Nepal Communist Party (NCP)
 

अंग्रेजी वर्षको डिसेम्बर महिनाको अन्तिम साता चीनको वुहान सहरबाट फैलिएको नोवेल कोरोना भाइरस (COVID-19) का कारण संसारभरका मानव समुदाय भयभित छन् । हाम्रो सुन्दर मानव सभ्यतालाई यो भाइरसले तङ्ग्रिन नै गारो हुने गरी गिजोलिरहेको छ । भाइरसको उद्गमस्थल वुहानसहित चीन क्रमिक रुपमा तङ्ग्रिन त खोज्दैछ तर विकसित देखिएका युरोप, अमेरिका लगायतका मुलुकहरूमा यो अझ डरलाग्दो र भयंकर रुप ग्रहण गरी मौलाइरहेको छ ।

आजसम्म करिब ३३ लाख भन्दा बढी मानिस यस भाइरसबाट सङ्क्रमित भएका छन् भने २ लाख ३५ हजार हाराहारी मानिसको मृत्यु भइसकेको छ । अनि १० लाख ५० हजार बढी निको भई घर फर्किएका छन् भने अझै ५१ हजार बढी मानिस दयनीय अवस्थामा छन् र मृत्युसँग अन्तिम लडाइँ लडिरहेका छन् ।

ghanshyam pandey
लेखक

दक्षिण एसियामा भाइरसको प्रभाव दिनानुदिन बढिरहेको छ । भारत, अलि पर इरानमा यो भाइरसले नराम्रो प्रभाव पार्दै गर्दा सुन्दर हिमालयको काखमा अवस्थित हाम्रो देश नेपाल पनि अछुतो रहन सकेन । यद्यपि हामीकहाँ यो भाइरसको प्रभाव कमजोर देखिएको छ । आजसम्म कुनै मानिस मृत्युको शिकार भएका छैनन् ।

नेपाल सरकारको संवेदनशील कदम, लगातारको बन्दाबन्दी अनि नागरिकले पनि मानवहित र आफ्नो सुरक्षाका लागि सरकारको आदेशलाई जति सकिन्छ अनुशासनपूर्वक पालना गरिरहेका छन् । हाम्रो सन्दर्भमा हामी सकारात्मक बाटोमा हिँडिरहेका छौँ । सरकारको निरन्तरको पहलकदमी, नागरिकप्रतिको दायित्वबोध र स्वास्थ्यकर्मीहरुको अथाह मिहिनेतले हामीलाई विश्व स्वास्थ्य संगठनले समेत ‘नेपाल कोरोना भाइरसको अति जोखिमपूर्ण देशबाट हटाएको छ ।’ हामी सुरक्षित बन्दै गइरहेका छौँ । यो हाम्रा लागि अति सुखद समाचार हो।

देश कोरोनासँग लडिरहेको छ । नागरिक बन्दाबन्दीका कारण घरभित्र बसिरहेका छन् । सम्पूर्ण उद्योग, कलकारखाना बन्द छन् । विकास र निर्माणका कामहरु स्थगन नै छन् । स्कुल कलेज बन्द हुने नै भए । माध्यामिक शिक्षा, विश्वविद्यालय शिक्षाका कक्षा मात्र होइन परिक्षाहरु समेत स्थगित भइरहेका छन् । बजार र पसल बन्द छन् ।

नेपालको राजनीति तरङ्गित भइरहेको छ । कोरोना भाइरसबाट मानव सभ्यता जोगाउनुपर्ने युगीन समयमा हाम्रा देशका नेताहरु राजनीतिको बजार चाहरिरहेका छन् । यो बहुतै उदेकलाग्दो घटना हो । यो भाइरसबाट श्रृजित महामारीलाई उचित ढङ्गले व्यवस्थापन गर्दा दक्षिण कोरियामा सरकार पक्षधर पार्टीले भर्खर भएको आम निर्वाचनमा विजय प्राप्त गरेको छ । तर हामीकहाँ एकजना समेत हताहति भएका छैनन् । आजसम्म पनि संक्रमित संख्या दुई अङ्कमा सिमित गर्न सफल सरकारको आफ्नै पार्टीका पूर्वप्रधानमन्त्रीहरु दिनगन्ती सुरु गरिरहेका छन् । प्रधानमन्त्रीलाई घेराबन्दी गरिरहेका छन् । बडो उदेकलाग्दो कुरा त के छ भने संसदमा नेपाल कम्युनिस्ट पार्टीको दुई तिहाई बहुमत छ । प्रधानमन्त्री दोश्रो पटक मृगौलाको सफल प्रत्यारोपणका बाबजुद दैनिक १८ घण्टा काममा खटिइरहेका छन् । दुई वर्ष पुग्दा नपुग्दै आफ्नै पार्टीका शीर्ष नेताहरु, स्वयं अर्का अध्यक्ष र केही पूर्वप्रधानमन्त्री समेत सरकार परिवर्तनको झ्याली पिटिरहेका छन् । अझ गम्भीर सवाल त यो छ कि मन्त्री र कुर्सी नपाउँदा पार्टीबाट विद्रोह गर्न खोज्नेहरु मन्त्री बनाउँछु भन्दा बिहान पार्टी र दिनमा मन्त्रीको सपथ खानेहरु नै नैतिकताको पाठ पढाउँछन् । आफ्नै पार्टी अध्यक्ष प्रधानमन्त्री छन् तर उनलाई हटाउन अर्का अध्यक्ष पार्टीका संसदसँग हस्ताक्षर क्याम्पिङ गर्दछन् । संसारभर कोरोना भाइरसको महामारीले सुन्दर मानव सभ्यतालाई बिखण्डित गरिरहेको छ तर हामीकहाँ एकता प्रकृया पूरा भई नसकेको पार्टीलाई अस्थिरता र बिखण्डनको नाटक मञ्चन गरिरहन्छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) २०५४ सालमा पुग्दा लोकप्रियताको शिखरमा पुग्यो । केही विवादहरु, आन्तरिक समस्या, केही सैद्धान्तिक राजनीतिक सवाल, मुलरुपमा व्यक्तित्वको टकराव समाधान गर्न नसक्दा फुट्यो । एमाले पार्टीको विभाजनले राष्ट्रिय संकट यति बढेर गयो कि अन्ततः २०४७ सालमा पुनर्स्थापना भएको बहुदलीय प्रजातन्त्र नै अस्थिर भयो । त्यस्तै २०६४ र ०६५ को माओवादीको उचाई विभाजनको प्रकृयापछि छिनभरमै मैदानमा परिणत मात्र भएन, त्यस पार्टीमा कति गहिरो संकट पर्‍यो हामीले देखेका छौँ ।

हाम्रा नेताहरुका लागि के हुन्छ मलाई थाहा छैन, सर्वहारा श्रमजीवी वर्गका लागि विभाजन पीडादायी हुन्छ । समाजवादको कल्पना गरी जिन्दगी बिताएका न्यायप्रेमी जनसमुदायका लागि यो पीडादायी हुन्छ । शहीद, आफ्ना प्रियजन र सहारा गुमाई दुःख पाएका शहीद परिवार र घाइते अपाङ्गता भएका व्यक्तिका लागि विभाजन झन पीडादायी हुन्छ । यो हाम्रा नेताहरुले थाहा पाएका छैनन् होला र ? पक्कै पनि जानकार छन् । दुःखको कुरा हाम्रा पूर्वप्रधानमन्त्रीहरुलाई शहीदको बलिदानीपूर्ण जीवन र रगत, उनका सपना र घाइते अपाङ्गको त्याग भन्दा कुर्सी प्रिय लाग्दैछ । नेपाली श्रमजीवी जनताको समाजवाद स्थापना गर्नेलक्ष्य भन्दा कथित गुटहरु र व्यक्तिगत स्वार्थ अनि अकुत धनसम्पत्ति प्रिय लाग्दैछ ।

हाम्रो पार्टीले विगत निर्वाचनमा जनताको लोकप्रिय मत पाएर सुदृढ र स्थायी सरकार गठन गर्न सफल भयौँ । आज नेपाल कम्युनिस्ट पार्टी र हाम्रो आन्दोलनलाई कमजोर बनाउन एवं एकीकृत पार्टीलाई छिन्नभिन्न पार्न देशी विदेशी शक्तिहरु कृयाशील रहेको स्पष्ट नै छ । यो संगीन घडीमा हाम्रा नेताहरु कृपया तपाईंहरु आफ्नै आत्मालाई सोध्नुहोस्, तपाईंहरु ठिक गरिरहनु भएको छ ? यो स्थितिका लागि कतै तपाईं नै त जिम्मेवार हुनुहुन्न ?

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीका पनि केही समस्याहरु छन् । तपाईहरुसँग पर्याप्त छलफल भए गरेका छैनन् वा गर्नु हुँदैन भन्ने गुनासहरु छन् । केही केही बेमौसमी र विवादस्पद निर्णयहरु पनि यस बिचमा भएका छन् ।

त्यसो हो भने यो संगीन घडीमा सुझपूर्ण संवाद मार्फत समाधान निकाल्नु पर्नेछ । केन्द्रीय सचिवालय मात्र होइन, तहगत कमिटी प्रणाली र बैठक-छलफलहरुलाई व्यवस्थित बनाउनु पर्नेछ । एउटा सर्वमान्य र साझा निष्कर्षमा पुग्नु पर्नेछ । छरपस्ट भएका विवादहरुलाई संवाद मार्फत विधि विधान र प्रणालीमा केन्द्रीकृत गर्दै एकताबद्ध नेकपा निर्माण गर्नु पर्दछ ।

नेपालमा कम्युनिस्ट आन्दोलनका लागि यो ऐतिहासिक क्षण हो । तसर्थ हाम्रा छलफलहरु, नेता-कार्यकर्ता र स्वयम् नेताहरुका बिच सम्बन्धहरु र जीवन व्यवहार आज देखापरेका समस्याहरुको निदान गर्न तर्फ हर कोही नेता कार्यकर्ताले आ-आफ्ना उर्जा र सौर्य लगाउनु पर्दछ ।

म चाहन्छु हिजोका सम्बन्धहरु अलि पछाडि सरेर सामूहिक तर तार्किक बहसहरु गर्नुपर्दछ । यो आन्दोलन र एकीकृत पार्टीको गतिलाई अझ तीव्र बनाउने अभियान नै पार्टी अभियान बनाउन सक्नु पर्दछ । “पटक पटक लड्नु, धुलो टकटकाउँदै उठ्नु र फेरि पनि अगाडि बढ्नु मानवजातिको स्वभाव हो, उसको अदम्य विशेषता हो” भनी प्रधानमन्त्रीले भने झै केही संकट, केही विभेदहरुका बाबजुद पनि पार्टीहितलाई सर्वोपरि राख्दै अगाडि बढ्नु पर्दछ ।

देशमा हुर्किइरहेको अस्थिर राजनीति त्यसका प्रभावले आक्रान्त भएर विगत चुनावमा हामीले दुई पार्टी बिचमा कार्यगत एकता गर्‍यौँ र स्थिरताका लागि वामगठबन्धन, ‘समृद्ध नेपाल र सुखी नेपाली’का लागि वामगठबन्धन’ भन्यौँ र जनताको अपार माया अनि पार्टी एकतापछि आज किन अस्थिरताका लागि खेल, ओहोदा र प्रधानमन्त्री पदका लागि जनतालाई झेल भइरहेको छ । हामीले बुझिरहेका छैनौँ । एक अवधि एक प्रधानमन्त्री जनअनुमोदित भइसकेको नारा हो । कसैलाई प्रधानमन्त्री बन्नुछ, अर्को चुनावसम्म पर्खनुस् । आज जनता र लाखौँ-लाख कार्यकर्ता भनिरहेका छन्ः कम्युनिस्ट पार्टीको दुईतिहाईको सरकार कमजोर हुँदा देश कमजोर हुन्छ, नेकपा अनि जनविश्वास र जनअभिमत कमजोर हुन्छ । श्रमजीवी वर्गका सपना, दिन दुःखीहरुको भरोसा कमजोर हुन्छ । त्यति मात्र कहाँ हो र, नेकपाप्रतिको जनआस्था कमजोर बन्दै जान्छ । अनि किन लाग्दैछन् नेताहरु राष्ट्रिय संकटमा नजाने गाउँको बाटो ।

हजारौँ हजार कार्यकर्ता भन्छन्, पार्टीका उच्च नेताहरु छलफल गर्नुस् । आफू मात्र होइन, तहगत कमिटी प्रणालीलाई सुव्यवस्थित गर्नुस् । सरकार र पार्टी प्रमुख तलबितल हुँदा कमिटी प्रणालीमा आलोचना गर्नुस् । गल्ति गर्नेहरुलाई सच्चाउनुस् । सरकारलाई सहयोग गर्नुस् । तर पदमोहमा पार्टीलाई वर्गवैरीको सामुन्ने कमजोर नबनाउनुस् ।

(लेखक नेकपा सुर्खेतका जिल्ला सदस्य हुनुहुन्छ र लेखमा व्यक्त विचार लेखका निजी हुन् ।)