काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले उहाँको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको छ भने सुधारको क्रम जारी रहेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सोमबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्षबाट भिडियो कन्फरेन्समार्फत् आफू उठेर बोल्नसक्ने, साथीहरूसँग कुरा गर्न सक्ने र समाचार हेर्नसक्ने अवस्थामा रहेको जानकारी दिनुभएको थियो ।
प्रम ओलीको उपचारमा संलग्न चिकित्सक तथा मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’का कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले उहाँको मृर्गाैलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो रहेको जानकारी दिँदै “प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ, शल्यक्रिया गरिएको घाउ निको हुँदै गएको छ”, भन्नुभयो ।
लामो समयदेखि मृगौलाको समस्याबाट ग्रसित प्रधानमन्त्री ओलीलाई स्वास्थ्यमा समस्या आएपछि मङ्सिर १० गते सोही केन्द्रमा भर्ना गरी एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । अङ्ग प्रत्यारोपण गरिएकालाई शल्यक्रिया गरिएको घाउ निको हुन केही समय लाग्ने र आराम गर्नुपर्ने बताइएको छ ।















