क. राम प्रसाद बन्जाडे 'टंकमणि', ram prasad banjade tankamani
 

व्यवहार र जीवन भोगाइमा ३० वर्षजस्तो लाग्ने समय । हजुर नभएको पनि साल गन्दा आज तीन वर्ष भएछ । हजुरका ती संघर्षका कथाहरू न त भनेर नै साध्य छन्, न त लेखेर नै । हजुरको त्यो सामाजिक सेवामा समर्पित जीवन कतिसम्म सफल भयो, त्यो कुरा त समाजले नै हेरेको छ। हामीले त्यसमा नयाँ पालिस लगाउने पर्ने आवश्यकता नै छैन ।

कमरेड टंकमणि (रामप्रसाद बन्जाडे) त्यो नाम हो, जसले अन्यायका विरुद्ध लड्न सबैलाई हिम्मत दिलायो । असम्भव भन्ने शब्दलाई सम्भवमा परिणत बनायो । ठुलो-सानो सबैलाई समान दृष्टिकोणबाट हेर्‍यो । कसैसँग झुक्न नजान्ने टंकमणि, नझुकेरै अस्तायो । हात फैलाउन नजानेको टंकमणि, हात उठाएरै गयो । आखिर त्यो उठेको हात, उठेरै नै अस्तायो । राजनीतिमा टंकमणिको निधनले अभाव महसुस गरायो वा गराएन, त्यो बेग्लै पाटो हो तर टंकमणिले आफ्नो सारा उर्जाशील समय राजनीतिलाई नै दिएको भने पक्का हो । किशोर अवस्थादेखि युवा हुँदै वयस्कसम्म राजनीतिमा समर्पित जीवन आखिरमा राजीनितिक दलको कार्यक्रम गरेर घर फर्कँदा नै, पार्टीकै नाममा समर्पित भयो ।

आज लाग्छ, के राजिनीति केही पाउनका लागि मात्र गरिने सेवा हो र ? आखिर सेवाको नाम दिइसकेपछि त्यसबाट फलको आस किन राख्नू ? आज पनि टंकमणिजस्ता हजारौँ मान्छे छन्, जो आफूलाई नेता भन्न रुचाउँदैनन् । र, केवल कुर्चीको राजिनितीमा बसिरहन्नन् पनि । टंकमणिको यही विचारले उहाँलाई सबैसामु शिर उठाएर बाँच्न सिकाएको थियो ।

खुश्बु भण्डारी बन्जाडे, Khushbu Bhandari banjade
लेखक

२०४८ सालदेखि पूर्णकालीन र २०५२ सालदेखि भूमिगत रहनुभएका क. टंकमणिले विद्यार्थीकालदेखि नै आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको हो । “चाहे व्यावहारिक होस् या औपचारिक रूपमा, शिक्षा भनेको शिक्षा नै हो, ग्रहण गर्न पाउनु सबैको अधिकार हो” भन्ने शिक्षाप्रेमी सोच थियो उहाँको ।

१० वर्षे जनयुद्धमा सबैभन्दा खतरनाक मानिएको हतियार सप्लाईको मोर्चा समाल्नुभएका क. टंकमणिले भारतका विभिन्न ठाउँमा गएर आफ्नै नेतृत्वमा सब काम गर्नुहुन्थ्यो । जस्तोसुकै अप्ठयारो काम गरे पनि त्योबेला पनि नेतृत्वको सम्मुन्ने राम्रो र नजिक बन्न सक्नुभएन वा बन्नुभएन । ती हतियारका बलमा पार्टीले १० वर्षे जनयुद्ध समाल्यो तर कदर कहिल्यै गरेन । एकपटक मैले उहाँको मुखबाट सुनेको – कुनै नयाँ खालको हतियारको मोर्चाले माग गरेको रहेछ र त्यो उहाँले ल्याउनु पनि भएछ। समय र परिस्थितिले गर्दा केही समय जमिनमुनि गाड्नुपर्ने भएछ । त्यो गाड्दा हतियारको रङ्ग गएको थियो तर तिनको कर्यक्षमतामा कमी भने थिएन । तर नेतृत्वले त्यसलाई चेक नगरी उहाँलाई अविश्वास गरेछ र पछि कुनै नेताको सल्लाहमा त्यो हतियार चेक भएछ । अनि थाहा भएछ कि त्यो भन्दा बेस्ट हतियार त जनमुक्ति सेनाले कहिल्यै देखेको नै थिएन । यो कुराले अहिले पनि मलाई झक्झकाइरहन्छ । के कुनै चिजको मुल्याङ्कन बाहिरी आवरण हेरेर मात्र गर्ने हो कि त्यसको कार्यक्षमतालाई ।

उहाँको स्वभाव जहिले पनि सकारात्मक थियो । कुनै कुरालाई पनि नकारात्मक कोणबाट हेर्ने गर्नु हुँदैन्थ्यो । त्यही भएर पनि उहाँमा कुनै लालसा थिएन । यो चिज नभए हजारौँ चिज छन् । आखिर फेरि नयाँ किन नगर्ने भन्ने हुटहुटी सँधै उहाँमा छाइरहन्थ्यो । उहाँको त्यो हुटहुटीले कहिल्यै घरमा बस्न दिएन । कहिले पूर्व त कहिले पश्चिम धाइरहने बानीले कुनै कुरामा असफलता मिले पनि सामाजिक रूपमा भने धेरै सफलता पाउनु भएको थियो ।

उहाँको मृत्यूले पार्टीले एउटा निडर, साहसी र कर्मठ सिपाही गुमायो । परिवारले एउटा अभिभावक गुमायो । समाजले एउटा असल समाजसेवी गुमायो । तर ऊ सँधै गुमनाम नै रह्यो । हिजोका ती इतिहास कल्पनामा नै सीमित रह्यो । आजले हिजोलाई भुल्दैछ। हिजोका ती संघर्षका कथाहरू एउटा पानामा सीमित बन्दै गए ।

आखिरमा प्रश्न आउने रहेछ – राजनीतिक सफलता भनेको के ? सामाजिक सफलतालाई सफल मान्ने कि व्यक्तिगत ? व्यक्तिगत रूपमा उहाँ सफल नभए पनि सामाजिक रूपमा सफल रहनुभयो । भोकाको गास बन्नुभयो, नाङ्गाको कपास बन्नुभयो, निरासको आस बन्नुभयो । आज पनि मलाई सयौँ फोन कलले ‘दाइले यस्तो गर्नुभएको थियो, उस्तो गर्नु भएको थियो’ भनेर आवाज सुनाई रहन्छन् ।

हजारौँको भिडमा आफूलाई छुट्टैभन्दा पनि त्यही भिडमा हराउन चाहने नाम हो – टंकमणि । त्यो भिडले सँधै पछ्याउँदा कतिबेला नेता बन्नुभयो, आफैले थाहा पाउनुभएन । नेताको भन्दा पनि कार्यकर्ताको प्रिय कमरेड टंकमणि कार्यकर्ताको मनलाई भित्रदेखि चिन्न सफल हुनुहुन्थ्यो । जहिले पनि जोखिमपूर्ण काम गर्न रुचाउने टंकमणि जनयुद्धको रियल हिरो हुनुहुन्थ्यो । जसले जेसुकै भनोस्, तर उहाँ बिना जनयुद्ध अधुरो थियो, अपूरो थियो ।

आखिर के सिक्ने कमरेड टंकमणिबाट ?

राजनीति व्यक्तिगत सफलताका लागि गरिने कुनै फाइदाजनक पेसा वा व्यवसाय होइन । हरेक निराशाको पछाडि एउटा नयाँ आशा लुकेको हुन्छ । काम सानो या ठुलो हुँदैन । हरेक व्यक्ति आफू नै ठुलो हो, कसैसँग झुक्नु वा डराउनु हुँदैन । सहिदका सपनालाई पूरा गर्नुको साथै सहिद परिवारको पनि हामीले विशेष ख्याल गर्नुपर्छ। यही भन्नुहुन्थ्यो कमरेड टंकमणि ।

राम प्रसाद बन्जाडे टंकमणि, ram prasad banjade tankamani with family.
परिवारका साथमा क. रामप्रसाद बन्जाडे ‘टंकमणि’

२०२३ साल फागुन १९ गते आमा पम्फादेवी र बुवा चोपनारायण बन्जाडेका छैटौँ सन्तानका रूपमा अर्घाखाँची जिल्ला साबिकको धारापानी गाविस वडा नं. २ साना औवालमा जन्मनुभएका क. रामप्रसाद बन्जाडे (टंकमणि) ले माध्यमिक तहको शिक्षा आर्जन जनज्योति माध्यामिक विद्यालय सन्धिखर्क र प्रमाणपत्र तह पाल्पाबाट, अनि स्नातक तहको अध्ययन बुटवल बहुमुखी क्याम्पसबाट गर्नुभएको थियो। २०७९ मङ्सिर ८ गते निधन हुनुभएका क. टंकमणि नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा तत्कालीन रुपन्देही जिल्लाको इन्चार्ज हुनुहुन्थ्यो ।

आज मङ्सिर ८ गते हाम्रो परिवारको कालो दिन हो । तर म लगायत हामो परिवारका साथै हाम्रो सहिद स्मृति प्रतिष्ठानले यस दिनलाई कालो दिनको रूपमा नमनाई एउटा गौरवशाली इतिहासको रूपमा मनाउने प्रण गरेका छौँ । उहाँले देखेका हरेक सपनालाई पूरा गर्ने बाचा गर्दछौँ । त्यसका साथ साथै हरेक सहिदका सपनाहरूलाई पूरा गर्ने प्रयास हाम्रो संस्थाले गर्नेछ। यस कार्यमा केन्द्रदेखि जिल्ला पार्टीले पनि हाम्रो साथ र सहयोग गर्नेछ भन्ने विश्वास गर्दछौँ ।

(लेखक क. रामप्रसाद बन्जाडेकी जीवन संगिनी तथा नेकपा (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश कमिटी सदस्य हुनुहुन्छ – सं. ।)

र, यी पनि पढ्नुहोस्ः

कहिल्यै नफर्किने गरी बेपत्ता भएका हाम्रा बा – क. दीपा सापकोटा ‘एकता’

कस्तो हुन्छ मुटु टुक्रिएको बेला संवेदनाको त्यो घडी – क. चुनु गरुङ