jhala nath khanal, JN khanal, झलनाथ खनाल
 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री क. झलनाथ खनालले सचिवालय बैठकमा अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन जायज र बहुमत सचिवालय सदस्यहरूको साझा तथा सामूहिक दस्तावेज भएको बताउनु भएको छ ।

पार्टी सचिवालय सदस्यसमेत रहेका नेपाल सरकारका उपप्रधानमन्त्री तथा विना विभागीय (जगेडा) मन्त्री क. ईश्वर पोखरेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा पार्टी स्थायी समिति सदस्य क. शंकर पोखरेल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा पार्टीका कनिस्ट केन्द्रीय सदस्य क. सूर्य थापा र ७० करोड भ्रष्टाचारको अभियोग लागेर मन्त्री पदबाट राजीनामा दिन बाध्य पार्टी केन्द्रीय सदस्य क. गोकुल बाँस्कोटा लगायतका आफूलाई प्रधानमन्त्री क. केपी शर्मा ओली निकट बताउने मुठ्ठीभर व्यक्तिहरूले अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय सचिवालयमा पेश गरेको राजनीतिक प्रस्तावलाई एकतर्फी, ‘अभियोग पत्र’ र ‘फुटको आधार’ भएको दावी गरेको समयमा पार्टी वरिष्ठ नेता क. झलनाथ खनालले अध्यक्ष प्रचण्डको प्रस्ताव साझा भएको भन्दै त्यसको बचाऊ गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रस्तावमा सरकार र सरकारको नेतृत्व गरेका अर्का अध्यक्ष क. केपी शर्मा ओलीसँग सम्बन्धित विषयहरूको समग्र समीक्षा गरिएको छ भने प्रस्तावमा पार्टी एकतालाई सुदृढ गर्ने, पार्टी भित्र मौलाउँदै गएको गैरकम्युनिस्ट तथा भ्रष्ट प्रवृति, सरकारको अकर्मण्यता र पार्टी फुटका लागि भएका विभिन्न गलत क्रियाकलापहरूको सुस्पष्ट समीक्षा गरिएको छ, जसलाई पार्टीका आम नेता तथा कार्यकर्ता र आम जनताले स्वागत गरेका छन् ।

अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत प्रस्तावले सरकारको शक्तिका आडमा भएका गलत हर्कत, देश र जनताका साथै मित्रराष्ट्र चीनको विरूद्ध एमसीसी सम्झौता गर्ने र अमेरिकी तथा भारतीय सेनासँग संयुक्त सैन्य अभ्यास गर्ने लगायतका षडयन्त्रहरूको पर्दाफास भएपछि प्रधानमन्त्री ओली पक्षका नेताहरूले पार्टी विभाजनको धम्की दिँदै आएका छन् ।

संविधान सभाको प्रथम निर्वाचनमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) अत्यन्तै नराम्ररी पराजित भएको र हालका प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायतका नेताहरू समेत निर्वाचनमा पराजित भएको बेला पनि संविधान सभामा निर्वाचित हुन सफल क. झलनाथ खनालले पार्टी सचिवालयमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव र त्यसको अन्तरवस्तु जायज भएको बताउनु भएको छ ।

वरिष्ठ नेता झलनाथ खनाल सीपी मैनाली पश्चातका तत्कालीन नेकपा (माले)का महासचिव तथा नेकपा (एमाले) को आठौँ महाधिवेशनमा हालका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष क. केपी शर्मा ओलीलाई अत्यन्तै ठूलो मतान्तरले पराजित गरी नेकपा (एमाले)को पार्टी अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँले तत्कालीन संविधान सभामा सबैभन्दा ठूलो शक्तिको रूपमा रहेको एनेकपा (माओवादी)सँग पार्टी एकता गर्नका लागि अनवरत प्रयत्न गर्नु भएको थियो । तर पार्टीभित्रका कम्युनिस्ट एकताविरोधी तथा भारतीय विस्तारवादका दलालहरूका कारण सो प्रयत्न सफल भएको थिएन ।

वरिष्ठ नेता खनालले अध्यक्ष प्रचण्डसहित पाँचजना नेताले सहमति गरेर सामूहिक रूपले सो प्रस्ताव सचिवालयमा अगाडि सारेको बताउनु भएको छ । अहिलेको सङ्कट समाधानका लागि मार्गप्रशस्त गर्ने काम प्रधानमन्त्री ओलीले गर्नुपर्ने क. खनालको भनाइ छ । नेकपाको सचिवालयको बैठक मङ्सिर ३ गते पुनः बोलाइएको छ।