मैले सर्वप्रथम नेकपा (एकता केन्द्र) को दाङ जिल्ला प्रशिक्षण कार्यक्रममा निनु र विश्वाससँगै मित्र (स्वनाम साथी) लाई देखेको हो गुरुप्रसाद अधिकारीको घरमा । त्यसपछि जम्काभेट भइरहे । थोरै “अराजक !”, वाक्पटु र आफ्नो कुरा अरूलाई बोल्न लगाउन खप्पिस । म तेस्रो कुरासँग आकर्षित र प्रभावित रहेँ ।
म २०५४ मा केन्द्रीय समितिमा छानिएपछि हामी अलि नजिकियौँ । मैले रूपलालसँग एउटै कमिटीमा सहकार्य गर्ने अवसर पाइनँ । उहाँले पार्टी छोड्नुभएको थियो । साथीहरूले उहाँको खेदो खनिरहँदा मैले लामा र मोहनविक्रम विरुद्ध हाम्रोतिर गरिएका प्रचारभित्रका राक्षसीकरणसँग मनमनै तुलना गरिरहेँ । तर स्वनाम साथीले धेरै चासो नदिएको देख्दा लख काटेँ मधुर सम्बन्ध थिएन होला । पछि लामाले पार्टीबाट राजीनामा दिँदा पनि उहाँको व्यवहार त्यस्तै रह्यो । उहाँले मन नलागे छोड्न पाउने कुरा राख्नुभयो । पछि मैले छिचोल्न सकेँ । उहाँ विशिष्टताको, वरिष्ठताको सम्मान त गर्ने तर चाकडीको स्तरमा नजाने, सबै व्यक्तिका विशिष्टता खोज्ने उकास्ने तर विशेष सम्बन्ध कसैसँग नबनाउने अभ्यासमा हुनुहुन्थ्यो । अर्थात् आन्दोलनभन्दा व्यक्ति प्राथमिकतामा रहेन । यो आफैप्रति पनि रह्यो ।
म त राप्ती चौथो महाधिवेशनको किल्ला र दाङमा झापालीको बढ्दो प्रभावसँगै हुर्किएको मान्छे । नेत्रलाल मेरो शिक्षक पनि सम्मान, कृतज्ञता र मर्यादाको फरक अनुभव छ, हुने नै भयो । किम्बदन्ती बनेका मोहनविक्रम र निर्मल लामाप्रति फरक कौतुहल र देवत्वकरणको प्रभाव अलि सामन्तवादी ढंगले भरिएको थियो । म निम्नवर्गको मान्छे भएकोले सेवा समर्पण पूजनको खालकै लाग्ने धारणाहरू बनेको रहेछ । थोरै त अन्तरपार्टी संघर्षका उर्वरा दिनहरूमा हुर्किने अवसर प्राप्त भएको, कम उमेरमा जेल, हिरासत भोगिसकेको, उत्पादनसँग जोडिएर अन्दोलनमा लाग्नुपर्ने र पारिवारिक आर्थिक दायित्व समेत लिनुपर्ने अवस्थाका कारण म आफैलाई आलोचनात्मक व्यावहारिक र फरक ढंगले अनुभव गर्न थालिसकेको थिएँ ।
मलाई २०३६ को आन्दोलनपछि फेरिँदै गरेको झापाली उग्रवाद र नयाँ ठाउँमा देखापरेका भ्रमपूर्ण उत्सुकतासहितका धङ्धङीहरू महसुस हुन थालेको थियो । सायद त्यसैले मलाई चालिसको विभाजनमा दाङमा ज्वारभाटाका विरुद्ध उभ्यायो । यसमा वासुदेव गौतम र शशीधर अधिकारीको योगदानलाई कदर गर्दछु ।
मैले स्वनामलाई देख्ने र जानकारी पाउने अवसर हाथिलेटको गुप्तवासमा पाएको थिएँ । म अलि प्रभावित रहेँ । सायद यही सबै कारण थियो कौतुहल आकर्षण र एकस्तरको अन्तरघुलन बढ्न थाल्यो । चुरोट पनि मध्यस्थ बन्यो कि सायद । चाकुपाटमा बैठक थियो । खाली समयमा हामी एक छेउमा चुरोट बैठक चलाउँदै थियौँ । क. दिवाकर भुसाल त्यहाँ पुग्नुभयो । ठट्यौलो पारामा स्वागत गर्दै स्वनामले चुरोटको बट्टा दिनुभयो । दिवाकरजीले चुरोट छोडेको कुरा गर्नुभयो । स्वनामले ठट्टैमा “तिमीले पनि धोका दिएकै हो त” भनेपछि भुसालले चुरोट झिकेर सल्काउनुभयो । यो मन परेन तर स्वनाम बोल्न सक्नुभएन ।
मलाई दुईवटा शिक्षा मिल्यो । १. कमाण्डरहरूका मजाकको पनि मातहतमा गम्भीर प्रभाव पैदा हुन्छन्, बानी प्रभाव दुवैबाट बच्न सक्नुपर्दो रहेछ । तर म त्यति फेरिन भने सकेको छैन । २. आत्मालोचनाको कम्युनिस्ट स्पिरिट । त्यसपछि स्वनामले कहिल्यै कसैसँग यस्तो ठट्टा गरेको पाएको छैन । अन्तरघुलन हुने र महसुस गर्ने यो विलक्षण तह उचाइमा पुगेका थोरैमा मात्रै हुँदोरहेछ ।
पार्टी करिब करिब वैचारिक विसर्जनको स्थितिमा पुगेकोबेला चलेको अक्टोबर क्रान्तिको सतवार्षिकी एउटा विलक्षण आन्दोलन रह्यो । यसले सबै ‘कम्युनिस्ट पार्टी’हरूमा तरङ्ग पैदा गरिदियो र नेताहरूको निरिहता हेर्नलायक रह्यो । शुभेच्छुकहरूले हरावललाई लज्जित पारेको यो आन्दोलन नेपाली कम्युनिस्ट आन्दोलनको माइलस्टोन हो । यो एक्सरे रिपोर्ट जस्तै छ ।
एमसीसी विरोधमा बोल्नु फेसन बनेको छ, शान बनेको छ र यसले प्रायः पार्टी नेताहरूलाई संकटमा पारेको छ, आम जनचेतना पैदा गरेको छ । एउटा मृत्युसँग जुझिरहेको भौतिकरूपमा गलित व्यक्ति उभिएर यति ठुलो आयतनको आन्दोलन कल्पनामै थिएन । हामीहरू आफ्नो उपस्थिति जनाउन मात्र पछाडि लाग्यौँ । यो स्वनामको चेष्टा, लगन र संयोजन क्षमताको कुरा थियो । यो देश र जनताप्रतिको प्रतिबद्धताको विषय थियो । मार्क्सवादी गुरुकुल एउटा गुठी-मठ प्रकृतिको प्रतिष्ठानको कामनासहितको यो प्रयत्न वैदिक गुरुकुलले जस्तै मार्क्सवादी बटुकहरू पैदा गर्न थाल्ला वा के होला ? स्वनामको संलग्नताको महसुस हुनुपर्छ । संलग्न र प्रतिबद्ध मित्रहरूबाट अपेक्षा गरौँ । जीवनको उत्तरार्धमा यी तीन काम बाहेक धेरै सिक्ने र प्रेरणा लिने कुराहरू छन्, जसलाई संस्थागत गरिनु आवश्यक छ । यो अनुसन्धानको नियमित प्रक्रिया बन्नु पर्दछ ।
एउटा प्रसंग थपौँ । स्वनामले लामाजीका प्रतिबद्धता र अन्तिम इच्छाको कदर गर्न जोड दिइरहनुभयो । यो विषय गम्भीर बन्यो । मानिसहरू शवयात्रामा सामेल भएर लामाजीप्रति श्रद्धा व्यक्त गर्न चाहन्थे । हामी मृत्यु संस्कारको यो क्षणलाई छोट्याउन चाहन्थ्यौँ । यसकारण हाम्रो कुरा स्वनामसँग मिलेको थियो । म सायद केही फरक थिएँ र केही नबुझेको स्थितिमा । लाशको प्रदर्शनी लामाको इच्छा थिएन तर स्वेच्छिक सहभागिता विरुद्ध सायद लामा थिएनन् र स्वनाम पनि । हामी भने लाश प्रदर्शनी र सहर परिक्रमा वा गुपचुप दाहसंस्कार भन्नेमा बहस गर्दै थियौँ । स्वनाम केही किनारा लाग्नुभयो र चुरोटको धुवाँमा हराउनुभयो ।
राजनीतिक-दार्शनिक बहसमा ‘जीवनमा कम्युज्मको सकेजति अभ्यास गर्ने’ विषय तथा सांस्कृतिक क्रान्तिभित्रको आत्मसंघर्षको पाटो र पार्टी जीवनमा न्यूनतम् समाजवादी सांस्कृतिक अभ्यासको विषयलाई कमसेकम बहसका लागि मात्रै पनि स्थापित गर्नसक्नु स्वनामप्रति सच्चा मित्रभाव हुनसक्ला भन्ने लागेको छ । स्वयम् स्वनामप्रतिको सही समझदारी मात्रै एउटा आन्दोलन बन्नसक्छ भन्ने लागेको छ ।
भावपूर्ण हार्दिक श्रद्धाञ्जली कामरेड स्वनाम साथी ।
२०७८ असार १५, दाङ
(लेखक नेकपा (माओवादी केन्द्र) का नेता तथा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का केन्द्रीय सचिवालय सदस्य हुनुहुन्छ ।)