रामवृक्ष यादव, Shahid, Ram Briksha Yadav
 

बलिदान कुनै पनि क्रान्तिकारी परिवर्तन गर्ने आन्दोलनको मुख्य पाटाे हुने गर्दछ । बलिदानको जग बिना क्रान्तिको आधार निश्चित हुन सक्दैन । नेपालमा १० वर्षसम्म निरन्तर चलेको महान जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायतका आन्दोलनहरुले पनि आ-आफ्नै बलिदानको इतिहास बोकेकै छन् ।

जीवन र मृत्युको परिभाषा मानिसको सोचाइमा निर्भर हुने गर्दछ । फेरि पनि परिवारिक सदस्यहरुको मृत्युको पीडा सहन गर्न भनेजस्तो सजिलो नहुँदो रहेछ ।त्यो त प्रत्यक्ष भोग्नेलाई मात्र थाहा हुन्छ । मर्नेहरु एक पटक मर्दोरहेछ तर बाँच्नेहरु सयौँ पटक उनको वियोगमा मर्ने गर्दछ । यो एउटा कटु यथार्थ हो ।

फेरि पनि बलिदान किन र केका लागि भन्ने प्रश्नले निकै महत्त्व राख्दछ । मेरो परिवारका सदस्यहरुको शहादत जनताको मुक्तिको निम्ति भएको थियो । निरंकुश सामन्ती राजतन्त्रको दासताबाट मुक्ति पाउनको निम्ति भएको थियो ।जसमा करिब १७,००० महान् नेपाली आमाका सन्तानहरुले पनि आफ्नो अमूल्य रगत बगाएका थिए । यत्रो ठुलो बलिदान, हजारौँ घाइते र अपाङ्गहरुको योगदानले मात्र आजको यो परिवर्तन सम्भव भएको हो । सायद यसमा कसैको दुविधा हुनै सक्दैन ।

आज त्यो बलिदानको मूल्यलाई ठिक ढंगले बुझ्न अझ जरुरी छ । सत्ताको लडाइँ भन्दा पनि विचारको बहसमा नेताहरु केन्द्रित हुनु पर्ने आवश्यक देखिन्छ । अनि मात्र शहीदहरुको सपनालाई साकार पार्न सकिन्छ ।

सुनिता यादव, sunita yadav, suneeta yadab
लेखक

भदौ २ गते । मेरो बुवा महान शहीद रामवृक्ष यादवको २६औँ स्मृति दिवसको सन्दर्भ । यस वर्षको बिचमा हाम्रो परिवारबाटै अन्य सदस्यहरुको पनि शहादत भइसकेको छ । २०५८ पुष १५ गते संकटकाल कै समयमा मेरो एक मात्र दाजु शेखर यादव, जसको विवाहको एक बर्ष पनि नपुग्दै उहाँको २२ वर्षको उमेरमै निर्मम हत्या गरियो । केहि समयपछि २०६१ पुष २८ गते मेरो प्रिय जिवनसाथी डम्बरनारायण यादवको पनि युद्धकालमै हत्या गरियो । यतिसम्म कि हाम्रो परिवारको सम्बन्धीहरुलाई पनि छोडेन र मेरो ३ जना काकाहरु (बुवाको सानीआमा र मामाका छोराहरु) लाई पनि हत्या गरियो ।

यी सब पीडाहरु सहन गर्न हाम्रा लागि सजिलो थिएन तर क्रान्तिप्रतिको आस्था पनि हामीमा कम थिएन । यी सबै बलिदानपछि पनि हामीले शोषित पीडित जनताको उज्ज्वल भविष्यको सपना देखिरहेका थियौँ । र, निरन्तर अगाडि बढिरहेकै थियौँ ।

बुवाको हातबाट खसेको क्रान्तिको झण्डालाई हाम्री आमाले कहिले झुक्न दिनु भएन । उहाँको जीवन संघर्षको आँधीबेहरीमै गुज्रियो । पछि आमालाई पार्टीले अन्तरिम विधायिका बनायो । र, २०६४ को संविधानसभा निर्वाचनमा धनुषा-६ बाट भारी मतले उहाँ प्रत्यक्ष निर्वाचित पनि हुनुभयो । यत्रो ठुलो बलिदानबाट आगडि बढेको उहाँको यात्रा त्याग, समर्पण, बलिदान र संघर्षको अनुपम नमुना हो, जुन हाम्रा लागि सँधै प्रेरणादायी छ ।

मैले बुवाको प्रत्यक्ष माया पाउन सकिन । आमा नै मेरा लागि सबै हुनुहुन्थ्यो । तर उहाँको पनि २०६७ साल श्रावण २९ गते ग्याँस दुर्घटनामा परी दु:खद निधन हुन पुग्यो ।

अहिले हामी सबै दिदीबहिनीहरु पनि पार्टीमै छौँ । अहिले संघर्षको रुप फेरिएको छ । उहाँहरु लगायतकै शहीदहरुको बलिदानले देशमा सामन्ती राजतन्त्रको अन्त भई गणतन्त्र नेपालको स्थापना भएको छ । तर यत्रो ठुलो बलिदानबाट प्रप्त उपलब्धिहरुलाई संरक्षण र संस्थागत गर्ने जिम्मेवारी आज हामी सबैको काँधमा आइपुगेको छ ।

जनयुद्धका शहीदहरु जसको कारण यत्रो ठुलो परिवर्तन भयो, उहाँहरुलाई अझै ‘लडाकु’ भनिएको छ । यो हाम्रा लागि पक्कै पनि लाजमर्दो विषय हो । शहीद परिवारहरुले यो परिवर्तनबाट सम्मान र अभिभावकत्व आशा गरेका छन् । हाम्रो नेतृत्व र राज्यले त्यो अविभावकत्व प्रदान गर्न सक्छ कि सकिँदैन, त्यो एउटा ठुलो प्रश्न हो ।

मेरो बुवाको हत्या महान जनयुद्ध तयारीको क्रममा भएको थियो । उहाँलाई एउटा क्रान्तिको प्रेरणाको स्रोत, निरन्तर क्रान्तिका मार्गदर्शक, क्रान्तिको पहिलो हकदार र हाम्रो बुवा-आमालाई क्रान्तिको नमूनायोग्य जोडीको रूपमा पनि चिनिन्छ । यस्तो आमा-बुवाको सन्तान हुनु मेरो लागि गौरवको अनुभूति हो ।

साथै, यसले ठुलो जिम्मेवारीको पनि अनुभूति गराउँदछ । उहाँहरुको कोखबाट जन्मिने सौभाग्य मैले पाएको छु, जसले गर्दा धेरैले मलाई आफ्नो ठान्दछन् र हामीमा विश्वास गर्दछन् । शोषित-पीडित जनताले हामीलाई आफ्नो सन्तान सरह माया गर्दछन् र यो नै मेरा लागि ठुलो सम्पत्ति हो । यो तपाईंहरुको सम्पत्ति र आशालाई मैले कहिल्यै पनि गुम्न दिनेछैन भन्ने विश्वास दिलाउन चाहन्छु ।

अन्तमा मेरो प्रिय अभिभावकहरूप्रति उच्च सम्मानसहित हार्दिक भावपूर्ण श्रद्धाञ्जली !

(लेखक महान शहीद क. रामवृक्ष यादव र संविधान सभा सदस्य क. रामकुमारी यादवकी सुपुत्री हुनुहुन्छ ।)