समसामयिक अर्थराजनीति र श्रमिकका सवालमा कलम चलाउदै आउनु भएका लेखक प्रेमलकुमार खनालले आफ्नो तेस्रो कृतिको रुपमा “रााष्ट्रियता र अर्थराजनीतिमा दलाल पुँजीवाद (नेसनलिज्म एण्ड कम्प्राडर क्यापिटलिज्म इन पाेलिटिकल इकाेनोमी)” नामक पुस्तक प्रकाशन गरी बजारमा ल्याउनुभएकोछ ।
पुस्तकमा जम्मा पाँच अध्याय रहेका छन् । पहिलो अध्यायमा लेखकले मुलुककाे राष्ट्रियतामा विविध पक्षमा देखापरेका चुनौतीका बारेमा सविस्तार उल्लेख गरिएको छ । मुलुककाे जटिल भू-राजनीतिक अवस्थाले गर्दा पनि राष्ट्रियतामा अनेकन चुनौती खडा भएकाे उल्लेख गरिएको छ । राष्ट्रियता भित्र देशको सीमा, जनसंख्या , नागरिकता, सार्वभौमिकता र आर्थिक आत्मनिर्भरता आदि पक्ष रहेका हुन्छन् । यतिबेला मुलुककाे राष्ट्रियतामा खासगरी नागरिकताकाे सवाल र विदेशी नागरिकहरुकाे चाप बढदै गएका कारण जनसंख्यामा भई रहेको अतिक्रमण, सीमा अतिक्रमण, सीमा सुरक्षा, प्राकृतिक श्राेत साधनकाे परिचालनमा भइरहेको विदेशी हस्तक्षेप र प्रभाव, वैदेशिक सहयोगका नाममा एमसीसीजस्तो राष्ट्रहित विपरीतकाे सम्झौतालाई लागु गर्न भइरहेको प्रयत्नले देशको राष्ट्रियता एवं सार्वभौमिकतामा गम्भीर चुनौती खडा हुनसक्ने विषयमा लेखकले विस्तारमा उल्लेख गर्नु भएको छ ।
पुस्तककाे दाेस्रो अध्यायमा राजनीति, लाेकतन्त्र, दलहरू र सरकारका विषयमा चर्चा गर्दै राजनीति सेवामुखी नभएर पेसा र आय आर्जनकाे माध्यम हुन थालेको, राजनीतिक दलहरुभित्र आन्तरिक लाेकतन्त्र कमजोर भएका कारण लाेकतन्त्र एवं गणतन्त्रमा नै अनेकन चुनौती खडा हुन थालेको, सत्तारुढ पार्टी र सरकार बिचकाे सम्बन्ध व्यवस्थित नहुँदा उत्पन्न भएका समस्या आदिका बारेमा उल्लेख गर्दै लाेकतान्त्रिक व्यवस्थाकाे सुदृढीकरणमा राजनीतिक दलहरूकाे अहम् भूमिका हुनुपर्ने औँल्याइएकाे छ ।
यस्तै तेस्रो अध्यायमा अर्थराजनीति र दलाल पुँजीवादका बारेमा पुस्तकमा पच्चिस वटा विषयमा उल्लेख गरिएको छ । मुलुककाे अर्थतन्त्रमा अनुत्पादक पुँजीकाे बर्चस्व बढदै गएको, पुँजीलाई उत्पादन र राेजगारमुखी क्षेत्रमा लगानी गर्नुकाे सट्टामा उपभाेग्य क्षेत्रमा खर्च गर्ने, वस्तु आयात गरेर पुँजी निर्यात गर्ने, करछली गरेर रातारात धनी बन्ने जुन स्थिति छ, यसले दलाल पुँजीवाद फस्टाएर जान थालेको बारेमा पुस्तकमा चर्चा गरिएकाे छ । स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि राष्ट्रिय पुँजीकाे निर्माण र परिचालन गरेर उत्पादन र राेजगार अभिवृद्धि हुने क्षेत्रमा लगानी बृद्धि गरी ओधाेगीकरणका माध्यमबाट मात्रै मुलुकमा उत्पादन र राेजगारी बृद्धि गरेर देशलाई स्वाधीन एवं आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने र यसैकाे जगमा मुलुकमा समाजवादकाे आधार निर्माण गर्न सकिने उल्लेख गरिएको छ ।
पुस्तककाे चौथाे अध्यायमा स्थानीय सरकारका बारेमा उल्लेख गरिएको छ । लाेकतन्त्र गणतन्त्रकाे आधार स्तम्भकाे रुपमा रहेका स्थानीय सरकारहरु समाजवादकाे आधार निर्माणका पनि भएको हुँदा स्थानीय सरकारले जनमुखी कार्यक्रमका साथ भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरिएको छ । खासगरी निर्वाचित जनप्रतिनिधिहरुले निर्वाह गर्ने भूमिकाले नै स्थानीय सरकारले सुशासनकाे अनुभूति प्राप्त गर्नसक्ने विषयमा चर्चा गर्दै स्थानीय तहमा बढदै गएको आर्थिक अनुशासनहीनता, अनियमितता र भ्रष्टाचारले अनेकौँ चुनौती खडा गरेको उल्लेख गरिएको छ ।
पुस्तककाे अन्तिम पाँचौँ अध्यायमा सार्वजनिक प्रशासनका बारेमा उल्लेख गरिएको छ। सार्वजनिक प्रशासनमा उत्पन्न चुनौती, परिवर्तित स्थितिमा कर्मचारीतन्त्रकाे कार्यशैलीमा सुधार, रुपान्तरणकाे आवश्यकताबारे औँल्याउँदै कर्मचारीतन्त्रलाई जनमुखी बनाउन नतिजामुखी, जवाफदेहीपूर्ण कार्यसम्पादनकाे थालनी गरेर तदनुरुप मूल्याङ्कन गर्ने विधिको अवलम्बन गर्न, निष्पक्ष तटस्थ प्रसासनका लागि राजनीति र प्रशासकहरुका काम र भूमिकाकाे सीमा रेखा नाघ्न नहुने, र सार्वजनिक प्रशासनमा ट्रेड युनियनको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरिएको छ । सार्वजनिक प्रशासनमाभित्र औद्योगिक सम्बन्ध कायम गर्न प्रशासन र ट्रेड युनियनका बिच सहकार्य र सम्वादलाई व्यवस्थित गर्न आवश्यक भएको विषयमा चर्चा गरिएको छ ।
प्रस्तुत पुस्तकमा पूर्व प्रधानमन्त्रीहरु, अर्थविद्, पूर्वप्रशासक एवं कुटनैतिक क्षेत्रका अनुभवी व्यक्तित्वहरुवाट समेत टिप्पणी गरिएको छ । पुस्तक राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, नीति निर्माताहरु, सार्वजनिक प्रशासनमा रुचि राख्नेहरु, राष्ट्रियताकाे संरक्षण र सम्वर्द्धनका अभियन्ताहरु र क्याम्पस कलेजका विद्यार्थीहरुका लागि अध्ययनकाे महत्त्वपूर्ण उपयाेगी सामाग्री हुने देखिन्छ ।
पुस्तककाे नाम: राष्ट्रियता र अर्थराजनीतिमा दलाल पुँजीवाद
लेखक: प्रेमलकुमार खनाल
प्रकाशन सालः २०७७ फाल्गुन
पृष्ठ संख्या: २५०
मूल्य रु ५००/- (व्यक्तिगत ) संस्थागत रु १,०००/-
सम्पर्क नं: ९८५१०८६५२४