दोरम्बा हत्याकाण्ड, doramba hatyakanda, doramba mass murder
 

दोरम्बा हत्याकाण्ड

नेपालको दश वर्षे महान जनयुद्ध र नेपाली कम्युनिस्ट आन्दोलनमा एक ऐतिहासिक घटनाको रूपमा रहेको दोरम्बा हत्याकाण्ड हुँदा म तत्कालीन नेकपा माओवादी रामेछाप जिल्ला ईञ्चार्ज थिएँ । त्यस दिनको बैठकको प्रमुख अतिथि म नै थिएँ । क. मैनकुमार मोक्तान तत्कालीन जिल्ला पार्टीका सचिव, मेरी पत्नी अम्बिका दाहाल ‘ललिका’ इलाका सेक्रेटरी र जनसरकार प्रमुख बाबुराम लामा पनि बैठकमा उपस्थित हुनुहुन्थ्यो ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादी र सरकारी पक्षबीच युद्धविराम गर्ने सहमति भइसकेको थियो । दाङको हापुरेमा सरकारी पक्ष र पार्टीसँग वार्ता चलिरहेको थियो ।

त्यो झरी परेको दिन

त्यो दिन २०६० साल साउनको ३२ गते थियो । हामी पार्टी योजना निर्माण गर्ने सिलसिलामा रामेछापको दोरम्बामा थियौँ । त्यस दिन दोरम्बामा ३ नम्बर इलाकाको बैठक थियो । मेरी श्रीमती अम्बिकाको अध्यक्षतामा हामीले बैठक राखेका थियौँ । भर्खर दिउँसोको १२ बजेको हुँदो हो । चारैतिर कुहिरो र झमझम झरी परिरहेको थियो ।

दोरम्बा स्थानीय शिक्षक युवराज मोक्तानको घरमा बैठक चलिरहेको थियो । हामी ३३ जना सहभागी थियौं । हामी २२ जना बैठकमा थियौँ, अरु साथीहरु सेन्ट्रीमा हुनुहुन्थ्यो । अचानक हामी बसेको घरलाई सेनाले घेरा हाल्यो । मैले चिहाएर हेरेँ । सेनाको ठूलै फौज थियो, करिब डेढ सयजना । तत्कालीन शाही सेनाका मेजर राममणि पोखरेलले त्यो फौजको नेतृत्व गरिरहेका रहेछन् ।

Hari Dahal 'Lalit' witness of Doramba Hatyakanda. Doramba massacre
क. हरि दाहाल ‘ललित’

नेकपा माओवादीले सञ्चालन गरेको त्यो महान जनयुद्धको विरूद्ध परिचालित स्थानीय सुराकीको सहयोगमा मन्थलीबाट सेना बैठकस्थल आइपुग्यो । सेना बैठकस्थल आएको खबर पाएपनि हामीले कुनै अप्ठ्यारो मानेनौं किनभने देशमा युद्धविराम थियो र  युद्धविराम पूर्व हाम्रो पार्टी र सरकार बिच ५ बुँदे सहमति भएको थियो । त्यसमध्ये सेना आफ्नो ब्यारेकबाट ५ किलोमिटर पर जान नपाउने र हामी माओवादी पनि आफू बसेको ठाउँबाट ५ किलोमिटर भन्दा पर जान नपाउने सहमति थियो ।

रामेछापको जिल्ला सदरमुकाम मन्थलीबाट हिँडेर बैठकस्थल भएको ठाउँ दोरम्बा आइपुग्न पुरै २ दिन लाग्छ । दोरम्बाबाट मन्थली २५ कोष टाढा पर्छ । हामीले बैठकस्थल वरिपरि सुरक्षाका लागि हाम्रै साथीहरु पनि राखेका थियौँ । तर कुहिरोका कारण केही देखिने अवस्था थिएन ।

घटना भएको दोरम्बादेखि मन्थलीसम्मको एउटा बाटो जंगल नै जंगल पर्छ । त्यहाँ सल्लाको घना वन छ । सेना आफ्नो ब्यारेक मन्थलीबाट अघिल्लो दिन हिँडेर जंगलको बाटो प्रयोग गरी सुराकीको घरमा आएर बसेछन् । हामी घटना भएको दिन मात्र उक्त कुरा थाहा पायौँ । सुराकीले फलाना ठाउँमा बैठकस्थल देखाएछन् ।

युद्धविरामकालमा भएको क्रुर हत्या

सुरुमा उनीहरुले हाम्रो सुरक्षामा बसेका साथीहरूको हत्या गरे । त्यसपछि बैठकमा आउँदै गरेका साथी क. उमेश थापा मगर, क. रक्तिम लामा र सिन्धुलीका क. उषा नाम गरेकी साथीको हत्या गरे ।

बैठक नजिकै सेना आइपुगे के गर्ने भन्ने विषयमा हामी एकछिन छलफलमा बस्यौँ । सबै साथीहरुले युद्धविरामको बेला आएका सेनाले केही गर्दैन भने । नेतृत्वका हिसाबले मैले भनेँ ‘युद्धविरामको बेला मन्थलीदेखि यहाँसम्म आउने सेनाले राम्रो गर्दैन, हामी सबै भागौँ । साथीहरु मारिसकेको अवस्थामा हामी भाग्नुपर्छ।’ भाग्ने सल्लाह हुँदाहुँदै सेना आइपुग्यो ।

चारैतिरबाट गोली बर्सियो । प्रतिकार गर्न हामीसँग हतियार थिएन । उनीहरू सबै सशस्त्र थिए, हामीसँग कुनै हतियार थिएन । त्यहाँ दोहोरो लडाइँ सम्भव भएन किनकि हामी युद्धविरामको नियममा थियौँ । हतियार बोक्न नपाइने नियम थियो । तर, सेनाले घात गर्‍यो, हामीमाथि आक्रमण भयो, हामीले केही सोच्नै सकेनौँ ।

हामीले भाग्ने निष्कर्ष निकाल्यौँ । सेनाले चारैतिर घेरा हालेको थियो । हामी ढोकामा आइपुग्दा सेनाहरू बन्दुक ताकेर बसेका थिए । मैले लुक्दै सैनिकले ताकेर बसेको बन्दुक समाएर खोस्ने प्रयास गरेँ। उसले बन्दुक बलियो गरी समाएको रहेछ । उसको हातबाट बन्दुक फुत्किएन, बरु ऊ लड्यो र लडेपछि म भागेँ । भाग्दाभाग्दै उनीहरुले बन्दुक हाने तर हामीलाई भेटेन । सँगै अरु साथीहरु पनि त्यसरी नै भाग्नुभयो । मसहित अन्य ११ जना भाग्न सफल भयौँ । उनीहरुले गोली हान्दाहान्दै हामी भाग्यौँ र बाँच्यौँ । यसरी बाँच्यौँ हामी ।

त्यत्तिकैमा शाही नेपाली सेनाले साथीहरूलाई बोलाएछ, वार्ता गरौँ भनेर । साथीहरू पनि सेनाको जालमा पर्नुभएछ । घरभित्र बसिरहेका हाम्रा साथीहरूलाई सेनाले च्यापच्यापी समात्यो ।

रामेछापका तत्कालीन जनसरकार प्रमुख क. बाबुराम लामा सहितका २० जना पक्राउ पर्नुभयो । उहाँसहितका साथीहरुले, ‘युद्धविराम भइसकेको अवस्थामा हामीलाई किन पक्राउ गरेको ? कि हामीलाई छाड्दिनुस्, कि मार्नुस्’ भन्नुभयो ।

पक्राउ परेका १९ जना साथीहरूलाई सेनाले कन्चटमा बन्दुक राखेर, लाइन लगाएर आँखामा कालो पट्टी बाँधिदियो र हात पछाडि बाँधेर हिँडाउँदै रामेछापकै डाँडाकटेरीको ठूलो चौरमा लगे । डाँडाकटेरी दोरम्बाबाट एक घन्टा टाढा छ । डाँडाकेटरीमा शाही सेना र माओवादी योद्धाहरू बिच केही समय भनाभन भयो । त्यसपछि शाही सेनाले आफ्नो योजनाअनुरुप सबैलाई कन्चटमा गोली हानेर हत्या गर्‍यो । त्यतिबेला हाम्रा २२ जना साथीकाे हत्या भयाे । मेरी पत्नी अम्बिका दाहाल ‘ललिका’को पनि हत्या भयो ।

Doramba hatyakanda spot, Doramba killing spot, दोरम्बा हत्याकाण्ड, घटनास्थल
दोरम्बा हत्याकाण्ड : घटनास्थलमा देखिएका सामग्रीहरू

म डाँडाकटेरीको चौरभन्दा केही घरपर मात्रै लुकेर बसेको थिएँ । गाउँका एकजनाले सेनाले साथीहरुलाई मारेको खबर ल्याए । गोली पड्केको, साथीहरुले चिच्याएको आवाज त मैले पनि सुनेको थिएँ । भागेर म गाउँ काटेर जान सकिनँ । हामी ११ जना साथीसँगै भागेका थियौँ । मलाई साथीहरूको चिन्ता थियो ।

साँझ हामी बिचमा सम्पर्क भयो । सेनाको घेराबन्दीबाट फुत्किएर गाउँमा आइपुगेपछि मैले पार्टीका अन्य कार्यकर्तालाई सेनाले पक्राउ गरेको साथीहरुलाई पिछा गर्न लगाएँ । सेनाले उनीहरुलाई पछाडि हात बाँधेर लगेको थियो । पिछा गर्दै जाँदा साथीहरुलाई सेनाले छातीमा बन्दुक हानेर मारेको समेत देखियो । बन्दुक पड्केको आवाजपछि मैले पनि साथीहरुलाई मारेको आशंका गरेँ र पिछा गर्न पठाएको साथीले पनि मारेको भनी पुष्टि गर्नुभयो ।

अनि युद्धविराम भंग भयो

घटनापछि त्यहाँको नेतृत्वको हैसियतले मैले पार्टीमा सम्पर्क गरेँ। त्यतिबेला हाम्रो इञ्चार्ज क. अग्निप्रसाद सापकोटा हुनुहुन्थ्यो । जताततै फोन लाग्ने अवस्था थिएन । दोरम्बाबाट २ घण्टा हिडेपछि आइपुग्ने गाल्पा भन्ने ठाउँमा आएपछि मात्रै टेलिफोन सम्पर्क हुन्थ्यो र म त्यहाँ आएर अग्नि कमरेडलाई टेलिफोन सम्पर्क गरेँ ।

त्यसको लगत्तै पार्टीले युद्धविरामबाट फिर्ता भएको घोषणा गर्‍यो र फेरि युद्धमा होमियौँ ।

कहिले हुन्छ दोषीलाई कारबाही ?

दोरम्बा हत्याकाण्ड नेपाली जनयुद्धको जटिल र संवेदनशील मोडमा भएको घटना हो । दोरम्बा हत्याकाण्डलाई नेपालका मानव अधिकारवादीले जघन्य अपराध भनेका छन् भने विदेशी मानवअधिकारवादीले राज्यको तर्फबाट भएको युद्ध अपराध बताएका छन् । तर, सेनालाई भित्रै कारबाही गरियो भनिएको छ, पत्यारलाग्दो र प्रमाणित कुरा होइन ।

त्यो जघन्य हत्याकाण्डका मुख्य दोषी तत्कालीन शाही सेनाका मेजर राममणि पोखरेल हुन् । उनलाई राज्यले अझै कारबाही गरेको छैन । गर्छ कि गर्दैन, कुनै टुंगो पनि छैन । दोषीलाई कारबाही गर्नुको सट्टा उल्टै पुरस्कार दिएर तत्कालीन सरकारले सम्मान गर्‍यो । र, तत्कालीन राजा ज्ञानेन्द्र, सेनापति, सेना प्रहरीका आईजी, डिआईजी, सिडियो सबै दोषी हुन् । हामीले सत्य निरुपण आयोगमा मुद्दा पनि हालेका छौँ । दोरम्बा हत्याकाण्ड नेपालको इतिहासमै सबैभन्दा फरक खालको घटना भनिएको छ ।

यो घटनालाई अरुभन्दा फरक ढंगबाट हेरिनुपर्छ । अपराधीहरूलाई फरक ढंगबाटै कारबाही हुन्छ भनेर सत्य निरुपणले हामीलाई जवाफ दिएको छ । आज १२ वर्ष बित्दा समेत किन राज्यले कारबाही गर्न सकेको छैन । दोरम्बा हत्याकाण्डका दोषीलाई कारबाही नभएसम्म शहीद परिवारले शान्ति पाउने छैनन् ।

(दाेरम्बा हत्याकाण्डका प्रत्यक्षदर्शी तथा तत्कालीन नेकपा माओवादीका रामेछाप जिल्ला इञ्चार्ज क. हरि दाहाल ‘ललित’ सँगको कुराकानीमा आधारित । हाल उहाँ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इञ्चार्ज हुनुहुन्छ।)