Prakash Dahal, Sakar Dahal, Son of Chairman Prachanda
 

मङ्सिर ३ गते (२०७४ सालको) एकाबिहानै मेरो मोबाइलको घन्टी लगातार घन्किरहेको थियो । मानौं त्यसले कुनै अशुभ सङ्केत दिइरहेको थियो । मैले मोबाइलको स्क्रिन नियालें, त्यहाँ एकदमै परिचित नम्बर रहेछ । रिसिभर अन गरें, झापाबाट अप्रत्याशित अत्यन्तै हृदयविदारक एउटा आवाज आयो, “बादलजी प्रकाश गयो, तपाई तुरुन्तै नैनालाई लिएर लाजिम्पाट जानुहोस्, भाउजूलाई सम्हाल्नु होला, म केही समयपछि आइपुग्छु ।” यो स्वर क. प्रचण्डको थियो । केही समय म विचारशुन्य, स्तब्ध र अवाक् भएँ । मेरो चारैतिर बिहानीको उज्यालो अन्धकारमा परिणत भयो । विवेक फर्किएपछि फगत् ‘हवस्’ भनेर मैले मोबाइल अफ् गरिदिएँ । अपसोच, मैले सम्वेदनाको एउटा वाक्यसम्म पूरा गर्न सकिनँ ।

जन्म जति सुखद र उल्लासमय हुन्छ, मृत्यु (अपरिहार्य भए पनि) त्यत्तिकै दुखद र पीडादायी हुन्छ । अझ अल्पायुमै कसैको अकस्मात् निधन हुँदा त्यसको अनुभूति शब्दमा कदापि व्यक्त गर्न सकिँदैन । प्रिय प्रकाशको निधन भएको अब एक वर्ष पुग्दैछ, हामीले त उनलाई फगत् स्मरण गर्दै दृढ सङ्कल्प र हार्दिक श्रदाञ्जली अर्पण गर्न सक्दछौं ।

Ram Bahadur Thapa Badal, Home Minister of Nepal
लेखक

२०३२ सालमा चितवनको रामपुर क्याम्पसमा अध्ययन गर्ने क्रममा क. प्रचण्डसँग मेरो प्रथम परिचय भएको थियो । निरङ्कुश राजतन्त्रात्मक पञ्चायती शासनको विरुद्ध सङ्घर्ष गर्ने हामीले सङ्कल्प गर्‍यौं र पाँच जना युवाहरुले नारायणीको तिरमा मार्क्सवादी अध्ययन मण्डली गठन गर्‍यौं । हामीले मार्क्सवादी दर्शन र नेपालको ऐतिहासिक भौतिकवादी कोणबाट अध्ययनको थालनी गर्‍यौं ।

रामपुर क्याम्पसपश्चात् म उच्च शिक्षाका लागि सोभियत संघ पुगें र क. प्रचण्ड केही समय अध्यापन पेशामा लाग्नुभयो । २०३६÷०३७ को ऐतिहासिक जनआन्दोलनले हाम्रो जीवनमा ठूलो राजनीतिक प्रभाव पार्‍यो । हामी दुवैले पेशेवर क्रान्तिकारीको रुपमा जनवादी क्रान्तिमा हाम्फाल्ने अठोट गर्‍यौं । म सोभियत संघबाट फर्किएर चितवनमा कार्यरत भएँ, उहाँ नवलपरासीमा सक्रिय हुनुभयो ।

क. प्रचण्ड पहिल्यै विवाहित हुनुहुन्थ्यो र तीन छोरीका पितासमेत भई सक्नुभएको थियो । २०३८ सालको पञ्चायती चुनावको बहिष्कार आन्दोलनमा म गिरफ्तार भएँ । करिब एक वर्षपश्चात् म जेलमुक्त हुँदा प्रकाशको जन्म भइसकेको थियो । संगोल परिवारबाट पृथक भई सकेपछि क. प्रचण्डको पारिवारिक जीवन कष्टकर बन्दै गएको थियो । उहाँको पार्टी जिम्मेवारी बढ्दै गएको र कार्यक्षेत्र पनि अन्यत्र भएको हुँदा परिवारको रेखदेख गर्ने दायित्व चितवन पार्टीलाई थियो । यसै क्रममा प्रकाश र प्रचण्ड परिवारसँग मेरो विशेष सम्बन्ध बढ्दै गयो । मेरो थोत्रो साइकलमा चढेर घुम्न पाउँदा, बिस्कुट र मिठाइको एक टुक्रा प्राप्त गर्दा बालक प्रकाशको प्रफुलित अनुहार अझै मेरो मानसपटलमा ताजै छ ।

२०४० सालमा पार्टीको रोहवरमा क. नैनकला थापा र मेरोबीच विवाह सम्पन्न भयो । हाम्रो विवाहमा क. प्रचण्डको मुख्य भूमिका भएको सायद धेरै थोरैलाई थाहा होला । चालीसको दशकपश्चात् हामी दुवैको परिवार भरतपुर बसाई स¥यो । यहीँ प्रकाशको प्रारम्भिक शिक्षा शुरु भयो । हाम्रो छोरो प्रतीकको पनि जन्म त्यसै बेला भयो ।

यसै क्रममा पार्टीको अन्तरसङ्घर्ष तीब्र बन्दै गयो र पार्टी तीन टुक्रामा विभाजित भयो । मोहनबिक्रम र निर्मल लामा पार्टीबाट अलग भए । चुनाव बहिष्कारको सिलसिलामा घटेको ‘सेक्टर काण्ड’पश्चात् पार्टीको मुख्य नेतृत्व क. प्रचण्डले सम्हाल्नुभयो । पार्टी मोटो मशालको रुपमा स्थापित हुँदै गयो । नेपालको राजतन्त्रात्मक सामन्ती व्यवस्थालाई परिवर्तन गर्न जनयुद्ध अनिवार्य भएको हाम्रो बुझाई झन् दृढ बन्दै गयो । गोर्खालाई केन्द्रबिन्दु बनाएर जनयुद्धको तयारी गर्न मलाई पार्टीले त्यहाँ खटायो । सामन्तवादसँग जनताको अन्तरविरोध चर्कंदै थियो, हामी जनयुद्धको चार चरण तयारी गर्दै थियौं । अकस्मात् २०४६ सालको ऐतिहासिक जनआन्दोलनको बिष्फोट भयो र निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य भएर बहुदलीय संसदीय व्यवस्थाको स्थापना भयो ।

२०४६ सालको राजनीतिक परिवर्तनपश्चात् हामीले नयाँ कार्यनैतिक शृङ्खला (पार्टी एकता, जनमोर्चाको निर्माण, ग्रामीण वर्ग सङ्घर्ष, संसद्को उपयोग, भूमिगत पार्टी, चार तयारी) सहित जनयुद्धको तयारीलाई नयाँ ढंगले अगाडि बढायौं । यसै क्रममा क. प्रचण्डले परिवारलाई उपत्यका स्थानान्तरण गर्नुभयो र मैले राप्तीको बिकट बस्तीलाई आफ्नो मुख्य कार्यक्षेत्र बनाएँ । माथि (केन्द्र) र तल (आधार), शहर र गाउँ, खुला र भूमिगत, वैधानिक र अवैधानिकको संयोजन ९ागकष्यल० गर्दै क्रान्तिको तयारी अघि बढ्यो ।

पचासको दशकसम्म आइपुग्दा प्रकाश १०/१२ वर्ष पुगिसकेको थियो । बुवाका नयाँ–नयाँ साथीहरुलाई चिन्ने, उनीहरुको बार्तालाप सुन्ने, स–साना कामहरुमा सहयोग पुर्‍याउने, यो काल प्रकाशको निम्ति वस्तुतः राजनीतिक प्रशिक्षणको अवधि पनि थियो । अनुशासित तथा उत्साही शिष्यको रुपमा उसले सानै उमेरमा गम्भीर शिक्षा आर्जन गर्दै थियो । ऊ सबैको प्रिय पात्र थियो । तीन छोरीहरुपछि जन्मिएको एक्लो छोरो भएकाले सिता भाउजूको उसप्रति विशेष माया थियो ।

२०४६ सालको राजनीतिक परिवर्तनले नेपाली समाजको आधारभूत अन्तरविरोधको समाधान गर्न सकेन । फलस्वरूप अन्तरविरोधहरु चर्कंदै गयो र जनयुद्धको औचित्य र अपरिहार्यता टड्कारो बन्दै गयो । यसै क्रममा पार्टीभित्रको अन्तरसङ्घर्ष पनि उग्र बन्दै गयो र अन्ततः निर्मल लामा र नारायणकाजी पुनः पार्टीबाट अलग भए । आखिर त्यो समय आइपुग्यो, २०५२ साल फागुन १ गते महान् जनयुद्धको ऐतिहासिक पहलकदमी भयो । नेपालमा जनक्रान्तिको शङ्खघोष भयो ।

जनयुद्ध डढेलोजस्तै तीब्र गतिमा देशव्यापी रुपमा फैलियो । क. प्रचण्डको सम्पूर्ण परिवार भूमिगत भयो । प्रकाशले भूमिगत अवस्थामै विभिन्न रुपमा आफ्नो अध्ययनलाई जारी राखे । पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनपश्चात् प्रकाशले औपचारिक रुपमा नै पार्टी अध्यक्षको अभिन्न छायाँ बनेर जीवनको अन्तिम क्षणसम्म क्रियाशील रहे । सदैव पार्टी अध्यक्षको रक्षाकवच बनेर प्रहारहरुको सामना गरे । आफूलाई बलिबेदीमा चढाए । तर, पार्टी अध्यक्षको जीवन रक्षा गरे ।

२०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलन र जनयुद्धको उत्सर्गको परिणामस्वरुप पार्टीले शान्ति प्रक्रियामा प्रवेश गर्‍यो । क्रान्तिलाई नितान्त नयाँ ढंगले अगाडि बढाउने क्रममा हामीबीच केही गम्भीर मतमतान्तर पैदा भयो । अन्ततः पार्टीमा पुनः फुट पैदा भयो । परन्तु, संविधान निर्माणपश्चात् क्रान्तिको पूर्णता र समाजवादको निर्माणका लागि हामीले कम्युनिष्ट क्रान्तिकारीहरुको नयाँ ध्रुवीकरणको अपरिहार्यता महशुस गर्‍यौं र पुनः एकताबद्ध हुँदै ‘माओवादी केन्द्र’को निर्माण गर्‍यौं । अहिले त्यो ने.क.पा. भएको छ । हामी अलग हुँदा निश्चय पनि त्यो अवस्था निकै पीडादायी थियो । तर, प्रकाशले कहिल्यै हामीप्रति पूर्वाग्रह पालेनन् । बरु, एकता प्रक्रियामा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।

एकता वार्ताको व्यवस्थापन गर्दा उनको अनुहारमा उत्साह र खुशीको चमक सहजै देख्न सकिन्थ्यो । उनले भेटमा सधैं जोड दिएर मलाई भन्ने गर्थे, “काका, छिट्टै एकता गर्नुपर्‍यो ।” कार्की पार्टी प्यालेसमा पार्टी एकताको घोषणा गर्दा मैले प्रकाशको अनुहार नियालिरहेको थिएँ, त्यो हर्षले प्रज्वलित भइरहेको थियो । उनको आँखाहरु खुशीले रसाइरहेका थिए, रमाएर नाँचिरहेका थिए ।

३ मंसीर, २०७५

(लेखक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा नेपाल सरकारका गृहमन्त्री हुनुहुन्छ ।)