अन्तर्राष्ट्रिय युवा दिवस
 

हरेक वर्ष अगस्ट १२ का दिन नेपालले पनि अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरेर मनाउने र औपारिकता निर्वाह गर्ने काम गर्छ । विश्वमा सन् २००० देखि संयुक्त राष्ट्र संघकै आह्वानमा यो दिवस मनाउन थालिएको हो । यद्यपि नेपालले भने २००४ देखि मात्रै यो अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गर्दै आएको इतिहास रहेको छ ।

हुन त युवा दिवस मनाउनु आफैमा एउटा राम्रो काम हो नै । तर युवाहरुको मुख्य समस्यालाई ओझेलमा पारेर त्यसका केही संवेदनशील पक्षमा मात्र केन्द्रित हुनु कत्तिको उपयुक्त हो भन्ने प्रश्न सर्वत्र उठ्छ र हामीकहाँ पनि उठेकोछ, उठाउनु पर्दछ । आज विश्वव्यापी रुपमा र विशेष गरेर हाम्रो देशमा ठूलो युवा शक्ति बेराजगारी, अभाव, अशिक्षा, अन्धविश्वास, कुरीति र असुरक्षाले अत्यन्तै आक्रान्त छ । त्यसमाथि भूमण्डलीकरणले थपिएको विकृति र विसंगतिले गर्दा हाम्रो युवा समुदाय उपभोक्तवादको अत्यन्तै नराम्रो किसिमले शिकार भइरहेको छ । यस्तो स्थितिमा हाम्रो देशबाट आज घोषितरुपमा नै दिनको २,००० को संख्यामा युवा शक्ति विदेशतिर पलायन भएर गइरहेको छ भने अघोषित रुपमा अवैध बाटो भएर कति युवाहरु विदेशिन्छन् त्यसको कुनै लेखाजोखा छैन । यो वास्तवमा अत्यन्तै दयनीय स्थितिको द्योतक हो ।

यद्यपि यही युवा शक्तिले कमाइ गरी पठाएको पैसा (विप्रेषण) ले हाम्रो राष्ट्रिय आम्दानीमा करिब २९ प्रतिशत योगदान गरिरहेको गर्वका साथ सरकारले उल्लेख गर्ने गरेको छ र नेपालमा विदेशी मुद्रा सञ्चिति र बजेट धान्न तथा अर्थतन्त्रलाई टेवा दिन यसले ठूलो मद्दत पुगिरहेको हाम्रा अर्थमन्त्रीहरु र एकथरी अर्थविद्हरु सगौरव अर्थ लगाउने गर्दछन् । हुन पनि कृषिपछि राष्ट्रिय आयमा ठूलो योगदान गर्ने क्षेत्र नै यही रहेको देखिन्छ ।

तर विदेशमा जाने हाम्रा ऊर्जाशील युवा-युवतीहरु लुटिने, पिटिने, मारिने, बलात्कृत हुने र लज्जित बनेर र कतिपय बेलामा त लाश बनेर फर्किनु परेको अत्यन्तै दारुण र पीडादायक स्थिति व्याप्त छ । न आफ्नो देशमा रोजगारी, शिक्षा, स्वास्थ्यको क्षेत्रको हक अधिकारमा हाम्रो युवा शक्ति सुरक्षित छ, न विदेशमा नै उनीहरु सुरक्षित छन् । अत्यन्तै कष्टप्रद अवस्थाबाट उनीहरु गुज्रिरहनु परेको कटु यथार्थ हाम्रो राष्ट्रका अगाडि ठिङ्ग उपस्थित छ । तर हाम्रो राज्य र सरकार रमिते भएर बसेको छ । देशमा व्यापक रोजगारी पैदा गर्ने किसिमले वैज्ञानिक भूमिसुधार, राष्ट्रिय औद्योगीकरण र आम विद्युतीकरण गर्ने कुनै ठोस, प्रष्ट र व्यवहारिक राष्ट्रिय नीति अख्तियार गर्न सकिरहेको छैन । फलतः हाम्रो राष्ट्रिय बजार अभिबृद्धि हुन, राष्ट्रिय औद्योगिक वातावरण सिर्जना हुन र युवा पलायन रोकिन सकिरहेको छैन ।

Lok Narayan Subedi, लोकनारायण सुवेदी
लेखक

त्यसमा पनि जुन विप्रेषण हाम्रा युवा युवतिले स्वदेशमा पठाउँदछन्, त्यो उनीहरुको रगत र पसिनाको कमाई कुनै उत्पादनशील क्षेत्रमा लाग्न-लगाउन नसकिरहेको अवस्था छ । त्यस सम्बन्धी कुनै योजना, नीति र कार्यक्रम नै देशसँग छैन । त्यसैले त्यस युवा कमाईको सबैभन्दा धेरै अंश भारतबाट विभिन्न वस्तु आयात गर्न र आन्तरिक उपभोगमै समाप्त भएर गएको छ । विज्ञहरु के भन्दछन् भने नेपाली युवाहरुले कमाएको विप्रेषणको केवल १० प्रतिशत मात्रै अंश नेपालको विद्युतीकरणमा लगाउने हो भने पाँच वर्षभित्र नेपाल झलमल्ल हुने मात्र होइन, नेपालमा औद्योगीकरण, रोजगारी सिर्जना, सिँचाइ सुविधा, उत्पादन बृद्धि, वन तथा वातावरण सुरक्षामा ठूलो र अपूर्व सहयोग पुग्नसक्ने थियो । तर राज्य सत्ताको नेतृत्व गर्नेहरु यी सबै रचनात्मक काम गरेर राष्ट्रलाई भित्रैदेखि बलियो र सुदृढ बनाउने र युवा समुदायलाई देशप्रति गौरव गर्ने खालको वातवारण बनाउने भन्दा पनि ‘ऋण गरेर घिउ खाने’ मगन्ते प्रवृत्तिको मात्रै भएको र तिनको राष्ट्रिय चरित्र नै संदिग्ध देखिने र रहने गरेकोले यस्तो सकारात्मक विकल्पको विकास पनि हुन सकिरहेको छैन । देशले पन्ध्र वटा पञ्च वर्षीय योजना पार गरिससक्न लाग्दा पनि विश्वका १० वटा गरिब राष्ट्रमा देश दरिन पुग्नु र रहनुको कारण नै यही भएको छ ।

देशको पछिल्लो जन गणना हेर्दा र केलाउँदा नेपालको जनसंख्यामा ४०.३४ प्रतिशत संख्या १६ वर्षमाथि ४० वर्षमुनिका युवाहरुको मात्र छ । कुनै पनि देशका अर्थवेत्ताहरु जनसंख्याको यत्रो ठूलो हिस्सा युवाहरुको हुनुलाई अत्यन्तै ठूलो र सकारात्मक आर्थिक शक्तिकोरुपमा लिन्छन् र यस्तो युवा शक्ति भएको देशलाई विकासको तीव्र गति दिनसक्ने सम्भावना भएको देशको श्रेणीमा राख्ने गर्दछन् । आजका विश्वका विकसित, मध्यम विकसित देशहरुको यथार्थले पनि यो कुराको राम्रोसँग पुष्टि गरिरहेको र गरिसकेको पनि छ । तर हामीकहाँ न देशको अर्थतन्त्रले सही दिशाबोध र गति पाएको छ न देशको युवा शक्तिलाई नै देशको चौतर्फी विकास प्रकृयामा सामेल गर्ने कुनै दिशा प्रदान गर्न नै सकेको छ । यस्तो स्थितिमा हाम्रा युवाहरुको मानसिक स्थिति के कस्तो होला र हुन्छ, कसैले पनि सहजै अनुमान गर्न सक्ने कुरा छ ।

आजको पछिल्लो समयको देशका युवाहरुको स्थितिलाई हेर्ने र केलाउने ज्ञाताहरुले सामाजिक विभेद, विषमता, बेरोजगारी र कुलतका कारणले नेपाली युवाहरुको मानसिक र शारीरिक स्वास्थ्यको समस्या नराम्रोसँग बढ्दै गएको औँल्याएका छन् । त्यस्तो अवस्थामा एकातिर सरकारले मानसिक स्वास्थ्योपचारका लागि पर्याप्त बजेट प्रदान गर्न सकेको छैन भने अर्कोतिर ऊर्जाशील नेपाली युवाहरुको मानसिक स्वास्थ्य उपचार सम्बन्धी कुनै ठोस र प्रभावकारी राष्ट्रिय नीति नै बने बनाएको देखिँदैन । अनि जे जस्तो फितलो र कमजोर नीति यस सम्बन्धमा बनाइएको छ, त्यसको पनि प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन । यस्तो अवस्थामा युवा समुदायलाई मानसिक स्वास्थ्यमा कुनै विकृति र विसंगति आउन नदिने के गर्नु पर्दछ भन्ने कुरा एकदमै प्रष्ट छ । उनीहरुको मानसिक स्वास्थ्यमा किन कमजोरी आयो भन्ने प्रश्नको उत्तर के हुन्छ भने उनीहरु विभेदमा परे पारिएका छन्, बेराजगार छन्, कुलत र कुवेशनमा लाग्न बाध्य भएका वा बनाइएका छन् । यी गम्भीर समस्याको ठोस निराकरणका कदम चाल्नतिर आजै र अहिलेदेखि नै अग्रसर हुनु नै वास्तवमा अन्तर्राष्ट्रिय युवा दिवसहरु मनाएको पनि सार्थकता हुन्छ । अन्यथा यी दिवसहरु फगत औपचारिकता पूरा गर्ने कर्मकाण्डीय कुरामा सीमित हुन पुग्दछन् । तिनले युवा समाजमा सुनिश्चित र सुन्दर भविष्यको कुनै आशा र विश्वासको सञ्चार गर्न सक्तैनन् । युवाहरुको जोश र जाँगरलाई सही किसिमले राष्ट्र निर्माणमा लगाउने वातावरण पनि बनाउन सक्तैनन् । यो एकदमै अकाट्य र यथार्थ कुरा हो । नीति निर्माता, योजनाकार, राज्य र समाज सबैले ध्यान दिनुपर्ने कुरा नै हो ।

त्यसमा पनि आज विश्वव्यापीरुपमा नै जुन कोभिड-१९ महामारी फैलिएको छ, यसले गर्दा विश्वव्यापीरूपमा नै युवा बेरोजगारी दर पहिलेभन्दा अत्याधिक बढेको छ । जीवन अझ असुरक्षित र भयावह बन्दै गएको छ । पठन पाठन ठप्प छ । यस्तो स्थितिमा युवा शक्तिलाई कसरी समाजको हितमा उनीहरुको जीवन, सामर्थ्य र शक्तिलाई सदुपयोग गर्ने भन्ने कुरामा हरेक राष्ट्रले गम्भीरतम्‌ रुपमा सोच्नुपर्ने र प्रभावकारी तत्कालीन र दिगो दीर्घकालीन कदम चाल्नुपर्ने ज्वलन्त आवश्यकता छ । यसरी मात्रै १२ अगष्ट युवा शक्तिलाई समर्पण गरेको सही ठहर्छ, अन्यथा एउटा फगत औपचारिकता मात्र ।

(लेखक नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष हुनुहुन्छ ।)