महान जनयुद्धको स्वयं अनुभूति नगरेको वा पञ्चायती कालरात्रीपूर्ण भूमिगत जीवन नभोगेको कुनै पनि कम्युनिस्ट वा गैरकम्युनिस्ट नेपालीलाई जनयुद्ध एउटा सामान्य परिघटना लाग्छ । कतिपय स्वघोषित विद्वानहरु, अधिकारकर्मी (डलरकर्मी) र राजनीतिकर्मीहरुले जनयुद्धको औचित्य नभएको वा पुष्टि हुन नसकेको भन्ने गर्छन् । गुलामीको चेतनाभन्दा माथि नउठेकाहरू, सामन्ती सत्ताको चौघेरोमा रमाएकाहरू, राजा-महाराजाको सेवाबाट अकुत ‘मेवा’ बटुल्न सफल भएकाहरू, कम्युनिस्ट विरोधी देशी–विदेशी प्रतिक्रियावादीहरु र तिनका दलालहरुले त जनयुद्धलाई युद्ध अपराध नै सम्झन्छन् । त्यसैले आफ्नो स्वार्थ र अनावश्यक आकांक्षामा धक्का लागेको बखत जनयुद्धलाई युद्ध अपराधको संज्ञा दिँदै अध्यक्ष प्रचण्डसहित जनयुद्धका महान् योद्धाहरुमाथि १७ हजार मानिसको हत्या गरेको ‘ज्यानमारा’ भन्न र हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा उभ्याएर फाँसी दिनेसम्मको चेतावनी दिन भ्याइहाल्छन् ।
महान् जनयुद्ध नेकपा (माओवादी)को नेतृत्वमा भएको नेपाली जनताको युद्ध थियो, एउटा समग्र युद्ध थियो । २४० वर्षे राजतन्त्रलाई जरैदेखि उखेलेर फ्याँक्न सफल भएको यो बलिदानीपूर्ण संघर्ष कसैले रहरले गरेको गुलेली खेलाइ थिएन, न त सहज, सरल र आनन्ददायक मोजमस्ती नै थियो । यो नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग मात्र नभएर संकटकाल लगाएर नेतृत्वको टाउको झोलामा ल्याएर झोलाभरि पैसा लिएर फर्कन आव्हान गरिएको सत्ताको दमनसहित तत्कालीन शाही नेपाली सेनासँग समेतको भिडन्त थियो ।
अर्को अर्थमा क. प्रचण्डको नेतृत्वमा भएको महान दस वर्षे जनयुद्ध पृथ्वीनारायण शाहको राज्य विस्तार अभियानको समापनपछि नेपाली धर्तीमा भएको एउटा यस्तो सैन्य पहलकदमी थियो, जुन सैन्य शक्तिद्वारा राज्य सत्ता कब्जा गर्ने र राज्यको पुनर्संरचना गर्ने लक्ष्यका साथ अगाडि बढेको थियो । यसर्थ नयाँ नेपालको इतिहासमा महान जनयुद्ध, यसका योद्धाहरु र त्यसका सुप्रिम कमाण्डर क. प्रचण्डको स्थान कसैले लिन सक्दैन र सक्ने छैन ।
जनयुद्ध कुनै केटाकेटीको खेल थिएन । संभव भएसम्म आफू बँच्दै जनताको बिचमा चेतना छर्दै सामन्ती राज्यसत्ता ढलाउनका लागि लड्दै जाने र संभव नभएमा आफूलाई बलिदान गरेर भएपनि पार्टी र क्रान्तिलाई जोगाएका महान योद्धाहरुको रगत, पसिना र आँशुले लेखिएको वीरताको इतिहास थियो । जनयुद्धको हरेक दिन एउटा युद्धपर्व थियो, फरक यतिमात्रै थियो कि त्यो पर्वमा विजयोत्सव मनाउने को हुनेछः क्रान्तिका लागि होमिएको विद्रोही शक्ति वा त्यसको दमनमा उत्रेको राज्यसत्ता । तत्कालीन नेपाल प्रहरी, सशस्त्र प्रहरी र शाही नेपाली सेनाको हरेक गोलीमा एउटा माओवादीको नाम लेखिएको थियो । त्यो गोली थाप्ने व्यक्ति को हुन्छ, कहाँ र कहिले थाप्नु पर्नेछ, त्यो परिस्थितिले तय गर्दथ्यो । हरेक रात उसलाई मृत्युले खेदिरहेको हुन्थ्यो भने हरेक बिहान मृत्युले कुरिरहेको हुन्थ्यो । यसर्थ हरेक माओवादी योद्धाका लागि जीवन फुत्किएर, छलिएर, चलाखी र साहसबाट हासिल गरिएको एउटा उपहार हुन्थ्यो भने मृत्यु हरक्षण सुनिश्चित थियो । त्यो ऐतिहासिक र युगान्तरकारी युद्धमा जसले आफ्नो अमूल्य जीवन बलिदान दिए र जो परिस्थितिले जीवित छन्, उनीहरु सबै सम्मानित र आदरणीय छन्, हुनुपर्दछ ।
यही महान जनयुद्धमा लाउँलाउँ खाउँखाउँको कलिलो उमेरमा जीवनलाई हत्केलामा राखेर ‘जनादेश’ र अन्य पत्रिकाहरु मार्फत लेखेर र ‘रेडियो जनगणतन्त्र’ मार्फत बोलेर जनयुद्धका वास्तविक समाचारहरु प्रकाशन र प्रसारण गर्दै जनयुद्धलाई सफल बनाउन लागिपरेकी एक जुझारु योद्धाको नाम होः क. संगीता खड्का ।
नेपाली पत्रकारहरुको साझा छाता संगठनको रुपमा रहेको नेपाल पत्रकार महासंघको केन्द्रीय सचिव रहेर काम गरिसकेका र अहिले नेपाली पत्रकारिताको नियमन र सहजीकरण गर्ने संस्थाको रुपमा रहेको प्रेस काउन्सिल, नेपालको सदस्यको रुपमा कार्यरत पत्रकार खड्काले महान जनयुद्धमा आफू र आफ्नो वरपरका भोगाइहरुलाई बयान गर्दै जनयुद्धभित्रको वास्तविकतालाई आम जनमानसको बिचमा आफ्नो ऐतिहासिक कृति ‘युद्धका ती दिनहरुः एक पत्रकारको भोगाइ’को रुपमा पस्कनु भएको छ । लेखक खड्काले प्रस्तुत पुस्तकलाई ‘एउटा पत्रकारको भोगाइ’को रुपमा प्रस्तुत गरेको भएपनि यसले जनयुद्धका सबै पाटा र पक्षहरु समेटेको छ र आफूभित्र समेटिएका हरेक पात्रहरुमाथि न्याय गरेको छ ।
जनयुद्धका दुई पक्षहरु थिएः सुन्दर पक्ष र कुरुप पक्ष । ‘युद्धका ती दिन’ पुस्तकमा जनयुद्धमा होमिएका योद्धाहरु र जनसमुदायको त्याग, आफ्नो जीवनलाई उत्सर्ग गर्न तयार हुँदै पार्टी, संगठन र नेतृत्वको रक्षा गर्ने महानता, शारीरिक र मानसिक यातनाले गाल्न नसकेको वीरहरुको उच्च मनोबल, क्रान्तिप्रतिको समपर्ण र प्रतिबद्धतालाई अत्यन्तै सुन्दर रुपमा प्रस्तुत गरिएको छ । अर्कोतिर यसले सँगैको साथी रक्तमुछेल भएर ढल्दाको पीडा, युद्धको वर्वरता, राज्यपक्षबाट गरिएको दमन, विद्रोहीहरुलाई पशुतुल्य चेतनाबाट ग्रसित राज्यसत्ताका मानिसहरुले गरेको व्यवहार, तिनीहरुको क्रुरता, प्रतिशोध, शारीरिक, मानसिक र यौन उत्पीडन, निर्दयिताको परकाष्ठा, कठोरता र अमानवीय चरित्रको साथै राज्यपक्षको गैरजिम्मेवारीपनको सम्पूर्ण गुह्य खोल्न सफल भएको छ । त्यति मात्रै होइन, आम नागरिकलाई कानुन पालना गराउन बसेको प्रहरी, प्रशासन र सेनाले कसरी कानुनको उलंघन गर्छ र अदालत, मानवअधिकार आयोग र अन्य सुपरीवेक्षक निकायहरुको अगाडि गर्ने ढाँट–छल र षडयन्त्रका प्रमाणहरु पनि प्रस्तुत पुस्तकमा प्रशस्तै छन् । युद्धभित्रका वीरताका कथाहरुसँगै युद्धका विभिषिकाहरुको रुपमा आत्मसर्पण र गद्दारीका पक्षहरुलाई पनि पुस्तकले समेट्न भ्याएको छ ।
यति मात्रै होइन, प्रस्तुत पुस्तकले महान जनयुद्ध र त्यसका आर्दशहरु बिर्सन खोज्नेहरुलाई झक्झकाएको छ भने त्यो महासमरको न्यूनीकरण र अवहेलना गर्न खोज्नेहरुलाई सप्रमाण जवाफ दिएको छ । जसले इमानदारितापूर्वक जनयुद्धलाई जान्न र बुझ्न चाहेका छन्, तिनीहरुलाई पर्याप्त खुराक पस्किएको छ । २०७६ जेष्ठ १३ गते पुस्तक विमोचनका क्रममा अध्यक्ष प्रचण्डले भनेजस्तै ‘युद्धका ती दिन’ वास्तवमा दस वर्षे जनयुद्धको क्रान्तिकारी भोगाइ हो ।
पुस्तकलाई संकटकाल, जेल जीवन, भूमिगत रेडियो र गण्डक यात्राको रुपमा ४ भागमा संगठित गरिएको छ । प्रस्तुति सिलसिलेवार र उपन्यासको झल्को दिने खालको छ । पुस्तकको कथा २०५६ मंसिर ११ गतेबाट सुरु भएको छ, समयसँगै जिम्मेवारीहरु र परिस्थतिहरु फेरिँदै र थपिँदै गएका छन् भने महान जनयुद्धको बलमा उठेको ऐतिहासिक दोस्रो संयुक्त जनआन्दोलनपश्चात जहानियाँ राजतन्त्रले घुँडा टेकेर लोकतन्त्र बहाली हुँदासम्म समेटिएको छ । लेखकले आफूसँग जोडिएका स–साना कुराहरुको समेत तथ्यपूर्ण विवरण खुलाउनु भएको छ, जसले यसको प्रस्तुतिलाई सूचनामूलक र विषयवस्तु प्रधान बनाएको छ ।
पुस्तक मूलतः लेखक क. संगीता खड्का स्वयंको वरिपरि घुमेको छ तर उहाँ आफू एक प्रतिनिधि पात्र भएको कुरा सहजै बुझ्न सकिन्छ । पढ्न सुरु गर्नुअघिसम्म सबैलाई यो उहाँको निजी भोगाइ र संस्मरण भए जस्तो भ्रम पर्छ तर यसमा महान पत्रकार–शहीद क. कृष्ण सेन ‘इच्छुक’ र अरु थुप्रै योद्धाहरुको योगदान अविस्मरणीय तवरले लिपीबद्ध गरिएको छ । जब पुस्तक खोलेर पहिलो, दोस्रो, तेस्रो पृष्ठ पल्टाउँदै गइन्छ, सबैलाई पुस्तकभित्रको गहकिलो विषय वस्तु र औपन्यासिक प्रस्तुतिले तान्न थाल्छ । पुस्तक सुरु गरेपछि छोड्नै मन लाग्दैन । पुस्तक पढ्न बानी छुटेका र अल्छी लाग्नेहरुलाई यो पुस्तक सिफारिस गर्नु उपयुक्त हुन्छ । जो कसैले पनि यसलाई पढेपछि ज्ञान र अनुभूतिका साथै पढ्नुको अर्थ र आनन्द लिन सक्छ ।
नेपालका हरेक कम्युनिस्टहरुले आफू र बालबालिका समेत परिवारका सबै सदस्यहरुलाई यो पुस्तक एकपटक पढ्न प्रेरित गर्नुपर्छ । माओवादी जनयुद्धबारे जानकारी हासिल गर्न खोज्नेहरुलाई यो गतिलो खुराक हो । त्यसरी नै नयाँ पुस्ताका युवाहरु, विद्यार्थीहरु, पत्रकारहरु, प्रशासकहरु, प्रहरी, सशस्त्र प्रहरी र सेनाका जवानहरुले पनि यो पुस्तक एकचोटि पढ्नु पर्छ । सत्तारुढ नेकपाका मात्रै नभएर विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका समेत प्रत्येक नेता र कार्यकर्ताले यो पुस्तक पढ्नु उचित हुन्छ ।
विषय वस्तुका हिसाबले प्रस्तुत पुस्तक प्राज्ञिक स्तरको छ । यसलाई कक्षा ११ वा १२ को अनिवार्य नेपाली विषयमा साहित्य अन्तर्गत पाठ्य पुस्तकको रुपमा समावेश गर्नु उपयुक्त देखिन्छ भने पत्रकारिता, नेपाली साहित्य, समाजशास्त्र र राजनीतिशास्त्रको स्नातक/स्नातकोत्तरमा उपयुक्त अंकभारसहितको अनिवार्य विषयको रुपमा समावेश गर्नु जरुरी देखिन्छ । पाठ्य पुस्तकको रुपमा आफ्नो औचित्य र वाञ्छनीयता सिद्ध गर्नसक्ने ओजिलो विषय वस्तु र दमदार प्रस्तुति स्वयं यसैमा निहित छ । हरेक विद्यालय, क्याम्पस र विश्वविद्यालयको पुस्तकालय यो पुस्तक बिना अधुरो हुन्छ ।
शाङ्ग्रिला प्रकाशनद्वारा प्रकाशित ‘युद्धका ती दिन’मा २४८+४ पृष्ठ रहेका छन् । यसको बजार मूल्य रु. ३८४/– राखिएको छ, जुन यथोचित देखिन्छ । पत्रकार खड्काबाट भावी दिनहरुमा पनि यस्ता कृतिहरु आइरहुन् । हाम्रो हार्दिक शुभकामना छ ।