काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्व सभामुख क. अग्नीप्रसाद सापकोटाले महान् सहिदहरूले देखाएको बाटोमा जीवनको अन्तिम घडीसम्म अविचलितरूपमा लागिरहने प्रतिबद्धता व्यक्त गर्दै बृहत वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठनको विकल्प नरहेको र समाजवादी व्यवस्था कम्युनिस्टहरूको बलियो उपस्थितिमा मात्रै सम्भव हुने कुरा बताउनु भएको छ ।
बिहिवार राजधानीको संवाद डबलीमा ४७ औँ जुगेडी किसान संघर्ष दिवस तथा ३३ औँ किसान संघर्ष दिवसको अवसरमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)द्वारा आयोजित गरेको कार्यक्रममा बोल्दै पार्टी प्रवक्ता समेत रहेका क. सापकोटाले आफ्नो पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले आशा जगाएको भनाइ राख्दै उहाँले जनताले स्थायी सरकार र सत्ता चाहेको, र कम्युनिस्टहरूको एकताले मात्रै जनताको सपना पूरा गर्ने धारणा राख्नुभएको हो । पछिल्लो समयमा सस्तो लोकप्रियतावादीहरूले जनतालई व्यापक मात्रामा भ्रम फैलाएको बताउँदै उहाँले, “लोकप्रियतावादीहरूले ठुलठुलो स्वरमा देशभक्तिको नौटङ्की गरिरहे पनि त्यसको वास्तविक पहरेदार माओवादी मात्रै हो, भ्रमित हुनुहुँदैन”, भन्नुभयो ।
आयोजक संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष क. चित्रबहादुर श्रेष्ठले जुगेडी किसान विद्रोहको स्मरण गर्दै अहिले पनि जनतालाई शोषण र दमन गर्ने प्रक्रिया नरोकिएकोप्रति रोषसहित २०३४ सालमा चितवन जिल्लाको काउले र कविलास लगायतका आसपासका किसानहरू धर्मराज मुल्मी नाम गरेका व्यापारीबाट ठुलो प्रताडना खेपेको र त्यसको प्रतिवाद जनताले गरेको स्मरण गर्दै भन्नुभयो,“जुगेडी जस्तै विद्रोह देशमा भइरहेको र आज पनि आवश्यक छ ।” संविधान सभा सदस्य तथा राष्ट्रिय किसान आयोगका पूर्वअध्यक्ष समेत रहेका क. श्रेष्ठले जुगेडी किसान संघर्षको संक्षिप्त इतिहास पढेर सुनाउँदै “जनताको विद्रोहको बलमा धर्मराज मुल्मीको सबै माल-सामान कब्जा गरेर जनताले बाँड्नै लागेको समयमा प्रहरीले हस्तक्षेप गरी दुईजना किसानको हत्या भयो, आज पनि राज्य उस्ताको उस्तै छ” भन्दै अध्यक्ष श्रेष्ठले अहिले पनि किसानको पक्षमा काम नभएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले देशमा यतिबेला पनि धर्मराज मुल्मी जस्तै हजारौँ लघुवित्तीय शोषकहरूको बोलवाला रहेको भन्दै जुगेडी विद्रोहका सहिद किसानहरूको बलिदानलाई खेर जान नदिने प्रतिबद्धता जाहेर गर्नुभयो । “देशका लाखौँलाख किसान तथा दिदीबहिनीहरूलाई हजारौँ लघुवित्तरूपी धर्मराजहरूले शोषण गरिरहेका छन्, तिनको जरो हामीले उखेल्ने हो”,उहाँको भनाइ थियो । ज्ञवालीले जनताको घर आगनबाट माथि उठेका माओवादी अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गरिरहेको बेला पहल लिएर पीडितका मागहरू पूरा गर्नेमा आशा व्यक्त गर्नुभयो भने महासंघका उपाध्यक्ष क. अगस्त अधिकारीले लघुवित्तको दमन र शोषणविरुद्ध सरकारले छिटोभन्दा छिटो कदम चाल्न माग गर्नुभयो ।
महासंघका सचिव क. शिवहरी खनालले सञ्चालन गर्नुभएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य क. सुर्य सुवेदी ‘पथिक’, पार्टीका केन्द्रीय सदस्य तथा किसान महासंघका फ्याक्सन इन्चार्ज क. सुनिल मानन्धर, पार्टी केन्द्रीय सदस्य क. कुमार पौडेल तथा महासंघका केन्द्रीय पदाधीकारीहरू, केन्द्रीय सदस्यहरू र किसानहरूको व्यापक उपस्थिति रहेको छ ।
२०३४ साल असार ६ गते चितवन जिल्लाको जुगेडीमा किसानहरूले विद्रोह गरेको दिनलाई २०४८ सालमा विभिन्न पार्टीहरू एकता भई नेकपा (एकता केन्द्र) बनेदेखि अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले हरेक वर्ष ‘किसान संघर्ष दिवस’को रूपमा विभिन्न कार्यक्रमहरू गरेर मनाउँदै आएको छ । आज पनि देशभर विभिन्न कार्यक्रमहरू गरी किसान संघर्ष दिवस मनाइएको किसान महासंघका केन्द्रीय उपाध्यक्ष क. श्रीगोविन्द महर्जनले लेफ्ट रिभ्यु अनलाइनलाई बताउनु भयो ।