२०३६ सालको विद्यार्थी आन्दोलनको एउटा महत्त्वपूर्ण उपलब्धि क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पनि थियो । महेन्द्र मोरङ आदर्श क्याम्पस विराटनगरमा २०३६ साल मङ्सिर ११ गते स्ववियुको निर्वाचन भएको थियो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको प्यानल नै निर्वाचनमा विजयी भयो ।
विद्यार्थी आन्दोलनको रापतापको बेला बनेको स्ववियुमा विद्यार्थीहरूको भरोसा हुनु स्वभाविक थियो । त्यो स्ववियुले आफ्नो दुईवर्ष गरेका कामहरू अब इतिहास भइसके । पञ्चायती शासनकालमा पुस १ गते विशेष दिन हुन्थ्यो । यो दिनलाई महेन्द्र जयन्ती तथा संविधान दिवसको रूपमा सरकारले धुमधामसँग मनाउथ्यो । पञ्चायतको विरोध निषेध रहेको बेला पुस १ गतेको विरोध गर्नु भनेको व्यवस्था विद्रोहको आरोप लाग्थ्यो । हामीले स्ववियुबाट २०३७ साल पुस १ को विरोध गर्ने निर्णय गर्यौं । विरोधको स्वरूप ‘कालो दिन पुस १ को विरोध गरौं’ शीर्षकको पर्चा छर्ने निधो भयो । यो कामका लागि स्ववियुका हामी दुई पदाधिकारी म र भोला बस्नेतलाई जिम्मा दिइयो ।
पुस १ गते बिहान पाँचबजे हामी झोलामा पर्चा बोकेर विराटनगर सहरमा पर्चा छर्न निस्क्यौं । मेरो भाग पोखरियादेखि बजारअड्डासम्म र भोलाको रोडशेषदेखि महेन्द्र चोकसम्म बाँड्यौं । साधनमा मैले साइकल रोजें, भोलाले रिक्सा । एकघन्टा जति पर्चा छरिसकेपछि सुराकीहरूले मेनरोडको जलजला मोडमा मलाई गिरफ्तार गरे । आधीघन्टापछि भोला पनि समातिए । हामी दुबैलाई बजारअड्डाको पुलिस चौकीमा राखियो । त्यो बेला बजारअड्डा पुलिस चौकीमा हरिहर अधिकारी हरि असइको नामले चिनिन्थे । विराटनगरमा हरि असइको आतंक यस्तो थियो जस्तो अनिल बर्बेको चर्चित कथा थ्यांक्यु मिस्टर ग्लाडको जेलमा मिस्टर ग्लाडको । विराटनगरमा विद्यार्थीको जुलुस निस्क्यो लाठीचार्ज गर्न हरि असइको टोली, मजदुर आन्दोलन दबाउन हरि असइको टोली, हिमालय र जलजला सिनेमा हलमा टिकट ब्ल्याक गर्नेलाई गोद्न हरि असइको टोली, बल प्रयोग गर्ने हरेक ठाउँमा हरि असइको उपस्थिति हुन्थ्यो। तर पुस १ गतेको त्यो दिन हरि असइको पसिना छुटिरहेको थियो । उनलाई संरक्षण गर्ने व्यवस्थाको विरोधमा पर्चा छरिएको थियो । हरि असइको डन्ठे दिमाग मथङ्गिलिएको थियो । बूट बजार्दै ऊनी भित्रबाहिर गरिरहे । हामीलाई केही गर्नसक्ने उनको हिम्मत थिएन । अञ्चलाधीश, डीआईजी, सीडीओ, डीएसपी आएर हामीसँग गुनासो गरेका थिए । हाम्रो गिरफ्तारीको खबर पाउनासाथ अखिल, नेविसंघ, नेराविफे, नेप्रवियुका विद्यार्थीहरू हाम्रो रिहाइको लागि नाराजुलुस गर्न थाले । दिनभर बजार अड्डा पुलिस चौकी विद्यार्थीहरूको घेराउमा पर्यो । बेलुका हामी रिहा भयौं ।
दसवर्षपछि २०४७ साल पुस १ गते बिहान झिसमिसेमा कुपोन्डोल कानथान मेरो ठूलदाइको डेराबाट थापाथली पुग्दा एक्लो एउटा पुलिस डियुटीमा हातमा लाठी लिएर पुसको जाडोमा लुगलुग कामिरहेको परिचित अनुहार देखें । नजिक गएर नियाल्दा ऊनी त उही हरि असइ पो रहेछन् । भीमनिधि तिवारीको गरिब कविताको ‘उसमाथि दयागर्छ को’ संस्मरण गर्दै बाटो लागेँ । पञ्चायत ढलिसकेको थियो, पञ्चायत प्रवर्तकको सालिक पनि ढलिसकेको थियो, देशमा बहुदल आगमनको उन्मादमा थियो । पढाइ सकिएपछि भोला महेन्द्र क्याम्पस धरान सुनसरीमा पढाउन थाले म वीरेन्द्र क्याम्पस भरतपुर चितवनमा । विद्यार्थी जीवनपछि भोलासँग मेरो दुईपटक मात्र भेट भयो । पहिलोपटक उनको थापानिवासको घरमा २०४६ सालको एक आइतबार नोट तयार गर्न हातमा कापीकलम लिएका विद्यार्थीहरूसँगै ऊनी रामानन्द सागरको ‘रामायण’ सिरियलमा रमाइरहेका थिए । दोस्रोपटक २०५३ साल त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा । भोला बस्नेत, हरि असइ बितेको एक दसक बढी भइसक्यो । दुबैले आआफ्नो आस्था र आदेशको भूमिका निभाए ।
पञ्चायत ढलेको तीनदसक बढी बित्यो । राजतन्त्र गएको पनि एकदसक बढी भयो । व्यवस्थाको विरोधमा नाराजुलुसमा कमि आएको छैन । नाराजुलुस गर्नेमाथि लाठीचार्जमा पनि कमी आएको छैन । हाम्रा समकालीनहरूको जीवनको लामो समय नाराजुलुसमै बित्यो । पञ्चायतको पुस १ गतेको विरोधमा झैं नेपाली जनताले कति कुरितिको विरोध गर्ने नियति अझै निर्दिष्ट छैन । पञ्चायत गयो परिस्थिति उस्तै रह्यो, देश ओलीबा र देउवा द्वन्द्वको दलदलमा फसेको छ ।
(लेखक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ ।)