काठमाडौँ । वागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि भएको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा विजयी हुनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) ले आफ्नो पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका आफ्ना सांसद रामबहादुर थापालाई कारबाही गरी पदमुक्त गरेपछि रिक्त रहेको सदस्य पदका लागि बिहीवार भएको उपनिर्वाचनमा नेकपा (एमाले – केपी ओली पक्ष) का उमेदवार तथा भर्खर पदमुक्त गृहमन्त्री रामबहादुर थापालाई अत्यधिक मतान्तरले पराजीत गर्दै विपक्षी गठबन्धनका उमेदवार डा. खिमलाल देवकोटा विजयी हुनुभएको हो ।
नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस र नेकपा (एमाले – माधव नेपाल पक्ष) को तर्फबाट उमेदवारी दिनुभएका विजयी उमेदवार डा. देवकोटाले कुल ५ हजार ८८ मतभार पाउनुभयो भने सत्ता, शक्ति र रूपैयाँको व्यापक दुरुपयोग गर्नुका साथै निर्वाचनको मौन अवधिमा निर्वाचन आचारसंहिताको धज्जी उडाएर प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले मतदाताहरूलाई धम्की दिँदै वक्तव्य जारी गर्नुका बाबजुद पनि सत्तापक्षीय उमेदवार रामबहादुर थापाले केवल ४ हजार १४ मतभार प्राप्त गर्नुभयो ।
३४८ मतदाता रहेको उपनिर्वाचनमा ३३८ जनाले मात्र मतदान गरेका थिए । वागमतीमा तीन प्रदेश सभा सदस्य रहेको विवेकशील साझाले ‘नो भोट’ को अधिकार माग गर्दै भोट नहाल्ने निर्णय नै गरेको थियो ।
आज मात्रै रामबहादुर थापासहित ७ जना सांसद नरहेका मन्त्रीहरूको पुनः नियुक्ति संविधान विपरीत रहेको भन्दै सर्वोच्च अदालतले उनीहरूलाई पदमुक्त गरेको थियो भने कुनै समय माओवादीका सिंहजस्तै गर्जिने र देशका शीर्ष नेताको रूपमा गणना हुने रामबहादुर थापा ‘वादल’ एकजना पार्टी केन्द्रीय सदस्य समेत नरहेका सामान्य विकास अभियन्तासँग कन्तविजोग हुने गरी पराजित हुनु पर्यो ।
माओवादी शक्तिशाली र एकीकृत हुञ्जेल सँधैभरि बिचमा रहने तर मौका मिल्दासाथ पटकपटक अध्यक्ष प्रचण्डलाई धोका दिने तथा पार्टी फुटाई क. प्रचण्डलाई भौतिक रूपमा समेत सिध्याउने कोशिस गरेको आरोप लागेका र सोही कारणले माओवादी कार्यकर्ताहरूको बिचमा ‘लिन पियाओ’ को नामले चिँनिदै आएका रामबहादुर थापा पछिल्लो समय पद, पैसा र पावरका लागि नेकपा (एमाले) को केपी ओली पक्षमा लागेर सम्पूर्ण असंवैधानिक, अनैतिक तथा भ्रष्ट क्रियाकलापमा साथ दिनुभएको थापालाई नजिकबाट चिन्नेहरूले बताउने गरेका छन् । सेनाविनाका जर्नेलको रूपमा एमाले प्रवेश गरेका थापालाई एमालेभित्रका कतिपय नेताहरूले एक जनाधारविहीन भोझ ठानेको चर्चा चल्दै आएको छ ।
नेपाली धर्तीबाट २४० वर्षको जहानियाँ शाही राजतन्त्रका साथै झण्डै ४ हजार वर्षदेखिको सामन्ती सत्तालाई ध्वस्त गर्दै नेपालमा आफ्नै मौलिकतासहितको पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना गर्न सफल र सगरमाथाको चुचुरोमा विश्व क्रान्तिको झण्डा गाड्न अग्रसर नेपालको माओवादी आन्दोलनलाई तहस-नहस पार्ने साम्राज्यवादी बृहत् डिजाइनको पटकपटक मोहरा बन्ने गरेका रामबहादुर थापा र उनको लोभीपापी चरित्र यस पटक नराम्ररोसँग उदाङ्गो भएको छ भने हजारौँ नेपाली जनताका श्रेष्ठतम् छोराछोरीको बलिदान र लाखौँ जनताको रगत-पसिनाले सिर्जित माओवादी आन्दोलनको एउटा महान् योद्धा ‘वादल’को एक अवसरवादी रामबहादुर थापाको रूपमा अवसान भएको छ ।
२०६४ सालको संविधान सभा निर्वाचनमा नेपालको पहिलो शक्तिको रूपमा विजयी नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनेको थियो, जुन सरकारमा रामबहादुर थापा ‘वादल’ रक्षामन्त्री हुनुहुन्थ्यो । आफ्नो नेतृत्वमा सरकार भएको, क्यान्टोनमेन्टमा जनमुक्ति सेना भएको र एमाले तथा काँग्रेसको नैतिक धरातल कमजोर रहेको बेलामा यिनै रामबहादुर थापाले नेपाली सेनाका सेवानिवृत्त हुन तिन महिना मात्र बाँकी रहेका तत्कालीन प्रधानसेनापति रुक्माङगत कटुवालसँग कुनै कारणविना अनावश्यक विवाद र व्यक्तित्वको टकराव निम्त्याई क. प्रचण्डलाई सत्ताबाट बहिर्गमन गर्न बाध्य बनाएको कुरा स्मरणीय छ ।
धोवीघाट गठबन्धन हुँदै पार्टी विभाजनका कारक बनेका वादलले एनेकपा (माओवादी) र नेकपा (क्रान्तिकारी माओवादी) को बिचमा पार्टी एकताको संस्थागत पहल भइरहेको समयमा क. किरणलाई धोका दिँदै पार्टी एकताको पक्रियामा समावेश हुनबाट रोकेको केही निकटतम्हरूको विश्लेषण छ । क. किरण एकता पक्रियामा सहभागी हुँदा उहाँले महत्त्व पाउने र आफ्नो महत्त्व कम हुने ठानेर उहाँलाई षड्यन्त्रमूलक तरिकाले रोकेको बताउने गरिएको छ ।
यसपटक समेत एकीकृत दुई पार्टीमध्ये नेकपा (एमाले)को तर्फबाट प्रधानमन्त्री पदमा एमाले अध्यक्ष केपी शर्मा ओली भएपछि अध्यक्ष प्रचण्डले प्रथम उपप्रधानमन्त्रीको रूपमा रामबहादुर थापालाई अघि सार्नुभएको थियो र त्यसका लागि केही दिन पर्खन वादललाई अनुरोध गर्नुभएको थियो तर वादल भने पदलोलुपता देखाउँदै आफू ईश्वर पोखरेलको मुनि बस्न तयार रहेको तर तत्काल मन्त्री भए पुग्ने भन्दै हतार गरेको कारण पार्टीमा समेत ईश्वर पोखरेलको मुनि हुनुपर्ने अवस्था आयो ।
नेकपाको विभाजनपछि आफूमाथि अन्याय भएको भन्दै नेकपा (ओली पक्ष) को दोस्रो वरियताको नेता हुने लोभमा प्रचण्डको साथ छोडेका वादल यतिबेला ओली पक्षमै चौथो वरियतामा पुगेको स्थिति छ भने एमाले पुनर्एकता भएको अवस्थामा झलनाथ खनाल र माधव नेपाल साथै उपाध्यक्षहरूको मातहत पुग्दा धेरै तल पुग्ने र जनाधार नभएकोले उनलाई कसैले सम्मान नगर्ने बरू उल्टै रातोदिन जनयुद्धको हत्यारा, आतंककारी र उग्रवामपन्थी तथा एमालेको भाग खोस्न आएको भन्दै हेप्ने र पेल्ने स्थितिको सहजै अनुमान गर्न सकिन्छ ।
एमाले-माओवादी एकता विरोधी नेताको रूपमा कुख्यात ईश्वर पोखरेलको निर्देशनमा केपी ओली पक्षधर मतदाताहरूले समेत रामबहादुर थापालाई मत नदिएको बताइन्छ । नेपाल सरकारका विनाविभागीय मन्त्रीको रूपमा रहेका ईश्वर पोखरेलले आन्तरिक रूपमा थापालाई हराउन भूमिका खेलेको चर्चा चलेको छ ।
एमालेका बृद्ध तथा रोगी नेता केपी शर्मा ओलीपछि नेकपा (एमाले) को नेतृत्व हत्याउनका लागि एमाले-माओवादी एकता भंग शिरदेखि पाउसम्मको सबै बल र आफ्ना सम्पूर्ण नन्दी-भृङ्गीहरू परिचालन गरेका नेता हुन् ईश्वर पोखरेल ।
आफ्नै गुटका खम्बा भए पनि थुप्रै भ्रष्टाचार काण्डमा मुछिएकोले प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले बाध्य भई रक्षामन्त्री पदबाट बर्खास्त गरी बिनाविभागीय मन्त्रीमा सीमित गरिदिएका नेता पोखरेलले रामबहादुर थापालाई पराजीत गरी त्यसको सम्पूर्ण दोष माधव नेपाल पक्षको टाउकोमा हालेर नेपाल-खनाल पक्षलाई एमालेबाट कारबाही गराई पार्टी फोर्न बाध्य बनाउन सो कदम चालेको विश्लेषकहरूको दाबी छ ।
यसबाट केपी ओली पक्षले विश्लेषण गरेजस्तै एमाले विवादको असर केवल केही नेताहरूमा मात्र सीमित रहेको र माधव-खनालको कुनै जनाधार नभएको निष्कर्ष गलत साबित भएको छ ।
विघटन गरिएको संसदको पुनर्स्थापना हुनु, पत्रकार महासंघको निर्वाचनमा ओली पक्ष देशैभर पत्तासाफ हुनु, ओली विश्वासको मत प्राप्त गर्न असफल भई पदमुक्त हुनु र माओवादी छोडेर एमालेमा गएका गैरसांसद ७ मन्त्रीहरूलाई सर्वोच्च अदालतले पदमुक्त गरेसँगै यो पराजय नेकपाको विभाजनपछि केपी ओलीले प्राप्त गरेको पाँचौँ धक्का हो ।
नेकपाको विभाजनसँगै आफूलाई ब्रह्म ज्ञानी ठान्ने प्रधानमन्त्री केपी शर्मा ओली दुईतिहाइको सरकारको नेतृत्व गर्ने मुलुकको सर्वशक्तिमान नेताको अवस्थाबाट एकतिहाइमा झर्नुका साथै कहिले नेपाली काँग्रेस त कहिले जनता समाजवादी पार्टीको पाउ परेर विश्वासको मतको भीख माग्नुपर्ने अवस्थामा पुगेका छन् ।
यसपश्चात केपी ओली र उनको पक्षको प्रतिक्रिया हेर्न बाँकी नै छ, तर यो घटनाले अहंकारी केपी ओलीका लागि एउटा दह्रो झापड हुन पुगेको छ ।