२०४९ को स्थानीय निर्वाचनमा मेरो गाविसमा संयुक्त जनमोर्चा नेपाल निर्विरोध भयो । रोल्पामा संयुक्त जनमोर्चा नेपालको राम्रो प्रभाव थियो । रोल्पा जिल्लामा झक्कुप्रसाद सभापति उठेका थिए । त्यसको प्रचारप्रसारमा गएको थिएँ ।
प्रहरीहरू मलाई भन्थे, ‘पश्चिम क्षेत्रको ठुलो दादा यही हो, यसलाई चाहिँ ठिक गर्नुपर्छ । बलियो पनि छ, दुई चार जना पुलिसलाई मान्दैन यसले । यसको हातखुट्टै भाँच्नुपर्छ ।’
ओभाङको एकजना हवल्दारले मलाई झुटो मुद्दा हालेको थियो । जसलाई मैले चिनेकै थिइन । उसले मलाई पिट्यो भनेर मुद्दा लगाएको थियो ।
चुनावको प्रचारप्रसार गरेर म जङकोटमा बसेर कपाल काट्दै थिएँ । स्थानीय चुनावकै क्रममा कुरेलीमा निर्वाचन स्थगित भएको थियो । पुनः चुनाव गराउन पुलिसहरू गएका रहेछन् । उनीहरूले पुलिसले मलाई कपाल काटिरहेकै ठाउँबाट गिरफ्तार गरे ।
पक्राउ गर्नुको कारणबारे बुझ्दा उनीहरूले भने, ‘तँ दादा, तँ नेता, तँ पुलिस कुट्ने, हवल्दारको मुद्दा छ तँलाई । तेरै गाउँको ओभाङ चौकीको हवल्दारले मुद्दा हालेको छ ।’
त्यो हवल्दार आफै सरूवा मागेर खुङ्ग्री गएको थियो। मलाई त्यत्तिकै गिरफ्तार गरेर लग्यो । बेस्सरी यातना दियो । जिल्लामा मदन खड्का भन्ने डिएसपी थियो । ऊ महाखराब थियो । १५ दिन यातना दिएर हिरासतमा राख्यो ।
१५ दिनपछि ‘त्यस्तो केही पनि गर्दिन’ भन्ने कागज गराएर तारिखमा छाड्यो ।
रोल्पामा पुलिसको आतङ्कको सीमा थिएन ।
०५० सालमा जनयुद्ध सुरू हुनुअघि मदन खड्कालाई पहिलो लेटर एक्सन पनि गरेका थियौँ। कुलप्रसाद केसी (सोनाम) र म नेपालगन्ज गएका थियौँ । एक हप्ता त्यहाँ बस्यौँ । त्यही बेला सल्लाह भयो, ‘मदन खड्काले रोल्पाली जनतालाई सताउनुसम्म सतायो । यसलाई बुलडग (साँढे कुकुर) भनेर लेटर एक्सन लेखौँ ।
‘बुलडग’ सम्बोधन गरेर लामो चिठी लेख्यौँ । चेतावनीपूर्ण रूपमा लेखिएको त्यो पत्र रूपैडियाबाट यसवन्त सिंहको नाममा हुलाकमा हाल्यौँ । चिठी हात परेपछि खड्का एकदमै आत्तिएछ । हाम्रो सभापति झक्कुप्रसादलाई भनेछ, ‘मेरो ज्यान खतरामा हुने भयो, यस्तो चिठी आएको छ ।’
झक्कुले पनि हेर्नुभएछ त्यो चिठी। टाइप गरेको चिठी थियो । त्यसैले कसले लेखेको भनेर उहाँले थाहा पाउनुभएन । चिठीले आतङ्कित भएका उनी सरूवा भए ।
पुलिसहरूलाई जनयुद्धको त्यो पहिलो लेटर एक्सन थियो ।
पछि शान्ति प्रक्रियामा आइसकेपछि म समायोजन समितिमा हुँदा जम्काभेट भएको थियो मदन खड्कासँग । मैले चिनिहालेँ । उनले नचिन्ने कुरै भएन । एसएसपी भएर रिटायर्ड भएका रहेछन् । भेटमा अनुहार कच्याककुचुक पारे । मैले भनेँ, ‘तपाईँ रोल्पामा हुँदा उधुमै गर्नुभएको हो ।’
उनले भने, ‘यस्तै हो हजुर पुलिसको जागिर ।’
त्यो लेटर कसले लेखेको भनेर पार्टीका केही मान्छे बाहेक कसैलाई थाहा छैन । झक्कुलाई पनि पछि मात्रै बतायौँ । उहाँ छक्क पर्नुभएको थियो । चिठ्ठीबारे महरा सरले भन्नुभएको थियो, ‘राम्रो गर्नुभयो तपाईँहरूले ।’
♦♦♦
०५१ को मध्यावधि चुनावमा म पार्टीको जिल्ला समितिमा थिएँ । शिक्षकबाट राजीनामा दिइसकेको थिएँ । चुनाव बहिष्कार कसरी गर्ने भन्ने योजनामा थियौँ । अरिङ्गालको पोको लगेर मतदानको बिचैमा फालेपछि मान्छेहरू भाग्छन् भन्ने थियो। एक ठाउँमा बुथ लुट्न नन्दबहादुर बुढा ‘विजय’को कमान्डमा साथीलाई पठायौँ । राङ्सीमा भोटै खस्न नदिन म आफै खटाइएको थिएँ। तर, त्यहाँ काङ्ग्रेसीहरूसँग कुटाकुट भयो ।
उनीहरूले गाउँमा घरघरमा पसेर गाग्रो, भाँडा कुच्याइदिने, जाँतो फोरिदिने, लुटपाट गर्ने, रगत चोबाएर काङ्ग्रेस बनाउने जस्ता कर्तुत गर्न थाले । असह्य भएपछि समूह भेला गरेर उनीहरू भएको ठाउँमा गएँ । भनेँ, ‘बहुदल हो । सबैले प्रचार गर्न पाइन्छ । तिमीहरूले राम्रोसँग गर न ! कसले सिकायो यस्तो हर्कत तिमीहरूलाई ?’
जनता मेरो प्रभावमा थिए । जनतालाई तर्साएरै चुनाव जित्नु थियो उनीहरूलाई । सुरेन्द्र हमालले मलाई इंगित गरेर भाषण गरेको थियो, ‘उसको खुट्टा भाँच, टाउको काटेर ल्याऊ ! तिमीहरूले पुरस्कार पाउँछौ ।’
त्यही भड्काउ भाषणले काङग्रेसहरूले त्यस्तो हर्कत गरेका थिए । केराको बोट काटे, अम्बाको रूख काटे। मान्छे कुटे, हप्काए, तर्साए ।
मैले सम्झाउँदा मानेनन् । मलाई कुट्न थाले । त्यसपछि झडप भयो । उनीहरूसँग प्रहरी पनि थियो । मेरो टाउकोमा तीनवटा ढुङ्गाले हाने । म बेहोस भएँ । तर साथीहरू उनीहरूलाई लखेट्न सफल भए। प्रहरी पनि भाग्यो । साथीहरूले मलाई बोकेर लगे ।
उनीहरूले जनताको घरमा कतै चरेस र कतै अन्य अवैध सामान राखिदिएर जान्थे । त्यसैको उजुरी गर्थे । त्यसैका आधारमा मुद्दा लगाउँथे । थुप्रै झुटा मुद्दा म लगायत जिल्लाभरिका जनमोर्चाका समर्थक साथीहरूलाई लगाइएको थियो । काङ्ग्रेसमा पञ्चेहरू पसेका थिए, जसलाई हामी चैते काङ्ग्रेस भन्थ्यौँ । उनीहरूले झुटा मुद्दामा फसाउने काम गर्न थाले ।
चुनावकै समयमा गाउँमा मेला लागेको थियो । स्थानीय प्रहरीहरूले मबारे सबै बुझेका थिए । मबारे लगाइएका मुद्दा बेकार हो भन्ने पनि उनीहरूलाई थाहा थियो । तर, अरू मान्छेहरू मविरूद्ध लागिपरेका थिए ।
जनमोर्चाहरूलाई मेलामा पिट्ने भनेर काङ्ग्रेसीहरू सुरिए । हाम्रा साथीहरूलाई पनि असाध्यै रिस उठेछ । सङ्गठन तथा जनमतको हिसाबले हामी बलियो थियौँ । हामी किन पछि हट्ने । हामी पनि मेलामा जाने, लड्न परे लड्ने ! साथीहरू कस्सिए । मैले भनेँ, ‘मचाहिँ जान्न, तिमीहरू जाऊ ।’ उनीहरूलाई आँटै आएन ।
उनीहरूले भने, ‘तपाईँ जानैपर्छ । ओभाङको प्रहरीसँग तपाईँको राम्रै छ । त्यसले केही गर्दैन ।’
त्यही बेलामा पार्टीले सर्कुलर गरेको थियो, ‘कहीँ प्रहरीसँग झडप भयो भने हतियार खोस्नू !’
रोमियो अप्रेसनदेखि अरू थुप्रै ज्यादती बढिसकेको थियो । काङ्ग्रेस र प्रहरीको साँठगाँठमा रगत चोबाएर काङ्ग्रेस बनाइछाड्थे । झुटा मुद्दा नलगाएका जनमोर्चा भएका घरमा गएर केही न केही निहुँमा उपद्रो गरेर जनतालाई झुकाउँथे । त्यसैले प्रहरीसँग झडप भयो भने झडपै गर्ने हाम्रो योजना थियो ।
मलाई सन्चो थिएन । बिरामी थिएँ। तैपनि साथीहरूसँग मेला गएँ। मेलामा पसेर पैँसेरू नाच नाच्न थालेका थियौँ । पैँसेरू नाचमा मान गर्नुपर्छ पहिला । त्यसपछि पैसेरू चाली नाच सुरू हुन्छ । मान गर्दा हातमा र नाच्दा खुट्टामा पैजन राखेर नाच्नुपर्छ ।
म मादल बजाउँदै थिएँ । बुवा अगुवा नाच्दै हुनुहुन्थ्यो । रोल्पाका मगर समुदायको मेला जात्रा, चाडवाड, विवाह, उत्सव आदिमा नाच्ने निकै लोकप्रिय पुरानो नाच हो पैँसेरू । यसमा लहरै गोलो घेरा बनाएर जति सङ्ख्यामा पनि नाच्न सकिन्छ ।
पैँसेरूको मतलब पैजनको स्वर मिलाएर नाच्ने हो । पैजन स्वर जति राम्रो मिलाएर निकाल्न सक्यो, त्यति राम्रो मादल र झ्यालीको तालमा नाचिन्छ । शरीर नहल्लाई खुट्टा मात्र जति छम्काउन सक्यो, त्यति राम्रो हुन्छ । खुट्टा छम्काएर शरीरलाई जति मसिनो गरी भाँच्न र हातहरू मादलको तालमा नचाउन सक्यो, उति राम्रो हुन्छ ।
खुट्टामा पैजन छात्दा वा छम्काउँदा भित्रे-बाहिरे डबल स्वर जसले निकाल्न सक्यो, त्यति राम्रो हुन्छ । एकोहोरे स्वर निकाल्ने र खस्रो नाचलाई त्यति राम्रो मानिँदैन । मादल जति राम्रोसँग बजाउन सक्यो, त्यति राम्रो सिपालु गुरू भनिन्छ । त्यही तालमा झ्याली मिलाउनु पर्छ । मादल र झ्यालीको तालमा पैजन छम्काउने र मसिनो नाच्नेलाई अगुवा भनिन्छ । गुरू र अगुवा मिलेर पैँसेरू नाचको लहरो बन्छ । २२/२३ चाला घण्टौसम्म नाचिन्छ ।
यो परम्परागत सामूहिक लोकनृत्य हो । यसको रसमा पस्नेबित्तिकै मजा नै अर्को हुन्छ । मेरो बुवा बजाउन, नाच्न निकै सिपालु हुनुहुन्छ । गुरू वा अगुवा दुवै हुनुहुन्छ उहाँ । गाउँको टोली थलाको गुरू, अगुवा हामी दुई बाबुछोरा थियौँ । नाच्न बल्ल थालेका थियौँ । प्रहरी आइहाल्यो ।
मेलामा जानुअघि नै ‘बाहिरका प्रहरी आएका छन् भने म जान्न भनेर साथीहरूलाई बुझ्न पठाएको थिएँ । साथीहरूले खबर ल्याए, ‘लोकल प्रहरी मात्रै छन्, रक्सी खाएर, केटीहरूसँग बसिरहेका छन्, बाहिरको प्रहरी देखिएको छैन ।’
कालापोखरा जान खटाइएको प्रहरी रहेछ । त्यहाँको लोकल भीमकुमार भन्नेले ‘यो यहीँ छ, यसलाई समाउनु पर्छ’ भनेर योजना बनाएको रहेछ । नाच्न सुरू मात्रै गर्दा प्रहरीले घेरा हालिहाल्यो । लठ्ठी पनि त्यहीँ थियो । एउटा प्रहरीले मलाई देखाउँदै भन्यो, ‘त्यही मादल बजाउने मान्छे हो ।’ अलि मोटो ज्यान भएको जनजाति जस्तो देखिने प्रहरी मेरो नजिक आएर भन्यो, ‘तपाईँको नाम के हो ?’ एउटा हातले मेरो घाँटी समाउन खोज्यो, मैले मादल खोल्न थाले ।
‘तपाईँलाई नाम किन चाहियो ?’
एउटा हातले मादल खोल्दै थिएँ । उसले मलाई झ्याप्पै घाँटीमा समाउन खोज्यो । मैले पहिले नै एक फ्रन्ट किक छातीमा दिएँ । ऊ रन्थनिँदै उसको समूहतिर गयो । सबै साथीहरूलाई लट्ठी निकाल्न आदेश दिएँ । दोहोरो झडप भयो ।
प्रहरीहरू माथिल्लो पाटामा गएर फायरिङ गर्न थाले । तीनचार राउन्ड फायर खोलेपछि साथीहरू झनै आक्रोशित भए । डाङडुङ हान्न थाले । राइफल खोस्न थाले । मनबहादुर र लोकबहादुरलाई गोली हानी ढालिहाले ।
म यसो पछाडि के फर्केको थिएँ, त्यही बेला मुटुमै ताकेर नजिकैबाट प्रहरीले पेस्तोलको फायर खोल्यो । एक सेकेन्ड मात्रै फर्कन ढिला गरेको भए मरिसक्थेँ । ट्रिगर दबाउँदा उसको निसाना अलिकति चुक्यो । म बाँचेँ । उसको टाउकोमा ड्याम्म लट्ठीले हानेँ । मैले हान्ने र उसले फायर खोल्ने एकै साथ भइदियो । मेरो पाखुराको मसलमा लागेर गोली बाहिरियो । ऊ थोरै घोप्टे पर्यो । उसलाई नाघेर म तल्लो पाटो र आलीमा झरेर खोलातिर लागेँ । खोला तरेर पारिपट्टि निस्किएँ । अर्को प्रहरी ‘यतैबाट आउँछ’ भनेर बाटोमै राइफल लिएर बसेको रहेछ । उसले मलाई पारी पुगेको देखेपछि ताकेर फायर गर्यो । उत्तीसको रूखको साइडमा छलिएँ । रूखमा गोली लाग्यो । रूख नै काप्लो पर्यो ।
म उम्किन सफल भएँ । दुईजना साथीहरू त्यहीँ सहिद हुनुभयो ।
त्यसपछि आन्दोलन भयो । लिबाङमा झक्कुप्रसाद सुवेदी सभापति लगायत अरू नेता कार्यकर्ता आउनुभयो । लासलाई लिबाङमा लगेर पोसर्माटम गर्यौँ । दुईजना साथीको दाहसंस्कार गर्यौँ । त्यहाँ मैले सेकेन्डले मृत्युलाई जितेँ ।
(साभारः पूर्व उपराष्ट्रपति तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष क. नन्दकिशोर पुन ‘पासाङ’ को यो संस्मरण ‘यात्रा जिन्दगीकोः जनमुक्ति सेनाको कमाण्डरदेखि उपराष्ट्रपतिसम्म’ बाट पुनःप्रकाशन गरिएको हो – सं. ।)