काठमाडौँ । पुस्तकप्रेमीहरू र नेपाल-चीन सम्बन्धबारे जानकारी राख्न चाहने पाठकहरूका लागि नेपाल-चीन सम्बन्ध विषयमा लेखिएको एउटा महत्त्वपूर्ण पुस्तक बजारमा आएको छ – चिनियाँ पत्रकारको आखाँमा नेपाल अर्थात ‘मेण्ड अर इण्ड’ ।
२०२१ अप्रिल २३ मा विश्व पुस्तक दिवसको दिन पारेर बजारमा ल्याइएको पुस्तक ‘मेण्ड अर इण्ड’का लेखक वरिष्ठ चिनियाँ पत्रकार तथा चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाका नेपाल ब्युरो प्रमुख झाउ शेङपिङ हुनहुन्छ ।
करिब एक दशक नेपालमा बसेर पत्रकारिता गर्दै नेपाल-चीन सम्बन्धका विषयमा प्रत्यक्ष अनुभव संगालेका लेखक झाउले आफ्नो लामो नेपाल बसाइ र पत्रकारिताको सन्दर्भमा नेपालका थुप्रै राजनीतिक दलका नेताहरूसँग भेटघाट गर्ने र नेपाली राजनीतिलाई नजिकबाट नियाल्ने अवसर प्राप्त गर्नुभएको छ । सोही अनुभवका आधारमा तयार भएको पुस्तक हो – ‘मेण्ड अर इण्ड’ ।
चिनियाँ वरिष्ठ पत्रकार झाउले आफ्नो पुस्तकमा नेपाली राजनीति, संस्कृति, पर्यटन, अर्थतन्त्र र नेपाल-चीन सम्बन्ध बारे आफ्नो एक दशक लामो अनुभव र अनुभूतिलाई चिनियाँ दृष्टिबाट प्रस्तुत गर्नुभएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको सशक्त नेतृत्वमा कम्युनिस्ट आदर्श र लक्ष्यसहित पार्टीको नीति र विधिमा बलियो र स्थिर सरकार सञ्चालन भएको तथा पार्टीको ठोस नीति र विधिका आधारमा नेतृत्व हस्तान्तरणको अभ्यास हुने जनवादी गणतन्त्र चीनका नागरिक झाउले नेपालको राजनीतिमा देखिएको अस्थिरता बारे पुस्तकका माध्यमबाट प्रश्न उठाउनु भएको छ । उहाँले नेपाली जनताको धेरै लामो समयदेखिको आकांक्षाको रूपमा रहेको देशको विकास र समृद्धि हासिल हुन असफल हुनुको कारणबारे चर्चा गर्नुभएको छ ।
धेरैजसो नेपालीहरूले सोचेजस्तै लेखकले राजनीतिक दलका नेताहरूले निर्वाचनको समयमा आफूले गरेका वाचाहरू बिर्सने हुनाले जनताको सपना साकार हुन नसकेको विचार पुस्तक मार्फत् उजागर गर्नुभएको छ ।
पुस्तकमा लेखक झाउले नेपाल-चीन सम्बन्धका विभिन्न आयामहरूबारे समेत खोतल्ने प्रयास गर्नुभएको छ, जुन दिनानुदिन गहिरिँदै गइरहेका छन् । लेखककाअनुसार चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले २०१९ को अक्टोबरमा गर्नुभएको ऐतिहासिक नेपाल भ्रमणले दुई देश बिचको सम्बन्धमा मित्रता र सौहार्दताको एउटा नयाँ अध्याय थपिएको छ ।
चिनियाँ क्रान्तिका महानायक कमरेड माओत्सेतुङले “१० हजार वर्ष धेरै लामो हुन्छ, प्रत्येक दिन छोप्नुस्, प्रत्येक घण्टा छोप्नुस्” भनेझैँ अब ढिला नगरिकन नेपालको सामाजिक-आर्थिक विकासका लागि सबैले ध्यानकेन्द्रित गर्नुपर्ने उहाँको राय छ ।
नेपाल र चीनको विकासबाट एउटा गतिशील पुलको रूपमा नेपालले थुप्रै फाइदा लिनसक्ने संभावना रहेको उहाँको दाबी छ । नेपालको अर्थतन्त्रको ठुलो हिस्सा विप्रेषणले धानेकोले यदि कुनै कारणले त्यो अबरूद्ध भएमा नेपालले गम्भीर संकटको सामना गर्नुपर्ने उहाँको आंकलन छ ।
नेपाली राजनीति, भूराजनीति, अर्थतन्त्रका साथै पुस्तकमा लेखकले आफूले मुस्ताङ लगायत नेपालका विभिन्न भूभागहरूको भ्रमण गर्दा प्राप्त अनुभव र अनुभूतिहरूलाई समेत पुस्तकमा समेट्नुभएको छ ।
पुस्तकको मूल्य रू ६००/- रहेको छ । २०० पृष्ठ लामो पुस्तकलाई ५ अध्यायमा विभक्त गरिएको छ । रंगीन तस्बिरहरू र आकर्षक साजसज्जा भएको पुस्तकमा मूलतः सिन्ह्वा, एसिया प्यासिफिक डेली लगायतका विभिन्न चिनियाँ सञ्चार माध्यमहरूमा प्रकाशित लेख, रचना, अन्तर्वार्ताहरू र समाचारहरूलाई समेटिएको छ ।