सुखानी दिवस, Sukhani diwas left review online com
 

नेपाल कम्युनिस्ट पार्टी २०१९ सालको तेस्रो महाधिवेशनपछि विभाजनको स्थितिमा पुग्यो । पार्टी केन्द्रविहीन भयो । विभिन्न समुह र उपसमुह क्षेत्रीय रुपमा समेत स्थापित भए । यसै सिलसिलामा कोशी प्रान्तीय समिति निर्माण भयो र यस अन्तर्गत झापा जिल्ला समिति गठन गरियो, जसले नेपालमा २०२८ साल जेठ २ गते कम्युनिस्ट तर्फबाट पहिलो सशस्त्र संघर्ष सञ्चालन गर्ने निर्णय लियो । अतः ‘एक एरिया – एक युनिट, एक स्क्वाड – एक एक्सन’ को अवधारणा सहित वर्गशत्रु खतम अभियान सुरु भयो, जसलाई इतिहासमा झापा विद्रोहको नामबाट चिनिन्छ ।

विद्रोह अवधीमा १२ जना सामन्तहरुको सफाया भयो । सत्तापक्ष दमन, धरपकड, गिरफ्तार र हत्यामा नउत्रने कुरै भएन । अधिकांश नेतृत्वमा रहेका र सकृय कमरेडहरु पक्राउ परे । यसैबीच संघर्षको मुख्य टीममा रहेका कमरेडहरु रामनाथ दाहाल, नेत्र घिमिरे, विरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेललाई फरकफरक मितिमा गिरफ्तार गरियो र झापाको चन्द्रगढी जेलमा राखियो। उहाँहरुलाई इलाम जेल सार्ने बहानामा झापाको सीमाना काट्नेबित्तिकै इलामको सुखानीमा गोली हानी हत्या गरियो । उक्त दिन थियो, २०२९ साल फागुन २१ गते अर्थात् ४६ वर्षअघि आजैको दिन ।

रमेश गुरागाँई Ramesh Guragain Left Review Online
लेखक

सुखानी काण्डपछि पनि धेरै योद्धाहरुको हत्या भयो तर विद्रोहको रापले आन्दोलन नयाँ उचाइमा पुग्यो । झापा विद्रोहको नेतृत्व गरेका कमरेडहरुले कोअर्डिनेसन केन्द्र गठन गरे । विद्रोहको प्रभावले गर्दा यसमा अन्य केही जुझारु कम्युनिस्ट घटक र नेताहरु पनि सामेल भए । यो समुह पछि माले हुँदै एमालेमा विकास भएको हो । त्यसैले पछिल्लो कम्युनिस्ट एकताअघि एमालेले प्रत्येक वर्ष फागुन २१ गते सुखानी स्मृति दिवस औपचारिक कार्यक्रम आयोजना गरी मनाउँदै आएको थियो ।

कम्युनिस्ट आन्दोलनको अर्को धार माओवादीको नेतृत्वमा झन् प्रभावकारी र देशव्यापी सशस्त्र संघर्ष (जनयुद्ध) सुरु भयो, झापा विद्रोहको २४ वर्षपछि । जनयुद्ध दश वर्ष चल्यो र ठुलै उलटपुलट परिवर्तन भयो । जनयुद्ध झापा विद्रोहबाट अलग्गै थिएन । बरु झापा विद्रोहमा टुटेको कडी जोड्ने काम गरेको थियो जनयुद्धले । आठ वर्षअघि झापा विद्रोहका महान योद्धाहरुको सहादतस्थल सुखानीमा आयोजित सभामा पहिलोपटक सम्बोधन गर्दै माओवादी सुप्रिमो प्रचण्डले जनयुद्धको तयारीवारे दस्तावेज लेख्दै गर्दा झापा विद्रोह र सुखानीका सहिदहरुलाई सम्झना गरिएको सार्वजनिक गर्नुभएको थियो । त्यसो त २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनबाट पारित माओवादी दस्तावेजमा झापा विद्रोहको महत्ववारे लेखिएको छ ।

यसबाट नेपालको कम्युनिस्ट आन्दोलनमा झापा विद्रोह र जनयुद्धको सम्बन्ध स्पष्ट हुन्छ । जनयुद्ध स्वयम् झापा विद्रोहको उत्प्रेरणा हो । त्यसैले झापा विद्रोहलाई माओवादीले सँधै स्वीकार गरेको पाइन्छ । त्यति मात्र होइन, जनयुद्धका पहिलो सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस फागुन १४ गतेदेखि सुखानी स्मृति दिवस फागुन २१ गतेसम्म माओवादीले सहिद सप्ताहको रुपमा मनाउने गरेको थियो । शान्ति प्रकृया सुरु भएपछि त प्रत्येक वर्ष माओवादीले पनि सुखानीमा छुट्टै औपचारिक कार्यक्रम आयोजना गर्दै आएको थियो । यसले यी दुई पार्टीलाई एक ठाउँमा ल्याइपुचर्‍याउन वा दुईबीचको दूरी घटाउन कुनै न कुनै भूमिका खेलेको थियो भन्दा अतिशयोक्ति नहोला । गत वर्ष दुई पार्टीले संयुक्त रुपमा सुखानी स्मृति दिवसको कार्यक्रम आयोजना गरेका थिए भने यस वर्ष पार्टी एकतापछिको पहिलो वर्ष भएका कारण दुवै अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले फागुन २१ गते सुखानीको कार्यक्रमलाई सम्बोधन गर्दै छन् ।

सुखानी हत्याकाण्डपछि स्वयम् झापा विद्रोह अवसानको अवस्थामा पुगे पनि कम्युनिस्ट आन्दोलनमा यसको प्रभाव बहुआयामिक पाइन्छ । यसबाट आन्दोलनमा प्राप्त उर्जा महत्वपूर्ण हो । यसले कम्युनिस्टमाथि सत्तापक्षको धरपकड बढायो तर कृयाको प्रतिकृयास्वरुप प्रतिरोध चेतना र क्षमता विकास भयो । पदार्थले चेतना पैदा गर्छ । आत्मगत पक्षलाई सबल बनाउने क्रममा वैचारिक विकास र संगठन विस्तार हुन थाल्यो । सुखानी हत्याकाण्ड कम्युनिस्ट आन्दोलनको क्षति भए पनि यसले नेपालमा दिन दुगुना रात चौगुना कम्युनिस्ट जन्मायो । जोखिमलाई पर्वाह नगरी जनताको व्यापक समर्थन प्राप्त हुन थाल्यो । कम्युनिस्ट एकताको आवश्यकता महसुस हुन थाल्यो र विभाजनको ठाउँमा सापेक्षिक भए पनि एकता सुरु भयो । आजको एकता र कम्युनिस्ट जनमत झापा विद्रोह र सुखानीका सहिदहरुप्रतिको सम्मानभावले पैदा गरेको परिणाम हो । स्मरणीय छ कि सुखानीमा सहिदहरुले रगत बगाउँदा भारत निर्वासनमा रहेका विपि कोइरालाले समेत सम्मान र समर्थनमा अभिव्यक्ति दिनुभएको थियो । उहाँले सबै युवाहरुले सुखानीको बलिदानीबाट सिक्नुपर्नेमा जोड दिनुभएको थियो ।

नेपालमा अहिले कम्युनिस्ट पार्टीले दुई तिहाईको नजिकमा जनमत हासिल गरेको छ । एकल बहुमतको संघीय सरकार र एकल बहुमत प्राप्त अधिकांश प्रदेश सरकार बनाएको छ । स्थानीय तहमा अत्याधिक विजय प्राप्त छ । त्यसैले झापा विद्रोह र सुखानी स्मृति दिवसलाई महत्व दिए जसरी सुखानीका सहिदहरुको सपना पुरा गर्न उपयुक्त अवसर जुटेको छ । यसलाई गुमाउन छुट छैन भन्ने हेक्का राख्नैपर्छ ।

 रामनाथ दाहाल

तेह्रथुम जिल्ला आठराईको इवा भदौरेमा जन्मिनुभएका सहिद रामनाथ २०१७ सालदेखि झापाको चारपानेमा बस्न थाल्नुभयो । उहाँलाई सानैदेखि किसानमाथि हुने अन्याय असैह्य हुन्थ्यो । उत्पीडनमा परेका किसानका धान काट्न र थन्क्याउन सहयोग गर्नुृहुन्थ्यो । त्यसबेला मोहीको धान लुटिन नदिने र संरक्षण गरिदिने संघर्षको मुख्य उद्देश्य थियो । उहाँमाथि सामन्तहरुले २०२६ सालमा मुद्दा हालेका थिए । त्यसैले २०२७ बैशाखमा गिरफ्तार गरी उहाँलाई ३ महिना थुनामा राखिएको थियो । उहाँको परिवारमा जेठी पत्नी जानुका दाहालतर्फ चार छोरी र दुई छोरा हुन् । एक छोराको निधन भइसकेको छ । कान्छी पत्नी विश्वेश्वरा दाहालतर्फ दुई छोरा छन् ।

 नेत्र घिमिरे

सहिद नेत्रको जन्म २००३ सालमा तेह्रथुम आठराईमा भएको थियो भने पछि झापाको गरामनीमा बसाइँ सर्नुभएको थियो । उहाँले विद्यालय अध्ययन पहाडमै पुरा गरेर २०२४ सालमा मेची क्याम्पस भद्रपुरमा भर्ना हुनुभयो र क्याम्पसमा प्रगतिशील विद्यार्थी आन्दोलनमा होमिनुभयो । २०२६ देखि पार्टीमा पूर्णकालीन भई काम गर्न थाल्नुभयो । उहाँ २०२९ पुस १४ गते पक्राउ पर्नुभएको थियो । उहाँको परिवारमा पत्नी जीवन घिमिरे हाल काठमाडौँ चाबहिलमा बस्नुहुन्छ भने उहाँका दुई छोरी छन् । उहाँका दाजुभाइ धर्म घिमिरे र देवी घिमिरे पनि विद्रोहमा सहभागी हुनुहुन्थ्यो ।

 विरेन राजवंशी

सहिद विरेनको जन्म २००२ सालमा झापा चन्द्रगढीमा भएको थियो । उहाँकी पत्नी बुबाआमाकी एक मात्र छोरी हुनुहुन्थ्यो, जसले गर्दा विवाहपछि उहाँको परिवार ससुराली गाउँ अर्थात् झापाकै ज्यामिरगढीमा रह्यो । उहाँ २०२६ सालदेखि राजनीतिमा सकृय हुनुभएको हो । उहाँकी पत्नीको निधन भइसकेको छ भने दुई छोरामध्ये एक जिवित हुनुहुन्छ ।

 कृष्ण कुइँकेल

सहिद कृष्ण २०११ सालमा गरामनी झापामा जन्मिनुभएको थियो । उहाँ नेत्र घिमिरेबाट प्रभावित हुनुहुन्थ्यो । पार्टीमा २०२७ सालदेखि संगठित हुनुभएको थियो । उहाँ २०२९ साल माघ १ गते पक्राउ पर्नुभयो । कृष्ण कुइँकेल अविवाहित हुनुहुन्थ्यो ।

 नारायण श्रेष्ठ

सहिद नारायण श्रेष्ठ उच्च मध्यम परिवारमा जन्मिनुभएको थियो । यद्यपि शोषित र उत्पीडित जनसमुदायको पक्षमा लड्ने प्रण गर्नुभएको थियो । उहाँ सहिद कृष्ण कुइँकेलका अनन्य मित्र हुनुहुन्थ्यो । नारायण श्रेष्ठको पनि विवाह भएको थिएन ।