विश्वमा धर्म सम्बन्धी मार्क्सवादी धारणालाई लिएर निकै ठूलो बहस र बिवाद लामो समयदेखि निरन्तर चल्दै छ । यस क्रममा मूलतः धर्म सम्बन्धी मार्क्सवादी अवधारणालाई जन साधारणको सामान्य धारणा सन्दर्भबाट अलग्याएर प्रस्तुत गर्ने गरिँदै आएको छ । त्यसको एउटा ठोस उदाहरण हो ‘धर्म जनताको अफिम हो’ भन्ने उद्धरण । साँचो र यथार्थ कुरा त के हो भने यस उदाहरणलाई मार्क्सवादका विरुद्ध दुरुपयोग गर्नेहरुले जानिबुझिकनै त्यसको पूरा सन्दर्भ नदिई आंशिकरूपमा त्यसलाई प्रस्तुत गर्दै र ठूलो भ्रम फिजाउँदै आएका छन् । यो भ्रान्त धारणबाट मुक्त हुनु पनि कम्युनिस्ट तथा प्रगतिशील अग्रगामी आन्दोलन र आन्दोलनकारीहरुका निमित्त एकदमै महत्त्वपूर्ण कुरा हो ।
निश्चय नै अरु दर्शनहरुले जस्तो मार्क्सवादले संसारलाई बुझ्ने र ब्याख्या गर्ने कुरामा मात्र आफूलाई सीमित राख्दैन । यस दर्शनले त संसारलाई आमूल परिवर्तन गरेर अग्रगामी सामाजिक रुपान्तरण गर्ने महत्त्वपूर्ण कुरामा सर्वाधिक जोड दिन्छ । त्यसै कारणले मार्क्सवादका प्रणेता कार्ल मार्क्सले भने – ‘दार्शनिहरुले आजसम्म संसार यस्तो छ उस्तो छ भनेर ब्याख्या मात्र गरे, मूल कुरो त यस्तो संसारलाई बदल्नु हो’ । ठीक यसै कारणले वास्तवमा अरु आफ्ना पूर्ववर्ती दर्शनहरुभन्दा मार्क्सवाद एकदमै भिन्न र विशिष्ट छ । वस्तुतः यो एउटा रचनात्मक सामाजिक विज्ञान हो । विश्वको बौद्धिक विकासको समुच्च सम्पदाको सही अर्थमा सदुपयोग गरेर मार्क्सवादले यस्तो वैज्ञानिक सामाजिक सिद्धान्त र पद्धति मानव समाजलाई प्रदान गरेको छ, जसले सामाजिक शोषण, भेदभाव, अन्याय, असमानता, अन्धविश्वास र कुरीतिहरुलाई आमूलरूपमा बदलेर नयाँ मानव समाज निर्माणको मार्गदर्शन गर्दछ । यस प्रकार मानव समाजलाई मुक्ति, समानता र समुन्नतिका निमित्त यसले प्रष्ट दिशानिर्देश गर्दछ । अरु दर्शनहरू भन्दा यिनै कुरामा मार्क्सवाद फरक र विशिष्ट रहेको तथा ज्ञान र व्यवहारको सही विवेचना गर्ने कालभेदी विचार हो ।
मानव समाजप्रति अत्यन्तै जिम्मेवार मार्क्स र एंगेल्सका गम्भीर, गहन र जिम्मेवारीपूर्ण रचनाहरु अर्थात् मार्क्सवाद फ्रान्सेली समाजवाद, जर्मन दर्शन र भौतिकवाद तथा अंग्रेजी अर्थशास्त्रको सही किसिमको संश्लेषण र विकास गरेर विकसित भएको हो । रचनात्मक विज्ञानकोरूपमा मार्क्सवादले वास्तवमा समस्त रचनात्मक चिन्तनलाई यसरी समन्वित गर्दछ । अनि शोषणमा आधारित विश्व सामाजिक व्यवस्थालाई मात्र होइन, बरु त्यसलाई बदल्ने क्रान्तिकारी लक्ष्यलाई साकार तुल्याउने कारबाहीलाई समेत स्पष्टरुपमा पथप्रदर्शन गर्दछ । आफ्नो स्वभाविक यस्तो प्रकृतिबाटै वास्तवमा मार्क्सवाद भौतिक, रचनात्मक र द्वन्दात्मक स्वभावको सामाजिक सिद्धान्त हो भन्ने कुरा एकदमै प्रष्ट हुन्छ । अतः यो जडसुत्रवाद विरोधी छ । वस्तुगत यथार्थमा आधारित यो एउटा यस्तो विश्वदृष्टिकोण हो जसले सामाजिक मुक्तिको परिकल्पनालाई अंगिकार र मुक्तिकामी आदर्शलाई प्रष्टसँग अभिव्यक्त गर्दछ । ऐतिहासिक स्थितिमा परिवर्तन ल्याउने विभिन्न प्रवृत्तिहरुलाई केलाउने र बुझ्ने यो एउटा प्रभावकारी र ठोस आधारमा खडा भएको सशक्त हतियार हो । यसले जनताका संघर्षहरुका कार्यक्रमगत लक्ष्यहरुको पनि ब्याख्या गर्दछ । अनि बद्लिँदा ऐतिहासिक अवस्थाहरुको आवश्यकता अनुरुप यसले आवश्यक र सान्दर्भिक कुरालाई स्वीकार गर्ने र आत्मसात गर्ने क्षमता राख्दछ । यही नै यो सामाजिक विज्ञानको निरन्तरताको नियम हो ।
एउटा रचनात्मक सामाजिक विज्ञानको नाताले मानव जातिको प्रगतिको आधारमा यसरी मार्क्सवादले स्वयंलाई समृद्ध पार्दछ । यस सन्दर्भमा मार्क्स र एंगेल्सले जे भनेका छन् ती कुराहरुलाई उल्लेख र रेखाङ्कित गर्नु आवश्यक र सान्दर्भिक हुन्छ । त्यो हो – ‘आजसम्मको सम्पूर्ण ज्ञानको इतिहासको सिलसिलामा धर्म विचारधाराकै एउटा सबैभन्दा प्रभुत्वशाली तत्त्व बनेर आएको छ’ । यस कारणले शोषक तथा शोषित वर्ग बिचको संघर्षको अभिव्यक्ति पनि धार्मिकरुपमा समेत हुँदै आएको पाइन्छ । त्यसैले समाजमा आज पनि परिरहेको धर्मको प्रभावलाई बुझ्नु मार्क्सवादका लागि त्यत्तिकै प्रासंगिक हुन्छ, जति अन्य विचारधात्मक रुपहरुलाई बुझ्नु प्रासंगिक हुन्छ । यसका अतिरिक्त धर्मको सँधै नै एउटा मानतावादी अन्तरवस्तु रहने गरेको छ । यो कुरा स्वयं मार्क्सले पनि स्वीकारेका छन् कि मानिसको हित हुने कुनै पनि कुरा उनका निमित्त पराई कुरा होइन र हुँदैन । यिनै महत्त्वपूर्ण कुराहरुलाई राम्ररी ध्यानमा राखेर समाजमा धर्मको भूमिका र यसबारे मार्क्सवादी अवधारणा बुझ्न र ब्याख्या गर्न सही, सरल र सजिलो हुन्छ ।
वास्तवमा विश्वका महान दार्शनिक एवं सिद्धान्तकार कार्ल मार्क्सले स्पष्टरूपमा के भनेका छन् भने ‘‘धार्मिक पीडा एकै पटक वास्तविक पीडाको पनि अभिव्यक्ति तथा वास्तविक पीडाको विरुद्ध विरोध प्रदर्शन पनि हो । धर्म उत्पीडित प्राणीको चित्कार (सुस्केरा) हो । एउटा हृदयहीन संसारको हृदय हो, त्यसरी नै जसरी कुनै आत्मविहीन स्थितिको त्यो आत्मा हो । त्यो जनताको अफिम हो ।’’ ( धर्म, मार्क्स एंगेल्सः हेगेलको अधिकार सम्बन्धी दर्शनको आलोचनामा योगदान, पृष्ठ ५१)
धर्म यदि अफिमै हो भने पनि त्यो यसकारणले हो कि त्यसमा एउटा काल्पनिक संसारमा मानिसलाई लैजाने अद्भूत क्षमता हुन्छ, जस्तो व्यक्तिलाई लठ्ठ पार्ने क्षमता अफिममा हुन्छ । कुनै पनि उत्पीडनमा परेका मानिसलाई धर्मले एउटा काल्पनिक संसारमा (जुन कल्पनालोक मात्र हो) लैजाने त्यस्तै क्षमता हुन्छ जस्तो क्षमता अफिमा हुन्छ । यसरी कुनै पनि उत्पीडितका लागि धर्मले एउटा काल्पनकि राहतको रुपमा पलायनको बाटो प्रस्तुत गर्दछ । त्यसका लागि एउटा हृदयहीन संसारमा हृदय, एउटा आत्माबिहीन स्थितिमा आत्मा जुटाइदिन्छ । ठीक यही कारणले धर्म त्यो अफिम हो जसको जनताले स्वयं आफूलाई भुल्याउनका निमित्त आवश्यकता पर्दछ र त्यसबेलासम्म आवश्यकता पर्दछ, जबसम्म जनता यस्तो स्थितिमा फँसेका हुन्छन् । जुन कुरा उनीहरुलाई आफ्नो ज्ञान र नियन्त्रणभन्दा बाहिरको हो भन्ने लाग्दछ । वास्तवमा एंगेल्सले त कतिसम्म लेखेका छन् भने ‘सम्पूर्ण धर्म मानिसको दैनन्दिन जिन्दगीलाई नियन्त्रित गर्ने शक्तिहरुको मानिसहरुको मानसपटलमा बनेको काल्पनिक प्रतिबिम्ब बाहेक अरु केही होइन’ । (ड्युरिङ मत खण्डन)
यस प्रकार सारतः धर्मको मार्क्सवादी अवधारणा त्यसको समग्र दार्शनिक आधारसँग जोडिएको छ । मानिसको साँचो स्वतन्त्रता तथा मुक्ति के हो, यस सोझो र महत्त्वपूर्ण प्रश्नको उत्तरको खोजी गर्दै कार्ल मार्क्सले के विचार गरे भने क्रान्तिको हेगेलवादी विचारलाई छोडिदिनु पर्दछ । उनको समयमा त्यस विचारको प्रतिनिधित्व फायरबाखले गर्दथे । मार्क्सले हेगेलको त्यो विचारलाई परित्याग गरे र उनी बहुतै महत्त्वपूर्ण निष्कर्षमा पुगे । त्यो निष्कर्ष यस्तो थियोः ‘मानिसको चेतना समाजिक स्थितिबाट निर्धारित हुन्छ, न कि त्यसको उल्टो (मानिसको चेनताले सामाजिक स्थिति बनाउँदछ भन्ने कुरा) । मानिसको चेतनाले उसको अस्तित्वको निर्धारण गर्दैन । त्यसको बिपरीत मानिसको सामाजिक अस्तित्व नै उसको चेतनाको निर्धारक हो’ । (राजनीतिक अर्थशास्त्रको आलोचनाबाट)
वस्तुतः यसरी आधारभूत महत्त्वको निष्कर्ष निकाल्दै मार्क्स भन्दछन्ः अधार्मिक आलोचनाको आधार होः मानिसले धर्मको निर्माण गर्दछ । धर्मले मानिसलाई बनाउने होइन, अर्को शब्दमा, चिन्तन तथा त्यसबाट निस्कने बौद्धिक व्यवहारको दृष्टिबाट मानवीय चेतनाका अरु प्रत्येक अभिव्यक्तिहरु झैँ नै धर्म पनि मानवीय समाजिक अस्तित्वकै परिणाम हो न कि त्यसको (सामाजिक अस्तित्वको) कारण । यस अवधारणाले धर्मलाई कुनै स्वयम्भू वस्तुको रुपमा स्वीकार्दैन । धर्मलाई कुनै यस्तो वस्तु मान्दैन जुन इतिहासमा समाजको गति चालक शक्तिबाट स्वतन्त्र रहेको होस् । हुन पनि ठीक यसै कारणले मार्क्सवादले कोपर्निकस तथा एकलव्यको उत्पीडनको दोष धर्ममाथि थोपर्दैन । त्यसले त ती सबै धार्मिक भाषामा अभिव्यक्त सामाजिक शक्तिहरु तथा आन्दोलनहरुलाई स्वभाविक अभिव्यक्तिको रुपमा लिन्छ । किनकि सम्पूर्ण ज्ञात इतिहासमा धर्म विचारधाराको एउटा प्रभूत्त्वशाली तत्त्वको रुपमा रहेको छ । अनि जबसम्म यो विचारधाराको रुपमा बनिरहन्छ, प्रगतिशील तथा प्रतिकृयावादी विचार, शासक वर्गको निहित स्वार्थ तथा शोषित वर्गका मागहरु सबै कुरा समानरुपले मानिसहरुको मानसपटलमा प्रतिबिम्बित भइरहनेछन् । मार्क्सवादले जहाँ सुफी, भक्ति आदि धार्मिक सुधार आन्दोलनहरुको सकारात्मक तथा प्रगतिशील अन्तरवस्तुलाई चिन्दछ, त्यही तिनीहरुको सीमालाई पनि रेखांकित गर्दछ कि कसरी कुन प्रकारका आन्दोलनले धर्मका सीमाभित्र सीमित भएर परिवर्तन ल्याउन सक्तैन, जबसम्म त्यो सामाजिक परिस्थितिमा परिवर्तन ल्याउन सकिँदैन, त्यो कुनै खास धार्मिकरुपमा प्रभूत्त्वको स्थितिमा अभिव्यक्त भइरहेको हुन्छ, त्यसबेलासम्म त्यस खास धार्मिक रुप तथा त्यससँग जोडिएका उत्पीडनलाई समाप्त पार्न सकिने छैन । यसरी धार्मिक सुधार आन्दोलनको सकारात्मक अन्तरवस्तुलाई पहिचान गर्नुका साथसाथै मार्क्सवाद धर्मको इतिहासलाई पनि मानव सभ्यता तथा त्यसै अनुरुप मानव चिन्तनको विकासको सीमा राख्न सफल र समर्थ भएको छ । प्रष्ट छ, यसरी धर्म कुनै अलौकिक वस्तु रहेको छैन ।
यस सम्बन्धमा एंगेल्सले प्रष्ट के भनेका छन् भने ‘धर्म त्यस्तो प्रतिबिम्ब हो जसमा लौकिक शक्तिहरुले परलौकिक रुप लिन्छन्’ । अर्थात् पारलौकिक शक्ति बन्दछन् । इतिहासको प्रारम्भमा यस्तो प्रतिबिम्ब प्रकृतिका शक्तिहरुको नै हुने गर्दथ्यो । हाम्रो आफ्नै सन्दर्भमा सूर्य, अग्नि, वायु, नाग आदिको मूर्ति पूजाको आदिम रुप देख्न र बुझ्न यसै प्रसंगमा सकिन्छ । बैदिक कर्मकाण्डहरु सारतः यज्ञमा आधारित छन्, जुन अग्नि जगाउने एउटा रुप नै हो ।
तर धेरै समय बित्न नपाउँदै प्रकृतिका ती शक्तिहरुका साथै सामाजिक शक्तिहरु पनि सक्रिय हुन थाल्दछन् । ती सामाजिक शक्तिहरु पनि मानिसका सामु प्राकृतिक शक्ति जस्तै बाहिर तथा प्रारम्भमा अगम्य लाग्ने शक्तिकै रुपमा आउँदछन् । सतही रुपमा ती शक्तिहरुमाथि पनि त्यसरी नै त्यस्तै प्रकारको प्राकृतिक आवश्यकताको रुपमा हावी रहन्छन्, जसरी प्रकृतिका शक्तिहरु त्यसमाथि हावी र प्रभावी रहने गर्दै आएका थिए । ती काल्पनिक प्राणीहरुमा जो आरम्भमा केवल प्रकृतिकै रहस्यपूर्ण शक्तिलाई प्रतिबिम्बित गर्दथे, यस विन्दूमा पुगेपछि सामाजिक गुण पैदा हुन्छ । ती इतिहासको शक्तिको प्रतिनिधि बन्दछन् । समाज विकासको अझ अगाडिको अवस्थामा पुगेर अनेकौं प्रकारका देवताहरु सम्पूर्ण प्राकृतिक तथा सामाजिक गुणयुक्त एउटा सर्वशक्तिशाली ईश्वरमा स्थानान्तरित हुन जान्छन् । यो ईश्वर निराकार मानवकै प्रतिबिम्ब हो । एकेश्वरवादको जन्म यसै प्रकारले भएको थियो । ऐतिहासिकरुपमा यो उत्तरकालीन युनानीहरुहरुको भ्रष्ट दर्शनको अन्तिम उपज थियो । फेरि त्यसले यहुदीहरुको विशिष्ट जातिय देवता ‘जेहोवा’को रुपमा अवतार लियो । यो सुविधाजनक, शुद्ध र सार्वभौकिरुपले संयोजनीय रुपमा ती बाह्य प्राकृतिक तथा सामाजिक शक्तिहरुकासाथ जसले तिनमाथि शासन गर्दछ, मानिसको तत्कालीन अर्थात भावनात्मक सम्बन्धको रुपमा धर्म त्यतिबेलासम्म कायम रहन सक्तछ जबसम्म मानिस ती शक्तिहरुको नियन्त्रणमा बाँधिइरहेको हुन्छ । तर के कुरा बारम्बार देखिसकिएको छ भने वर्तमान विश्व–पुँजीवादी समाजमा एउटा बाह्य शक्तिको रुपमा मानिसमाथि ती आर्थिक परिस्थितिहरुकै शासन हुन्छ जसको सृष्टि स्वयं मानिसले नै गरेका हुन् । उनीहरुमाथि उत्पादनका ती साधानहरुको शासन हुन्छ, जसको निर्माण स्वयं उनीहरुले गरेका हुन्छन् वा गरेका छन् । यसकारण ती प्रतिबिम्बहरु परावर्तक क्रियाको वास्तविक आधार बनिरहन्छन् जसले धर्मलाई जन्म दिन्छ । अनि त्यसको साथसाथै स्वयं धार्मिक प्रतिविम्ब पनि कायम रहन्छ । (ड्युरिङ मत खण्डन, फेडरिक एंगेल्स)
यसरी मार्क्सावदले इतिहासको वैज्ञानिकढंगले विश्लेषण गर्दै महान समाजिक संघर्षरुमा धर्मको जटील भूमिकालाई देख्न र बुझ्न सक्यो । इसाई धर्मको मूल ती जन आन्दोलनहरुमा पाइन्छ, जुन विद्रोह रोमन साम्राज्यको पतनपछि उठेको थियो । त्यसैगरी इस्लाम धर्मको उदयको सिलसिलामा मार्क्स र एंगेल्स ‘बेदुईहरु’ र ‘नागर’ जनका बिचका आन्तरिक संघर्षहरु र अबिशिनियावाट अरब प्रायद्वीप मुक्त गराउने तथा लामो समयदेखि निष्कृय भएको व्यापारिक बाटो फेरि कब्जा गर्ने बढ्दो अरब जातीय चेतनालाई रेखांकित गरेका छन् । त्यसैगरी ‘प्रोटेस्टेन्ट’ धार्मिक सुधार मतको उदयलाई पतनशील सामन्ती वय्वस्था र उदयमान पुँजीपति वर्ग बिच चलिरहेको जटील वर्ग संघर्षको अभिव्यक्तिको रुपमा हेरिएको थियो । प्रोटेस्टेन्ट धर्मप्रतिको अमिटता उदयमान पुँजीपति वर्गको अजेयतासँग गाँसिएको छ । (एंगेल्सः फायरबाख)
मार्क्स र मार्क्सवादीरुका लागि धर्म ती समाजिक परिस्थितिहरुको उपज हो जुन सामाजिक परिस्थितिमा मानिस रहेकोह हुन्छ र अहिले पनि रहिरहेको छ । धर्मको इतिहास एक अर्थमा मानवीय विकासको इतिहासको प्रतिबिम्ब पनि हो । त्यसैले चेतनाका अन्य रुपझै धर्म स्वतः सम्पूर्ण वस्तु होइन, वास्तविक संसारको नै प्रतिबिम्ब हो । जबसम्म मानिसले प्रकृतिका शक्ति र सामाजिक शक्तिहरु जसले उनीहरुको दैनिक अस्तित्वलाई निर्धारण गर्दछन्, तथा उनीहरुको भाग्यलाई सञ्चालन गर्दै रहेको देखिन्छ, ती दुवैलाई बुझ्दैनन् एउटा अलौकिक तथा संसार बाहिरको सत्ताको कल्पनाको आवश्यकता भइरहन्छ । यसरी धर्मले मानिसहरुका लागि राहत, सौन्दर्य र आश्वासनको यस्तो एउटा संसार बसाइदिन्छ जुन कुरा मानिसले आफ्नो वास्तविक जीवनमा प्राप्त गर्ने गर्दैन । यसको साथै कुनै खस चरणमा समाजमा चलिरहेको वर्ग संघर्ष पनि त्यस बेलासम्म धार्मिक भाषामा अभिव्यक्त गर्न सकिन्छ, जबसम्म धर्म विचारधाराको नै सबैभन्दा प्रमुख रुप बनिरहन्छ । अहिले जहाँसम्म कुनै खास चरणमा भइरहेको वर्ग संघर्षको धर्ममा अभिव्यक्तिको प्रश्न छ, त्यो अभिव्यक्ति जुन सीमासम्म पुगेको छ, त्यसै हदसम्म शासक वर्गीय विचारधाराका अन्य रुपहरु जस्तै धर्म पनि शासक र शोषक वर्गको हतियार पनि बन्दछ र त्यस खास शासनको वैधता सावित गर्ने साधन पनि ।
विश्वमा पहिलो पटक शोषित पीडित राज्य स्थापना गर्ने महान लेनिनले भनेका छन् – ‘धर्म आत्मिक शोषणको एउटा रुप हो जसले प्रत्येक ठाउँमा ती जन समुदाय, जो निरन्तर अर्काका लागि काम गर्ने गर्दछन् र अभाव तथा बञ्चनाबाट पहिलेदेखि ने संत्रस्त छन्, तिनको जीवनलाई अझ बोझिलो बनाइदिन्छ । शोषक वर्गका विरुद्ध संघर्षमा शोषित वर्गको असक्तताले मृत्युपछिको अधिक सुखद जीवनमा अनिवार्यरुपले त्यसैगरी उनीहरुमा विश्वास पैदा गरिदिन्छ जसरी प्रकृति विरुद्धको संघर्षमा वा त्यस्तो संघर्षको सिलसिलामा असभ्य जंगली जातिहरुको नपुंसकताले देवताहरु, दानवहरु, चमत्कारहरु आदिमा तिनको विश्वाको सृष्टि गरिदिएको थियो’। जो मानिस आफ्नो जीवनमा बडो मेहनत, परिश्रम गर्दछन् र अभावमा जीवन व्यतित गर्दछन् उनीहरुलाई धर्मले यो जीवनमा विनम्र हुने र धैर्य गर्ने तथा परलोकको सुखको आशाबाट सान्त्वना प्राप्त गर्ने शिक्षा दिन्छ । तर जो मानिस अर्काको श्रममाथि निर्भर र परजीवी हुन्छन् उनीहरुलाई धर्मले यस जीवनमा वत्सलताको व्यवहार गर्ने (दीन दुःखीहरुमाथि दया गर्ने) शिक्षा दिन्छ र यसरी शोषक वर्गको रुपमा आफ्नो सम्पूर्ण अस्तित्वलाई सिद्ध गर्ने एउटा सस्तो सुत्र बनाइदिन्छ अनि स्वर्गमा सुख प्राप्त गर्ने टिकट सस्तो मूल्यमा बेचिदिन्छ’ ।
यसैले मार्क्सवाद अनुसार धर्म, एउटा खास चरणमा, सामाजिक परिस्थितिको अनिवार्य उपज हो र अर्को अवस्थामा वर्गीय शोषणको अभिव्यक्ति तथा शासक वर्गको वर्गीय विचारधाराको अभिन्न अङ्ग पनि । ठीक यसै कारणले मार्क्सवाद र एक मात्र मार्क्सवादले मात्र धर्मको व्युत्पत्ति, त्यसको मूल तथा मानिसको मनमा त्यो अहिलेसम्म पनि हावी र प्रभावी भइरहनुको आधार वैज्ञानिक ढंगले बुझेर आधिकारिकरुपमा यसो भन्न समर्थ छ कि धर्मको भूमिका सामाजिक गठनको अवस्थाबाट निर्धारण हुन्छ । अनि ठीक यसैले, मार्क्सवादको हमला स्वयंमा धर्ममाथि हुँदैन, बरु ती परिस्थितिहरुमाथि यसले धावा बोल्दछ जसले धर्मलाई उत्पन्न गर्दछन् । त्यो परिस्थितिमाथि तीब्र प्रहार हुन्छ, जसले जनतामा धर्मको प्रभाव कायम राखिराख्ने गर्दछन् । किनकि धर्म कुनै स्वयंभू वस्तु होइन । मार्क्सवादले त्यो परिस्थितिलाई नै आधारभूतरुपमा परिवर्तन गर्न चाहन्छ र बदल्ने प्रयत्न गर्दछ जसले धर्मलाई आधार प्रदान गर्दछन् र बर्गीय उत्पीडनको औजारको रुपमा धर्मलाई कायम राख्दछन् । ड्युरिङको कथन थियो कि समाजवादी किसिमको व्यवस्थाले धर्मका सबै आवश्यक तत्त्वहरुलाई समाप्त गर्दछ । यस तर्कको विरुद्ध आफ्नो चर्चित र प्रसिद्ध बहसमा फ्रेडरिक एंगेल्सले भनेका छन् — ‘तर श्रीमान् ड्युरिङ धर्मको आफ्नो मृत्यु स्वयं हुनेसम्म प्रतीक्षा गर्न तयार छैनन् । उनी भविष्यका आफ्ना सिपाहीहरुलाई धर्ममाथि हमला गर्नका लागि उक्साउँदछन् र यसरी धर्मलाई एक किसिमको शहादत तथा अझ बढी प्राण दिन मद्दत गर्दछन्’ । (एंगेल्स ड्युरिङ मत खण्डन)
मार्क्सवादीहरु भौतिकवादी हुन्छन् र त्यसो भएको हुनाले उनीहरुले एउटा वर्ग विभाजित समाजमा धर्मको जटील भूमिकालाई बुझ्दछन्, अनि त्यसको आँकलन गर्न सक्तछन् । उनीहरुले यो पनि थाहा पाउँदछन् कि उपरी ढाँचामा एउटा रुपको आधारमा धर्म वर्गबिहीन समाजको स्थापनापछि पनि लामो समयसम्म कायम रहिरहन्छ । मार्क्सवादीहरुको विरोध धर्ममाथि नभएर त्यो धर्म खडा गर्ने समाजिक परिस्थितिमाथि हुन्छ । मार्क्सले भनेका छन् – ‘जनताको मिथ्या सुखको रुपमा धर्मको उन्मूलन गर्नु जनताको वास्तविक सुखको निमित्त आवश्यक छ । आफ्नो अवस्थाको सम्बन्धमा भ्रान्त धारणाहरुलाई तिलाञ्जली दिने माग हो यो जसमा भ्रान्तधारणाहरुको आवश्यकता हुन्छ । यस कारण धर्मको आलोचना बीजरुपमा दुःखको त्यस घाँटीको आलोचना हो जसको प्रभामण्डल धर्म हो’ । (हेगेल धर्म सम्बन्धी दर्शनको आलोचनामा योगदान, धर्म मार्क्स र एंगेल्स पृष्ठ ५१) धर्म सम्बन्धी मार्क्सवादी समझदारी यही हो ।
धर्मको मार्क्सवादी मूल्यांकन, त्यसको मानवतावादी अन्तरवस्तु तथा वर्गीय शासनको औजारको रुपमा त्यसको उपयोग हुने कुरालाई समग्रतामा बुझ्नु जरुरी छ । कम्युनिष्टहरुले त्यो परिस्थितिलाई बदल्नका निमित्त काम गर्दछन्, जुन परिस्थितिले मानिसमा धर्मको पकड कायम राख्दछ । यसरी स्वयंमा धर्ममाथि मार्क्सवादीहरुले हमला गर्दैनन् । किनभने मानव सभ्यताको सामाजिक गठनबाट स्वतन्त्र स्वयंमा कुनै भिन्नै वस्तु धर्म हुँदैन, होइन र हुन पनि सक्तैन । यसै कारणले लेनिनले भनेका छन् कि ‘शहरी सर्वहारा वर्गको पिछडिएको हिस्सामा र किसान जन समुदायमा धर्मको प्रभाव किन कायम रहेको छ ? बुर्जुआ( पुँजीवादी), प्रगतिशील उग्रवादी या बुर्जुआ भौतिकवादीरु यस प्रश्नको उत्तर दिन्छन्ः जनताको अज्ञानताको कारण । अनि यसैले धर्मको नाश होस् र वास्तविकता चीरञ्जीवी होस् ! नास्तिक (अनिश्वरवादी) वादी विचारहरुको प्रचार गर्नु नै हाम्रो मुख्य कर्तव्य हो’ । तर मार्क्सवादी कम्युनिष्टहरुले त्यसको उत्तर यसरी दिन्छन् – ‘यो (उनीहरुको भनाइ) सही होइन । यो एउटा सतही दृष्टिकोण हो । यसले धर्मको मूललाई पर्याप्त गहिराइपूर्वक व्याख्या गर्दैन । यसले त्यसको (धर्मको) भौतिकवादी व्याख्या गर्दैन, भाववादी (Idealist) व्याख्या मात्र गर्दछ ।
आधुनिक पुँजीवादी देशहरुमा धर्मका यी जराहरु मुख्यतया सामाजिक छन् । आज धर्मको सबैभन्दा गहिरो जराको कारण श्रमजीवी मेहनतशील जनताको सामाजिक रुपले पद्दलित स्थिति तथा पुँजीवादका ती अन्धा शक्तिहरुका सामु प्रत्यक्ष देखिने त्यस्तो पूर्ण असहाय अवस्था हो, जसले प्रत्येक दिन र प्रतिघण्टा त्यससलाई सर्वाधिक भयंकर यातनाहरु तथा उत्पीडनहरुका चक्काले पिसिरहेको हुन्छ । यी यातना र यन्त्रणाहरु ती यातना र यन्त्रणाहरु भन्दा हजार गुणा कठोर हुन्छन् जुन युद्ध, भुँइचालो आदि जस्ता असाधारण घटनाहरुका कारण जनताले भोग्नु बेहोर्नु परेको हुन्छ । ‘‘देवताहरुको जन्म भयबाट भएको हो । पुँजीको अन्धा शक्तिको भयबाट । यो शक्ति अन्धो यस कारणले हुन्छ कि जनताले त्यो शक्तिलाई पहिलाबाटै देख्न जान्न सक्तैनन् । यो शक्ति यस्तै हुन्छ जुन शक्तिबाट सर्वहारा वर्ग तथा स–साना मालिकहरुको जीवनका हर कदममा न केवल ‘अचानक’, ‘अप्रत्याशित’, ‘बर्बादी’, ‘विध्वंश’, ‘दरिद्रता’, ‘बेश्यावृत्ति’, ‘अनिकाल’, आदिबाट मर्ने डरले उनीहरुलाई आक्रान्त राखिएका हुन्छ । अझ धेरै यस्ता कठिनाइहरुका पहाडहरु उनीहरुमाथि थोपरिदिने गरिएको हुन्छ । यी नै हुन् आधुनिक धर्मका जरा जसलाई भौतिकवादीहरुले ‘जो वास्तवमा दुधेबालक तालका भौतिकवादी होइनन् र त्यस्तो बनिरहन पनि चाँहदैनन्’, सबैभन्दा पहिला र सबैभन्दा प्रमुखरुमा ध्यानमा राख्नु पर्दछ र राख्दछन् । यी जन समुदायको मानसपटलबाट, जुन मानसपटल पुँजीवादी श्रमको भारले थिचिएर मिचिएर दबेको छ, जसले कुनै पुस्तकको धर्मलाई निकाल्न सक्तैन, जबसम्म ती जन समुदाय स्वयं धर्मका यी उपर्युक्त जराहरुसँग लड्न सिक्तैनन् र लड्न सक्तैनन् । तबसम्म सर्वथा एकताबद्ध, संगठित र सुनियोजित तथा सचेत ढंगले उनीहरु पुँजीको शासनका सबै रुपहरुका विरुद्ध संघर्ष गर्न सिक्तैनन् र संघर्ष गर्न पनि सक्तैनन् ।’’
यस प्रकार धर्मको रक्षक हुने स्वयम्भू इजारेदार साम्प्रदायिक तथा तिनको पृष्ठपोषक शक्तिहरुको दाबीलाई भण्डाफोर गर्नु र तिनलाई नङ्ग्याउनु पनि आजको समाजिक परिस्थितिको विरुद्ध संघर्षको एउटा प्रमुख अङ्ग हो । अनि यस्तो परिस्थिति बदल्नु नै मार्क्सवादी कम्युनिष्ट शक्तिहरुको प्रमुख लक्ष्य र कर्तव्य हो र हुनु पर्दछ । धर्मलाई बेढंगले यसको उत्पत्ति, विकास र प्रभावको लेखाजोखा नगरी विरोध गर्दा ढोंगी र पाखण्डी शक्ति र तत्त्वहरुलाई नै फाइदा पुग्ने गर्दछ र यसरी जनमुक्तिको आन्दोलन अल्मलमा पर्ने कुरा पनि प्रष्ट नै छ ।
आजको हाम्रो समाज
आज हामीले हाम्रै वरिपरिको समाजलाई नियालेर हेर्यौं भने प्रष्टसँग देख्दछौं कि त्यहाँ असमानता र शोषण व्याप्त छ । सम्पन्न र विपन्नका बिच, कथित माथिल्लो र तल्लो जाति जातिका बिच, पुरुष र महिला बिच, शहर र गाउँका बिच यो असमानता, विभेद र शोषण सर्वत्र कायम रहेको छ । यो समाजमा मानिसले जिउँदो रहनकै निमित्त पनि कडा संघर्ष गर्नु परिरहेको छ । भविष्य अनिश्चित र अन्धकारमय छ । भयंकर कठिनाइँहरुलाई झेल्नु परिरहेको छ । हाम्रो जनसंख्याको झण्डै एक तिहाई अंश त्यसमा पनि ऊर्जाशील युवा जन शक्ति विदेशिनुको मुख्य कारण पनि यही नै हो ।
प्रायजसो के भनिँदै आएको छ भने सामाजिक असमानता स्वाभाविक र ‘ईश्वर’को रचना हो । कसैले खरो तरिकाले यस्तो असमानता किन, जसले काम गर्दैन उससँग अथाह सम्पत्ति छ, अनि जो मरीमरी काम गर्छन्, ती भने गरिबीको अथाह सागरमा डुबेका छन्, किन ? यसको उत्तर के दिने गरिन्छ भने कि भगवानको मर्जी नै यही हो – कि काम नगर्नेहरु काम गर्नेभन्दा बढी कुशल छन्, –कि उनीहरु ज्यादा मेहनत गर्दछन् कि – प्रकृतिको नियम नै यस्तै छ, त्यसैले त – कोही सवल र सक्षम छन्, कोही दुर्वल, कमजोर र असक्षम छन् ।
त्यसैगरी समाजमा महिला पुरुषको अधीनमा पछौटे स्थितिमा किन छन् भनेर प्रश्न उठाइयो भने के जवाफ सामान्यतः आउदछ भने – महिलाहरु प्राकृतिकरुपले नै कमजोर हुने गर्दछन् र उनीहरुको काम पनि बालबच्चाको पालनपोषण, रेखदेख गर्ने र घरेलु काम गर्ने भएकोले उनीहरु पछि परेका हुन् । यो उनीहरुको प्राकृतिक गुण हो । तर मार्क्सवादले कुनै पनि समाजलाई शाश्वत अपरिवर्तनीय र सदासर्वदा चलिरहने प्रकृतिको मान्दैन । समाज सँधै एकनाशको रहेको छैन र रहँदैन पनि । समाज र सामाजिक सम्बन्धहरु मानिसले बनाएका हुन् । ती ईश्वरीय र प्राकृतिक होइनन् । त्यसैले ती बद्लिन्छन् र बदल्न सकिन्छ, बदल्नु पर्दछ । कुरा के मात्र हो भने यो समाजलाई कसरी बदल्ने हो ? भिन्न र नयाँ उन्नत संसार के कसरी बनाउने भन्ने महत्त्वपूर्ण सवाल हो । कतिपय मानिसले के भन्ने गर्दछन् भने यदि कुनै व्यक्ति कम भ्रष्ट, कम दुष्ट या धार्मिक प्रकृतिको हुने निर्णय लियो भने समाजमा सुधार आउन सक्तछ । तर मार्क्सवादले के भन्दछ भने यस्तो निजी कोशिस पर्याप्त छैन र हुँदैन पनि । त्यसो भए समाज परिवर्तन के कसरी गर्ने त ?
मार्क्सवादले भन्दछः यसका लागि पहिलो कदम निश्चय नै हामीले समाज र सामाजिक सम्बन्ध प्रकृति र स्वभावलाई ठीक किसिमले बुझ्नु पर्दछ । हामीले कारखाना मालिक र मजदुर, किसान र सामन्त, पुरुष र महिला, माथिल्लो जाति र तल्लो जाति बिचको आपसी सम्बन्धलाई हेर्नु, केलाउनु र तिनबाट सिक्नुपर्दछ र तिनको सतही होइन, गहिराइमा पुगेर अध्ययन गर्नु पर्दछ । अहिलेसम्म सिकेका कुरामा मात्र सीमित रहनु हुँदैन र तिनको सम्बन्धका मूल आधारमा रहेका असमानतका जडलाई पहिल्याउनु पर्दछ । सतही सत्यबाट गहिरो र वस्तुगत सत्यमा पुग्ने र बर्तमानलाई बदलेर उन्नत भविष्यतर्फ लाग्ने हिसाबले समाजलाई बुझ्नु पर्दछ । यसका लागि समाजिक सम्बन्धहरु कसरी बन्दै र विकसित हुँदै आए अनि तिनले मानिसहरुका बिच के कस्तो प्रभाव कसरी पारे र मानिसलाई के कस्ता कुरामा अभ्यस्त तुल्याउने प्रयत्न गरे भन्ने कुरा बुझ्नु पनि उत्तिकै आवश्यक छ । अर्थात समाजलाई वर्गीयता प्रदान गर्ने र त्यसद्वारा परिचालन गर्ने आधार के कसरी तयार भयो र कायम रह्यो, अनि त्यो शाश्वत जस्तो लाग्ने यथार्थलाई के कसरी बदल्न सकिन्छ र बद्लिदै आएको छ भन्ने कुरा नै मार्क्सवादको आधारभूत ज्ञान तत्त्व हो । त्यो वर्गीय समाजमा वर्ग संघर्षमा आधारित हुन्छ र छ भन्ने कुरा नै यसको सारतत्त्व हो । धर्म, दर्शन, सिद्धान्त, विचार, विचार, नीति आदि मानिस निर्मित हुन् ।
मानव समाजको विकासमा ती जे जति असान्दर्भिक, असामयिक र वाधक बनेका छन्, तिनलाई बदल्नु पर्दछ, बदल्न सकिन्छ र बद्लिँदै आएको छ भन्ने कुरा हो । त्यसैले धर्मका नामम फैलाइएका भ्रम, अन्धविश्वास र त्यसका आधारमा उत्पन्न गरिएका सामाजि अर्थ–सामाजिक तथा साँस्कृतिक शोषण हाम्रो देशमा पनि व्याप्त छ, त्यसलाई मार्क्सवादी दृष्टिकोणका आधारमा सही परिप्रेक्ष्यमा तिनबाट उत्पन्न गरएका समस्याहरु बुझेर समाधान गर्ने दिशा लिनुपर्दछ । धर्मसम्बन्धी अध्ययन अनुसन्धान गर्नुको अर्थ पनि यही नै हो ।
समानता, न्याय, समुन्नति र सामाजिक एकताभन्दा ठूलो धर्म आज अरु केही हुनै सक्तैन । अरु सबै उडन्ते काल्पनिक र यथास्थितिलाई जबर्जस्ती कायम राख्ने पाखण्डपूर्ण र ढोंगी कुरा मात्र हुन् भन्ने बुझ्नु बुझाउनु भने अत्यावश्यक छ । यी कुरालाई जनताका बिचमा जोरजबरस्ती आदेश उपदेश दिएर होइन सत्य तथ्य र वास्तविकताको उजागर गरेर धर्मका विधि विधान र प्रचलन, अभ्यास आदि के कसरी हुँदै आए भन्ने सम्झाएर मात्र समाजलाई बदल्न सकिन्छ । नत्र प्रतिकृयावादी यथास्थितिवादी यथास्थितिवादी शक्तिले धार्मिक भड्काएर जनतामा विभाजन ल्याउने, धार्मि द्वेष फैलाउने र आफ्नो यथास्थितिवादी सत्ता र शक्तिलाई जेन तेन लम्ब्याइराख्ने आधार मात्र प्राप्त गर्दछ, यस कुरामा भने गम्भीररुपमा सतर्क हुनै पर्दछ ।
र, यो पनिः
धर्मको वास्तविकताः एक मार्क्सवादी दृष्टिकोण – क. लोकनारायण सुवेदी
(लेखक नेपाल कम्युनिस्ट पार्टीका सहअध्यक्ष हुनुहुन्छ ।)