Purna Poudel, क. पुर्ण पौडेल
 

सर्वहारावर्गका पथप्रर्दशक कार्ल मार्क्सको भनाइमा मानवजातिको सम्पूर्ण इतिहास नै वर्गसंघर्षको इतिहास हो । जुन समयदेखि समाजमा वर्गविभाजनको अवस्था आयो र एक वर्गले अर्को वर्गमाथि शोषण, दमन र अत्याचार गर्न थाल्यो । त्यसको सँगसँगै त्यसका विरुद्ध विरोध र प्रतिरोध पनि सुरु भयो । यसरी समाजमा वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक लगायतका सबैखाले उत्पीडन र विभेदका विरुद्ध कहीँ न कहीँ संघर्ष चलिरहेको हुन्छ । र, संघर्ष नै मानवजातिको इतिहासको चालकशक्ति रहँदै आएको छ।

मानव इतिहासमा प्रतिक्रियावादी शासकीय चिन्तन र प्रवृतिका विरुद्ध ठुला ठुला संघर्ष हुदै आएका छन । नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि पनि विगत इतिहासमा ठुल ठुला गौरवमय क्रान्तिहरु सम्पन्न भएका छन्, जसले समाजको अग्रगामी रुपान्तरणलाई निरन्तर दिशाबोध गरिरहेको छ । २००७ साल वरपरबाट सुरु भएको नेपालको लोकतान्त्रिक आन्दोलनले ७०औँ वर्ष पार गरेको छ भने नेपाल कम्युनिस्ट पार्टी स्थापनाको पनि ७१ वर्ष पुरा भएको छ ।

क्रान्ति र बलिदान एक आपसमा परिपुरक वा अन्यान्योश्रित हुँदा रहेछन् । बलिदान विनाको क्रान्ति न त विश्व इतिहासमा कतै संभव भए, न त नेपालको इतिहासमा नै सम्पन्न भए ।

नेपाली समाजमा सामन्तवाद र साम्राज्यवादका विरुद्ध आमूल परिवर्तनका लागि सुरु भएको माओवादी जनयुद्धमा नेपाली जनताका हजारौँ सर्वोत्तम छोराछोरीले आफूलाई सचेततापूर्वक बलिदान गरे । सयौँ योद्धाहरु प्रतिक्रियावादी सत्ताद्वारा बेपत्ता बनाइए । हजारौँ योद्धाहरु घाइते र अंगभंग भएर कष्टकर जीवन बिताइरहेका छन् ।

जनयुद्धमा राज्यद्धारा बेपत्ता पारिएका योद्धाहरुको पंक्तिमा अखिल (क्रान्तिकारी) का तत्कालीन महासचिव क. पुर्ण पौडेल ले पनि आफूलाई उभ्याउनु भयो । उहाँले सामन्ती तत्त्वका अघि झुक्न तयार हुनु भएन । बरु बेपत्ता योद्धाको जीवन रोज्नु भयो ।

ramesh malla, रमेश मल्ल
लेखक

आज बैसाख १३ गते । आजभन्दा १८ वर्षअगाडि २०५९ वैसाख १३ गतेका दिन लोकेन्द्रबहादुर चन्द नेतृत्वको ज्ञानेन्द्रशाहीको कठपुतली सरकारले उहाँलाई काठमाडौँबाट गिरफ्तार गरी बेपत्ता पार्‍यो । जनयुद्ध दबाउने नाममा योभन्दा पहिले पनि जनसाधारणहरुको हत्या, आतंक, आगजनी, बालकदेखि बृद्धसम्मको सामूहिक बलात्कार र हत्या, निहत्था नागरिक बेपत्ता पार्ने जस्ता जघन्य र आततायी अपराध त प्रतिक्रियावादीहरुले गरिरहेका थिए ।

०५२ फागुन १४ गते प्रहरीको गोली लागी जनयुद्धको पहिलो शहीद गोरखाका ११ वर्षीय बालविद्यार्थी दिलबहादुर रम्तेल बन्न पुगेका थिए । नेकपा (माओवादी) का केन्द्रीय सदस्य, बौद्धिक, वैचारिक तथा उदयमान क्रान्तिकारी नेता क. दण्डपाणी न्यौपाने (क. दिपेन्द्र शर्मा) लाई २०५६ जेठ ७ गते काठमाडौँको टेबहालबाट गिरफ्तार गरी बेपत्ता बनाएको थियो ।

ज्ञानेन्द्रशाहीको नेतृत्वमा संकटकाल घोषणा गरी शाही सेना परिचालन गरिसकेपछि जनदमन, हत्या आतंक र बेपत्ताको अझ विभत्स श्रृंखला अगाडि बढाइयो । माओवादीका विरुद्ध शाही सेनाको परिचालन प्रतिक्रियावादी सत्ताको अन्तिम अश्त्र थियो । उनीहरुले माओवादी समाप्त पार्न जुनसुकै अपराधका लागि पनि आफूलाई निवस्त्र रुपमा प्रस्तुत गरे ।

संगठनका तत्कालीन उपाध्यक्ष क. बेनोज अधिकारीलाई पूर्वी नेपालको मोरङमा गिरफ्तार गरी चरम यातना दिएर २०५८ फागुन २४ गते खोर्साने जंगलमा लगेर दोहोरो भिडन्तको नाममा हत्या गरे ।

पश्चिम नेपालमा पूर्वउपाध्यक्ष क. ज्ञामप्रसाद चालिसेको हत्या गरियो । संगठनका केन्द्रीय सदस्य कमरेडहरु रामबहादुर रायमाझी, जनम बराल, ऋषि घिमिरे, नारायण शर्मा, टिकाराम गौतम, गणेश ढकाल, शंकर तमु, प्रितकुमार मोक्तान, कमल पौडेल, पसिन्द्र पटेल, बैकुण्ठ पोखरेल, सम्झना चौधरी, कमल पुन, पूर्व विद्यार्थी नेताहरु संयोजक कृष्णसेन इच्छुक, राममणी भट्टराई, लेखनाथ पौडेल, शरद अवस्थी, ईश्वर ढुंगाना, नवराज शाही, सुनिता सापकोटा, विजय ढकाल, सुजीत यादव लगायत सयौँ नेता कार्यकर्ताको कायरतापूर्वक हत्या गरियो भने पुर्ण पौडेल लगायत विपीन भण्डारी, ज्ञानेन्द्र त्रिपाठी, गोकुल निरौला, दीपेन्द्र पन्त, सिएन ढुंगाना, नवीन राई, दिलबहादुर राई, देवहरि रिजाल, निर्दल साह, कृष्ण चौधरी, जानकी चौधरी लगायत केन्द्रीय नेतृत्व र अरु सयौँ योद्धाहरुलाई गिरफ्तार गरी बेपत्ता पारियो ।

जनवादी शिक्षा प्राप्तिको आन्दोलनलाई आफ्नो लक्ष्य बनाएको अखिल (क्रान्तिकारी) र जनवादी राज्यसत्ता स्थापनार्थ विद्रोहको झण्डा बोकेका न्यायप्रेमी जनता र माओवादी क्रान्तिकारीहरुले जनयुद्धको दौरान बलिदानको अद्वित्तीय कोटाचुक्ता गरे । जो नेपालको राजनैतिक इतिहासमा स्वर्णिम अक्षरले रेखांकित भइसकेको छ ।

नेपाली विद्यार्थी आन्दोलनमा नेतृत्वको शीर्ष तहबाट बेपत्ता पारिने नेता क. पुर्ण पौडेल हुनुहुन्छ । उहाँको जन्म २०३१ कार्तिक ११ गते बुवा गंगाप्रसाद पौडेल र आमा मोतिमायाको कोखबाट भएको थियो । २०४९ सालमा संगठनको कास्की जिल्ला अध्यक्ष हुनुभएका क. पुर्ण पौडेल २०५२ मा सम्पन्न अनेरास्ववियू (क्रान्तिकारी) को तेह्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यका निर्वाचित हुनुभएको थियो ।

उहाँ २०५७ मा संगठनको केन्द्रीय महासचिव चयन भएर संगठनको उपत्यकाको काममा क्रियाशील हुनुहुन्थ्यो भने २०५८ मा विराटनगरमा सम्पन्न एकताको १५औँ राष्ट्रिय सम्मेलनबाट पनि महासचिव नै निर्वाचित हुनुभयो । विराटनगर सम्मेलनमा तत्कालीन माले अखिलको ठुलो टिम क. कृष्ण केसीको नेतृत्वमा विद्रोह गरी अखिल (क्रान्तिकारी) मा एकता गर्न पुगेको थियो भने अखिलका अन्य घटकबाट पनि साथीहरुले विद्रोह गरी एकतामा सहभागी बन्नुभएको थियो । त्यसैले यो सम्मेलनलाई क्रान्तिकारीहरुको एकताको सम्मेलन भनिएको थियो ।

मैले क. पुर्ण पौडेलसँग लामोसमय काम गर्न पाइनँ । विराटनगर सम्मेलनको उद्घोषकदेखि बन्दसत्रको सञ्चालकसम्म भएर उहाँले गरेको वैचारिक तथा संगठनात्मक नेतृत्वबाट म लगायत सम्मेलनका प्रतिनिधिहरु उहाँको नेतृत्वप्रति नतमतस्क नै भएका थियौँ । विराटनगरबाट काठमाडौँ पुगेर आरआर क्याम्पसमा भएको घोषणासभादेखि केन्द्रीय समितिको बैठकसम्म गरेको गतिविधिले उहाँको भावी नेतृत्वप्रति हामी निश्चिन्त भइसकेका थियौँ ।

कमरेड लेखनाथ न्यौपाने अहिले पनि भन्नुहुन्छः नेतृत्व भनेको आवश्यकता र आकस्मिकताको योग रहेछ । यदि क. पुर्ण पौडेल र क. बेनोज अधिकारी जीवित भएको भए म विद्यार्थी आन्दोलनमा नेता हुने संभावना नै हुने थिएन । म त ललितपुर पार्टीको जिम्मा लिएर उपाध्यक्षबाट विदा हुनेमा ढुक्क थिएँ ।

जब पूर्वमा क. बेनोज शहीद हुनुभयो र उपत्यकामा क. पुर्ण वेपत्ता हुनुभयो । अनि, म विद्यार्थीको रिक्तता चिर्न आइपुगेको हुँ । साँच्चै क. पुर्ण पौडेल एक सालिन र निर्भिक कमाण्डर थिए । उनको प्रभावशाली व्यक्तित्व, प्रखर भाषणकला, बलियो वैचारिक क्षमता, वैरी विरुद्धको आक्रामक अभिव्यक्तिशैली, वर्गप्रेम तथा वर्गीय राजनीतिप्रतिको निष्ठापूर्ण प्रतिबद्धता उहाँका जीवनका परिचय हुन् । सायद यही परिचय नै दुश्मनका लागि ठुलो खतरा बन्नुभयो र उहाँलाई हामी बिचबाट सदाका लागि बेपत्ता पारियो ।

१५औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले (ललितपुर हात्तीवनमा सम्पन्न) कमाण्डस्तरीय प्रशिक्षणमार्फत योजना सम्प्रेषण गर्ने कार्यक्रम बनायो ।

पहिलो कार्यक्रम पश्चिम कमाण्डको दाङमा सम्पन्न गर्ने निश्चित भयो । केन्द्रीय कार्यालयको टिम प्रशिक्षणमा जाने भएकोले हामीसँगै पश्चिम जाने भयौँ । सोही योजना अनुसार म पुर्ण दाइसँगै उहाँको कोठाँ गए । त्यतिबेला उहाँ सोह्रखुट्टे बस्नुहुँदो रहेछ । आस्था भाउजु पनि काठमाडौँमा हुनुहुन्थ्यो । सोह्रखुट्टेको तल दक्षिणी भागमा त्यतिबेलासम्म खेतका गराहरु थिए । बिचमा भएका केही घरहरुमध्ये एउटा घरमा हामी पुग्यौँ, जहाँ उहाँको डेरा थियो ।

मेरो स्वास्थ्य त्यति राम्रो थिएन । पिनासले सताइरहेको थियो । संकटकाल, हिउँदको चिसो, कञ्चनपुरको अर्जुनी र बाइसेबिचुवाको जंगल तथा चुरेको फेदीको बासले मलाई पिनासले सताउन थालेको हो, जुन आजपर्यन्त दीर्घरोग बनेर बल्झिरहन्छ ।

बाजुरा मार्तडी, टाटे लगायत स्थानमा राष्ट्रिय सम्मेलनको प्रचार सकेर भाद्र २७ गते बझाङ सदरमुकाम चैनपुरको जनसभालाई सम्बोधन गरेर, कैलाली हुँदै राप्तीका प्रतिनिधिहरुसँग भेट गरी विराटनगर पुग्दा थुप्रै दौडधुप भएको थियो ।

विराटनगर सम्मेलनको अनिद्रा र थकान, काठमाडौँको चिसो वातावरणसम्म आउँदा स्वास्थ्य प्रतिकूल बन्न पुग्यो। पुर्ण दाइले पानी उमालेर वाफ लिन लाउनु भयो । तातोपानी पिउने सल्लाह दिनु भयो र पिनासको औषधि ल्याइदिनु भयो । त्यसले मेरो पश्चिम नेपालको यात्रामा सहजता थप्यो । अहिले पनि मलाई उहाँहरुको आतिथ्यता, कार्यकर्ताप्रतिको नेतृत्वको लगाव तथा अभिभावकीय भूमिकाले सँधै उद्वेलित बनाइरहन्छ ।

संगठनका अध्यक्ष क. देवेन्द्र पराजुली, महासचिव क. पुर्ण पौडेलसँगै हामी दाङ पुग्यौँ । दुई दिन हाम्रो बसाइ दाङमा भयो । जनमुक्ति सेनाको एउटा टुकडीले कार्यक्रमको सुरक्षा र व्यवस्थापनको जिम्मा लिएको थियो । संयोगले यो टुकडीको नेतृत्व दाजु क. संघर्षले गर्नुभएको थियो। पुर्ण दाइ र संघर्ष दाइको बिचमा मैले परिचय आदानप्रदान गराएँ । पुर्ण दाइले युद्धका अनुभवहरुबारे संघर्ष दाइसँग वार्तालाप गर्नुभयो ।

हामी कार्यक्रम सकेर लमहीसम्मका लागि सँगै निस्कने भनेर हिड्यौँ । साथमा पश्चिमतिरका सबै नेतृत्वका साथीहरु हुनुहुन्थ्यो । भेरी-कर्णाली क्षेत्रका संयोजक क. रामदीप आचार्य, सेती महाकाली क्षेत्रका संयोजक जनम बराल, ऋषि घिमिरे लगायतका कमरेडहरु ।

लमहीको माथिल्लो डाडाँ, जहाँबाट हामी विदाइका हात मिलायौँ । उहाँहरु पूर्व (उपत्यका) का लागि प्रस्थान गर्नुभयो भने हामी पश्चिमका लागि । देशमा राजनैतिक संकट नजिक देखिन्थ्यो किनकि प्रतिक्रियावादी शक्ति वार्तामा संविधानसभाको माओवादी प्रस्तावलाई लत्याउने र माओवादीलाई आत्मसमर्पण गराउने षडयन्त्रमा थिए ।

माओवादी भने शान्तिवार्ताको समयलाई सदुपयोग गर्दै देशव्यापी रुपमा चार तयारीको कामलाई अघि बढाएको थियो । हामी निकट प्रतिरोध युद्धमा आफूलाई तयार गर्ने योजना सम्प्रेषणमा लागेका थियौँ । किनभने जनयुद्धको थालनीदेखि विद्यार्थी संगठनलाई नै सबभन्दा बढी माओवादीको नाममा निशानामा लगाएका हामीले बिर्सने कुरा थिएन । हामी पचास प्रतिशत केन्द्रीय समितिले आगामी संघर्षमा बलिदान गर्ने सपथ लिइसकेका थियौँ । हामीले छुट्टिँदा को–कसलाई आगामी कोटा जिम्मामा आउँछ, तयार हुने भन्दै विदा भयौँ ।

क्रान्तिको मोर्चामा जाँदै गरेको विदाई आफैमा भावनात्मक नै हुन्छ । त्यसमा पनि काठमाडौँको मोर्चा सम्हाल्नु युद्धकालमा सामान्य कुरा थिएन । विदा हुँदा हामी सबै भावुक बन्यौँ । हेर्दा त्यति कठोर लाग्ने पुर्ण दाइ पनि पग्लिनु भयो ।

हामी छुट्टिएको ६ महिनापछि नै उहाँलाई हामी बिचबाट बेपत्ता पारियो, गायव पारियो । जब हामी विदाई हुँदाको त्यो समय र स्थान मेरो अगाडि आएर उभिन्छ, म आफूलाई सम्हाल्न सक्दिन ।

आजभन्दा ४ बर्ष पहिले पोखरामा पुर्ण दाइको सम्मानमा आयोजित समारोहमा त्यस्तै भयो । मैले जब विगत सम्झिएँ र सम्झिएँ आदरणीय दाइ पुर्णलाई, सम्हालिन सकिनँ । परिवारका सदस्यले पो सम्हाल्नु पर्ला जस्तो अवस्था आयो । पुर्ण दाइ, तपाई लगायत सम्पूर्ण शहीद तथा बेपत्ता योद्धालाई हार्दिक सम्मान तथा सलाम अपर्ण गर्दछु।

१८ वर्षको यो अन्तरालमा नेपालमा ठुला ठुला राजनैतिक परिवर्तनहरु भएका छन् । राजतन्त्र इतिहासको विषय बन्यो । माओवादी नेतृत्वमा सरकार बने तर अहँ उहाँलाई आज पनि बेपत्ताको सूचीमा राखेर खोज्नुपर्ने अवस्था छ ।

राजतन्त्रलाई गणतन्त्रमा र युद्धलाई शान्तिमा बदल्ने बेला जे सम्झौता भए, सम्झौताले बेपत्ता योद्धाहरुको अवस्था थाहा पाउन आयोग बनाइयो, त्यो अझै काममा छ ।

आजका दिनसम्म पनि आयोगको म्याद थप्दै गएको अवस्था छ, तर यथार्थ सार्वजनिक हुनसकेको छैन । राजनैतिक परिवर्तनपछि दुई दशकसम्म पनि बेपत्ताको अवस्था थाहा नहुनु कम पीडादायी कुरा होइन ।

पुर्ण दाइको आमा लगायत सम्पूर्ण आमा-बा र आफन्तजन, बेपत्ता योद्धाका जीवनसाथीले छातीमा फोटो टाँसेर कति संघर्ष गरे ? “कि सास, कि लास” चाहियो भनेर कति शक्ति केन्द्रको ढोका चाहरे अहँ केही पत्तो लागेन । पुर्ण पौडेलको बहिनी तेजकुमारी पौडेल विद्यार्थी आन्दोलन र व्यवस्थापिका संसदमा रहेर बेपत्ता खोजी अभियानमा निरन्तर लाग्नु भयो ।

क. दण्डपाणी न्यौपानेका श्रीमती क. शान्ता न्यौपाने व्यवस्थापिका संसदमा सदस्य रहेर बेपत्ताको खोजी गरिएर भनेर आवाज उठाउनु भयो । उहाँका छोरा क. गोपाल न्यौपानेले विद्यार्थी संगठनमा शहीद तथा बेपत्ता योद्धाका सन्ततिहरुको विभागीय नेतृत्त्व गरी बेपत्ता योद्धाको सार्वजनीकरणलाई आन्दोलनको विषय बनाइराख्नु भयो ।

क. ज्ञानेन्द्र त्रिपाठीको श्रीमती क. शर्मिला त्रिपाठी र क. विपिन भण्डारीको बुवा अधिवक्ता एकराज भण्डारी बेपत्ता परिवार समाजको क्रमशः अध्यक्ष भएर संघर्षको नेतृत्व गर्नुभयो । क. भण्डारीले अन्तरिम व्यवस्थापिकाको सदस्य भएर सदनमा पनि संघर्षको नेतृत्व गर्नुभयो । क. शर्मिला त्रिपाठी अहिले सेती महाकाली प्रदेशको प्रदेश प्रमुख हुनुहुन्छ । अब त आस मरिसक्यो भनिरहन्छन् बेपत्ता योद्धाका आमा-बा तथा आफन्तहरु ।

देशमा नयाँ संविधान निमार्ण भयो। वामपन्थी कम्युनिस्ट पार्टीलाई दुई तिहाइ जनमत प्राप्त भयो । तीन तहका सरकार कम्युनिस्ट पार्टीका छन् । शान्ति, विकास र सामाजिक न्याय सहितको समृद्धि कम्युनिस्ट पार्टी र सरकारको एजेन्डा हुन् ।

पार्टी, सरकार र नेतृत्व आज जुन स्थानमा छ, त्यसको मुख्य देन भनेकै जनयुद्ध र जनआन्दोलनका शहीद र बेपत्ता योद्धाहरुको हो र घाइते योद्धाहरुको हो भन्नेमा दुई मत छैन । हामीले विगतमा शहीद तथा बेपत्ता योद्धाहरुको योगदान र बलिदानलाई समाजमा स्थापित गर्न थुप्रै कामहरु गर्दैआएका छौँ । शहीद र बेपत्ताका नाममा पुस्तकालय निमार्ण, विभिन्न अतिरिक्त क्रियाकलाप, शहीद र बेपत्ता योद्धाहरुको संग्रह अजम्बरी हस्ताक्षरको प्रकाशन लगायतका काममार्फत नयाँ पुस्तामा समाज परिवर्तनको बाटोमा बलिदान र समपर्णको औचित्यलाई सम्प्रेषण गर्दै आइरहेका छौँ ।

परिर्वर्तित सन्दर्भमा एकीकृत भएको पार्टी र यसका भातृ संस्थाहरुले शहीद र बेपत्ताहरुको सम्मान र सम्झनामा समय खर्च गर्न कन्जुस्याईं नगरुन् । बेपत्ता योद्धाहरुको अवस्था जान्नका लागि बनेको आयोगको काममा तदारुकताका लागि खबरदारी गर्ने आफ्नो कार्यसूचीलाई नबिर्सिदिऊन् ।

मानवजातिको संघर्षमा सपना हराउनु वा सपनाको मृत्यु हुनु ज्यादै दर्दनाक कुरा हो । शहीद र बेपत्ता योद्धाहरुले देखेका सपना शोषण, विभेदरहित समाजको निमार्ण हो । शैक्षिक विभेदको अन्त्य र जनवादी शिक्षा प्रणालीको स्थापना हो । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानले शिक्षा, स्वास्थ्य र रोजगारलाई मानिसको मौलिक अधिकार मानेको छ ।

देशलाई समाजवादउन्मुख राज्य भनेको छ । यो त केवल ढोका खोलेको मात्र हो । संघर्षशील यात्रा र गन्तव्यका लागि अझै सपनाहरुको रक्षा गरिनुपर्दछ । साविक अनेरास्ववियु र साविक अखिल (क्रान्तिकारी) बाट एकीकृत भई बनेको अनेरास्ववियूका नेता–कार्यकर्ता साथीहरुलाई निवेदन गर्दछु ।

२०७७ बैसाख १३ गते
रुम क्वारेन्टाइन, तिनकुने, काठमाडौँ ।

(लेखक अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष तथा नेकपाका युवा नेता हुनुहन्छ ।)