खामेलेक, कुमाख, रमेश मल्ल, ramesh malla, kumakh, pw
 

कथित संकटकालका विरुद्ध अछाम मंगलसेनमा फागुन ४, २०५८ मा भीषण आक्रमण गरेको जनमुक्ति सेनाले शाही फौजका थुप्रै घेराबन्दी तोड्दै पूर्वतर्फ लाग्यो । चैत्र २९ गते दाङको सतबरियास्थित सशस्त्र प्रहरी बेस क्याम्प र लमहीस्थित इलाका प्रहरी कार्यालय कब्जा लिएर जनमुक्ति सेना अर्को मोर्चा तयारीका लागि रोल्पातर्फ लाग्यो । जनमुक्ति सेनाको निशानामा प्युठान सदरमुकाम थियो ।

जनमुक्ति सेनाको गतिविधि थाहा पाएको शाही सुरक्षा फौजले ०५९ बैसाख १९ गते रोल्पा तेबाङ र लिस्ने इलाकामा आफ्नो ठुलो फौज परिचालन गर्‍यो । जनमुक्ति सेनाले पनि शाही फौजको गतिविधि थाहा पाएकोले लिस्ने तेबाङको घेराबन्दीलाई प्रत्याक्रमणमा बदल्ने योजना बनायो । शाही फौजले स्थल र हवाई हमलामार्फत गरेको आक्रमणलाई जनमुक्ति सेनाले मोर्चाबन्दी युद्धमार्फत प्रत्याक्रमण गरी धुलिसात पारिदियो । यो लडाइँमा शाही सुरक्षा फौजका कतिपय सिपाहीहरु ज्यान जोगाउन हतियार भुसमा लुकाएर, कपडा फुकालेर नाङ्गै भुतुङ्गै सुइँकुच्चा ठोकेका थिए । उक्त लडाइँबाट जनमुक्ति सेनाले २ थान एलएमजी, ५ थान एसएलआर, १ थान एसएमजी र गोलीहरु तथा ८१ एमएम तोपका गोलाहरु बरामद गर्‍यो । लिस्नेको उक्त लडाइँमा जनमुक्ति सेनाका प्लाटुन सहकमाण्डर क. कमला बुढाथोकी ‘सुनिता’ लगायत ६ जना जनमुक्ति सेनाका योद्धाहरुको शहादत हुन पुग्यो ।

सल्यान जिल्ला, साविक कालागाउँ गाविस–७, च्युराटाकुराको वामपन्थी परिवारमा २०३८ भदौ ३ गते जन्मनु भएको क. कमला बुढाथोकी सानैदेखि राजनैतिक गतिविधिमा सामेल हुँदै आउनु भएको थियो । आफ्नो ठुलो दाजु क. धर्मे बुढाथोकी ‘ज्वाला’को कम्युनिस्ट पार्टीप्रतिको आबद्धता र प्रतिक्रियावादीहरुको उहाँ र सिंगो परिवारलाई राजनीतिक आस्थाका कारणले दिएको पीडाले उहाँ लगायत परिवारका भाइबहिनीहरु सानैदेखि वर्ग के हो र वर्गसंघर्ष किन भन्नेमा प्रष्ट हुनुहुन्थ्यो । जनवादी कलाकार, विद्यार्थी र महिला संगठन हुँदै पार्टी राजनीतिमा आउनु भएकी क. कमला स्क्वायड सदस्यबाट जनमुक्ति सेनामा भर्ती हुनुभएको थियो ।

शहीद कमला बुढाथोकी, सुनिता, Kamala budhathoki, sunitaमैले कमरेड सुनितालाई विद्यालय पढ्ने बेलादेखि चिन्दथेँ । प्रहरी दमनले क्षतविक्षत त्यसबेलाको हाम्रो गाउँमा माओवादी परिवारका उहाँजस्ता विद्यार्थीहरुलाई पढ्ने सक्ने वातावरण बनेन । उहाँहरु सानै उमेरदेखि संगठनको पूर्णकालीन कार्यकर्ता भएर हिँड्नु भयो। थरमारेमा बलिदान दिवस मनाइरहेका निहत्था विद्यार्थीमाथि प्रहरी र गुण्डाद्वारा भाला, तरबार र बन्दुकले अन्धाधुन्ध आक्रमण गरी क. खिमबहादुर डिसी, क. धनबहादुर थापा र गाविस अध्यक्ष तथा मानव अधिकारकर्मी हेमराज केसीको हत्या गरिसकेपछि सल्यानमा जनहत्याको श्रृंखला सुरु भयो । त्यसको विरुद्धमा हामीले भने जिल्लाव्यापी रुपमा जनजागरणको अभियान सुरु गर्‍यौँ । जनसरोकार मञ्च, सल्यानको नाममा सुरु भएको उक्त अभियानमा हाम्रो टोलीले जिमाली, सिद्धेश्वरी, डाँडागाउँ र कजेरीमा कार्यक्रम सञ्चालन गर्‍यौँ । उक्त टोलीमा टोली नेता क. प्रकाश जिएम ‘अविरल’, महिलानेतृ क. राधा वली (हाल चौरजहारी नगरपालिका उपप्रमुख), क. कमला बुढाथोकी ‘सुनिता’, म र क. चित्रबहादुर शाह ‘चिन्तन’ थियौँ ।

हामीले जनसरोकार अभियानको कार्यक्रम जिमालीबाट सुरु गर्‍यौँ । सिद्धेश्वरी कालालेक, ढोरचौर, डाँडागाउँको ढारखानी कार्यक्रम सकेर हामी कजेरीतर्फ लाग्यौँ । कजेरीमा दुईवटा कार्यक्रम गर्ने योजना थियो । खामेलेकको काखमा रहेको खातीगाउँमा रातको अन्तिम पहर बितायौँ किनकि अरु पहरहरु बाटो छिचोल्दै बितिसकेका थिए । जिल्ला सदरमुकाम नजिकै कार्यक्रम गर्नुपर्ने भएकोले सुरक्षा संवेदशीलताका कारण छोटो तयारीमा अपरान्हपख मदमकाँडाको टाकुरागाँउमा कार्यक्रम सम्पन्न गरियो ।

हामी कार्यक्रमपछि खामेलेकको टाकुरा छिचोलेर उपल्लो कजेरी जाने योजनामा थियौँ तर बाटो चिनेको कोही पनि थिएनौँ । तलबाट हेर्दा खामेलेक एकाध घण्टामा छिचोल्न सकिन्छ भन्ठानेर अपरान्हको उत्तरार्धमा उकालो लाग्यौँ । हामी सुरुको आधा घण्टा जति साना-साना गोरेटाहरुको सहरामा उक्लियौँ । त्यसपछि ती गोरेटाहरु हराए । ती गोरेटा गोठालो हिँडेर बनेका रहेछन् ।

अब भने हाम्रा सामु अनुमान गरेर हिँड्नुको विकल्प थिएन । साँझ पर्‍यो । सिङ्गो डाँडा कुहिरोले छोप्यो । पानी पर्न थाल्यो । न ओत लाग्ने ठाँउ, न ओतिने कुनै साधन । हामी निरन्तर भिजिरह्यौँ र उक्लिरह्यौँ । अँध्यारोले पुरै छोप्यो । आफ्नो अगाडिको मान्छेको छाँयाभन्दा पर केही देखिँदैन । झाडीको बिचमा काँडाको चिथोराई र कोतराई सामान्य जस्तै भयो । हामी कहिले आतिन्थ्यौँ र रोकिन्थ्यौँ । तर हाम्रो बिचमा एकजना चाहिँ कहिल्यै आत्तिनु भएन । न त अलिकति पनि निराश नै । उहाँ त लगातार हाँसी मात्र रहनु भयो । जब कोही साथी हतास भएर सुस्केरा हाल्छ, उहाँ भने हाँस्न थाल्नु हुन्थ्यो र सिङ्गै टिमको समस्या दुर गरिदिनु हुन्थ्यो । उहाँ उही क. कमला बुढाथोकी ‘सुनिता’ हुनुहुन्थ्यो ।

उकालो सकियो, डाँडा आएको महशुस भयो । अब कता जाने अन्यौलकै बिच पारि गाउँमा आगोको धिप्को बलेको देखियो । हामीले गन्तव्य त्यतै हो भन्ठानेर अगाडि बढ्यौँ । निष्पट्ट अँध्यारोमा छामछाम छुमछुम गर्दै खामेलेकबाट ओरालो झर्दा कस्तो भयो होला आफै अनुमान गरौँ । कतै पहाडि खाेँच वा सुरुङमा छिरेका भए, या ओढारमा परेर चिप्लिएको भए? मृत्यु जितेर हिँडेपछि यी सबै चिजलाई जितिँदो रहेछझैँ लाग्छ अचेल । कहिले लहरामा तुङ्रुङ्ग झुण्डिँदै त कहिले रुखको फेदको आड लाग्दै, निगालाका झाडीमा बेरिँदै । एक घण्टाको दुरी होला, हामीलाई पाँच घण्टा लाग्यो गाउँमा झर्नलाई । रातको १२ बजेतिर हामी लेखागाउमा पुग्यौँ । आगो सेकायौँ र किसान आमाबाको न्यानो आतिथ्यतामा बाँकी रात बितायौँ ।

आज मैले किन यो विषयलाई उल्लेख गर्दैछु भने क. कमला बुढाथोकी ‘सुनिता’ संकट र कठिनाइँमा पनि मुस्कुराउन र हाँस्न सिकेकी थिइन् । न त उनको बाल्यकाल नै सहज रुपमा बिते, न त जनयुद्धकालका कठिन संघर्षहरु । तर उनी सँधै हिम्मत र साहसका साथ जनमुक्ति आन्दोलनमा जनतासँग हाँसेरै बिताइन् । जनमुक्ति सेनामा आबद्ध भएको छोटो समयमै युद्ध मैदानमा विरतापूर्ण बलिदान गरिन् । महान् शहीद क. कमला बुढाथोकी ‘सुनिता’लाई हार्दिक नमन । हार्दिक लाल सलाम ।

शहीदहरु न्याय र मुक्तिको लडाइँमा हाँस्दाहाँस्दै आफूलाई बलिदान गरेर गए । तर हामी आजको घिनलाग्दो लडाइँमा हाँस्न सकेका छैनौँ । चैनसँग एकछिन पनि बाँच्न सकेका छैनौँ ।

कमाण्डर क. नेपबहादुर कुवँर ‘विवेक’का अनुसार लिस्ने लगत्तै जनमुक्ति सेनाको मुख्य शक्ति गामस्थित शाही सेनाको बेस क्याम्पको आक्रमणमा केन्द्रित भयो । बैशाख २४, २०५९ को उक्त भिषण आक्रमणमा जनमुक्ति सेनालाई ठुलो सफलता प्राप्त भयो । एक थान ८१ एमएमको तोप र गोलाहरु, एक थान रकेट लन्चर, जिपीएमजी, एलएमजी लगायत ५०औँ थान हतियार र १० हजार बढी गोलीहरु कब्जा भए । उक्त आक्रमणमा सरकारी सुरक्षा फौजतर्फ १०४ जनाको निधन भयो भने जनमुक्ति सेनातर्फ कम्पनी कमाण्डर क. जमानसिंह पुनसहित ३५ जनाको शहादत भयो । जसमा सल्यान भल्चौर – धुल्खर्कका क. रमा पुन ‘आशा’, काल्चे–३, मधुवनका क. मोहन खडका ‘दिपक’, काल्चे, टाकुराका क. डिलबहादुर डिसी ‘सुवास’ र वामे–९, पाटकेका क. कालीबहादुर बुढाथोकी ‘एटम’ शहीद हुनुभयो ।

लिस्नेबाट सल्यान जिल्ला फर्किरहेको प्लाटुन रोल्पाको पाछावाङमा बैसाख २३ गते शाही सुरक्षा फौजको घेरामा पर्‍यो । उक्त लडाइँमा प्लाटुन भिसी, मेरो अनन्य मित्र जिमाली-६ का क. मोहन रेग्मी ‘विजय’, चाँदे-५, घरेलीका क. काशीराम बोहरा ‘संघर्ष’, कजेरी-७ का क. कर्ण बुढाथोकी ‘कमल’ र कालागाउँ – ७ का क. महावीर बुढाथोकी ‘हावा’को शहादत हुन पुग्यो ।

शहीद मोहन रेग्मी, विजय, mohan regmi, bijayaक. मोहन रेग्मी ‘विजय’ मेरो जीवनको अविस्मरणीय योद्धामध्ये एक हुनुहुन्छ । उहाँ र मैले पार्टी सदस्यताको सपथसँगै लिएका थियौँ । उहाँले देश र जनताका लागि आफूलाई बलिदान गर्न पनि पछि पर्ने छैन भन्ने सपथ पूरा गरिसक्नु भएको छ । जब मैले भूमिगत राजनीति सुरु गरेँ, उहाँको परिवारका सदस्यजस्तै हामी सपरिवार नै कयौँ दिन उहाँको घरमा बिताएका छौँ ।

विजय र म एउटै पार्टी सेल कमिटीमा रहेर काम गर्‍यौँ । कुमाखदेखि सल्यान खलंगासम्म कतिपटक फन्को लगाइयो । कुमाखको टुप्पोमा चढेर सगरमाथा चुम्ने सपना बुनियो । एकदिन हामी कुमाखको टाकुरामा चढेर कुमाख कविता यात्रा सुरु गर्‍यौँ । हाम्रो कविता लेख्ने प्रतिस्पर्धा नै चल्थ्यो । त्यो दिन त उनले दुई-तीन घण्टा हराएर काव्य नै तयार गरेर ल्याएछन् । त्यसपछि प्रतिस्पर्धामा उनी नै अब्बल सावित भए । मेरो सुदुरपश्चिमको यात्रापछि हाम्रो बिचमा भेट हुन पाएन । विजयले विवाह गरे भन्ने सुनेँ । क. विजय र उहाँको जीवनसाथी पनि शहीद हुनुभएको पिडादायी खबर पनि सुदुरपश्चिमा नै प्राप्त भयो । आज मैले लिस्ने गाम र पाछावाङलाई एकैपटक सम्झने प्रयास गरेको छु । महान् मान्छेहरुप्रति हार्दिक श्रद्धाञ्जली !

क्रान्ति सिधा र सपाट हुँदैन । यो कहिले रक्तपातपूर्ण युद्धको रुपमा त कहिले रक्तपातविहीन युद्धको रुपमा अघि बढिरहन्छ । रक्तपातपूर्ण युद्ध जति क्रुर र पीडादायी थियो, त्योभन्दा बढी क्रुर र पीडादायी शान्तिपूर्ण क्रान्तिका दिनहरु हुँदा रहेछन् ।

जहाँ मान्छे-मान्छे बिचमा विभेद र असमानता रहन्छन्, त्यहाँ क्रान्ति अनिवार्य छ, भलै त्यो आ-आफ्नो विशेषताअनुसार अघि बढोस् । आज हामी क्रान्तिका उपलब्धिहरुका हकदार छौँ । यसको सबभन्दा बढी हकदार उहाँहरु हुनुहुन्छ, जो आफूलाई बलिदान गर्न तयार हुनुभयो ।

हाम्रा अगाडि क्रान्तिका आजका चुनौतीको सामना गर्ने दायित्त्व छ । यो धेरै चुनौतीपूर्ण मोडमा छ । कम्युनिस्ट आन्दोलनका विपरीतहरुको बिचमा एकत्व कायम गर्दै, एकता संघर्ष र रुपान्तरणको माध्यमबाट नयाँ आधारमा नयाँ एकता कायम गर्ने र समाजवादी क्रान्तिको सेवा गर्ने पार्टी एकताको मर्म र भावना हो । यो मर्मका विरुद्ध जाने छुट हामी कसैलाई पनि छैन ।

आज कम्युनिस्ट आन्दोलनमा जुन प्रवृति हुर्किएको छ, त्यो सामन्तवादकै उत्तरदानस्वरुप आएको हो । पार्टी, क्रान्ति, जनमत र नेतृत्वबारे पुरै मनोगत बन्नु, म नभए संसार घुम्दैन भन्ने सोच विकास हुनु, संकृण गुटस्वार्थ, सत्तास्वार्थ र शक्तिको दम्भ र घमण्ड प्रर्दशन गर्नु र कम्युनिस्ट पार्टीलाई आफ्नो बिर्ताजस्तो सम्झनु, राज्यलाई कर्पोरेट घरानाको हितार्थ सुम्पिनु र उनीहरुको एजेन्टको रुपमा काम गर्नु, सामन्ती तथा दलाल चिन्तन प्रणालीको विकृत रुप हो । कम्युनिस्ट पार्टीमा वैचारिक राजनैतिक बहस र संस्थागत निर्णय प्रणालीमा गएर मात्र यसप्रकारका खराबीमाथि विजय प्राप्त गर्न सकिन्छ।

(लेखक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता तथा पूर्व विद्यार्थी नेता हुनुहुन्छ ।)