जयगोविन्द साह र सूर्य नाथ रान यादव, Jaya Govinda Saha, Surya Nath Ran Yadav
 

जयगोविन्द साहः

जयगोविन्द साह नेपाली कम्युनिस्ट आन्दोलनका एक चर्चित, दृढ र क्रान्तिकारी व्यक्तिको नाम हो । तत्कालीन चर्चित नेकपा (चौथो महाधिवेशन) को पोलिटब्युरो सदस्य र अखिल नेपाल किसान सङ्‌घका केन्द्रीय अध्यक्षसमेत रहनुभएका क. साह किसान आन्दोलनका लागि एकजना सशक्त युवा नेता हुनुहुन्थ्यो । किसान सङ्घको काममा र किसान सङ्घर्षमा उहाँसँगै काम गर्ने अवसर मैले पाएको थिएँ । उहाँले नेतृत्व गर्नुभएको अखिल नेपाल किसान सङ्घको म महासचिव थिएँ ।

क. दिलबहादुर श्रेष्ठ, Dil Bahadur Shrestha
किसान नेता क. दिलबहादुर श्रेष्ठ

पञ्चायती सरकारको किसानविरोधी नृशंसताको विरोधमा सधैँ दिलोज्यानले लड्दै जीवन उत्सर्ग गर्न तत्पर क. साहको सक्रिय नेतृत्वमा पञ्चायत विकास तथा जग्गाकरका विरुद्ध २०३४ साल आषाढ ७ गते एकै दिन देशव्यापी पर्चाबाजी भएको थियो र किसानहरू आन्दोलित भएका थिए । त्यही आन्दोलनको फलस्वरूप तत्कालीन सरकार विकास तथा जग्गाकर स्थगित गर्न बाध्य भएको थियो। यो ऐतिहासिक राजनीतिक घटना हो, जुन इतिहासमा सधैँ उल्लेख भइरहन्छ ।

खुङ्खार फटाहाहरूको आँखाको कसिङ्गर सामन्ती सरकारका ज्यानी दुस्मन जयगोविन्द साहका लागि भूमिगत जीवन गुजार्नुपर्ने जीवनक्रम पनि सामान्य थियो । २०३३-३४ सालतिरको कुरा हो, आफ्नै जिल्ला सिराहाको मिर्चैयामा उहाँ भूमिगत भई बस्नुभएको थियो । पञ्चायती शासकहरूद्वारा उहाँको गिरफ्तारीका लागि स्थानीय जिल्ला प्रशासन र फटाहाहरूको मिलेमतोमा रातको समय पारेर सशस्त्र प्रहरीहरूको दलबलका साथ उहाँलाई गिरफ्तार गरियो । मस्त निद्रामा सुतिरहनुभएका जयगोविन्द साहलाई सशस्त्र प्रहरीहरूले घेरा हाली सुतिरहेको ठाउँबाट मुख थुनेर पक्रे । एक ग्रामीण महिलाले त्यो कुरा थाहा पाएपछि त्यस घटनाको पर्दाफास गरिदिइन् । उहाँको गिरफ्तारीको खबर गाउँभरि फैलियो । गाउँका मजदुर, किसान र महिलाहरू घरघरबाट कमिलाको ताँतीझैँ ओइरिन थाले । तुरुन्तै किसानहरूले प्रहरीहरूको घेरा तोडी आफ्ना नेता जयगोविन्द साहलाई प्रहरीको हातबाट खोसेर आफ्नो जिम्मामा लिए ।

यस सम्बन्धमा उहाँ भन्नुहुन्थ्यो “मलाई धेरैजना प्रहरीहरूले मुख धुनी हातखुट्टा समाई कुदाउँदा जति सास्ती भयो, त्योभन्दा पनि ज्यादा कष्ट र दर्द किसान महिलाहरूले एक हात र प्रहरीहरूले अर्को हातले दुवैतिरबाट तानातान गर्दा भयो । किसान महिलाहरूले प्रहरीहरूको हातबाट तानेर दगुराउँदा झन् डरलाग्दो यातना भयो ।” यस किसिमका अनेकौँ कथाहरूका नायक, साँच्चिकै जनताको मुक्तिका लागि समर्पित योद्धा र सिराहा मात्र नभएर त्यस क्षेत्रकै लोकप्रिय नेताको नाम हो जयगोविन्द साह ।

क. जयगोविन्द साह जेलमा जन्मनुभएका कारण जेलगोविन्द उहाँको अर्को नाम हो । तर उहाँ जेलगोविन्द मात्र हुनुभएन, जनताको मुक्ति आन्दोलनका पर्याय बन्नुभयो । देश र जनताप्रतिको प्रतिबद्धता, क्रान्तिप्रतिको निःस्वार्थ प्रेम, सादा जीवन र उच्च विचारको भावना र वर्गदृष्टिकोण र वर्गसङ्घर्षमा अनवरत लाग्नुका कारण उहाँ आम शोषित, पीडित जनताका प्रिय नेता जयगोविन्द साह बन्नुभयो ।

जीवनभर देश र जनताको सेवामा समर्पित क. साहको भूमिगत कालमै भारतीय भूमिमा निर्वासनकै अवस्थामा २०४६ पौष २५ गते निधन भयो । उहाँको निधनले नेपालको कम्युनिस्ट आन्दोलन र किसान आन्दोलनले ठूलो क्षति बेहोर्नुपर्‍यो । शोषित-पीडित जनताका नेता, देशकै एकजना चिन्तनशील व्यक्तित्व र इतिहासपुरुष जयगोविन्द साहको छाप मेरो मानसपटलमा अझै छ, सधैँ रहिरहनेछ । म सधैँ नै उहाँको बाटो पछ्‌याइरहन प्रयत्नशील रहनेछु । त्यसलाई नै मैले उहाँप्रतिको श्रद्धाञ्जली ठानेको छु ।

सूर्यनाथ यादवः

सूर्यनाथ यादव अर्का त्यस्तै दृढ, समर्पित, त्यागी एवं क्रान्तिकारी नेताको नाम हो । धनुषामा जन्मनुभएका यादव धनुषाका शोषित-पीडितहरूका लागि मात्र नभई सिराहा, सर्लाही, महोत्तरी जिल्लाका शोषित-पीडित जनताका सहारा र रक्षक हुनुहुन्थ्यो। क. साहजस्तै सादा जीवन र उच्च विचारका धनी क. यादव जनताकै दुःखसुखका अनन्य मित्र हुनुहुन्थ्यो । जनताकै लागि सहारा भएका यादव सधैँ जनताकै माझमा कार्यरत हुनुहुन्थ्यो ।

सादा पहिरन धोती र कुर्ता लगाएर जनताकै घरदैलोमा देखापरिरहनुहुने क. यादवले कहिल्यै पनि नकारात्मक व्यवहार र असहयोगको लेससम्म पनि देखाउनुभएन । शोषित-पीडित जनताको दुःखदर्दमा सधैँ साथ दिइरहनुभयो । उहाँ जनताको कुनै पनि काम गर्न सक्तिनँ भन्नुहुन्नथ्यो र जे बोल्नुहुन्थ्यो, त्यो गरेर पनि देखाउनुहुन्थ्यो । त्यसैले उहाँलाई हामीहरू कहिलेकाहीँ भन्ने गथ्यौँ – “सूर्यनाथजी ! तपाईँको अर्को नाम हो ‘हो जायेगा’ ।”

शोषित-पीडित जनताको सहारा र भरोसा सूर्यनाथजीलाई फटाहा, शोषक र सामन्ती सत्ताले पटक-पटक यातना दिएको थियो । २०३६ सालको आममाफीमा पर्दा उहाँ ५ वर्षको जेलयातनाबाट मुक्त हुनुभएको थियो । त्यसबेला म र अर्को एकजना साथी साङ्गठनिक कामका सिलसिलामा धनुषा गएका थियौँ । उहाँको रिहाइपछि हामी उहाँलाई भेट्न उहाँकै गाउँमा गयौँ । त्यस दिन उहाँको सामूहिक भेटघाटको कार्यक्रम रहेछ । वल्लोपल्लो गाउँबाट मात्र होइन, छिमेकी जिल्लाहरूबाट समेत उहाँलाई भेट्न आउनेहरूको भीड लाग्यो । त्यस दिन दिनभर भनेझैँ जनतासँग कुरा गरेर समय बित्यो । जनता उहाँलाई देखेर भावविह्वल हुन्थे । उहाँ वृद्ध, युवा, महिला, केटाकेटी सबैसँग भलाकुसारी गर्नुहुन्थ्यो । उहाँको रिहाइपछि त्यहाँका जनताले ठुलो भरोसा मिलेको महसुस गरेका थिए । तत्कालीन नेकपा चौमका केन्द्रीय सदस्य यादव एउटा सङ्घर्षशील र जुझारु नेताका रूपमा जनसमुदायका बिच स्थापित हुनुहुन्थ्यो ।

पार्टी विभाजन भएको समय पारेर उहाँलाई प्रतिक्रियावादी पञ्चायती सरकारले पक्रियो । धनुषा जिल्लाकै खुङ्खार जनविरोधी पञ्चायती सरकारका कृषिमन्त्री भइसकेका हेमबहादुर मल्ल सूर्यनाथ यादवको ज्यानी दुस्मन थियो । एकातिर पार्टीको फुट, कार्यकर्ताहरूबिचका द्वन्द्व र झैँझगडा, पार्टीका आन्तरिक मामलाहरू पोलापोल भइरहेको स्थितिमा फटाहाहरूको मिलिभगतमा जनताका प्यारा नेता सूर्यनाथ यादवलाई पक्राउन केही गलत तत्त्वले सक्रिय भूमिका निभाए ।

जब क. सूर्यनाथ यादव पक्राउ परेको खबर बाहिर आयो, एकातिर शोषित-पीडित जनताहरू डाँको छोडेर रुन थाले, अर्कातिर प्रतिक्रियावादीहरू र उनका मतियारहरू भोजभतेर गरी खुसी मनाउन थाले । पुलिस थानामा उहाँलाई निकै यातना दिइयो । पानीसमेत खान नदिई नालमा मुख डुबाइदिने, जेल सार्ने निहुँमा घाँटीमा डोरी बाँधी घिसार्दै लाने आदि निर्मम यातना दिए ।

प्रतिक्रियावादीहरूले आफ्नो ज्यानी दुस्मन सम्झिएका क. यादवलाई जेलबाटै बेपत्ता पारेर जेल सार्ने नाउँमा बेलटारको अनकन्टार जङ्गलमा लगी हत्या गरे । जनताका लोकप्रिय नेता यादवको त्यो नृशंस हत्यालाई प्रतिक्रियावादी सरकारले साहस गरेर सार्वजनिक गर्न सकेन । हत्यारा सरकारले उल्टो सूर्यनाथ यादव जेलबाट भाग्यो भन्ने भ्रमपूर्ण प्रचार गर्‍यो । प्रतिक्रियावादीहरूको खुनी अनुहार धेरै दिनको भ्रमको जालोले छेकिन सकेन । २०४६ को आन्दोलनपछि खोजबिन गर्दा २०४२ असोज ४ गते नै उहाँको हत्या गरिएको तथ्य फेला पर्‍यो ।

जनताका प्रिय नेतालाई एकथरीले हत्याराका रूपमा प्रचारित गर्न खोजे, चरित्रहत्या गर्ने र जनतामा भ्रम फिँजाउने काम गरे । फासिस्ट शासकहरूले पनि उहाँका बारेमा भ्रम फैलाउन खोजे। तिनीहरूको नियत र हौवा पछि प्रस्ट हुँदै आयो । सत्य सधैँ सत्य नै हुन्छ । जनताले उहाँलाई आफ्नै नेताका रूपमा स्वीकारे । जनताको मुक्तिका खाँतिर प्रतिक्रियावादीहरूसँग कहिल्यै नझुकी मृत्युवरण गर्ने महान् सहिदको सम्मान दिए । नेपालको कम्युनिस्ट आन्दोलनकै एउटा हस्तीमाथिको पञ्चायती तानाशाहहरूको आक्रमण जनताले कहिल्यै बिर्सन सक्तैनन् । सधैँ उहाँको सम्झनाले जनतालाई मुक्तिकै लागि घचघच्याइरहनेछ ।

(अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का पूर्वअध्यक्ष क. दिलबहादुर श्रेष्ठद्वारा लिखित र जनएकता साप्ताहिक, वर्ष ५ अङ्क २३, २०५६ पुस १९ गते सोमबार प्रकाशित यो संस्मणलाई अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का पूर्व अध्यक्ष क. जयगोविन्द साहको ३५औँ स्मृति दिवसको सन्दर्भमा ‘स्मृतिमा दिलबहादुर श्रेष्ठ’ पुस्तकबाट साभार गरी पुनःप्रकाशन गरेका छौँ ।)