mitramani acharya, मित्रमणि आचार्य
 

घटना २०४२ साल बैशाखको हो । चितवनको मेघौली हाई स्कुलमा क्यारम बोर्ड खेलबाट विवाद सुरु भएर राजनीतिक रूप लिँदै थियो । विद्यार्थीहरू विभिन्न समूहमा आबद्ध भएकाले आफ्नो समूहलाई माथि उचाल्ने र अर्काको समूहलाई पछार्ने क्रमहरू देखिन थाले ।

विद्यालयको ब्ल्याक बोर्डमा जिन्दावाद, मुर्दावाद जस्ता नाराहरू पनि दखिन थाले । घटना विद्यार्थीमा मात्र सिमित रहेन । शिक्षक तथा अभिभावकहरूमा पनि उक्त घटनाको असर पर्न थाल्यो । स्थिति सामान्य होला भन्दा झनझन्‌ बिग्रिन थाल्यो ।

त्यस स्कुलमा नारायण भन्ने मास्टर (शिक्षक) ले पढाउन थालेपछि यस्ता घटनाहरूमा राजनीतिकि गन्ध आउन थालेको महशुस भयो । त्यसपछि नारायण मास्टरलाई हटाउनु पर्छ भन्ने आवाज उठ्न थाल्यो ।

padam bhandari, पदम भण्डारी
लेखक

नारायण मास्टर काँग्रेस भएकोले काँग्रेसहरूले हटाउन चाहेनन्‌ भने कम्युनिस्टहरूले हटाउनु पर्छ भन्ने माग राखे । घटना झन्‌ चर्कियो । जिल्लाभरि सनसनी फैलियो । त्यस घटनालाई लिएर पर्साढापमा बैशाख १७ गते ठुलो बैठक बस्ने भयो ।

त्यसबेला म रामपुर क्याम्पसमा पढ्थेँ । बैशाख १६ गते साँझ स्ववियुको कोठामा बैठक थियो । स्ववियुका कर्मचारीहरूले म त्यही क्षेत्रको भएकाले मेघौलीको घटनाबारे जान्न मलाई बोलाए । म गएर आफूले थाहा पाएसम्मको जानकारी दिएँ ।

बैशाख १७ गते काँग्रेसहरूकोतर्फबाट नारायण सरलाई स्कुलबाट ननिकाल्न ठुलै प्रयास हुने र अन्त्यमा केही सिप नलागे कम्युनिस्टहरूलाई मारेर फाल्ने पूर्वतयारी भइसकेको छ भन्ने सुराक थाहा भइसकेको थियो ।

त्यो पनि कसरी थाहा भएको भने दिव्यनगरमा एकजना यमुना न्यौपाने हुनुहुन्थ्यो । उहाँको घर बाटोमा थियो । घरको आँगनमा मेरो बुवा, पर्साढापका प्रताप गुरुङ र यमुना कुरा गरेर बस्नुहुन्थ्यो । त्यस्तैमा एक जत्था हुल्याहा केटाहरू जीपमा चढेर पर्साढापतिर लाग्दै गरेको र “१७ गतेका लागि छुरी, चेन (साइकल र मोटर साइकलको चेन) र भाला लिएर आउनु पर्छ है” भनेको सुन्नुभएको थियो ।

त्यो कुरा रामपुरमा मैले गाउँका ठिटाहरूबाट थाहा पाइसकेको थिएँ । मैले त्यो सम्पूर्ण कुरा बताएपछि भोलिपल्ट अर्थात्‌ बैशाख १७ गते युनियनका पदाधिकारीहरू कोही पनि बाहिर निस्कनु राम्रो छैन भन्ने सूचना दिएँ । स्ववियुका सबै पदाधिकारीमा छलफल भयो र नजाने टुंगोमा सबै आ-आफ्नो कोठामा लागे । म पनि आफ्नो कोठातिर लागेँ ।

भोलिपल्ट बिहानको पढाइ थियो । म कक्षातिर लागेँ । मित्रमणि आचार्य  मभन्दा एक ब्याच जुनियर थिए । उनका ४-५ जना साथीहरू कक्षामा आएनन् । पछि सुनेँ, ‘टीका भन्ने एक जना साथीले लफङ्गा केटाहरूसँग नि डराउने हो भने देशमा कसरी क्रान्ति गर्न सकिन्छ त ?’ भनेर उक्साएर लगे रे भन्ने ।

साँच्चै हो कि के हो ? त्यो मलाई थाहा भएन । तर सोही दिन साँझ सुनेँ, ‘मित्रमणि सहित ४-५ जना मरणासन्न हुने गरी पिटिएको भनेर । सारा क्याम्पसभरि होहल्ला भयो ।

मित्रमणिलाई भरतपुर अस्पताल पुर्‍याइसकिएको रहेछ । हामी क्याम्पसबाट अस्पताल भेट्न गयौँ । अस्पतालको भुईँमा बेहोश अवस्थामा लडिरहेको पायौँ । आखिर भोलिपल्ट बिहान अर्थात् बैशाख १८ गते मित्रमणि आचार्य यस संसारमा रहेनन् ।

उनी मेरो साह्रै नजिकका मित्र थिए । उनको मृत्युपछि मलाई असैह्य वेदना भयो । ‘रे’को भरमा सुनेका कुराहरूकै आधारमा मैले टीकासँग झगडा गरेँ । उनलाई ‘तैँले गर्दा मित्रमणिको ज्यान गयो भनेर ।’ पछि टीकाले आफूले त्यस्तो कुरा नभनेको र टाढैबाट घटनाको अवलोकन गर्न भनेर जाँदा हुल्याहरूले बाटैमा छोपेर कुटेको कुरा बताए ।

क. मित्रमणि आचार्य को हत्या हुनसक्ने पूर्व संकेत हुँदाहुँदै पनि असावधानीका कारण ज्यान गुम्यो । त्यसो हुनुमा मलाई विश्वास नगर्ने वातावरण सिर्जना भएको थियो त्यसबेला । चौथो महाधिवेशन पार्टीमा अल्पमत र बहुमतको नाममा पार्टीमा विभाजन भएको थियो । म अल्पमत पक्षको तावेदार हुँ भन्ने उनीहरूको ब्याख्या थियो भने उनीहरू बहुमत पक्षमा थिए । तर म आफैलाई भने त्यसबेलासम्म अल्पमत र बहुमतको विवादबारे धेरै कुरा प्रष्टसँग थाहा थिएन ।

यो पनि पढ्नुहोस्ः

क. मित्रमणि आचार्यः एक क्रान्तिकारी योद्धा

(लेखक शहीद क. मित्रमणि आचार्य का साथी तथा कृषि विज्ञ हुनुहुन्छ ।)