सशस्त्र संघर्षद्वारा ‘असत्यमाथि सत्यको विजय’को प्रतीकात्मक उत्सवको रुपमा नेपाली हिन्दु समुदायले सबैभन्दा ठुलो चाडको रुपमा मनाउने बडादशैँसँगै नेपालको सर्वहारा श्रमजीवी वर्ग र न्यायप्रेमी जनसमुदायले एउटा अनुपम उपहार प्राप्त गरेको छ । जनताको ठूलो हिस्साले समर्थन गर्नुको बाबजुद पनि लामो समयदेखि पटक पटक विभाजन र पराजयको श्रृंखला बेहोर्दै आएका नेपालका कम्युनिस्ट तथा बामपन्थी शक्तिहरु यसपटक साझा बामगठबन्धन बनाएर आमागी निर्वाचनमा भाग लिने र निर्वाचन लगत्तै पार्टी एकीकरण गर्ने घोषणा गरेका छन् । यो नेपालको नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभारहरुलाई पुरा गर्ने समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्ने सन्दर्भमा एउटा अत्याधिक महत्त्वपूर्ण घटना हो ।
क. बाम तालमेल र एकता बारेः
नेपालका दुई ठुला बामपन्थी दलहरु – नेकपा (माओवादी केन्द्र) र नेकपा(एमाले) – को बिचमा पार्टी एकताका लागि विगत झण्डै १० वर्षका विभिन्न प्रयासहरु र पटके छलफलहरुको निरन्तरतामा गएको झण्डै १ वर्षको निरन्तर छलफल र बहसको प्रतिफलस्वरुप अन्ततोगोत्वा नेपालका बामपन्थीहरुको बिचमा एकताको प्रयत्न भएको छ भने वामगठबन्धन निर्माण गरी चुनाबी तालमेल गर्ने सहमतिको घोषणा भैसकेको छ । पर्याप्त सूचनाको अभावमा वा बामगठबन्धनलाई असफल बनाउन बजारमा चलाइएका हल्लाहरु जस्तै यो प्रक्रिया न त आकस्मिक रुपमा घटेको दशैँको आश्चर्य (सरप्राइज) हो, न त कुनै देश वा दुतावासको दबावको प्रतिफल । यो नेपालका दुई ठूला बामपन्थी दलहरुको बिचमा देखिएको निकै उतारचढावपूर्ण सम्बन्ध र त्यसका परिणामहरु (उपलब्धि र क्षति) बाट दुवै दलको नेतृत्वमा विकास भएको चेतनाको परिणाम हो । यही नै बामगठबन्धन प्रक्रियाको सही संश्लेषण हो ।
यो प्रक्रिया मार्फत् तत्कालीन एनेकपा (माओवादी)को सातौँ केन्द्रीय समितिको आठौँ बैठकमा अध्यक्ष क. प्रचण्डद्वारा प्रस्तावित भई पारित भएको विभाजित माओवादी घटकहरुको बिचमा एकता गरी माओवादी केन्द्र निर्माण गर्ने, राष्ट्रिय सहमतिको (संभव भएसम्म आफ्नै नेतृत्वमा) सरकार निर्माण गर्ने र क्रान्तिकारीहरुसँग ध्रुवीकरण गर्दै एउटै कम्युनिस्ट केन्द्र निर्माण गर्ने ३ बुँदे कार्यभारको तेस्रो बुँदा व्यवहारमा लागु हुँदैछ । चुनावी तालमेल देखि पार्टी एकताको प्रक्रिया अत्यन्तै चुनौतीपूर्ण छ, कठिन छ तर असंभव छैन ।
यो एकता सिद्धान्तनिष्ट र विचारमा आधारित स्वार्थ, छलकपट र षड्यन्त्र रहित भएको अवस्थामा नेपाल समाजवादी क्रान्तिका दिशामा जानेछ । छिमेकी देश चीनमा जनवादी क्रान्ति सम्पन्न भएको भण्डै ५५ वर्षपछि दस वर्षे महान जनयुद्ध र त्यसैको बलमा स्थापित १९ दिने संयुक्त जनआन्दोलन मार्फत् जनवादी क्रान्तिका मूलभूत कार्यभारहरु पूरा गर्न सफल भएको नेपाल रुसी अक्टोबर क्रान्ति सम्पन्न भएको ठिक १०० वर्षपछि समाजवादी गणतन्त्रको युगमा प्रवेश गर्नेछ । तसर्थ नेपालको सर्वहारा श्रमजीवी वर्ग र आम क्रान्तिकारी जनता यो एकताको प्रयत्नबाट साह्रै खुशी र उत्साहित छन् ।
ख. साझा चुनाव चिन्ह बारेः
बामएकताको सन्दर्भमा परिपक्क हुन बाँकी नै रहेका छलफलका ७ बुँदाहरु सञ्चार माध्यममा सार्वजनिक भए, जो दुई पार्टीका नेताहरुद्वारा एक–आपसमा र आ–आफ्ना पार्टीहरुमा छलफल गरेर अन्तिम निर्णय गर्नका लागि तयार गरिएका थिए र दुवै पार्टीहरुबाट पारित हुन बाँकी नै थियो ।
ती बुँदाहरु मध्ये एउटा महत्त्वपूर्ण बुँदा थियो – ‘निर्वाचनमा साझा चिन्हको रुपमा सूर्य चिन्ह लिएर जाने र त्यसलाई माओवादी केन्द्रले ठूलो विषय नबनाउने’ । यो बुँदामा उल्लेखित पछिल्लो वाक्यांशले माओवादी केन्द्रभित्र यसबारे संस्थागत निर्णय गर्न बाँकी रहेको कुरा प्रस्टै बुझ्न सकिन्छ । जब बामएकता र चुनावी तालमेलको घोषणा भयो, यो बुँदा हट्यो । यसबारे धेरै छलफल भयो ।
माओवादी केन्द्रभित्र यसबारे गम्भीर आलोचना भयो भने सूर्य चिन्ह लिएर निर्वाचनमा जाने निर्णय गर्दै चुनावी तालमेलमा अकस्मात झुल्किएका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई (पिएचडी)को निर्णयलाई समेत देशभरका माओवादीहरुले रुचाएनन् र उनी आफ्ना शुभचिन्तकहरुबाट समेत कठोर आलोचनाको शिकार भए ।
नेकपा (माओवादी केन्द्र)ले सूर्य चिन्ह किन लिएन ? लिएको भए के हुन्थ्यो र पछि लिन सकिने संभावना छ कि छैन ? यसबारे माओवादी केन्द्रका कार्यकर्ताहरु, समर्थकहरु र शुभचिन्तकहरुको साथै बाम एकता पक्षधर आम जनता प्रस्ट हुनु जरुरी छ ।
माओवादी केन्द्र र एमालेको बिचमा बामएकता र चुनावी तालमेलको कुरा परिपक्क हुने समयसम्म संघीय प्रतिनिधि सभा र प्रादेशिक सभाको निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा राजनीतिक दल दर्ता गर्ने प्रक्रिया प्रारम्भ भई समाप्त भैसकेको थियो । यही बिचमा पार्टी एकता गरी एकीकृत पार्टी निर्माण गर्न संभव थिएन । यदि त्यो संभव भएको भए पनि निर्वाचनका लागि दल दर्ता गर्ने र नयाँ चिन्ह लिने चरण समाप्त भईसकेको थियो ।
यस्तो अवस्थामा साझा चुनाव चिन्हमा चुनाव लड्ने नाममा नेकपा (एमाले)का नेताहरुले हँसिया हथौडा चिन्ह लिएर चुनाव लडेको भए उनीहरु नेकपा (माओवादी केन्द्र)का उमेद्वार हुन्थे र विजयी भएमा नेकपा (माओवादी केन्द्र)को सांसद बन्ने थिए । त्यसरी नै नेकपा (माओवादी केन्द्र)का उमेद्वारहरुले सूर्य चिन्ह लिएर चुनाव लडेको भए उनीहरु नेकपा (एमाले)का उमेद्वार हुने थिए र विजयी भएमा नेकपा (एमाले)को सांसद बन्नु पथ्र्यो ।
यसरी निर्वाचनमा जाँदा निर्वाचनको लगत्तै पार्टी एकता भएमा त केही फरक पर्ने थिएन तर कुनै कारणवश पार्टी एकता नभएको अवस्थामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष क. प्रचण्ड समेत नेकपा (एमाले)का सांसद पुष्पकमल दाहाल बन्नुपथ्र्यो, ‘प्रचण्ड’ शव्द उनीहरुले उच्चारण गर्ने थिएनन् । त्यसपछि या त एमालेले जे–जे भन्छ, त्यो मानेर एमालेमा माओवादी केन्द्रलाई निःशर्त पार्टीलाई विलय गर्नु पथ्र्यो, नत्र भने एकता नै नभएको नेकपा (एमाले)लाई विभाजन गर्नु पर्ने अवस्था आउँथ्यो ।
नयाँ संविधान अनुसार पार्टी विभाजन गर्नका लागि संघीय संसद र पार्टीको केन्द्रीय समितिमा ४० प्रतिशत मत पुराउनु पथ्र्यो । संघीय संसदमा त माओवादी केन्द्र र अन्य बामदलका समेत सांसदहरु हुने हुनाले ४० प्रतिशत पुराउन संभव हुन सक्ला । परन्तु एमालेको केन्द्रीय समितिमा त १ प्रतिशत पुराउन पनि संभव हुने छैन । यस्तो अवस्थामा माओवादी केन्द्रका सबै सांसदहरुले पदत्याग गरेर विद्रोह गर्नुपर्ने अवस्था आउँथ्यो । यसले दुवै पार्टीमा जटिल समस्या उत्पन्न हुन्थ्यो भने माओवादी केन्द्र र एमालेको बिचमा अत्यन्तै कटुतापूर्ण मात्र नभई सत्रुतापूर्ण सम्बन्ध बन्न पुग्थ्यो ।
यस्तो संवैधानिक, कानुनी र व्यवहारिक जटिलताको कारणले यो निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले आफ्नै गोलाकार भित्रको हँसिया हथौडा चिन्ह लिएर निर्वाचनमा जाने फैसला गर्यो र पत्रकार सम्मेलन गर्ने चरणसम्म आइपुग्दा चुनाव चिन्ह सम्बन्धी बुँदा हट्यो । यो बाम एकता, बाम गठबन्धन वा चुनावी तालमेलबाट पछि हटेको वा अरु कुनै गलत नियतका साथ गरिएको निर्णय होइन । भविष्यमा आउन सक्ने जटिलतालाई बुझेर अगाडि नै अपनाइएको सचेतता हो । नेकपा (माओवादी केन्द्र) बाम एकता, बाम गठबन्धन र चुनावी तालमेल बारे प्रतिबद्ध छ र रहिरहने छ ।
३. नयाँ शक्तिको बहिर्गमन बारे:
तत्कालीन एनेकपा (माओवादी) र नेकपा (एमाले) बिच पार्टी एकताको कुरा धेरै लामो समयदेखि चलिरहेको थियो । विगतमा एक पटक यो ध्रुवीकरण प्रक्रिया नेकपा (एमाले)का केही नेताहरुको बरियताबारे तत्कालीन एमाओवादीका उपाध्यक्ष बाबुराम भट्राई (पिएचडी) ले उठाएका अनावश्यक बरियताक्रमको विवादले रोकिएको थियो भने २०७० को निर्वाचनपूर्व एमालेका प्रभावशाली नेताहरु एमाओवादीमा प्रवेश गर्ने प्रक्रिया उनले प्रहसन गरेको उपाध्यक्ष पद त्यागको प्रहसनपछि असफल भएको थियो । तत्कालीन एनेकपा (माओवादी)सँगै माक्र्सवाद, लेनिनवाद र माओवाद परित्याग गरेर नवउदारवादी ५ ‘स’को एजेण्डा बोकेर पुँजीवादी=दक्षिणपन्थी खेमामा प्रवेश गरेको नयाँ शक्ति र त्यसका नेता भट्टराई अकस्मात बामगठबन्धनमा आउनु संदेहपूर्ण थियो ।
पछि उनको त्यो अकस्मात गरिएको निर्णय विभिन्न जनविरोधी तथा माओवादी विरोधी पक्षहरुबाट प्रभावित हुन पुग्यो र उनले त्यसबाट बहिर्गमन हुने बाटो खोज्ने थाले । स्थानीय निकायको निर्वाचनमा देशभर झण्डै ७५ हजार मत प्राप्त गरेको नयाँ शक्ति स्थानीय निकायपछि क. रामचन्द्र झा, रामकुमार शर्मा, देवेन्द्र पौडेल, कुमार पौडेल लगायतका नेताहरुको माओवादी केन्द्रमा ध्रुवीकरणपछि छिन्नभिन्न र क्षतिविक्षेत भएको थियो । त्यस्तो पार्टीले १५ प्रतिशत प्रत्यक्षतर्फ र समानुपातिकतर्फ सिट माग्ने काम भयो । यसको अर्थ संघीय प्रतिनिधि सभाको प्रत्यक्षतर्फ २५ वटा सांसद र समानुपातिकतर्फ १७ जना सांसद माग्ने काम भयो ।
जब भर्खरै सम्पन्न भएको स्थानीय निकायका निर्वाचनहरुको वडाहरुमा प्राप्त मत जोड्न थालियो, उनी लाजले पानी पानी भए र संघीय तर्फ १५ सिट प्रत्यक्षतर्फ र प्रादेशिक सभा तर्फ ३० सिट मागे । त्यति मात्रै नभएर गोरखाको क्षेत्र नं. २ मा आफ्नो उमेद्वारी र विजय सुनिश्चित गरिनु पर्ने शर्त राखे ।
गोरखा क्षेत्र नं. २ मा नेकपा (माओवादी केन्द्र)ले आफ्ना वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को उमेद्वारी यस अघि नै घोषणा गरिसकेकोले गोरखा क्षेत्र नं. १ वा काठमाडौँको कुनै पनि क्षेत्र रोजेर लिन गरिएको अनुरोध अस्विकार गरे । भारतीय बिस्तारवाद विरोधी छबी बनाएका श्रेष्ठलाई विगतमा पनि पटक पटक अपमान गर्ने, होच्याउन खोज्ने नियत राख्ने गरेका भटटराईले यसपटक उनलाई गोरखाबाट निर्वाचन लड्न नदिने चाहना राखेको देखियो । १५ प्रतिशत हिस्सा नपाए गठबन्धन परित्याग गर्ने धम्की दिएका भट्टराई पुनः नयाँ शर्तसहित गाठबन्धन छोड्ने नयाँ धम्की दिए ।
देशका महत्त्वपूर्ण ३ वटा पार्टी मिलेर गठबन्धनलाई इमान्दारितापूर्वक पालना गरेको खण्डमा गोरखाको क्षेत्र नं. १ मा मात्रै नएर देशको जुनसुकै निर्वाचन क्षेत्रकाट पनि भट्टराईलाई जिताउन संभव थियो । तर पनि उनी डराए । ‘घरको सिंह, बनको कुकुर’ भनेझैँ गोरखा २ भन्दा बाहिर निर्वाचन लड्न डराउने भट्टराई राष्ट्रिय स्तरको नेता नभएको र त्यस्तो नेता बन्ने औकात पनि नराख्ने प्रस्ट भयो । त्यससँगै बाम गठबन्धनमा जोडिँदा आफ्नै नीति अनुरुप बामगठबन्धन निर्माण भएको दाबी गरेका भट्टराईले गठबन्धन त्यागेको घोषणा गरे ।
बामगठबन्धनसँग १५ प्रतिशत सिटको दाबी गरेको नयाँ शक्तिले देशभरबाट ५ जना भन्दा धेरैको उमेद्वारी घोषणा गर्न सकेन र उनी आम जनताको नजरमा थप लज्जित भए । त्यति मात्रै होइन, केही दिन अगाडि बाम गठबन्धनको आडमा ‘नेपाली काँग्रेसलाई ध्वस्त गर्नुपर्छ’ भनेर चर्को भाषण गरेका भट्टराईले नेपाली काँग्रेससँग तालमेलका लागि लम्पसार परेर आफ्नो बचेखुचेको इज्जत पनि सिध्याए । विगतमा क. प्रचण्डको विरुद्ध निरन्तर भट्टारईलाई उचाल्ने र पछार्ने गरेका साम्राज्यवाद र विस्तारवादका दलालहरुले यतिबेला फेरि नेता भट्टराईलाई बामगठबन्धनबाट धकेलेको कूतर्क गरिरहेका छन्, जुन सरासर गलत छ ।
मालेमावाद त्यागिसकेको नयाँ शक्ति र त्यसका नेता भट्टराई एकाएक बामगठबन्धनमा किन आए ? केका लागि आए ? कसको निर्देशनमा आए ? पार्टी एकताको लक्ष्य सहित बामगठबन्धनमा आएका नेता भट्टराईले दस वर्षे महान् जनयुद्ध सहित २४ वर्ष योगदान गरेको माओवादी केन्द्रको चुनाव चिन्ह छोडेर पार्टी एकता नहुँदै र विभिन्न कानुनी र संवैधानिक जटिलताको बाबजुद पनि एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्ने घोषणा किन गरे ? र, अन्त्यमा उनी किन गठबन्धनबाट बाहिरिए ? उनको यो समग्र प्रक्रिया नै संशयपूर्ण थियो ।
संक्षेपमा भन्नुपर्दा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)ले निर्माण गरेको गठबन्धन बामपन्थी थियो र नयाँ शक्ति र त्यसका संयोजक पिएचडी बाबुराम भट्टराई बामपन्थी थिएननन् । त्यसैले उनीहरुको गठबन्धन परित्याग स्वभाविक छ । उनी आफैले त्यो निर्णय गरे वा अरु कसैको दबाब र प्रभावमा गरे? त्यो विषय भविष्यमा पटाक्षेप हुने नै छ ।
अन्त्यमा, नेकपा (माओवादी केन्द्र)ले बाम गठबन्धन, चुनावी तालमेल र सिद्धान्तनिष्ठ बामएकताको पक्षमा इमानपूर्वक लाग्नु पर्छ । यसलाई मजबुत बनाउँदै लैजानु पर्छ र समाजवादी क्रान्तिको तयारीसँग जोडेर अगाडि बढाउनु पर्छ । बिचमा कसैले धोका दिएमा एक्लै चुनाव लड्ने र विजयी हुने तयारीका साथ अगाडि बढ्नु पर्छ । यही नै वर्तमान निर्वाचनको सन्दर्भमा नेकपा(माओवादी केन्द्र)को सही कार्यनीति हुन सक्छ ।
–लेखक नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य हुन् ।