Helen Bolek, leftist Yoram Band, Turtkey
 

प्रिय कमरेड हेलेन बोलेक,
हार्दिक श्रद्धासुमन ।

सहर बन्द छ । गाउँ सुनसान छ । चैत्रको हावा हजारौँ यादहरु बोकेर हुरहुर उडिरहेको छ । यो हावालाई लकडाउनको कुनै प्रभाव छैन । न त विश्वभरी उधुम मच्चाइरहेको कोरोना भाइरससँग नै यो हावाको कुनै लिनिदिनु छ ।

म इस्तानबुलदेखि धेरै टाढा छु । यहाँ त्यहाँको जस्तो घनाबस्ती छैन । आकाश भने उस्तै छ, निखुर नीलो । सायद पालुवाहरु पनि उस्तै छन्‌, कलिला र जीवनप्रतिको प्रेमले फुरफुर गरिरहेका । सिमानालाई उल्लु बनाउँदै उड्ने चैते हुरीले एउटा खबर इस्तानबुलबाट यो सानो बस्तीसम्म ल्याएको छ । भर्खरै पालुवा फेरेको मेलको रुखतर्फ हेर्छु, त्यसको हाँगामा बसेर ढिकुर कराउँदैछ । मानौँ शोकगीत गाइरहेको छ ।

प्रिय कमरेड,

तपाईंको मृत्युको खबरले आहत बनाएको छ । तपाईंसँग कहिल्यै भेट भएन, कुराकानी भएन र पनि खबर सुनेर मन अमिलिएको छ । अठ्ठाइस वर्षको कलिलो उमेरमा तपाईंले आफ्नो अमूल्य जीवन एउटा लक्ष्यका निमित्त बलिदान गर्नुभयो । तपाईंप्रति हार्दिक श्रद्धाका सुमन स्वरुप शव्दगुच्छाहरु समर्पण गर्दछु ।

‘युरोपको बिरामी’ भनेर चिनिने देश टर्कीको जन्म पहिलो विश्वयुद्धपछि सन् १९२३ मा भयो । राजनीतिक अस्थिरतामा रुमलिएको टर्कीमा सन् १९८० मा सैनिक ‘कू’ भयो । बोल्न-लेख्नमा कडाइ गरियो । नाटकघरहरु बन्द भए । गीतहरु घन्किन छाडे । लेख्ने, बोल्ने र गाउने मानिसहरु जेलमा बन्दी बनाइए ।

chhabi subedi, dailekh
लेखक

सन् १९८५ को एक दिन विश्वविद्यालयको सानो कोठामा ४ जना विद्यार्थीले गीत गाएको सुनियो । अँध्यारो मौनता चिरेर गीत घन्किँदा सुन्नेहरु डराए । अँध्यारोप्रति असहमति जाहेर गर्ने उक्त चार जनाको समूहले एउटा संगीत समूहको निर्माण गर्‍यो । समूहको नाम थियो – “योरम समूह” । यो समूह पिर सुल्तान तथा नाजिम हिक्मत जस्ता हिम्मतिला तुर्केली कविहरुलाई आफ्ना आदर्श ठान्थ्यो ।

वर्गविभाजित समाजमा केही पनि तटस्थ हुँदैन । उक्त समाजको हरेक चीजमा राजनीति हुन्छ । संगीतमा राजनीति नहुने कुरै भएन । ‘योरम समूह’माथि छिटै निरंकुश राज्यको नजर पर्‍यो । टर्कीमा सन् १९५५ देखि नै अमेरिकी सेना छ । योरम समूहलाई सत्ताले आफ्ना नागरिकहरुको मुखमा ताल्चा लगाएको हर्कत पटक्कै मन परेको थिएन ।

त्यसैगरी अमेरिकी सेनाले टर्कीको सम्पत्तिको दोहन गरेकोमा पनि समूहको चित्त दुखेको थियो । यो समूहका गीतहरु जनताद्वारा औधी रुचाइए । गीतमा टर्कीका जनताले आफ्नै आवाज भेटे । सत्ताले जनता भड्किने डरले योरम संगीत समूहमाथि धरपकड सुरु गर्‍यो । हतियार र कानुनको डण्डाले लोकगीतको गला रोक्न सकेन । गीतहरु झन्‌पछि झन्‌ बुलन्द बन्दै घन्किन थाले ।

कमरेड हेलेन,

तपाईं म जन्मेको सात वर्षपछि मात्र एक कुर्दिश परिवारमा जन्मिनु भयो । तपाईंको परिवार दियार्बकिर भन्ने सहरबाट इस्तानबुलमा सर्‍यो । दियार्बकिर कुर्दिशहरुको बाहुल्यता भएको सहर हो । सैनिक सत्ताले कुर्दिशहरुको भाषा खोस्यो । गाउँहरु जलाइदियो । दियार्बकिरका कुर्दिशहरुले सन्त्रासमा जिउनु पर्‍यो । तपाइको मस्तिष्कमा पनि त्यो विभत्स दमनले विस्तारै चिमोट्न सुरु गर्‍यो ।

योरम टर्कीमा मात्र नभएर यसको वरपर युरोप र एसियाका केही देशहरुमा लोकप्रिय भयो । समूहले इस्तानबुलको ओकमेदानीमा इदिल सांस्कृतिक केन्द्र खोल्यो । फासीवादका विरुद्ध आमरण अनसनको क्रममा सन् १९९६ मा मृत्युवरण गरेकी एयसे इदिल इर्कमेनको नाममा उक्त केन्द्रको नामाकरण गरिएको थियो ।

अमेरिका र टर्कीले आतंकवादी घोषणा गरेको क्रान्तिकारी जनमुक्ति पार्टीसँग सम्बन्ध भएको आरोपमा सन् २०१५ मा टर्की सरकारले योरम संगीत समूहमाथि प्रतिबन्ध लगायो । कलाकारहरुलाई धमाधम गिरफ्तार गर्‍यो । इदिल केन्द्रमा आक्रमण गर्‍यो । बाजाहरु भाँचिदियो । पुस्तकहरु फालिदियो । गीत गाउने गायकहरुलाई आतंककारीको बिल्ला भिराइदियो ।

सरकार कठोर बन्दै जाँदा न्याय र स्वतन्त्रताका पक्षपाती युवाहरुको समूहप्रतिको लगाव घटेन । दमनको कालो बादलले इस्तानबुलको आकाश ढाकिँदै गएको बेला तपाईंले आफूलाई रोक्न सक्नुभएन । जनताको गीत घन्काउदै देश विदेशका विभिन्न ठाउँहरुमा जानुभयो ।

टर्कीमा मात्र होइन, ग्रीसमा पनि तपाईंको ख्याति बढ्यो । तपाईंले स्वतन्त्रता, समानता र सामाजिक न्यायका निमित्त गाउनुभयो। विदेशी हस्तक्षेपका विरुद्ध गाउनुभयो । गाउँदा गाउँदै सरकारले झण्डै दुई वर्षअघि तपाईंलाई गिरफ्तार गर्‍यो । जेलमा पनि यातना दिने अभियान नै सरकारले चलायो । अमानवीय यातनाका विरुद्ध तपाईंलगायत केही साथीहरू जेलभित्रै अनसन बस्नुभयो । तपाईंहरुमाथि आतंकवादी संगठन बनाएर राज्य विरुद्ध विद्रोहको योजना बनाएको अभियोग लगाइएको थियो ।

विश्वभरका लेखक, कलाकार, बुद्धिजीवीहरु, मानव अधिकारवादीहरुले तपाईंहरुको रिहाइका लागि टर्कीको सरकारसँग माग गरे । वकिलहरुको समूह रिहाइको माग गर्दै अनसनमा बस्यो । गएको नोभेम्बर १९ मा तपाईंहरुलाई रिहा गरियो । तर योरम समूहमाथि लगाइएको प्रतिबन्ध नहटाएसम्मका लागि तपाईंहरुको अनसन जारी राख्ने निश्चय गर्नुभयो । स्वास्थ्य एकदमै बिग्रन थालेपछि मार्च ११ मा तपाईं र इब्राहिम गोचेकलाई प्रहरीले अस्पताल लग्यो । तर तपाईंहरुले आफ्ना मागहरु पूरा नभएसम्म उपचार स्वीकार नगर्ने भनी अडान लिएपछि पुनः घर फिर्ता गरियो ।

प्रिय कमरेड,

महिनौँको भोको पेट कति कष्टपूर्ण भयो होला ? तपाईंका एकजना साथी मुस्तफा कोसाकले अनसनको २५० दिनमा भनेका थिए, “बितेका यी दिनहरुले मलाई धेरै सिकाएका छन् । प्रतिरोधका कठिनाइँ र व्यथा पनि मैले भोगेको छु । जिउनु कति सुन्दर कुरा छ । म मर्न चाहन्नँ । म यो अन्याय चाँडो खत्तम भएको हेर्न चाहन्छु । मलाई बचाउनुहोस् ।”

तपाईंकी आमा यतिबेला सबैभन्दा धेरै दुःखी हुनुहोला । उहाँले केही समय पहिला भन्नुभएको थियो, “छोरीका स्नायुहरु सुन्निएका छन् । पीडाले ऊ निदाउन सक्दिन । म मेरी छोरीलाई पुनः स्टेजमा उभिएर जनताका गीत गाएको हेर्न चाहन्छु । म मेरो बच्चा मरिरहेको हेर्न सक्दिन । यस्तो राम्रो मान्छेले स्टेजमा उभिएर गीत गाएको मन पराउदैनौ ? मेरा यी शब्द सुन्नेहरु कृपया केही गरिदिनुहोस् ।”

तर टर्कीको सरकारले कसैको सुनेन । ऊ तपाईंको आवाजसँग अचम्मै डराएको थियो । तपाईंहरुले गाउने लोकगीत सरकारका लागि कोरोना भाइरसको आतंकभन्दा अझ डरलाग्दो थियो । सरकारले तपाईंको दारुण मृत्यु पर्खिरह्यो । आमरण अनसनको २८८औँ दिन अर्थात् यही अप्रिल ३ तारिखको शुक्रबार तपाईंको जीवनको अन्तिम दिन बन्यो ।

प्रिय कमरेड हेलेन,

तपाईंको मृत्यु मानवता र स्वतन्त्रताको निमित्त समर्पित छ । म नीलो आकाशको गहिराइमा तपाईंको गीत सुनिरहेको छु । आम जनताको गीतलाई मार्ने कुनै कानुन र हतियार यो बूढो र बहुलठ्ठी पुँजीवादसँग छैन ।

अलविदा कमरेड हेलेन ! हामी विश्वभरीका भुइँमान्छेहरु तपाईंलाई सदा सम्झिरहनेछौँ ।

उही
छवि सुवेदी
दैलेख, नेपाल

(लेखक नेकपाका युवा नेता हुनुहुन्छ।)