रातको नौ बज्नै लाग्यो, सीताराम केसीसँग भेट हुनै कठिन थियो । एकातिर उदाउँदो राजनीतिक व्यक्तित्व, अर्कोतिर राजनीतिको कालरात्री । बेला थियो नेपाली काँग्रेसले सत्याग्रह आन्दोलनको घोषणा गरेको, उता नेपालका लोकतान्त्रिक धारका वामपन्थीहरुले पनि आ-आफ्नै ढंगले शान्तिपूर्ण जुलुस प्रदर्शन गरेको । तिनै काँग्रेस र कम्युनिस्टहरुका तीन दर्जन स्थानीय नेता कार्यकर्ताहरु पोखराको जेलमा दशैँ मनाउन बाध्य भएका थिए । परिवर्तनका पक्षपाती हामी युवाहरु पञ्चायती व्यवस्थाको समर्थन गर्न त सकिएन तर उदारवादी राजनीतिकर्मीसँग हाम्रो खासै गुञ्जायस थिएन । जेलमा रहेका काँग्रेस कम्युनिस्टहरु एकजुट भइसकेका थिएनन् तर लाजको पसारो उनीहरुलाई कसरी दशैँ मनाउन सघाउने ? हाम्रो चिन्ता त्यही थियो । अन्ततः हामीले सीताराम केसी अर्थात सूर्यबहादुर केसीसँग उनीहरुलाई दशैँ मनाउन एउटा च्याङ्ग्रो सहयोग गर्न भेट्दै थियौँ । उनै सूर्यबहादुर केसीले हाम्रो कुरालाई सहजै स्वीकारेर सहयोग गरे ।
स्व. सूर्यबहादुर केसीले पहिलो निर्वाचन यात्रा तत्कालीन पञ्चायती व्यवस्थामा पोखरा नगर पञ्चायतको प्रधानपञ्चबाट शुरु गरेका थिए । पञ्चायतका अनुदारवादीको विरोध गरेर पञ्चायती राजनीति गर्ने उदारवादी राजनीतिज्ञ सूर्यबहादुर थापासँग सीताराम केसीको जम्काभेट नभएको होइन । तथापि निर्दलीयताका विरोधी नेपाली काँग्रेस र लोकतन्त्रवादी कम्युनिस्टहरुसँग उनी तादात्म्यता राख्दथे । धेरै जसो हामी पत्रकारहरुले मिसन पत्रकारिता गरेको प्रायः सबैलाई थाहा थियो । पञ्चायतको समर्थन र विरोध गर्ने सबैले आ-आफ्नो मिसन बाकेका थिए । एउटा राष्ट्रिय उद्योगपति हुनुको नाताले सूर्यबहादुर केसी देशभक्त थिए । विदेशी मालको बजार मात्र बनाउने दलाल पुँजीपति भन्दा उनी केही पृथक थिए । दक्षिण एसियामा नै जापानी प्रविधि भित्राएर वामपन्थी उद्यमी कृष्णप्रसाद आचार्यसँग केही समय कार्य गरेका सूर्यबहादुर केसीले हाम्रा पत्र-पत्रिकालाई बिना रोकतोक विज्ञापन दिएर, ग्राहक बनाएर सहयोग पुर्याउने गर्दथे ।

सूर्यबहादुर केसी सबै कुराले पूर्ण हुँदाहुँदै स्वास्थ्यको कारणले अपूर्ण भएका रहेछन् भन्ने कुरा धेरै पछि थाहा भयो । विभिन्न रोगले आक्रमण गरिसकेपछि उनको हार भयो भन्ने सुनेँ । अन्ततः सूर्यबहादुर केसी शारीरिक रुपमा थाकेर हारे भन्ने सुन्दा दुःख लाग्यो । केसीको हार अरु कुनै पनि मामलामा अधोगति थिएन, तैपनि उनको देहावसानप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त नगर्नु हामीले उचित ठानेनौँ । उनका परिवारजनप्रति गहिरो समवेदना छ । मुलुकको राजनीतिक र आर्थिक उन्नतिमा जे-जसरी उनको योगदान रह्यो, सामाजिक र सांस्कृतिक संरक्षणमा उनी आफ्ना पिताजीजस्तै रहे । पछिल्ला दिनहरुमा उनको विवेक हराएको थिएन । आफ्नो काम विशेषले महतगौँडा सीतापाइला ओहोरदोहोर गर्दा होस् वा भारतको नयाँ दिल्लीमा उपचाररत हुँदा होस्, असहाय बेवारिसे ज्येष्ठ नागरिकहरुको आश्रयस्थल पोखरा बृद्धाश्रममा आर्थिक भौतिक सहयोग गर्न उनले चुकेनन् ।
आफ्नो गोत्रीय वा जातीय संस्थामा उनले अतिवादी राजनीति नहोस् भन्ने चाहन्थे भने कुल संस्कार मिल्ने संघ-संस्थामा उल्लेख्य योगदान दिएका थिए । उनलाई गुणगान गर्न यो आलेख तयार पारिएको होइन र देहावसानपछि गोहीको आँशु चुहाउन पनि कुनै चाटुकारलेझैँ यो आलेख तयार पार्न खोजिएको होइन ।
स्व. सूर्यबहादुर केसीको राजनीतिक यात्रा अन्ततः लोकतान्त्रिक धारभन्दा पृथक थिएन भने राष्ट्र, राष्ट्रियतासँग मेल खाने खालको थियो । तत्कालीन अवस्थामा उनी कम्युनिस्ट बन्न सकेनन् भनेर इल्लिबिल्ली पार्नु आवश्यक छैन । आजको परिप्रेक्ष्यमा हुनुपर्ने राष्ट्रिय अर्थतन्त्रको निष्ठा, इमान्दारिताको धरातलमा सतिसाल हुनुपर्दो रहेछ भनेर उनीबाट शिक्षा लिन वर्तमानका क्रान्तिकारीहरुले समेत सकिन्छ कि ? राजासहितको बहुदलीय व्यवस्था र गणतन्त्रको किशोरावस्थामा क्रान्तिकारी वा लोकतन्त्रवादीहरु धरमराएकोबेला स्थीर राजनीतिका लागि, स्वाधीन अर्थतन्त्रका लागि स्व. सूर्यबहादुर केसीले अहिलेका राजनीतिज्ञहरुलाई व्यावहारिक शिक्षा प्रदान गरेका छन् ।
हाम्रा राजनीतिक शिक्षा र सिद्धान्तहरु पृथक हुन सक्दछन् । विचार, कार्यशैली भिन्न हुन सक्दछन् । देश र नेपाली जनतालाई केन्द्रमा राख्ने हो भने वर्तमान सरकार र प्रमुख प्रतिपक्षले गरिरहेको राजनीति संतोषजनक भएन । यस्तो अवस्थामा विश्वव्यापी स्वास्थ्य संकट अनि त्यो भन्दा ठुलो आर्थिक संकटले गाँजिसकेको छ । हामीकहाँ दलाल पुँजीवादबाट एक कदम अगाडि नबढ्ने राजनीतिक व्यवस्था कायम छ । उदारवादी र समाजवादी आर्थिक सामाजिक संरचनाका लागि राजनीतिक संघर्ष चलेको छ । संविधानमा उल्लेख भएको समाजवादउन्मुख व्यवस्था र परिपाटीमा जाने कि नवउदारवाद नामको विसंगतियुक्त पुँजीवादी मार्गमा जाने भन्ने सैद्धान्तिक र वैचारिक संघर्ष उत्कर्षमा छ । सरकार वा प्रतिपक्षमा पनि कतिपय लोकतान्त्रिक समाजवादी बाटोमा मुलुकलाई लैजानुपर्छ भन्दैछन् भने कतिपय सरकारी वा प्रतिपक्षले पुरानो राज्यसत्ता कायम गर्न न्वारनको बल लगाउँदै छन् ।
हामीमध्ये धरमराएका कतिपय उद्योगी व्यावसायी, राजनीतिकर्मी, अधिकारकर्मी, संचारकर्मी र नागरिक समाजले वर्तमान परिप्रेक्ष्यमा पश्चगामी विचार वा सिद्धान्त राख्न सकिँदैन । निर्दलीयता होस् वा बहुदलिय र गणतन्त्रसम्म आइपुग्दा स्व. सूर्यबहादुर केसीले जसरी अन्तिममा परिवर्तनको पक्षमा राष्ट्रिय पुँजीपतिको भूमिका निर्वाह गरे, के अहिलेका राष्ट्रिय पुँजीपति र उद्यमीहरुले पुरानो राज्य व्यवस्थाका अवशेषलाई फालेर राष्ट्रिय पुँजीको विकासमा योगदान पुर्याउन सक्लान् ? अन्ततः दलाल पुँजीवादबाट मुलुकको हित हुन सक्दैन भन्ने हेक्का उनीहरुलाई हुनु पर्दछ । समाजवादको यात्रा त निकै लामो र अनन्त छ । समाजवादमा समेत राष्ट्रिय पुँजीपति वर्गको भूमिका अग्रणी रहन्छ । राष्ट्रको शान र आफ्नो राष्ट्रिय उन्नति नेपाली पुँजीपति वर्गको समेत इज्जत हो । यो सोँच र विचार राख्ने नेपाली समाजले स्व. सूर्यबहादुर केसीलाई सच्चा श्रद्धाञ्जली गरेको सम्झिनेछ ।
गणतन्त्र आएपछि संक्रमण काल छोटो होला, जाने बुझेका राजनेता छन्, जनताले धेरै दुःख नपाउलान् भन्ने आम नेपालीको विश्वास थियो । निरंकुशतन्त्र, गरिबी, अन्याय, विभेद र क्षेत्रीय असन्तुलन विरुद्ध लड्दै आएका राजनीतिक दललाई साथ दिँदै आएका नेपाली जनताको त्यो आशा र विश्वासमा तुषारापात हुँदैछ भन्ने आशंका बढेको छ ।
शहीद र बेपत्ता परिवारको पीडा झनै कहालीलाग्दो छ । नेपाली जनताले के अहिलेको अत्यासलाग्दो राजनीति, विषम आर्थिक व्यवस्था, विभेद, अन्यायपूर्ण राज्य व्यवस्था र संकटका घडीमा राज्यको अविभाभकत्व नपाउने चिताएका थिए ? राजनीतिक दाउपेच, आफन्तलाई लाभको पद, राजदूत नियुक्ति र अन्य सुविधा सत्ताधारीको पेवा मात्र त निरंकुशतन्त्रमा पनि थियो भनेर बुझ्दैनन् जनताले ? प्रतिपक्षका नेता गण पनि आफू र आफन्तले सुविधा पाएपछि चुप लाग्नुपर्छ भन्ने कुन राजनीतिक दलको दस्तावेजमा लेखेको छ र, त्यसको पालना भइरहेको छ ?
नेपाली जनताले धेरै कुरा बुझेका छन् । मुलुकमा तेस्रो विकल्प तयार नभइरहेको अवस्थामा वर्तमान सत्ताधारी र प्रतिपक्षले अवसर पाएका हुन भनेर जनताले बुझेका छन् । यदि दुवै राजनीतिक दलले आफू सच्चिएर नआउने हो भने आगामी दिन उनीहरुका लागि राजनीति वातावरण त्यति सजिलो छैन । राज्यसत्ता फेरि अराजकता, उग्र वामपन्थी वा दक्षिणपन्थीको हातमा पुग्नसक्ने अवस्था यथावत छ । हामीले विश्वास गरेका राजनीतिक दलहरु फेरि एकपटक सडक छाप बन्दैनन् भन्ने ग्यारेण्टी छैन । लाज त वर्तमान अन्तरसंघर्षमा अल्झिएको नेकपा (नेकपा) लाई बढि र समतुल्य शक्ति हौँ भन्ने नेपाली काँग्रेसलाई लाज लाग्नुपर्ने हो । नेपालमा जे गरे पनि, जसो गरे पनि ठिकै मान्ने दलााल प्रवृत्तिका पुँजीपति वा श्रमजीवी मात्रै छैनन् ।
यस्ता कुराबाट वाक्क भएका स्व. सूर्यबहादुर केसी जस्ता थुप्रै राष्ट्रिय उद्योगपतिहरु नेपालमा छन् । उनीहरुले वर्तमान लथालिङ्गको राजनीति, दलाल पुँजीवादी अर्थव्यवस्था र विकृतियुक्त सामाजिक संस्कृति उपर धावा बोल्नुपर्ने अवस्था आएको छ । राष्ट्रिय पुँजीपति वर्ग श्रमजीवीहरुसँग एकाकार भएर त्यो दायित्त्व निर्वाह गर्न सक्दछन् । मजदुर आन्दोलन कमजोर भएको वर्तमान अवस्थामा असक्षम सत्ताधारी वा प्रतिपक्षी जुनसुकै राजनीतिक दल होऊन्, श्रमजीवीहरुले आफ्नो रोजिरोटी गुमाउँदा र कोरोना संक्रमणको प्रभावमा समेत सरकारको कम वास्ताप्रति आवाज उठाउनु पर्दछ र वर्तमान अस्तव्यस्ततालाई समाप्त पार्नु पर्दछ ।
(लेखक वरिष्ठ पत्रकार तथा वामविश्लेषक हुनुहुन्छ ।)