति पनि बजारमा ल्याएका छन् ।
सो कार्यक्रममा शिवप्रसाद आचार्य, राजेन्द्र घिमिरे ‘सागर’, केशव पुडासैनी ‘बिमल’, प्रदीप बैरङ्गी, शैलेन्द्रकुमार शाह, गङ्गा आचार्य सेढाई, बासुदेव ठकुरी, सुनिल अधिकारी, बेनीबहादुर थापा, तारा केसी, डा. सत्यराज थपलिया, प्रकाश घायल,धरणीधर गुरागाईं, उदास कार्की, भवानीमैयाँ पन्त लगायत तीन दर्जन स्रष्टाहरूले आआफ्ना सिर्जना सुनाए ।
अतिथि कवि अनिल श्रेष्ठलाई कृष्णकिशु न्यौपानेले खादा पहिराएर सम्मान गरेका थिए । कविको व्यक्तित्व र कृतित्वबारे माधव घिमिरे ‘अटल ‘ ले संक्षिप्त परिचर्चा गरेका थिए भने संस्थाका संरक्षक श्रीहरि फुयाँलले कार्यक्रमको बिट मारेका थिए । कार्यक्रम हरेक महिनाको चौँथो शनिबार बिहान आयोजना हुने गर्दछ ।