दर्शन र समाजवादी अपरिहार्यता, philosophy and socialist essence
 

वैज्ञानिक समाजवाद इतिहासको वस्तुगत आवश्यकता तथा अनिवार्यता हो भनेर बुझ्न समाजको इतिहासलाई द्वन्द्ववादी तरिकाले हेर्नुपर्छ । यो संसार नै द्वन्द्वमय छ । परस्पर विरोधी तत्त्वको एकता र सङ्घर्षले नै संसारको विकासक्रमलाई अगाडि बढाएको छ । त्यो समाज र प्रकृति दुवैमा लागु हुन्छ । हामी समाजलाई द्वन्द्ववादी ढङ्गले हेर्न सक्तैनौँ भने त्यसलाई परिवर्तन पनि गर्न सक्तैनौँ । द्वन्द्ववादवादले हरेक वस्तुलाई अन्तर्विरोधी दृष्टिकोणबाट हेर्दछ, सकारात्मक र नकारात्मक जोडेर हेर्दछ । यसको काम हेर्ने मात्र होइन, त्यसलाई फेर्ने पनि हो । फैर्नु भनेको समाजविकासका क्रममा वस्तुगत परिस्थितिअनुसार राजनीतिलाई व्यावहारिक रूप दिएर लागु गरी त्यस क्रमलाई गति दिनु हो। आजसम्मको र भोलि पनि हुँदै जाने अनन्त विकासको प्रक्रियाको इतिहास यही द्वन्द्ववादी तरिकाबाट भएको छ र हुनेछ ।

समाज विकासको प्रक्रियामा द्वन्द्ववादलाई हेर्नु भनेको वर्गसङ्घर्षको इतिहासलाई हेर्नु हो। प्रकृतिमा पनि द्वन्द्व हुन्छ। प्रकृतिका हरेक वस्तुभित्र रहेको द्वन्द्वात्मक विशिष्टतालाई बुझ्न सकेकाले नै विज्ञानको विकास भएको हो। द्वन्द्ववादलाई सामाजिक जीवनमा लागु गर्दा वर्गहरू, वर्गसङ्घर्ष, दुई विपरीत वर्गहरूका बिच एकता र सङ्घर्ष, त्यसमा पनि ह्रासोन्मुख वर्ग र विकासशील वर्ग आदिका रूपमा हेर्नुपर्छ । द्वन्द्ववादको विशेषता पुरानोको अनिवार्य ह्रास र नयाँको विकासको नियम हो । द्वन्द्ववादी तथा परिवर्तनकारी तत्त्वहरूले शक्तिशाली देखिए तापनि ह्रासोन्मुख वर्गको होइन, विकासशील वर्गको पक्षलाई राजनीतिको मुख्य आधार बनाउँछन् र यसैबाट क्रान्तिकारी परिवर्तन ल्याउँछन्। यो निरन्तर चलिरहने क्रम हो । त्यसैले द्वन्द्ववादीले हरेक चीजलाई गतिशील र परिवर्तनको रूपमा हेर्छ। उनीहरूले परिवर्तन मात्रात्मकबाट गुणात्मक रूपमा विकास हुन्छ भन्ने कुरामा जोड दिँदै विरोधी वर्गहरूका बिचको एकता र सङ्घर्षमा एकतालाई सापेक्षित रूपमा र सङ्घर्षलाई निरपेक्ष रूपमा लिन्छन् । त्यसैले परिवर्तनमा गुणात्मकतालाई र एकता र सङ्घर्षमा सङ्घर्षलाई प्राथमिकता दिन्छन् । यसरी गुणात्मक पक्ष र सङ्घर्षलाई प्राथमिकता दिनु भनेको मात्रालाई र सापेक्षित रूपको एकतालाई बिलकुल नकार्नु भनेको होइन, यसबाट द्वन्द्ववादमा होइन, अधिभूतवादी दिशामा फसिन्छ ।

bhakta bahadur shrestha, भक्तबहादुर श्रेष्ठ, शेर सिह
लेखक

यसरी मात्रा र गुणमा परिवर्तन हुँदै, एकता र सङ्घर्षको प्रक्रिया हुँदै सङ्घर्षको विकासको प्रक्रियाले आजसम्मको स्थिति साम्राज्यवादी पुँजीवाद र समाजवादका बिचको वर्गसङ्घर्षको स्थितिमा आइपुगेका छौँ । यस युगमा समाजवादी र पुँजीवादी दुई वर्गका बिच पटकपटक तीव्र द्वन्द्व चलिरहेको छ, तापनि यो युग वस्तुगत आधारले साम्राज्यवादी पुँजीवादको अनिवार्य पतन र सर्वहारा वैज्ञानिक समाजवादको अनिवार्य विकासको युग हो ।

यसरी इतिहासलाई भौतिकवादी द्वन्द्ववादी ढङ्गले हेर्‍यो भने समाज विकासको क्रममा विकास हुँदैआएको पुँजीवादको पनि पतन भई त्यसको ठाउँ समाजवादले लिनेछ र यो अनिवार्य वस्तुगत आवश्यकता हो भन्ने कुरा हामीले सजिलैसित बुझ्न सक्नेछौँ । साम्राज्यवादी-पुँजीवादी व्यवस्था भनेको शोषणमूलक व्यवस्था हो । यो सधैँभरि कायम रहिरहन्छ भनेर देख्नु र सम्झनु इतिहासको अनिवार्य विकासलाई नबुझ्नु हो। आदर्शवादीहरूले आ-आफ्ना काल र समयमा दास र सामन्ती व्यवस्थालाई पनि अजेयको रूपमा हेरेका थिए, तर विकासक्रममा त्यसको पतन पनि वस्तुगत परिस्थितिले नै गर्‍यो । पुँजीवादको विकासकालमा पुँजीवाद नै सर्वश्रेष्ठ व्यवस्था मानियो, यसले पनि मानव समाजमा भइरहेको भेदभाव मेट्न सकेन, यो झन् चरम शोषणमूलक व्यवस्था साबित भयो । यसले दुई वर्ग पुँजीपति र मजदुर बिच तीव्र अन्तर्विरोधलाई जन्म दियो । यही ‘सर्वश्रेष्ठ’ व्यवस्थालाई पतन गराउन समाजवादको जन्म भयो। आज आंशिक रूपमा समाजवादले हारेको छ । जसरी दास र सामन्ती व्यवस्थाले हार खाएका थिए, निश्चित रूपले यो साम्राज्यवादी-पुँजीवादी व्यवस्थाको पनि पतन हुनेछ, पतनका आधारहरू विकसित हुँदै जानेछन् । समाज विकासको यस विज्ञानलाई कसैले रोक्न सक्तैन । जसरी बादलले छेक्दैमा सूर्य छैन भन्न सकिन्न, त्यसरी नै केही छिनको पछि हटाइले समाजवादको आधार खतम भयो भन्न सकिन्न । साम्राज्यवादी-पुँजीवादीहरूको अन्त्य स्वयम् उनीहरूले निम्त्याउने छन् ।

दास व्यवस्थादेखि आजसम्मको इतिहास वर्गसङ्घर्षको इतिहास हो । वर्गहरू मेटिएका छैनन्, साम्राज्यवादी-पुँजीवादी वर्ग र विश्वका शोषितवर्गका बिच तीव्र वर्गसङ्घर्षको अवस्था छ। के यो अवस्था हमेशा रहिरहन सक्छ ? के पुँजीवादले विश्वसमस्या निदान गर्नसक्छ ? ‘तेस्रो विश्व’का देशहरू बिचको अन्तर्विरोध हल गर्ने विज्ञान मार्क्सवादबाहेक अरू कुनै दर्शन छैन । दृढताका साथ भन्न सकिन्छ, यी तमाम अन्तर्विरोधहरू हल गर्ने र मानव समाजलाई उच्चस्तरमा विकास गर्ने मार्क्सवादबाहेक विश्वमा अरू कुनै दर्शन आजसम्म जन्मेको छैन । आजसम्म दुई विश्वदृष्टिकोण र दुई विचारधाराका बिच सुरुदेखि नै द्वन्द्व चल्दैआइरहेको छ र जबसम्म समाजवादको उत्कर्ष वर्गविहीन साम्यवादी व्यवस्था आउँदैन, तबसम्म चलि नै रहने छ।

बुर्जुवा वर्गहरूले वर्गसङ्घर्षलाई तोडफोड गर्न हमेसा के भ्रम दिइरहेका छन् भने मार्क्सवाद भनेको केही होइन, त्यो भनेको समाजका बारेमा वर्गीय सङ्कीर्णताको अभिव्यक्ति हो। उनीहरू के भन्दछन् भने वास्तविक वैज्ञानिक सिद्धान्त त्यसबेला मात्र बनाउन सकिन्छ, जतिबेला सिद्धान्तकारहरू वर्गीय हितभन्दा माथि उठ्न सक्छन् । यसमा मार्क्सवादीहरूको भनाइ छ, वर्गहरूमा बाँडिएको समाजमा कुनै पनि व्यक्ति वर्गीयता भन्दा माथि उठ्न सक्तैन । कुनै न कुनै वर्गसँग नजोडिएको कुनै मानिस नै हुँदैन। समाजमा रहेर समाजभन्दा स्वतन्त्र कुनै व्यक्ति रहनै सक्तैन । यदि कसैले आफूलाई ‘स्वतन्त्र’ भनेर दाबा गर्छ भने त्यो उसको बुर्जुवा भ्रम मात्र हो। त्यसैले विचारको प्रतिबद्धता त्यो कुन वर्गको हो भन्ने कुराबाट निर्धारित गरिँदैन, त्यसले कुन वर्गको हितको पक्ष लिन्छ भन्ने कुराबाट थाहा हुन्छ ।

माथिका तमाम विश्लेषणबाट के निष्कर्षमा पुगिन्छ भने बुर्जुवावर्गको हित विपरीत मजदुरवर्गको हितले ऐतिहासिक विकासको प्रवृत्ति समाजवादी विकासलाई स्थापित गर्दछ । त्यसैले आजको युगको क्रान्तिकारी वर्ग भनेको विचारले सुसङ्गत सर्वहारा वर्ग हो । त्यसको चिन्तन समाजको प्रगतिमा छ । त्यसलाई सामाजिक जीवनको वास्तविकतालाई ओझेलमा पारेर भ्रमको सिर्जना गर्नुपर्ने कुनै आवश्यकता हुँदैन, जस्तो बुर्जुवा वर्गहरूलाई हुन्छ।

क्रान्तिकारी परिवर्तनको चाहना राख्नेले प्रकृतिमा जस्तो स्वतस्फूर्त विकासको रूपमा समाजको विकासलाई हेर्नु हुँदैन । समाजमा गर्ने भनिएको क्रान्तिको नियम प्रकृतिको जस्तो हुँदैन । क्रान्ति भनेको नै मानिसले गर्ने हो, उसले प्रयत्न नगरिकन क्रान्ति हुन सक्तैन । त्यसैले उसका क्रियाकलापहरूको चरित्र क्रान्तिका लागि आवश्यक सर्तहरूमध्ये मुख्य हो। उसको सङ्गठनबद्धता र सचेतनामाथि नै क्रान्ति ढिलो वा चाँडो हुने कुरा भर पर्दछ । त्यसकारण सचेतन र योजनाबद्ध ढङ्गबाट आम जनतालाई क्रान्तिका लागि तयार पार्ने कुरा पार्टीको योजनाभित्र पर्दछ। मानिसहरूका क्रियाकलापहरूको स्वरूप र ऐतिहासिक प्रक्रियामा उसको सचेतन, सक्रिय, स्वतन्त्र दृष्टिकोणको प्रश्न अमूर्त रूपको सैद्धान्तिक प्रश्न होइन र त्यो व्यावहारिक प्रश्न हो। समाजवाद र साम्यवादको निर्माणमा लाग्ने हरेक व्यक्तिको क्रियाकलाप, सामाजिक श्रममा उसको सक्रिय र सिर्जनात्मक सहभागिताको विशेष महत्त्व हुन्छ । नयाँ समाजको निर्माण तब मात्र गर्न सकिन्छ, जब त्यसका सबै सदस्यहरूले यस निर्माणमा आत्मैदेखि भाग लिन्छन् । त्यसका लागि समाजका हरेक सदस्यलाई ऐतिहासिक अनिवार्यताको नियमहरूको ज्ञान हुनु र ती नियमअनुसार काम गर्नु नै महत्त्वपूर्ण कुरा हो ।

सर्वहारावादी पार्टीहरूले दर्शन र दृष्टिकोणलाई वर्गसङ्घर्षको आधारमा परिमार्जित गर्दै अघि बढाउनुपर्दछ। वर्गसङ्घर्षलाई राजनीतिको मुख्य कड़ी मान्दै निरन्तर परिवर्तनलाई ध्यान दिनु क्रान्तिकारीहरूको मुख्य कर्तव्य हो । यसको सामान्य कमजोरीले पनि समाजवादी क्रान्तिलाई धक्का पुयाउने छ । यसका साथै यसको विकासका लागि रणनीति (योजना, लक्ष्य, उद्देश्य) र कार्यनीतिमा तालमेल नमिलेमा पनि क्रान्तिकारी परिवर्तनको दिशा एकातिर रड्किएर अर्कै दिशातिर पुग्ने स्थिति हुन्छ । रणनीति भनेको वस्तुगत विकासको आधारलाई समातेर क्रान्तिकारी परिवर्तन ल्याउने योजना हो भने कार्यनीति त्यसलाई मद्दत पुयाउने एउटा कडी हुनुका साथै राजनीतिको एउटा कला पनि हो र सिङ्गो रणनीतिलाई मद्दत पुयाउने विज्ञानको एउटा अंश हो । त्यसैले यी दुई एकअर्काका पूरक हुन् । उद्देश्यलाई पूरा गर्ने कुनै योजना छैन भने यो कार्यनीति दिशाविहीन हुन्छ । त्यस्तै कार्यनीतिक कला छैन भने मूल उद्देश्य पनि पूरा हुन सक्तैन । राजनीतिमा निपुणता र कुशलताको महत्त्वपूर्ण भूमिका हुन्छ । त्यसैले वर्तमान अवस्थामा मार्क्सवादी विज्ञान लागु गराउन कहाँ र कहिले र कसरी त्यो निपुणता र कुशलतामा कमजोरी हुन गयो, त्यो खोजीको विषय हो। न त मार्क्सवाद न त समाजवाद कुनै पनि असफल भएका छैनन् । कहाँनेरी कमजोरी भयो, त्यसलाई गम्भीरताका साथ हेरिनु पर्दछ । यसबारे सामान्य ज्ञान पर्याप्त हुँदैन, यसको गहिरो अध्ययन र गम्भीर विश्लेषणको आवश्यकता पर्दछ । के चाहिँ के भन्न सकिन्छ भने यसको खोजी हुनेछ, मार्क्सवाद थप समृद्ध हुँदैजानेछ र यसका बाटाहरू थप वैज्ञानिक हुँदै जानेछन् ।

(वरिष्ठ कम्युनिस्ट नेता क. भक्तबहादुर श्रेष्ठको नयाँ झिल्कोको २०४८ चैत अंकमा प्रकाशित आलेखलाई यहाँ पुनः प्रकाशित गरिएको छ ।)