Baburam Bhattarai and Upendra YAdav with S jai Shankar
 

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले भारतका विदेशमन्त्री एस जयशंकरलाई भेट्न अस्वीकार गरेका छन् । प्रोटोकल अनुसार कुनै देशको विदेश मन्त्रीलाई होटलमा गएर भेट्न नमिल्ने भन्दै उनले जयशंकरलाई भेटेनन् ।

नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आएका जयशंकर बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा बसेका छन् । उनले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रचण्डलाई बिहान ८ बजे र त्यसपछि माधवकुमार नेपाललाई आफू बसेकै होटलमा भेट्न निम्ता पठाएका थिए ।

पूर्वप्रधानमन्त्री एवम् पार्टीको अध्यक्ष र वरिष्ठ नेताको हैसियतमा अर्को मुलुकमा विदेश मन्त्रीलाई भेट्न जानु कूटनीतिक मर्यादाविपरीत हुने भन्दै भेट अस्वीकार गरेका हुन्। प्रचण्डले आफ्ना केही निकटसँग सत्ताधारी पार्टीको अध्यक्ष एवम् पूर्वप्रधानमन्त्रीका हैसियतमा त्यहाँ गएर कुनै मन्त्रीलाई भेट्नु ‘प्रोटोकल’ विपरित भएको धारणा राखेको बुझिएको छ । यस्तै नेता नेपालले पनि त्यही आधारमा जयशंकरलाई भेट्न अस्वीकार गरेको बुझिएको छ।

तर प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र डा. बाबुराम भट्टराई भने भारतीय विदेशमन्त्रीलाई जयशंकरलाई भेट्न उनी बसेको द्वारिकाज होटेलमै लुरूलुरू पुगेका छन् ।

जयशंकरसँग देउवाले दिउँसो १२ बजे भेटेका थिए। यसअघि गत जेठमा कांग्रेस सभापति देउवाले भारतीय विदेशमन्त्री नियुक्त भएकोमा जयशंकरलाई बधाई दिएका थिए। प्रोटोकल बाहिर गएर बधाई दिनु अशोभनीय भएको भन्दै देउवाको आलोचना भएको थियो ।

जयशंकरले बाबुराम भट्टराईले १ बजेतिर भेटेका थिए। जयशंकरलाई भेट्न बाबुराम भट्टराईसँगै उपप्रधान तथा स्वास्थ्यमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि सँगै गएका थिए।

काठमाडौँमा दुइ दिनसम्म चलेको नेपाल–भारत संयुक्त आयोगको बैठकमा दुई पक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, उर्जा र जलस्रोत, संस्कृति, शिक्षालगायत विषयमा छलफल भएको बताइएको छ।