हामीले स्रोतमा आधारित, आवश्यकतामा आधारित, वर्तुल, स्थानीय, अर्थतन्त्र भएको विकास, र समृद्धिको बाटो समाउने हो । घाँटी हेर्ने र हाडको आकार अड्कल्ने हो । अहिलेसम्म कम्युनिस्टहरुले पनि आवश्यकता भनेर खानपिन, घर, गाडी र खेलौनालाई चिजबीजको छेलोखेलो बुझ्यो । छिटै नौ अरब नाघ्ने विश्व जनसङ्ख्यालाई सामानको फालाफल गर्न नहुने भएको तथ्य आएकाे छ ।
यदि सिंगो मानव समाजले जुन ढाँचाकाँचामा साहु जीवनशैली चलेको छ, त्यस्तो ढाँचामा जिउनका लागि साढे चार वटा थप पृथ्वीले पनि धान्दैन भनी विज्ञहरु भन्दछन् । त्यसैले जीवनशैलीमा आमूल परिवर्तनको बारेमा गम्भीर चिन्तन–मनन गर्न, विश्वव्यापी कम्युनहरुको जिन्दगी जिउन हामी बाध्य भएका छैनाैँ र ? पुँजीवादी जीवनशैलीको इन्कार र कम्युनिस्ट जीवनशैलीको स्वीकार आजको अनिवार्य आवश्यकता बन्दै गएको देखिन्छ । आवश्यकता र चाहनाको झिनो भिन्नतालाई छुट्याउन सकिएन भने जटिलताहरु थपिन्छ नै ।
सूचना र सेवा धेरै, सामान थोरै भोग गर्ने; पर्याप्तता पहुँचको समाज र कम्युनको समाज नै वैज्ञानिक समाजवाद हुन सक्छ । स्मरणयोग्य के छ भने त्यो आधारभूत आवश्यकता मिलेको रुस किन भत्कियो ? रोटीले मात्र त नपुग्ने रहेछ । विचार र भावना पनि चाहिने रहेछ ।
भोगवादी कि भौतिकवादी भन्ने त छुट्याउनै पर्छ । अहिले पनि हामीले पृथ्वीभरका मानिसका आधारभूत आवश्यकता पूरा गर्न सक्छौं । सबै चाहनाहरुको पूर्ती मायावी यथार्थ (भर्चुअल, मिश्रित र अगमेन्टेड रियालिटी) बाहेक चिजबीजहरुले कहिल्यै पूरा गर्न सकिन्न । सबैलाई साहुको सरहको जिन्दगी मिलाउने कुरा कति सम्भव छ, सोचौँ । छेलोखेलो गर्न नसकिने हैन नमिल्ने भयो । आजै हामीले आधा पृथ्वी उपभोग गरिरहेका छौं, अब आधा बाँकी छ । यसका स्रोतले कतिलाई पुग्छ ? विचार गरौं । व्यक्तिगत, सामुहिक, सार्वजनिक सम्पत्ति राखेर, नीजि सम्पत्तिको मानसिकता विरुद्ध हामी उभिनैपर्छ । हामी भोगी भए पनि भोगवादी भने होइनाैँ ।
यन्त्र (मेसिन) ले के काम गर्छ, के गर्दैन ? Dirty, Dangerous and Difficult साथै दोहोरिरहने, मोनोटोनस र गह्रौँ एवम् मानव स्वास्थलाई अस्वस्थ गराउने सबै कामहरु यन्त्र मानव (रोबट), स्वचालन (अटोमेशन), कृतिम बुद्धि (आर्टिफिसियल इन्टेलिजेन्स), नानो टेक्नोलोजी, 3D प्रिन्टिङ्ग ( एडिटिभ टेक्नोलोजी), ब्लकचेन र ह्यास ग्राफ, ड्रोन डेलिभरी आदि मेसिनले गर्ने वातावरण सुरु भैसकेको छ । यी सबै प्रविधिहरु मानवका सहायक मात्र हुन् । अङ्गका बिस्तार मात्र हुन् तर चार घण्टा त मान्छेले काम गर्नैपर्छ ।
अन्तरीक्षमा गएका मानिसले सबैथोक पुग्दा पनि दैनिक चार घण्टा व्यायाम गर्छ अन्यथा शरीर कुँजिन्छ भनेर । मानवजाति ढुङ्गे युग (सिलिकन) र दाउरा तथा जीवाष्म इन्धन (फोसिल फ्युल) को अन्तिमतिर आइपुगेको छ र यसले क्वान्टम, अप्टिकल र वायो कम्प्युटरहरु, बायोटेक्नोलोजी र वैकल्पिक उर्जाको युगमा प्रवेश गरेको छ । यी सबै कुराहरु प्रविधि र मेसिनले गरिदिन्छ र त्यसैकारण मानिसमाथिको शोषण शासन उत्पीडनको सवाललाई हल गर्छ कि गर्दैन गम्भीर छलफल जरुरी छ ।
नैतिकता र आचार सम्बन्धी गम्भीर समस्याहरु उत्पन्न भएका छन् । वस्तु र चिजबीजको तृष्णा पूरा गरेर साम्यवादी समाज या वैज्ञानिक समाजवाद निर्माण गर्न सकिन्छ भन्ने कुरा कतै इनारमा पानी तान्नका लागि चुहिने बाल्टीको प्रयोगजस्तो मात्रै त होइन भनेर हामी कसरी विश्वस्त हुने ? उक्त वैज्ञानिक समाजवाद वा साम्यवादी समाजमा भोगवादको अनियन्त्रित तृष्णा समन गर्न भौतिकीय द्वन्द्वात्मक कम्युनिस्टलाई के ध्यान योग सहयोगी हुन सक्छ ? थाहा चाहियो ।
तर हामीले गरिआएको अभ्यासले आन्दोलनमै पनि नयाँ समस्याहरु, उल्झनहरु र गतिरोधहरुको खतरा पैदा गरेको छ । विद्वान त त्यो हो, जसले अरुको गल्तिबाट सिक्छ । मूर्ख र मूढले मात्र आफ्नै गल्तिबाट पनि सिक्दैन ।
यो लोकतन्त्र/पुँजीवाद मानव समाजमा चलेको पाँच सय वर्ष भयो । युरोपेलीहरुले सुरु गरेको यो व्यवस्थाको म्याद गुज्रिसकेको छ । नेपालले त्यही पुँजीवादलाई, त्यसको मूल स्वरुपलाई कायम राख्ने भनेको बज्रस्वाँठ मन हुनु हो । समस्याहरु छन् भनेर समाजको गतिलाई रोकेर राख्न मिल्दैन । समस्या छ भने विकल्प पनि छ । विकल्पको यात्रा अफ्ठेरो छ भनेर पछाडितिरको यात्रा मानव चेतना विरुद्धको यात्रा मात्रै हुनेछ । अफ्ठेरो भए पनि यात्रा सुरु गरौं र अघि बढौँ, अलि अगाडिको घुम्तीपछिको यात्रा उज्यालो छ, सुन्दर छ ।
हाँस्दै, खेल्दै, नाँच्दै, गाउँदै, अलि–अलि रुँदै क्रान्तिमा सरिक होऔँ ।
यो पनि पढ्नुहोस्ः महान् अक्टोबर समाजवादी क्रान्तिबारे केही कुरा – क. स्वनाम साथी
यो पनि पढ्नुहोेस्ः गाैतम बुद्ध बारेकाे वास्तविकता – क. नहेन्द्र खड्का
यो पनि पढ्नुहोस्ः कार्ल मार्क्सको जीवनी – क. शिशिर श्रेष्ठ