स्वनाम साथी, Swanam Sathi, Sonam Sathee, अक्टोबर क्रान्ति
 

रुसको अक्टोबर क्रान्तिलाई सम्झँदा र त्यसले संसारमा पारेका प्रभावहरुबारे गम्भीरतापूर्वक हेर्दा मानव जातिको इतिहासमा अतुलनीय एवम् बहुआयामिक प्रभाव पारेको पाइन्छ । त्यसले मानिसको जीवनका सबै पहलुहरु – आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, दार्शनिक इत्यादि क्षेत्रमा व्यापक गहिरो र उँचो नयाँ अभ्यास सुरु गरेको थियो र अझैं पनि त्यसले ल्याएको छाल बाँकी नै छ ।

कुनै न कुनै हिसाबले मानव समाज अक्टोबर क्रान्तिद्वारा प्रभावित छ । वर्गीय समाजवाट वर्गविहीन समाजमा प्रवेश गर्ने कार्यक्रम अक्टोबर क्रान्तिको मूलभूत र सारभूत कुरा थियो । मानव जातिको इतिहासमा पेरिस कम्युनपछि यति ठूलो मात्रामा यति ठूलो प्रयोग यसअघि कहिल्यै भएको थिएन । त्यो जारी छ । यसैको उज्यालोमा कुरा गर्दाखेरि अहिले हामी नेपालमा त्यसको सार्थकता के हुन सक्छ भनेर विचार–विमर्श गर्दैछौं ।

रुसका जनताले पेट्रोगाड सहरमा सशस्त्र क्रान्तिमार्फत त्यहाँको प्रतिक्रियावादी राज्यसत्तालाई च्यूत गरी सत्तादखल गरेको कम्युनिस्ट क्रान्तिलाई अक्टोबर क्रान्तिका रुपमा लिने गरिएको हो । त्यतिबेला रुसमा चलेको जुलियन क्यालेण्डर अनुसार १९१७ को अक्टोवर २५ मा सम्पन्न उक्त क्रान्ति यतिबेलाको ग्रेगोरियन पात्रो अनुसार नोभेम्बर ७ मा पर्छ ।

रुसका श्रमजीवी जनताले कम्युनिस्टहरुको नेतृत्वमा चलेको रसियाली सामाजिक प्रजातान्त्रिक श्रमिक पार्टी (बोल्सेविक) को अगुवाइमा अक्टोबर क्रान्ति सम्पन्न गरेका थिए । यो क्रान्तिले संसारमा सर्वहारावर्गको संक्रमनकालीन राज्यसत्ता स्थापना गर्ने अथक प्रयास गरेको थियो । कम्युनिस्ट लगायत क्रान्तिकारीहरुले सन् १८७१ मा विद्रोह मार्फत केही समयका लागि फ्रान्सेली शहर पेरिसमा कम्युन स्थापना गरेका थिए । त्यसपछि भएको अक्टोबर क्रान्ति भने संसारमा कतै भएको थिएन ।

अक्टोबर क्रान्तिको बाटो सर्वहारा वर्गीय क्रान्तिकारीहरुको बाटो हो । परम्परागत दमनकारी चरित्रको अन्त्य कम्युनिस्टहरुको उद्देश्य हो । वर्गविहीन समाजको सुरुवातसँगै राज्यसत्ताको समेत विलय कम्युनिस्टहरुको उद्देश्य हो । मान्छेले मान्छेलाई शोषण गर्ने परिपाटीकोे अन्त्यसँगसँगै सबैले आफ्नो क्षमताअनुरुप सामाजिक उत्पादनको उपभोग गर्नु कम्युनिस्टको अभिष्ट हो ।

साम्राज्यवाद तथा मानवद्वेषी विचारका संवाहकहरुले पश्चिमा संसारमा विकसित ५०० वर्षका पुँजीवादको अनुभवको आधारमा संसारलाई स्थायी रुपमा विभाजन गरी मनिस–मानिस बीचमा पर्खाल निमार्ण गर्ने प्रयास गरेका थिए । तर त्यसलाई ध्वंस पार्दै रुसका कम्युनिस्टहरुले संसारका लागि रोटी र शान्ति, जनताको रोजगार, साम्राज्यवादीका लागि युद्ध र कम्युनिस्टका लागि क्रान्तिको नारा बुलन्द पारे । त्यसैको फलस्वरुप रुसी जनता युद्ध होइन क्रान्ति, जनता विरुद्ध होइन शोषण विरुद्ध हतियार भन्दै कम्युनिस्ट क्रान्तिलाई युगान्तकारी विजयको रुपमा हेर्न समर्पित भएका थिए ।

आजको संसार सोही युगान्तकारी कम्युनिस्ट क्रान्तिको समेत उपज हो । लैङ्गिक भेदभावबाट मुक्ति, श्रमिक अधिकार, बौद्धिक सम्पत्ति, संस्कृतिको श्रीबृद्धि, अर्थतन्त्र र प्रविधिमा देखा परेको अद्भुत विकास तथा अन्याय, अत्याचार र असमानताप्रतिको संगठित विद्रोहको चेत पनि सोही क्रान्तिको उपज हो ।

आज संसारमा नै मार्क्सवाद तथा भौतिकीय द्वन्द्वात्मक दर्शनका राजनीतिक बाहकहरुको बर्चश्व पनि त्यही युगान्तकारी क्रान्तिको परिणामको रुपमा हाम्रो सामु रहेको कारणले पनि हामीले अक्टोबर क्रान्तिलाई सम्झना गर्नु र त्यसको आलोकमा विकसित राजनीतिक परिघटनाहरुबारे बहस, छलफल, समीक्षा, जाँचबुझ, प्रश्नहरुमा लाग्नु सर्वथा उचित छ ।

उत्तरको महाचीनमा चिनिँया विशेषतासहितको बजार समाजवाद, दक्षिणको महाभारतको संविधानमा उल्लेखित संसदीय समाजवाद र नेपालको संविधानमा भनिएको ‘उन्मुख समाजवाद’ पनि रुसको अक्टोबर क्रान्तिको प्रभाव अन्तर्गत नै आजको स्वरुपमा प्रकट भएको देखिन्छ । यस बाहेक प्रजातान्त्रिक समाजवाद तथा अन्य समाजवाद पनि चर्चामा छन् । आजको हाम्रो मुख्य विषय यिनै सन्दर्भहरुसित गाँसिएर वैज्ञानिक समाजवादबारे थप खोजी र छलफल गर्ने प्रयासलाई अघि बढाउनेमा केन्द्रित गरौँ र आवश्यकता अनुसार थप छलफल तथा खोज गरौँ ।

याे पनि पढ्नुहाेस्ः  अक्टोबर समाजवादी क्रान्ति र चिनियाँ क्रान्तिमा यसकाे प्रभाव

याे पनि पढ्नुहाेस्ः   सर्वहारा, किसान र ट्राटस्कीवाद – क. जाेसेफ स्टालिन      

याे पनि पढ्नुहाेस्ः    कमरेड स्टालिनको निधनः हत्या कि मृत्यु ? – क. माइकल लुकास