यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक चलिरहेको सुनिएको छ । समामाजिक सञ्जालमा विविध विषयमा छलफल भैरहेको भन्ने समाचारहरु पनि आइरहेकै छन् । समाचार विश्लेषण अनुसार समर्थन र बिरोधमा प्रतिक्रयाको पनि कमी छैन ।
आठ-आठ महिनासम्म पनि समग्र पार्टी एकता टुङ्ग्याउन ढिलाई भैरहेको स्थितिमा पार्टी तथा सरकार संचालनमा देखिएका समस्याहरुबारे विभिन्न नेताहरुका टिप्पणी र प्रतिवेदन पनि पेश गरेको समाचार आइरहेको बेला क. भिम रावल, क. बामदेव गौतम र क. हरिबोल गजुरेलले पेश गरेको प्रतिवेदन भनेर सामाजिक संजालहरुमा पाइएका छन् ।
व्याप्त प्रतिकृयाहरु भुक्त विसंगतिलाई चिर्ने योजना पेश भएको प्रति कम्युनिष्ट पार्टी र व्यवस्थाको निम्ति सर्वोच्च त्याग र समर्पण पेश गरेको पंक्ति उत्साहपूर्वक जिज्ञासु हुनु स्वभाविकै भयो। विभिन्न नेताहरुका विचार, भाषण र प्रतिकृयाहरुबाट मार्क्सले भनेको समाजवाद विकास (!) भएर पनि आ-आफ्ना देश विशेषको विशेषता अनुसारको समाजवाद निर्माण गरिने कुरा आइरहेका बेला नेपाली विशेषतायुक्त समाजवादी योजना कस्तो होला ?

समग्र संस्थागत प्रतिवेदन नपढी पूर्ण धारणा बनाउन सकिने कुरा त भएन । तथापि हिजो जो जसबाट दिक्षित हुँदै आइएको हो, आज उनै उनै कामरेडहरुबाट अलि भिन्न भिन्न लाग्ने खालका धारणाहरु छरपष्ट सार्वजनिक हुने र सैद्धान्तीकरण हुन लागिरहेको सन्दर्भमा परिवर्तनको निमित्त डटेर लडेर खाट्टि स्तर (स्टाटस) बनाएका कामरेडहरुबाट पुरक वा भिन्न प्रतिवेदन प्रस्तुत भनिएकोले जिज्ञाशा जाग्यो र सरसर्ती हेरियो पनि ।
पार्टी एकतामा हुन गएको ढिलाई, पर्टीमा झाङ्गिएको गुट-उपगुट अर्थात संगठनात्मक अराजकता तथा सरकारको प्रस्तुति लगायतको विषयमा निकै चिन्ता जाहेर गर्दै सो समस्या हटाउन बनाइँदै आएको थेगो चिन्ताका साथ दोहोर्याएको पाइयो । पढ्नेबेला कतै आयोडिनको पोको हुनपर्ने ! छुटाएछु क्यार भनेर दोहोर्याई-तेहर्याई पढेँ, देखिन ।
बरु म आफू जवान हुनेबेला हाम्रो गाउँघरतिर कुनै युवती राम्री देखिइन भने हाम्रा हजुर आमाहरुले “च्वु च्वु च्वु ! गलामा यत्ति भैदिएको भए” भनेर हातको औंलाहरुबाट कुनै सा-सानो पोकोको नापो देखाउनु हुन्थ्यो । अलि बढी जिज्ञाशा जागेकोले एकदिन हजुरआमासँग त्यसो भनेको के हो आमै भनेर सोधेँ । कुरा के रहेछ भने त्यसताका कास्कीको हेम्जातिरका अधिकांस महिलाहरुमा गलगाँण आउँदो रहेछ । अलि उमेर पाको भएपछि कुखुराको बुढी पोथिमा झुण्डिएका लोती जस्तै धोल्लिएर झुण्डिने रहेछ । त्यसलाई भगवानले दिएको गहनाको रुपमा बुझिएको रहेछ । त्यसैले राम्रो युवतीमा यदि जवानीमै गलगाँण देखियो भने खुब सुन्दरताको संकेत मानिँदो रहेछ र हातका औंलाले पोकोको नापो देखाउँदै त्यसो भनिएको रहेछ । वास्तवमा त्यो त शरिरमा आयोडिनको कमीले भएको रोग पो रहेछ । त्यही कुरा याद आयो। समय त बिर्सेँ मेरो विचारमा २०१९/०२० को आसपास हुनुपर्छ नूनमा आयोडिनको ब्यवस्था भएपछि भने त्यो गलगाँण आउने समस्या हाम्रै पाला हराएर गयो।
यसबेला हजुरआमाले सुनाएको त्यो मिथक जस्तै कामरेडहरुले प्रस्तुत गरेका भनिएका प्रतिवेदनमा आयोडिनयुक्त (वैचारिक वहस!) नून नपरेको अनुभुति भयो । गुट भत्काउने त भन्ने तर आफू मुक्त नहुने रोग साँच्चै कायम नराख्ने र योजनामा हल खोजेको वा त्यसप्रकारको योजना उल्लेख गरेको देखिएन ।
अहिले दुई ठुला पार्टी एक भएर ठुलो पार्टी बनेको छ । कम्युनिष्ट पार्टीलाई सर्वहारा वर्गीय मुक्तिको अग्रदस्ता मानिने हो होईन ? यदि हो भने सके त प्रदेश कमिटीसम्म र त्यसो गर्न परिस्थितिजन्य वाध्यताले नसकिने भए कम्तिमा केन्द्रीय कमिटीका कामरेडहरु सर्वहाराकृत हुने, सँगसँगै जनवर्गीय संगठनका पदाधिकारीहरु र पार्टी कमिटीका पदाधिकारीबाट सांसदको उमेद्वार हुनका लागि सर्वहाराकरण हुन मन्जुर हुनुपर्ने प्रावधान हुनासाथ गुटको पछि लाग्न र नेतृत्त्वका लागि तँछाडमछाड हुन कम हुने निश्चित छ । त्यस्तो प्रकारको प्रस्ताव कतै उल्लेख भएको पाइएन ।
कण्ठाग्र हुँदै आएको सैद्धान्तिक संश्लेषण ‘सामुहिक निर्णय र ब्यक्तिगत जवाफदेहिता’ को कुरा त उठाइएको तर ब्यवहारमा “सामुहिक खटाई-ब्यक्तिगत ब्रम्हलुट” मा रुपान्तरित भएकोप्रति छ्याङ-छ्याङ्ती आशक्ति देखिँदा देखिँदै पनि भोगिइरहेका विसंगतिप्रति प्रतिवेदन अग्रगमनकारी मान्न त सकिएला तर ‘संसदवादी गलगाँण’ बाट मुक्त भने पाइएन ।
(लेखक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग आवद्ध हुनुहुन्छ ।)