जन्मँदा कोही मान्छे अमर भएर जन्मदैँनन् । जब उसले कर्म गर्न सुरु गर्छ, अनि उसले गर्ने कर्मले उसको सम्मान कायम गर्छ । त्यस्तै सम्झना आज हामी किसान नेताहरुलाई सम्झने दिन आएको छ, आज हामी सम्झदैछौँ । किसान नेता बलदेव राम, भीमदत्त पन्त र तुलसीलाल अमात्यको स्मृति दिवस एकै दिन परेको छ । महान कार्यमा सरिक नेताहरुको शहादत र निधन एकै दिन भएको छ ।
हरेक दिन हामी आफ्नो कर्म गर्नु पहिला उहाँहरुलाई सम्झन्छौँ । त्यति हुँदाहुँदै पनि आज झन् नस्मझी नहुने दिन भएकोले झन् धेरै सम्झदैछौँ । महान व्यक्तिहरुलाई दिवस नै पारेर सम्झनुपर्ने त होइन, तर दिवसको आफ्नै महत्त्व हुने भएकोले आज सम्झनु हाम्रो मानव धर्म पनि हो ।
बलदेव राम र भूमि अधिकार अन्दोलन
सप्तरी जिल्लामा जन्मनु भएको बलदेव राम आफैमा सिर्जनशील व्यक्ति हुनुहुथ्यो । सानो कद, फुर्तिलो शरीर, तेजिलो दिमाग, शान्त मन, एकछिन पनि आराम नगर्ने हात, एकछिन नथाक्ने ज्यान र सकारात्मक व्यवहार उहाँको आफूलाई चिनाउने आधार थियो । हेर्दा के गर्नु होला जस्तो देखिने उहाँको शरीर विचारसँग तुलना गर्न निकै कठीन थियो । शरीर हेर्दा कमजोर जस्तो देखिए पनि विचार बलवान थियो । त्यही विचारका कारण उहाँ हाम्रो तन-मनमा बस्न सफल हुनुभएको छ भन्दा फरक नर्पर्ला । पूर्वी तराईमा हुर्के-बढेको मान्छे भाषालाई खास प्रमुख मान्नु हुँदैन थियो । सबै भाषा संस्कार-संस्कृति उहाँका लागि महत्त्वपूर्ण थियो । अरुको भावनाको सम्मान र कदर गर्नु उहाँको विशेषता थियो ।
सिराहा-सप्तरीमा भएको ‘सिनो आन्दोलन’का मुख्य कर्ता बलदेव राम नै हुनुहुथ्यो । अन्याय, शोषण, दमन सहन नसक्ने बानी भएकै कारण आन्दोलनको नेतृत्व गर्न पुग्नुभएको हो । जुन समय ‘सिनो आन्दोलन’ चर्किएको थियो, त्यो समय साँच्चि बलदेव रामको जीवन ‘जीत भए आत्मसम्मान, हार भए आत्महत्या’ भन्ने दोसाँधमा बलदेवको जिन्दगी थियो । मृत्यु भएका गाई-गोरु फाल्ने काम चमार समुदायका मान्छेले नै गनुपर्ने हो भन्ने सामाजिक कुरीतिका कारण सफा नर्गने हो भने पूरा गाउँ नै दुर्गन्ध हुने, कसैले पनि आफ्ना घरमा मृत्यु भएका गाई-बस्तु आफै नफाल्ने र सबै त्यही समुदायको भर पर्ने चलन थियो ।
‘सिनो नफाल्ने’ घोषणा गरेसँगै बलदेवको समुदायका मान्छेहरुलाई खाने-पानीका धारा, इनार, बजारका पसलहरु र ऐँचोपैँचोसम्म बन्द गरिएको थियो । खासगरी यो अन्यायमा तराईका उपल्लो जातका मान्छेहरु संलगन थिए । सिनो नफाल्ने अडान कसेर आन्दोलनमा उत्रिनु बलदेव रामको आफ्नो बुद्धिमानी थियो । आन्दोलनमा विचार पुर्याएर योजना बनाउनु उहाँको सकारत्मक तरिका थियो ।
जुन समय ‘सिनो आन्दोलन’ चर्किएको थियो । त्यो समय बलदेवले घर घरमा गलेका सिनो फाल्न त्यो घरका उपल्लो जातका मान्छेलाई पनि अनुरोध गर्नुभयो, “आउनुस्, साँच्चिकै हाम्रो घर समाज सफा राख्ने हो भने तपाईंहरु एकातिर र म एकातिर उचालौँ, अनि मात्र यहाँ भएको दुर्गन्ध फाल्न सम्भावना हुन्छ, सँगै उचाल्दा के फरक पर्छ ?” सँगै उचालेर सिनो फाल्न पनि सम्भावना भयो । समाजमा शान्ति स्थापना गर्न यो रणनीतिले भूमिका निर्बाह गर्यो । “अब हामीले अन्याय गर्न हुँदैन, यदि अन्याय गर्यो भने अन्यायका विरुद्धमा लड्न अब हेपिएका समुदायका मान्छे सबै एक भए” भन्ने हेक्का उपल्लो जात भनिने समुदायमा पनि भयो ।
भूमि अधिकार आन्दोलनमा बलदेव रामको भूमिका साँच्चिकै न जोख्न सकिन्छ, न नाप्न सकिन्छ । उहाँले भूमिअधिकार आन्दोलमा पुर्याउनु भएको योगदान अति नै महत्त्वपूर्ण छ । हरेक व्यक्तिले आन्दोलनमा योगदान गरेको हुन्छ तर बलदेव रामको योगदान आफैमा मूल्यवान छ । पूर्वदेखि पश्चिमसम्मको गाउँ तहदेखि राष्ट्रिय तहसम्मको भूमिअधिकारबाट वञ्चितहरुको राष्ट्रिय संगठन गाउँ गाउँमा अगुवा क्रियाशील संगठन सवालगत आन्दोलन राजनीतिक दलहरुसँगको सुमधुर सम्बन्ध तार्किक उहाँको विचार आफैमा महत्त्वपूर्ण योगदान हो नभनी बस्नसक्ने अवस्था छैन । छरिएर बसेका गरिबहरुलाई गोलबन्द गर्नु आन्दोलनको माहोल खडा गर्नु आफैमा महत्त्वपूर्ण पाटो उहाँले उठान गर्नुभएको आन्दोलनको अनुसरण गर्दै आज भूमिअधिकार आन्दोलन देशव्यापी हुन सघाउ पुगेको छ ।
भूमिअधिकार आन्दोलनमा बलदेव रामले खेल्नुभएको भूमिकाको कदर गर्दै आज पनि हरेक अभियान गर्नुपूर्व हामी उहाँलाई नसम्झी बस्न सक्दैनौँ । हाम्रो मानसपटलमा सँधै बलदेव राम रहनु हुनेछ । भूमिअधिकार आन्दोलनले प्राप्त गर्ने हरेक सफलतासँग बलदेव रामको पसीना मिसिएको छ । त्यसैले हामी बलदेव रामलाई आफ्नो मुटुजस्तै सोच्छौँ ।
भीमदत्त पन्त र किसान संघर्षः
भीमदत्त पन्त डडेलधुराको कारीगाउँमा जन्मेका भीमदत्त पन्तले भारतको उत्तर प्रदेश सिँहाईबाट संस्कृत विषयमा हाईस्कुलसम्मको अध्ययन गर्नुभयो । पन्तलाई गीता र मार्क्सवादको राम्रो ज्ञान थियो । अध्ययनले उहाँलाई राजनीतितर्फ झुकाव बढ्यो । भीमदत्त सामन्ती संस्कारको अन्त्य गर्न आफ्नै घरबाट विद्रोह गर्ने व्यक्ति हुनुहुन्थ्यो । त्यसैले सामन्ती संस्कारको विरोधमा आफ्नै घरबाट विद्रोह सुरु गरे भीमदत्त पन्तले ।
अन्याय अत्याचार र सामाजिक विभेद सहन नसक्ने भीमदत्तले सामाजिक न्याय स्थापनाका लागि २००७ सालदेखि न्यायमुखी आन्दोलन सुरुवात गर्नुभयो । त्यसबेलाका सामन्तहरुले भीमदत्त काँग्रेस भन्ने गर्थे । कसैलाई भीमदत्त पन्तले कार्बाही गरेको खण्डमा “त्यो घरमा त काँग्रेस पो पसेछ” भन्न मान्छे चुक्दैनथिए । गरिब, भूमिहीन र दलित पछाडि परेका वर्गहरुलाई संगठित गरी राणाविरोधी आन्दोलनमा समेत भीमदत्त पन्तको अगुवाई रह्यो । २००७ सालको क्रान्तिपछि आएको परिर्वतन र काँग्रेसले गर्ने व्यवहार मन नपरेकै कारण राणासँग काँग्रेसले मिलेर बनाएको सरकारको विरुद्धमा घोर विरोध गर्नुभयो । आफ्नो होस्, अरुको होस्, मन नपरेको व्यवहारको विरोध गर्न चुक्नुभएन भीमदत्त पन्त । यही नै असल गुण थियो भीमदत्त पन्तको ।
परिर्वतकारी व्यवहार र सोच भएका भीमदत्तले मगर, थारु, दलित सम्मिलित मुक्ति सेना गठन गर्नुभयो । परिवतर्न आफैबाट मात्र सम्भव छ। भनेर आफ्नो भान्सामा दलितहरुलाई सहभागी गराउनुभयो ।
किसान माथि अन्याय गर्ने जमिन्दारहरुलाई कार्बाही गर्नुभयो । उनीहरुलाई सजायँ स्वरुप दलितको भान्सामा खान लगाए त्यस्तो व्यवहारबाट थाकेका जमिन्दारहरुले भीमदत्तलाई सजायँ स्वरुप “यो त पागल हो” भन्ने हल्ला मच्चाए तर सामान्तीहरुसँग हार्ने व्यवहार नभएका भीमदत्तले सामन्ती ठुला भनिएका जमिन्दारहरुसँग परिचय गर्दा आफ्नो नाम “पागल पन्त” भएको बताउन पछि पर्नुभएन । हठी स्भाव नै भीमदत्त पन्तको एउटा विशेषता थियो ।
भीमदत्त पन्त क्रान्ति गर्न र कार्बाही गर्न मात्र सीमित हुनुभएन । “गरिबहरु संगठित हुनुपर्छ, एक्लै भएर त जमिन्दारको हेपाई खानुबाहेक केही हुँदैन । आफूले खाने अन्न फाल्न हुँदैन । कृषि उत्पादन गर्न सबै लाग्नुपर्छ । अनावश्यक खर्च गर्न हुँदैन । अनावश्यक हुने खर्च घटाएन भने जीवनमा परिर्वतन आउन निकै कठीन हुन्छ । प्रकृती बीग्रने काम कसैलेपनी गर्नु हुदैनन् नत्र प्रकृतिले सराप दियो भने मानवजाति यो पृथ्वीमा रहन गाह्रो पर्छ ।”
“कि त जोत हलो, कि त छोड थलो, यदि होइन भने अब छैन भलो” भन्ने मूल नारा बनाएर जोताहा भूमिहीन दलित किसानहरुको पक्षमा वकालत गर्नुभयो । आफ्नो बाबुलाई तपाईं पनि सामन्त हो भनेर घरमा भएको सम्पूर्ण तमसुक बोरामा राखेर जलाइदिनुभयो । बैंक कब्जा गरेर सेनालाई तलब बाँडिदिनुभयो । बचेको पैसा कमैया, हलिया र दलित किसानलाई सहयोग गर्नुभयो ।
“बम्बईमा जाने रेलगाडी, दिल्लीको माल आयो, गरिबको दीन आयो, ठालु जमीनदारको काल आयो” भीमदत्त पन्तको सारै चर्चित गीत थियो । यसबाट बुझ्न सकिन्छ कि देश र समाज स्वतन्त्र बनाउन गरिबहरुलाई जमिन्दारको पन्जाबाट मुक्ति गराउने अभियानमा भीमदत्त पन्त कति धेरै कटीबद्ध भएर लाग्नुभएको थियो ।
भीमदत्त पन्तले गरिबहरुको पक्षमा गरेको काम त्यतिबेलाको ठालु जमिन्दारको आँखामा तारो बनेको थियो । त्यसमाथि दलितहरुको घरमा खाने बस्ने र तमसुक जलाउने ठालु जमिन्दारलाई कार्बाही गर्ने व्यवहारले उहाँका विरोधी ह्वातै बढेका थिए । यस्तो व्यवहारका कारण जमिन्दारहरुले कैयौँ पटक भीमदत्तको विरुद्धमा झुठ्ठा रिर्पोट पठाए । चन्दा उठाएर भीमदत्तलाई मार्न सेना तयार गरे । सरकारले भीमदत्तलाई कैयौँ पटक जेल हाल्यो । त्यतिगर्दा पनि भीमदत्त पन्त नगलेपछि भारतीय सेना बोलाएर उहाँको हत्या गरियो । हत्यापछि उहाँको श्रीमती काजकिरियाका लागि टाउको माग्न जाँदा नदिएर काजकिरिया गर्न गाउँमा बाहुनसम्म नपाएपछि उहाँको श्रीमती र भाइहरु मिलेर हरिद्वार गई काजकिरिया गर्न पर्यो । अन्तमा देश र गरिब नागरिकको मुक्तिमा लागेका भीमदत्त पन्त बिलीन हुनुभयो तर हाम्रो सम्झनामा अहिले पनि ताजै हुनुहुन्छ ।
तुलसीलाल अमात्य र किसान आन्दोलन
तुलसीलाल अमात्य जन्म १९१६ मे महिना ललितपुर जिल्लाको कवाबहाल टोलमा जन्म भएको थियो । जन्मँदा को कहाँ जन्मन्छ भन्ने कुराले खास अर्थ राख्दैनन् । तर उसले गर्ने कर्म सुरु भएपछि खास के कर्म गर्छ । असल कर्मकी खराब कर्म भन्ने कुराले खास अर्थ राख्छ । असल कर्म गरेकै कारण किसानको हकहित आफ्नो जीवन सर्मपित गरेकै कारण हामी हाम्रा किसान नेताहरुलाई सम्झन्छौँ भन्ने कुरामा दुई मत छैनन् ।
सन् १९३३ देखि राजनीतिमा सक्रिय हुनुभएका तुलसीलाल भारत स्वतन्त्र भएको खुसीयालीमा १९४७ अगस्टमा पाटनमा भएको जुलुसको नेतुत्व गर्दा पहिलोपटक ६ महिना जेल पर्नुभएको थियो । जेल जीवनलाई उहाँले महत्त्वपूर्ण तरिकाले बिताउनु भयो भन्छन् नजिकबाट उहाँसँग संगत गर्नेहरु । जेलमा अध्ययन गर्नुभयो । त्यही अध्यननका कारणर उहाँ जेलबाट बाहिर आउँदा परिपक्क राजनीति गर्नसक्ने सुझबुझपूर्ण निर्णय लिनसक्ने व्यक्तिको रुपमा खारिएर बाहिर आउनुभएको थियो, जसले कृयाशील राजनीतिमा अगाडि बढ्न मद्दत पुर्यायो ।
२०१५ सालको निर्वाचनमा ललितपुर जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भई नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको नेतामा निर्वाचित हुनुभयो । संसदको यात्रा सुरु भएपछि उहाँले पार्टी र सरकारको पाइला सँगसँगै हिडाउन आफूले सक्ने भूमिका निर्बाह गर्न कुनै कसर बाँकी राख्नु भएन भन्छन् उहाँलाई नजिकबाट चिनेजानेका व्यक्तिहरुले तर पुष्पलााल र उहाँको धार फरक भएको कारण जति सकारात्मक भूमिका संसदमा निर्बाह गर्दा पनि “यो मान्छे ठिक छैन, यसले गरेको काममा हामी ढुक्क भएर लाग्न हुँदैन” भन्नेहरु पनि कम थिएनन् रे ।
१९४५ मा नेपाल-मजदुर किसान संगठन निर्माण गरेर संस्थापक अध्यक्ष बन्नु भयो । त्यसपश्चात उहाँको पूरा समय किसान हकहितमा र्खचिनुभएको देखिन्छ । उहाँको एउटा मान्यता देखिन्छ कि किसानको सम्मान र किसानको जीवनमा परिर्वतन नआएसम्म देशमा परिर्वतन आएर खास फरक पर्दैन किनकि एक दिन पनि किसानले उत्पादन गरेनन् भने कैयौँ मान्छे भोकै बस्नुपर्छ भन्ने हेक्का समुदायसम्म तुलसीलालले पुर्याउनु भएको थियो । त्यसैले किसानहरुको जीवनमा परिर्वतन आउनु नै देशमा परिर्वतन आउनु हो भन्नुहुन्थ्यो तुलसीलाल । किसानहरुप्रति उहाँले देखाउनुभएको उच्च सम्मान नै हाम्रा लागि महत्त्वपूर्ण बाटो हो ।
“इतिहास फर्केर आउँदैन तर वर्तमानमा यसलाई सिकाइको रुपमा प्रयोगमा ल्याउन सकिन्छ । विचार गरौँ । जसलाई हामी भोली भन्छौँ, त्यसलाई हामीले भट्टाउँदा आज भएको हुन्छ । कुनै विषयलाई राम्रो भन्नका लागि त्यो मान्छेले समुदायको हितमा खास राम्रो काम के गरेको हुन्छ । उसको त्यस समयको वर्तमान र नागरिकहरुको सुनौलो भविष्य निर्माणका लागि उसको भूमिका के हुन्छ ? त्यसैले उसको परिचय दिन्छ । होइन भने सबै यहीँका नागरिक हुन् । यो वा त्यो किन गरे भन्ने ठाँउ रहँदैन ।” तुलसीलालका यस्तो महत्वपूर्ण विचार थियो । यही विचारबाट हामी अहिले पनि निर्देशित छौँ ।
अन्त्यमा,
आज मात्र होइन हरेक दिन हामी हाम्रा किसान नेता बलदेव राम, भीमदत्त पन्त र तुलसीलाल अमात्यलाई सम्झन्छौँ । हामी किसान आन्दोलमा लागेका मान्छेहरुका हिजोको मुख्य धरोहर भनेको उहाँहरु नै हो । त्यसैले हाम्रो अभियानसँगै दिनदिनै सम्झनेसँगै आज तीनै जना नेतागणहरुको स्मृति दिवस परेकोले आज हामी खास विशेष तरिकाले सम्झँदैछौँ । यसरी सम्झनु हाम्रो कर्तव्य पनि हो । तीनै जना नेताहरुप्रति हार्दिक श्रद्धासुमन ।
(लेखक राष्ट्रिय भूमिअधिकार मञ्चका अध्यक्ष हुनुहुन्छ ।)
यी पनि पढ्नुहोस्ः
क. भीमदत्त पन्त र सशस्त्र किसान विद्रोहः क. चित्रबहादुर श्रेष्ठ